+
+
Shares

पुरुषहरुमा मर्दपना हराएकोमा चीनको चिन्ता, जारी गर्‍यो यस्तो सूचना

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १२:४७

चीनको शिक्षा मन्त्रालयको तर्फबाट जारी भएको एक सूचनालाई लिएर चिनियाँहरु खुसी देखिएका छैनन् । उक्त सूचनामा चिनियाँ युवाहरु ‘आइमाई जस्तै बन्दै गएको’ टिप्पणी गरिएकेा छ ।

केही अनलाइन प्रयोगकर्ताहरुले उक्त सूचनालाई यौनभेदी टिप्पणी भन्दै आलोचना गरेका छन् । कतिपयको आरोप यो छ कि यस्तो धारणाका लागि चीनका पुरुष सेलिब्रेटीहरु आंशिकरुपमा जिम्मेवार छन् ।

चीन सरकारले यस्तो विषयमा चिन्ता व्यक्त गर्दै भनेको छ कि देशका लोकपि्रय पुरुष मोडलहरु सेनाका नायकजस्तै मजबुत तथा हृष्टपुष्ट छैनन् ।

यहाँसम्म कि राष्ट्रपति शी जिनपिङ, जो आफैमा फुटबल खेलाडि पनि हुन्, उनी समेत देशमा राम्रा खेलाडि उत्पादन होउन् भन्ने चाहन्छन् ।

त्यसैले अघिल्लो हप्ता शिक्षा मन्त्रालयले एक सूचना जारी गर्यो जसमा सरकारको उद्धेश्य प्रष्टरुपमा व्यक्त गरिएको छ ।

किशोरावस्थाका केटाहरुमा ‘केटीजस्तै’ हुने प्रवृत्ति रोक्नका लागि उक्त सूचनामा शारीरिक शिक्षामा सुधार गर्ने कुरा गरिएको छ । त्यसलाई ध्यानमा राख्दै शिक्षकहरुको बहालीलाई समेत दुरुस्त गर्ने विषयमा जोड दिइएको छ ।

सरकारी सूचनामा सन्यास लिइसकेका खेलाडी तथा खेलकूदको पृष्ठभूमिमा रहेका मानिसहरुलाई शिक्षकको रुपमा भर्ना गर्नुपर्ने सल्लाह समेत दिइएको छ । छात्रहरुमा मर्दपना जागृत गराउनका लागि फुटबल जस्ता खेलमा विशेष ध्यान दिनुपर्ने बताइएको छ ।

चीनमा मिडियाहरुलाई सामाजिक रुपले जिम्मेवार र नितान्त स्वच्छ छवि भएका स्टारहरुको मात्र समाचार पस्किने इजाजत हुने अवस्थामा सरकारको यस्तो फैसला यस दिशमा अहम कदम मानिएको छ ।

चिनियाँ पुरुषमा महिलाको जस्तो रुझान

अघिल्लो वर्षको मे महिनामा चीनको शीर्ष सल्लाहाकार समितिका प्रतिनिधि सी जेफूले भनेका थिए कि चिनियाँ युवाहरु कमजोर, डरपोक र हीन भावनाले ग्रसित हुँदै गएका छन् । चिनियाँ पुरुषहरुमा महिलाको जस्तो रुझान बढिरहेको उनको दाबी थियो । यदि यस समस्याको उपयुक्त तरिकाबाट समाधान गर्न सकिएन भने त्यसले अन्ततः मुलुकको विकास तथा अस्तित्वलाई नै खतरामा पार्न सक्दछ ।

यसका लागि आंशिक रुपमा घरको माहौललाई समेत जिम्मेवार मानिएको छ किनकी घरमा बच्चाहरुको लालनपालन आमा तथा हजुरआमाहरुले नै गर्ने गर्दछन् ।

उनका अनुसार पुरुष सेलिब्रेटीहरुको बढ्दो क्रेज समेत यसका लागि जिम्मेवार छ । सोही कारणले कैयन् बच्चाहरु अब सेनाको नायक जस्तै बन्न चाहँदैनन् । उनले स्कुलमा छात्रहरुलाई सन्तुलित शिक्षा दिनमा स्कुलहरुले अहम् भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

के युवाहरुलाई डर छ ?

शिक्षा मन्त्रालयको उक्त सूचनालाई लिएर अधिकांस चिनियाँ मानिसहरुको प्रतिक्रिया नकारात्मक रह्यो । हजारौँ चिनियाँहरु सोसल मिडियामा आफ्नो आक्रोस व्यक्त गरिरहेका छन् । धेरैले सरकारको उक्त रबैलाई सेक्सिस्ट भनेका छन् ।

सोसल साइट विबोका एक प्रयोगकर्ताले सोधेका छन्, ‘के महिलाहरु जस्तै हुनु एक अपमानजनक कुरा भैसकेको हो त ?’

उनको उक्त पोष्टलाई दुई लाख मानिसले लाइक गरिसकेका छन् । अर्का एकजना प्रयोगकर्ताले भनेका छन्, ‘केटाहरु पनि मानिस नै हुन् । भावुक हुनु, डराउनु तथा नरम स्वभाव राख्नु यी सबै मानवीय गुण नै हुन् ।’

एक प्रयोगकर्ताले चाहिँ चीनमा महिलाको तुलनामा पुरुषको संख्या ७ करोडले बढि रहेको, दुनियाँमा लैंगिक अनुपातको त्यस्तो असन्तुलन चीनमा सबैभन्दा उच्च रहेको भन्दै सोधेका छन्, ‘के त्यो तथ्य नै मर्दपना देखाउन पर्याप्त छैन ?’

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?