Comments Add Comment

कर्णालीमा नौ हजारले लगाए कोरोना खोप

२५ माघ, सुर्खेत । कर्णालीमा ९ हजारभन्दा बढी लक्षित वर्गले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् ।  पहिलो चरणमा ९ हजार ४२० जनालाई खोप लगाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्काले जानकारी दिए ।

निर्देशक खड्काका अनुसार प्रदेशमा कुनै अवाञ्छित घटना नभई पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रदेशमा ११ हजार ७८१ जनालाई खोप लगाउने योजना भए पनि झण्डै दुई हजार कम खोप लगाइएको निर्देशनालयले जनाएको छ ।

सुर्खेतमा दुई हजार ३४०, दैलेखमा एक हजार ८४३, जुम्लामा एक हजार ४०, जाजरकोटमा ६७३, हुम्लामा ४८५ र मुगुमा ४१७ जनाले कोरोनाविरुद्धको खोप लगाएको निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक बसन्त श्रेष्ठले जानकारी दिए ।

यस्तै, कालीकोटमा ८००, डोल्पामा ३३०, रुकुम–पश्चिममा ८५० र सल्यानमा एक हजार दुई जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । कर्णालीमा कोरोना संक्रमण देखिएको नौ महिनापछि खोप उपलब्ध भएको हो ।

पहिलो चरणमा लक्षित वर्गअन्तर्गत स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक र स्वास्थ्य स्वयंसेविकाले खोप लगाएका छन् । अब दोस्रो चरणमा स्वाथ्यमन्त्रालयको निर्णय अनुसार पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप दिइने निर्देशक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment