Comments Add Comment

अबको बाटो उर्जाशील युवा नेताको नेतृत्व

प्रतिनिधिसभा पुनर्स्थापनापछि सत्तासिन दलभित्रको कचहरी झन् पेचिलो बनेको छ । विभाजित पनि हुन नमिल्ने, एकतावद्ध पनि रहन नसक्ने अवस्थामा नेतृत्वबीचको घिनलाग्दो घम्साघम्सी अनि लम्पट समर्थकको गुटगत बहसले राजनीतिप्रति घोर वितृष्णा उत्सर्जन गर्दैछ । जसरी पनि शक्ति हात पार्ने मात्र उद्देश्यमा नेतृत्व अल्मलिँदा नागरिकका सपना अधुरै छन् ।

सत्तासिन नेकपा, प्रतिपक्षी नेपाली काँग्रेस, क्षेत्रीय राजनीतिलाई प्राथमिकतामा राखेको जसपा सबैमा लफडा पद अनि पावरकै छ, जनता त कुनै सरोकारको विषय नै होइन । सत्तासिन दलको पछिल्लो पद केन्द्रित कचहरी, छलकपट, आग्रहपूर्ण लफडा र छटपटीले त देश नै भड्खालोमा जाने देखिन्छ ।

राजनीतिक इमान्दारी अनि परिस्कृत संस्कार छाडेर पद र शक्तिका लागि सबै नेताहरू विभिन्न खाले जायज तथा नाजायज गणितको अभ्यासमा छन् ।

औसत आयु ६७ बर्ष रहेको देशमा शक्तिका लागि उत्साहित र आकांक्षी अधिकांश यो उमेर समूह हाराहारी अथवा माथिका हुन् । मार्क्सवादी अमेरिकी विश्लेषक नोम चोम्स्की यस्तो अवस्थालाई प्राविधिक हिसाबले ‘मृत मानिसहरूको शासन’को उपमा दिन्छन् ।

अर्कोतिर वैकल्पिक शक्तिका रुपमा उदाउन खोजेको भन्नेहरूमा पनि राजनीतिक परिपक्वता अनि देश निर्माणको भिजन भने खासै देखिदैन । केवल पुराना शक्तिहरूले कार्यसम्पादन गर्न सकेनन् भन्ने आग्रह र रोषले मात्र उनीहरूको औचित्य निर्माण हुदैन ।

युवा दस्ताले पछुताउनु पहिले पुनर्निर्माणको अभ्यासमा लाग्ने हिम्मत राख्नुपर्छ । बासी पुस्ता कासी पठाएर राजनीतिको मुहान र प्रवाह शुद्ध पार्ने अभिभारा बोक्नुपर्छ । घोडा बन्ने कि नेता, युवा दस्ताहरूले निर्ममतापूर्वक समीक्षा र निडरतापूर्वक निर्णय गर्नुपर्छ ।

यद्यपि नागरिकले केही नयाँ चाहेका छन् भन्ने कुरा अविवादित सत्य हो । पुरानै प्रक्रिया र सोचले राजनीतिलाई सशक्त नबनाउने भएकाले नयाँ देश निर्माणार्थ उर्जाशील शक्ति आवश्यक रहेको अवश्य हो । तसर्थ अब सबै पार्टीभित्र वैकल्पिक सोच भएका उर्जाशील युवा नेताको पुस्ताले नेतृत्व कब्जा गर्नुपर्छ । विगतको अन्यौल, विश्व अभ्यास र नागरिकका आशा निराशाका प्रत्येक अवयवहरू केलाउँदै परिवर्तनका लागि युवा नेतृत्वको अर्थ र यथार्थ बुझ्नुपर्छ ।

अर्थ र यथार्थ

अमेरिकामा ओबामा ४६ वर्षमा राष्ट्रपति, बेलायतमा ड्याभिड क्यामरून ४३ वर्षमा प्रधानमन्त्री, गणतन्त्र कंगोमा जोसेफ काबिला ३० वर्षमा राष्ट्रपति बनेको धेरै भएको छैन । सन् १७८३ मा विलियम पिट २४ र १९०४ मा जोन वास्टन ३७ वर्षमा बेलायती प्रधानमन्त्री भएका थिए ।

अधिक अर्थसामाजिक परिवर्तनका बाहक भएका लोकप्रिय अमेरिकी राष्ट्रपतिद्वय रूजभेल्ट ४२ र रेगन ४३ मा सत्तासिन भए । विकास नमुनामा एउटा अलग सिद्धान्त नै प्रतिपादन गरेकी थ्याचर ५४ मा बेलयाती प्रधानमन्त्री बनिन् । टोनी ब्लेयर ४२ मा प्रधानमन्त्री भए । सन्ना मरिन (३४) फिनल्याण्डमा प्रधानमन्त्री, नायव बुकेले (३९) सल्भादरको प्रधानमन्त्री, जसिन्दा अर्डेन (४०) न्युजिल्याण्डकी प्रधानमन्त्री, इम्यानुएल म्याक्रो (४२) फ्रान्सको राष्ट्रपति यस श्रृंखलाका बर्तमान उदाहरणहरू हुन् ।

ती देशहरूमा औसत आयु ८० माथि छ । जीवनको मध्य समय र सशक्त उर्जा भएकाहरूको नेतृत्व रहँदा फरक सोच, जाँगर, क्षमता प्रस्फुटित हुन्छ । उर्जावान समयमा देशको लागि उच्च रचनात्मक योगदानको अभिप्राय तथा अभ्यास सम्भव रहन्छ । स्टेफन बक्लेयीको पुस्तक ‘द प्राइममिनिस्टर एण्ड क्याविनेट’ले भन्छ युवाहरूको सघन वर्चश्व तथा नेतृत्व भएको राजनीति गतिशील मात्र हैन सकारात्मक अनि उत्पादकसमेत देखिन्छ । तर यहाँ युवाहरूलाई राजनीतिले आकर्षण गरिरहेको छैन ।

अर्कोतिर दलभित्रका युवाहरू नेतृत्व लिन हैन, लम्पट बन्न रुचाउनुले दलीय बितन्डा र विवेकहीनता झन् मौलाउँदैछ । त्यसैले, हरेक दलभित्रका युवा नेतृत्वले बासी पुस्तालाई कासी पठाएर आफूहरूलाई मैदानमा अगाडि सार्दै विकास समर्पित विज्ञताले निर्देशन गर्ने राजनीति (पोलिटिकल मेरिटोक्रेसी) स्थापित गर्नुपर्छ ।

राजनीतिमा विभिन्न सेवा/समूहका विज्ञ मानिसहरूको संलग्नता अर्को बाध्यकारी आवश्यकता हो । विकासोन्मुख गतिविधिहरूको सघनतालाई प्राविधिक ज्ञानको पर्याप्तताका लागि राजनीतिमा विभिन्न क्षेत्रका विज्ञ मानिसहरूको पदार्पण आवश्यक छ, विश्व इतिहासमा यस्ता प्रशस्त उदाहरण छन् ।

न्युयोर्कमा सन् २००० का प्रख्यात मेयर माइकल ब्लुमबर्ग, इटालीका सिल्भियो बर्लस्कुनी, फ्रान्सका सर्ज ड्यासल्ट, युएईका खालिफा बिन जायद अल नायन व्यापार र उद्यमका क्षेत्रबाट राजनीतिमा आएर सफल बने ।

विज्ञानमा ग्य्राजुएटेड भारतका ११ औं राष्ट्रपति कलाम एरोनेटिक अनुसन्धानको जागिर छाडी राजनीतिमा लागे । सन् १९९१ का रूसी राष्ट्रपति बोरिस योल्तसिन निर्माण कम्पनीमा संलग्न थिए । फ्रान्कलिन रूजभेल्टमा पत्रकारिता अनि कुनै बेला मिन्नोसोट्टाका गर्भनर जेसस भेन्तुरामा फिल्म निर्देशनको गहिरो अनुभव थियो ।

अमेरिकाको राजनीतिक अभ्यासमा पछिल्लो पटक वकिलको संख्या अधिक छ । आर्थिक विकासमा द्रुत गति लिएका चीन, जापान, कोरिया, भियतनाममा प्राध्यापक विद्वानहरुको सघन राजनीतिक संलग्नता देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान क्रिकेटको अनुभवसँगै राजनीतिमा आएका हुन् । युक्रेनका बक्सिङ खेलाडी भित्ली क्लक्स अनि लाइबेरियाका फुटवल टिम प्रमुख जर्ज वोयको राजनीतिक पदार्पणसमेत राम्रै भएको थियो ।

जे ब्लोन्डेलको पुस्तक ‘वर्ल्ड लिर्डरस’ले निश्कर्ष दिन्छ कि कुनै अन्य पेशागत क्षेत्रमा विज्ञ अनुभवी मानिसहरू राजनीतिमा आउँदा कम्तीमा दुईवटा फाइदा हुन्छ । उनीहरूले आफ्नो जीविकोपार्जनको लागि देशको ढुकुटी दुरूपयोग गर्नुपर्दैन अनि उनीहरूसँग आफ्नो क्षेत्रको द्रुततर अभिवृद्धि गर्न प्रशस्त अनुभव र कौशलता रहन्छ ।

तसर्थ विभिन्न क्षेत्रबाट चामत्कारिक पात्र राजनीतिमा ल्याउने प्रयास हुन्छ । नेपालमा पनि कतिपयले यस्तो बहस चलाउँदैछन् । अब युवा नेताहरूले यस प्रकारको भूराजनीतिक आवश्यकता र वास्तविकतालाई गहिरिएर मनन गर्नुपर्छ ।

वास्तविकता र आवश्यकता

अब पुरानै सोच र पद्धतिबाट दलहरूले औचित्य स्थापित गरिराख्न सहज छैन । राजनीतिमा नयाँ विवेकको उच्च आवश्यकता छ । विश्राम लिनुपर्ने उमेर समूहका मानिसले निरन्तर, पटकपटक अनि अवैधानिक हिसाबले शक्तिमा आशक्ति देखाउँदा पनि दलभित्रको युवा पुस्ता निष्क्रिय अनि लाचार बनेपछि दलीय व्यवस्थाको सौन्दर्यसमेत क्षीण हुन्छ ।

देशको आमूल सकारात्मक परिवर्तनको योजना तथा जनताका समस्या हल गर्ने अठोट र अभ्याससहित युवाहरूले दलको नेतृत्व गर्ने हिम्मत राख्नुपर्छ । ‘बुढ्यौली र नेृतत्व’ शीर्षकमा शोधार्थीद्वय क्यार्थिन रोजिङ र फ्रान्जिका जनम्यानको अनुसन्धानमा विभिन्न देशका ७७ प्रतिशत सहभागीले युवा नेतृत्व नै सक्षम तथा विश्वासिलो भनेका छन् ।

यहाँसमेत वैकल्पिक शक्तिको माहोल निर्माणमा अभिरुचि देखाएका केही दलहरूले विकासको लागि युवाको नेृतत्व भन्ने नारा तय गर्न थालेको देखिन्छ ।

आज हाम्रा नजिकका छिमेकीहरू उदीयमान अर्थतन्त्र भैसके । सन् १९८० ताका हामीभन्दा चार गुणा कमजोर आर्थिक अवस्था भएको थाइल्याण्ड आज हामीभन्दा ४ गुणा मजबुत छ । जापानको मुद्रा विनिमय स्तर पछिल्लो २० वर्ष झन्डै १० गुणा सबल भएको छ । कोरियाको अवस्था अनुकरणीय छ । कतार तथा साउदी अरेबियाका देशहरूका विकास हाम्रा लागि ईष्या गर्नलायक छन् । त्यहाँको विकासलाई मानव निर्मित स्वर्ग भनिन्छ ।

छिमेकी चीन र भारत दुबै विशाल महत्वकांक्षी व्यपारिक परियोजना लिएर आएका छन् । एसियाका अधिकांश देशहरूले राजनीतिक विविधताका बाबजुद द्रुत आर्थिक विकास गरे । आज उनीहरू संसारका सामरिक शक्ति बने । हामीले हेयपूर्वक भन्ने बिहार आज भारतमा नमुना अर्थतन्त्र बन्दैछ ।

सिगांपुर सुवर्ण छ, तर हामी झनझन् समस्यामा फस्दैछौँ । युवा जति सबै हतार/हतार खोरिया र खेत बेचेर कोरिया अनि कतार जादैछन् । हुने खाने युरोप र अमेरिका लाग्छन् । नागरिकले अबको नेतृत्व यस्तो खोजी गरेका छन् कि उनीहरूसँग यो चरम निराशा चिर्दै युवाहरूमा आशा जगाउने र देशकै माटोमा पसिना बगाएर पौरख खन्याउन उत्प्रेरित गर्ने क्षमता होस् ।

कम्तीमा १० वर्षभित्र औसत आय पाँच हजार डलर र औसत आयु ८० बनोस् । रोजगारी प्रत्याभूति होस्, शिक्षाले चेतना र कौशलता सिकाओस् । नेताले नैतिकता देखाउन् । गरिबी, बेरोजगारी, अन्याय, अत्याचार जस्ता शब्दहरू इतिहासको पाद टिप्पणीमा थन्किउन् ।

विप्रेषणमा नभई आफ्नै सामर्थ्यमा अर्थतन्त्र धानियोस् । देशभर कलकारखाना खुलुन्, मागेर हैन कमाएर खान सकियोस् । राज्यका कर्मचारी नागरिकप्रति सहयोगी बनुन् । भ्रष्टाचारमुक्त सूचिमा १३६ औँबाट पहिलो १० मा परोस् । देशका प्रत्येक क्षेत्रमा आर्थिक प्रगति र सामाजिक जिम्मेवारी उच्च बनोस् । अहिलेको हजुरबुवा पुस्तासँग यस्ता सपना सम्भव बनाउने न त सोच छ न त ल्याकत ।

बुढाहरूको असमक्षता भन्दा, युवा नेताहरूको भेडोपनाले राजनीति बढी बिग्रियो । तसर्थ युवा नेताहरुहरूले नेतृत्व कब्जा गरेर उपल्लो पुस्तालाई मार्गदर्शन र आशिर्वाद दिने अभिभावकीय अथवा सल्लाहकारको मात्र भूमिकामा लैजाने साहस देखाउनुपर्छ । युवा नेतृत्वले पनि अब फरक सोच र शक्ति निर्माण गर्ने अभ्यास नगर्ने हो भने नागरिकले उनीहरुको पनि विकल्प खोज्नेछन् ।

युवा दस्ताले पछुताउनु पहिले पुनर्निर्माणको अभ्यासमा लाग्ने हिम्मत राख्नुपर्छ । बासी पुस्ता कासी पठाएर राजनीतिको मुहान र प्रवाह शुद्ध पार्ने अभिभारा बोक्नुपर्छ । घोडा बन्ने कि नेता, युवा दस्ताहरूले निर्ममतापूर्वक समीक्षा र निडरतापूर्वक निर्णय गर्नुपर्छ ।

( काठमाडौं स्कुल अफ ल का सह–प्राध्यापक दाहालले राष्ट्र निर्माणका आयामहरू विषयमा विद्यावारिधि गरेका छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment