Comments Add Comment

गृहमन्त्री थापा भन्छन्– भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ

२७ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् ।

कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताए ।

आज बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ)को ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेको जानकारी दिए । मन्त्री थापाले अपराधीको करिब–करिब नजिक पुगेको भन्दै अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सकारात्मक सहयोगको सरकारले अपेक्षा गरेकोसमेत बताएको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेताहरु आज बिहान गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउन पुल्चोकस्थित मन्त्री निवासमा पुगेका थिए ।

गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन ध्यानाकर्षण गराइएको नेविसंघका अर्का महामन्त्री दीपक भट्टराई जानकारी दिए । अन्यथा नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको उनले बताए ।

विगतमा निर्मला पन्त र सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा ती घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा अमानवीय र क्रूर घटनाले प्रश्रय पाउँदै गएको भन्दै नेविसंघ नेताहरुले शान्ति सुरक्षाको दायित्व पूरा गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत बुधबार बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कारपछि हत्यामा संलग्नको पहिचान भएको छैन ।

२०७५ साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिलाई पनि प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

यो पनि पढ्नुहोस भागरथीको भजाइनल स्वाब परीक्षण हुने, डीएनएसमेत जाँचिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment