Comments Add Comment

हिमालय क्षेत्रमा तनाव कम हुने संकेत

१ फागुन, काठमाडौं । झण्डै ९ महिनादेखि भारत र चीनको सिमा क्षेत्र लद्दाखमा जारी तनाव कम हुने संकेत देखिएको छ ।

गत वर्षको जुन महिना यता सो क्षेत्रमा भारत र चीनका सेनाहरुको विचमा तनावपूर्ण अवस्था थियो । सो तनावका कारण समग्र हिमालय क्षेत्र नै अशान्त हुने चिन्ता सर्वत्र चासो छ । केही दिन यता दुवै देशका सैनिक केही पछि हट्न सहमति भएको छ ।

धेरै पटक कूटनीतिक र सैन्य तहमा भएको निरन्तर वार्तापछि दुवै देश तनाव साम्य गर्न सहमत भएको भारतिय र चिनिया संचारमाध्यमले उल्लेख गरेका छन । भारतिय रक्षामन्त्री राजनाथ सिंहले सो सहमतिको बारेमा संसदलाई जानकारी गराउँदै भारतले एक इन्च पनि भूमि नछोडको बताएका छन ।

गत वर्ष जुन महिनामा पूर्वी लद्दाखस्थित चिनियाँ सीमाक्षेत्रमा दुई मुलुकका सैनिकबीच झडप भएको थियो । उक्त झडपको क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो । तर सो झडमा कति चिनियाँ सैनिकको मृत्यु भयो भन्ने सम्बन्धमा केही पनि बताइएको छैन ।

उक्त झडपपछि भारत र चीनबीच पानी बाराबारको अवस्था सिर्जना भएको थियो । भारतमा चिनियाँ सामग्री बहिष्कारको अभियान पनि सुरु भएको थियो । सोही क्रममा भारतले १५० भन्दा धेरै चिनियाँ मोबाइल एप्समा प्रतिबन्ध लगाइसकेको छ, जसमा लोकप्रिय भिडियो एप टिकटक, पबजी, शेयरइटलगायत एपहरु छन् ।

भारतले बिहीबार यो मुद्दामा दुई मुलुकको बीचमा सम्झौता भए पनि त्यसका लागि भने निकै लामो समयसम्म दुवै पक्षबीच वार्ता चलेको थियो ।

निकै सकसपूर्ण तरिकाले उनीहरुको बीचमा सहमति जुटेको हो । सम्झौताको लागि १० महिनासम्म निरन्तर सैन्य कमाण्डर स्तरीय तथा कूटनीतिक अधिकारीको बीचमा वार्ता भएको थियो । यो क्रममा नौ चरणको उच्चस्तरीय सैन्य वार्ता भएको थियो ।
अहिलेसम्म दुवै पक्षले आफू शान्तिपूर्ण रुपमा सो समस्याको समाधानको प्रयास गरिरहेको दाबी गर्दै आए पनि एक अर्कालाई यो समस्याको कारक मान्दै आएका थिए ।

साथै, दुवै मुलुकले उल्लेख्य मात्रामा सैनिक सीमाक्षेत्रमा खटाएका थिए । यसले दुई मुलुकबीचको तनाव आगामी दिनमा थप बल्झिने आशंका थियो ।

यद्यपि अहिले भएको सम्झौताले भने हिमालय क्षेत्रमा पछिल्लो एक वर्षयता जारी तनाव पनि अब साम्य हुन्छ कि भन्ने आशा पलाएको छ । भारतले तनाव कम गर्न दुवै पक्षले अहिले सीमा क्षेत्रबाट सैनिक फिर्ता गर्न थालिसकेको बताएको छ । यसले भने अब यो क्षेत्रमा तनाव कम हुँदै जान सक्ने देखिएको छ ।

यद्यपि पूर्णरुपमा यो समस्या समाधान हुने सम्भावना भने कम छ । चीनसँग भएको सम्झौताको विषयमा धेरैले प्रश्न पनि उठाएका छन् । उनीहरुले वास्तविक सम्झौता भएको विषय नल्याइएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । भारतको विपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धीले सरकारले ज्यान गुमाएका सैन्य जवानको योगदानको अपमान गर्दै भारतीय भूमि चीनलाई दिएको आरोप लगाएका छन् । उनले पुरानै अवस्था कायम नभएसम्म शान्ति सम्भव नभएको बताएका छन् ।

त्यस्तै अन्य भारतीय विश्लेषकहरुले पनि चीनसँग भएको सम्झौता कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । यद्यपि भारतीय रक्षा मन्त्रालयले भने भारतले कुनै पनि भूमि चीनलाई नदिएको दाबी गरेको छ । त्यस्तै अन्य केही विषयमा भने अझै पनि वार्ता भइरहेको बताएको छ । भारतीय रक्षा मन्त्रालयलाई आधार मान्ने हो भने अहिले तत्कालको लागि चीन र भारतबीचको तनाव कम हुने संकेत देखिएको छ ।

केही वर्षअघि भारत, चीन र भुटानको त्रिदेशीय सीमाक्षेत्रमा पनि दुई मुलुकबीच सीमा विवाद देखिएको थियो । निकै लामो समयसम्म जारी उक्त विवाद पनि सम्झौतामा आएर टुङ्गएिको थियो । त्यसैले अहिले लद्दाखमा टुङ्गएिको सीमा विवाद भोलि अर्को ठाउँमा सुरु नहोला भन्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment