Comments Add Comment

म्यानमारमाथि पुनः प्रतिबन्ध लगाउँदै अमेरिका

२० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमाथि पुनः प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । म्यानमारको सेनाले शक्ति हातमा लिँदै ‘कू’ गरेको विषयलाई लिएर बाइडनले प्रतिबन्ध लगाउन सक्ने बताएका हुन् । म्यानमारमा सैन्य तानाशाहले सरकार जनतालाई सुम्पिएसँगै अमेरिकाले हालै मात्र म्यानमारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

सोमबार म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शक्ति आफ्नो हातमा लिएको थियो । संयुक्त राष्ट्रसंघ, युरोपेली संघ (ईयू) र बेलायतलगायतका मुलुकले म्यानमारको सैन्य ‘कू’ को विरोध गरिसकेका छन् । चीनले मुलुकको असमानता हटाउँदै समस्या समाधानको लागि आग्रह गरेको छ । कम्बोडिया, थाइल्याण्ड र फिलिपिन्सले भने यो म्यानमारको आन्तरिक विषय भएको बताएका छन् ।

म्यानमारकी नेतृ सुकीले मंगलबार हिरासतमा लिइनुपूर्व लेखेको पत्रमा ‘कू’ विरुद्ध आन्दोलनमा उत्रिन सबैलाई आग्रह गरेकी छिन् । गत नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्दै सेनाले उक्त निर्वाचनको नतिजा अस्वीकार गरेको थियो । यसै विषयमा बढ्दो क्रममा रहेको विवादले म्यानमारमा सैन्य ‘कू’ को रुप लिएको हो । यसै विषयमा अमेरिकी राष्ट्रपति बाइडनले अमेरिका जहिले पनि प्रजातन्त्रको पक्षमा रहेको बताएका छन् । उनले जहिले प्रजातन्त्रमाथि आक्रमण हुन्छ, त्यतिबेला अमेरिकाले प्रजातन्त्रको रक्षाका लागि समर्थन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment