Comments Add Comment

हेटौंडामा आजदेखि राष्ट्रिय छोरी सम्मेलन

सांकेतिक तस्वीर

२७ माघ, मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी (छोरी) सम्मेलन हुने भएको छ ।

मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।

समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिए।

सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन् । सम्मेलनमा करिब रु १५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रदेश नं १ मा पहिलो बेटी सम्मेलन र प्रदेश नं २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ ।

मिसन नोट अफ डिसेन्ट आभासा राष्ट्रिय अभियान केन्द्रीय सञ्जाल र मूलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा विसं २०७५ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुर्व्यवहार : शिक्षा र स्वास्थलाई बनाऔँ चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको थियो ।

विसं २०७६ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरु तोड्दै अघि बढौं, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौँ’ भन्ने मूल नाराकासाथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment