+
+
Shares

कसको हो पोखरा ? कहाँसम्म हो पोखरा ?

तीर्थ श्रेष्ठ तीर्थ श्रेष्ठ
२०७७ फागुन १ गते १९:०२

आज म के बोलौं र के नबोलौंको दुविधामा छु । संसारमा बोल्नुपर्ने र लेख्नुपर्ने बाँकी नै के छ र ? पढ्नु पर्ने, अनुभव गर्नुपर्ने, सुन्नुपर्ने र जान्नुपर्ने कुरा अथाह छन् र म यी सबैबाट टाढा छु । कहिलेकाहीँ आफूलाई अभिव्यक्त गर्न कविता लेख्ने कोसिस गर्छु । थाहा छैन, ती प्रयत्नहरू कति कविता भए कति प्रयत्नमै सीमित रहे । म जस्तो सामान्य मान्छेका लागि यो अवसर पनि थामीनसक्नुको बोझ हुँदो रहेछ । फेरि पनि म प्रयत्न गर्छु ।

म सानो हुँदा मेरी बजैले आˆनो चोरऔँलाले हिमालतिर संकेत गर्दै भन्नुहुन्थ्यो, ‘ऊ त्यो ऐरावत हात्ती हो’ । म बुझ्दिनथेँ । सायद नबुझेको भाव मेरो चेहरामा बुझिने ढंगले देखा पथ्र्यो । उहाँ फेरि बुझाउने कोसिस गर्दै भन्नुहुन्थ्यो, ‘ऐरावत हात्ती भनेको स्वर्गको राजा इन्ऽले चढ्ने हात्ती हो । त्यो हिमाल त्यही ऐरावत हात्ती हो’ । मेरी बजैको त्यो कथन अचेल म आफ्नै सम्पदाको सदुपयोग गरेर आफ्नो भूमिलाई स्वर्ग बनाउन सक्छौं भन्ने अर्थमा बुझ्छु । स्वर्ग बन्ने सम्भावना भएको तर पाइला पिच्छे अवसरबाट चुकेको मेरो पोखरा के कुनै पूरा कथाको अभिशप्त अप्सरा हो ? पोखरा सम्झँदा मान्छेहरू सम्भवतः माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला सम्झन्छन् । सेती नदी र फेवा ताल सम्झन्छन् । गन्धर्वहरू र सारंगी सम्झन्छ्न् । लाहुरेहरू सम्झन्छन् । पोखरासँग जोडिएका यस्ता थुप्रै सम्झनाहरू हुन सक्छन् । पोखराका लोक-संस्कृति, साहित्य, कला, सङ्गीत लगायतका थुप्रै पाटाहरू पनि छन् । जसलाई नसम्झी पोखराको परिचय पूरा हुन सक्दैन ।

तीर्थ श्रेष्ठ

पोखराको प्राकृतिक सुन्दरताको जापानी भिक्षु इकाइ कावागुची, टोनी हागनदेखि लिएर बेलायती कवि बिल्फ्रेड न्वायसहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन् । निश्चय नै यसको प्राकृतिक सौन्दर्य मोहक छ ।  पर्वतारोहण र पदयात्राको इतिहासमा केही कीर्तिमान पोखरा र यस वरिपरिको भूभागमा रचिएका छन् ।  विश्व पर्वतारोहणको इतिहासमा पहिलो पटक ८००० मिटर अग्लो हिमाल आरोहणको कथा यहीँ लेखिएको हो । सन् १९५० जुन ३ तारीखका दिन फ्रेन्च आरोही मौरिस हर्जोग र लुइ लेकेनलले अन्नपूर्ण-प्रथम, प्रथम पटक आरोहण गरेर यो कीर्तिमान कायम गरेका हुन् । मौरिस हर्जोगले पछि दि अन्नपूर्ण भन्ने पुस्तक लेखेर अन्नपूर्णको विश्वव्यापी प्रचारमा योगदान पुर्‍याए । अन्नपूर्ण पदयात्रा मार्गलाई लोकपि्रय बनाउन यो पुस्तकको पनि योगदान पुग्यो होला भन्ने अनुमान गर्नु अनुचित नहोला ।

कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुरबाट व्यापारका लागि २६ नेवार परिवारलाई ल्याएर बजार बसाएका हुन् भनिन्छ । तिनै नेवारहरूले गण नृत्य (बाह्र भैरव नृत्य) त्यो बेलादेखि निरन्तर रूपले प्रदर्शन गर्दै पोखराको सांस्कृतिक इतिहासको निर्माणमा योगदान पुर्‍याएका छन् । झण्डै २० को दशकदेखि पोखरामा छिमेकी गाउँ र जिल्लाहरूबाट बसाइँ सर्ने क्रमले तीव्रता पाएसँगै यौटा अनौठो सांस्कृतिक इन्द्रधनुषको निर्माण भएको पाउन सकिन्छ । मुस्ताङ, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङबाट विभिन्न जाति र समुदायको आगमनसँगै यहाँ सांस्कृतिक सम्मिलनको क्रम पनि शुरु भयो भन्न सकिन्छ । पोखराको वरिपरिका गाउँहरूबाट बजार झर्ने क्रमले तीव्रता पाउनुको पछाडि भारतीय तथा बेलायती सेनामा भर्ती भएका लाहुरेहरूको आफ्नो परिवारको सहज जीवन यापनको चाहना मुख्य कारण हो भन्न सकिन्छ । यसरी पोखरा विविध जातिको सङ्गमस्थल हुन पुग्यो । पोखराको वर्तमान स्वरूपको निर्माणमा बसाइ सराइको महत्वपूर्ण योगदान रहेको छ ।

२००७ सात सालको क्रान्तिको सेरोफेरोमा नै पोखरामा पनि सामाजिक जागरणको लहर चलेको महसुस हुन्छ । वि.सं. १९५८ मा देवशम्सेरको पालामा राजकीय संस्कृत पाठशालाको स्थापनासँगै पोखरामा संस्थागतरूपमा शिक्षा विकासको प्रारम्भ भएको मानिए पनि त्यसअघि नै यहाँका पराजुली, रेग्मी, अधिकारी र पौडेल लगायतका कुलका पण्डितहरूले गुरुकुल र पिंढी पाठशालाका माध्यमबाट शिक्षा दिंदै आएको तथ्य भुल्न मिल्दैन । यही क्रममा २००४ सालमा पोखराको बाटुलेचौरमा आधार स्कूल र २००६ सालना नदीपुरमा पब्लिक मिडिल स्कूलको स्थापनालाई पोखराको शैक्षिक इतिहासका महत्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ । २००८ सालमा जनश्रमदानबाट निर्मित पोखरा विमानस्थलमा विमानद्वारा पहिलो पटक बीपी र गणेशमान सिंहको आगमन पोखराको इतिहासमा उल्लेखनीय घटनाका रूपमा लिन सकिन्छ । यी महत्वपूर्ण घटनाहरूले केही  हदसम्म पोखरालाई र यसको भविष्यलाई मार्ग निर्देशित गरेको भए पनि पोखरा के हो र यसको सम्भावना के हो भन्ने विषयमा अझै व्यापक छलफलको आवश्यकता छ ।

राजा महेन्द्रले फेवा किनारमा आफ्नी रानी रत्नको नाममा रत्न मन्दिर निर्माण गरेसँगै पोखराप्रति तत्कालीन राजदरबारको सकारात्मक दृष्टि परेको मान्न सकिन्छ । सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गको निर्माणले पोखराको सम्भावनालाई विस्तार गर्‍यो । त्यसैको सेरोफेरोमा भारतीय राजदूतावास, अमेरिकी राजदूतावास र बेलायती राजदूतावासहरूले इण्डियन, अमेरिकन र बि्रटिस लाइब्रेरीहरूको स्थापना र सञ्चालन गरे तर त्यस प्रयासले निरन्तरता पाउन सकेन । पृथ्वीनारायण कलेजको स्थापनाले पोखरालाई एक महत्त्वपूर्ण शैक्षिक केन्द्रमा रुपान्तरित गर्‍यो । युनाइटेड मिसन टु नेपालले २०१३ सालमा साइनिङ हस्पिटलको निर्माण र सञ्चालनमा ल्याएपछि पोखरा वरिपरिका गाउँहरू र छिमेकी जिल्लाहरूको लागि स्वास्थ्य केन्ऽका रूपमा समेत देखा परेको हो । भारतीय पेन्सन क्याम्प र बि्रटिस पेन्सन क्याम्पको स्थापनाले विदेशी सेनामा सेवा निवृत्त पूर्व सैनिकहरूको लागि पनि यो आकर्षणको केन्द्र बन्न पुग्यो । यसरी बिस्तारै पोखरा पश्चिमाञ्चल क्षेत्रको केन्द्रका रूपमा विकसित हुँदै गयो । केही संस्थाहरूको स्थापना र सञ्चालनबाट पोखराको विकासमा सकारात्मक प्रभाव परेकोमा शायद कुनै विवाद छैन तर समग्रमा पोखराको स्वरूप, स्वभाव र सम्भावनाका बारे व्यापक विमर्शमा जुट्न ढिलो भइसकेको छ ।

संक्षेपमा म पोखराको खासै चर्चामा नरहेका केही तथ्यहरूबारे चर्चा गर्ने कोसिस गर्नेछु । भारतमा र विभिन्न राष्ट्रहरूमा अक्षरधाम मन्दिर निर्माण गरिरहेको स्वामीनारायण सम्प्रदायका गुरु स्वामी नारायणले मुक्तिनाथमा तपस्या गरी ज्ञान प्राप्त गरेपछि पोखरामा आएर स्वामी गोपाल योगीसँग एक वर्षसम्म अष्टाङ्ग योग सिकेर दीक्षा ग्रहण गरेका थिए । यो घटनाको वर्णन हाम्रो इतिहासमा पाइँदैन । स्वामी नारायणको जीवनीमा उल्लेख गरिएको यो घटनाले योग साधनाको क्षेत्रमा पोखराको संलग्नताको पुष्टि गर्दछ ।

पोखरा प्राकृतिक दृष्टिले सुन्दर भएकोमा सम्भवतः कसैको दुई मत नहोला तर ८००० मि. अग्लो तीन हिमाल (धौलागिरी, अन्नपूर्ण प्रथम र मनास्लु) एकै साथ टिसर्ट लगाएर हेर्न सकिने शायद संसारको एक मात्र सहर पनि हो ।

पोखराको भविष्य पर्यटनसँग जोडिएको छ । यो निर्विवाद छ, तर भोलिको पोखरा कहाँदेखि कहाँसम्म विस्तारित हुन सक्छ? त्यसको लेखाजोखा र तद्नुरूपको चिन्तन र योजनाको आवश्यकता पनि छ । मेरो विचारमा भोलिको पोखरा मोदी, मादी र आँधीको बीचको भूभागका रूपमा हेरिनु पर्दछ । कुस्मा, दमौली र स्याङ्जालाई समेत जोडेर विशाल पोखरा सम्भव छ । राजमार्गहरूको स्तरोन्नतिसँगै मोदी, मादी र आँधी बीचको एक आपसी दूरी एक घण्टाको र हालको पोखरासँगको दूरी आधा घण्टादेखि चालीस मिनेटको हुनेछ । अहिले पनि मनमा पोखराको सिमाना यही हो । विदेशमा कुनै कुस्माको बासिन्दाले, दमौलीको बासिन्दाले वा स्याङ्जाको बासिन्दाले घर कहाँ हो भनेर सोध्दा दिने जवाफ ‘पोखरा’ नै हो ।

यो पोखरा कवि शिरोमणि लेखनाथको पोखरा हो । यो जनकवि केशरी धर्मराज थापाको पोखरा हो । यो झलकमान गन्धर्वको पोखरा हो । यो अलिमियाँको पोखरा हो । यो दुर्गा बरालको पोखरा हो । यो सरूभक्तको पोखरा हो । जसरी यहाँका नदीनाला र ताल-तलैयाहरूले यहाँको भूमि सिञ्चेका छन् त्यसरी नै यहाँ संस्कृतिका संवाहकका रूपमा विभिन्न जातजातिका मानिसहरूले यहाँको सांस्कृतिक धरातललाई सिञ्चेका छन् । पोखराको यौटै दुर्भाग्य यहाँको सम्भावनालाई सम्बोधन गर्ने सामथ्र्यसहितको राजनैतिक नेतृत्व पाउन सकेको छैन ।

(महारानीका लेखक चन्द्रप्रकाश बानियाँलाई २०७६ सालको मदन पुरस्कार अर्पण समारोहमा कवि तथा अध्येता तीर्थ श्रेष्ठद्वारा प्रेसित विद्वत प्रवचन)

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?