५ फागुन, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मोरङ जिल्ला इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विक हातहतियार तथा खरखजना मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत माघ ७ गते उनी हतियारसहित मोरङको बुढीगंगा गाउँपालिका– ४ बाट पक्राउ परेका थिए । आइतबार हातहतियार तथा खरखजना मुद्दामा जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले कारागार चलानको आदेश दिएपछि उनी कारागार चलान भएका हुन् । सोमबार दर्ता भएको अपहरण र कर्तब्य ज्यान मुद्दामा आइतबार बयान लिने अदालतको तयारी छ ।
जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले सोमबार दर्ता भएको मुद्दामा पक्राउ परेका एकजान मात्रै प्रतिवादी हातहतियार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेकाले आइतबार बयानपछि बहस हुने बताए । उनका अनुसार आइतबार गोलाप्रथाबाट बेञ्च तोकेर बयान लिइनेछ ।
संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विक व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा पक्राउ परेका थिए । को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका विकको साथबाट एउटा सेमि अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न मोबाइलहरु, सिमकार्ड, सवारी चालक अनुमति पत्र बरामद भएको थियो ।
पक्राउ पछि सोधपुछ गर्दा मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा पनि उनको संलग्नता देखिएको प्रहरीको दाबी छ । विकविरुद्ध प्रहरीले हातहतियार खरखजना, अपहरण र कर्तव्य ज्यानसम्बन्धी छुट्टा छुट्टै मुद्दा दर्ता गराएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले गत आइतबार उनीविरुद्ध हातहतियार खरखजना मुद्दा अदालतमा दर्ता गरेको थियो । सोही दिन थुनछेक बहस पछि पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । सोमबार अपहरण र कर्तव्य ज्यान मुद्दामा उनीसहित ३५ जना विरुद्ध मुद्दा दर्ता भएको थियो । विप्लव समूहका महासचिव नेत्रबिक्रम चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि ‘विप्लव’ समूहले शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको थियो । हत्या भएकै दिन ‘विप्लव’ समूहका मेची–कोसी ब्यूरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4