+
+

गणतन्त्र नेपाल र हनुमाननगर जेलकाण्ड

अजयकुमार झा अजयकुमार झा
२०७७ फागुन २४ गते १५:५०
रामराजा प्रसाद सिंह

हिमाली प्रान्तबाट उम्केर भारतीय भूमिमा प्रवेश गर्दा सप्तकोसी सप्तरीलाई छिचोलेर जान्छ । सप्तकोशीले सप्तरीलाई छिचोल्दै गर्दा पीडा त छोडेकै हुन्छ तर समृद्धिको सौगात पनि दिँदै जान्छ । त्यसैले सप्तरीका केही भाग बालुबुर्ज देखिए पनि अधिकांश हिस्सा उर्वर र हराभरा देखिन्छन् । सप्तकोशीले यहाँका माटाका मात्र होइन, माताका कोख पनि उन्नत बनाएको छ । सप्तरीका सन्तानहरूले देश र विदेशमा उल्लेखनीय काम गरेर मातृभूमिको नाम रोशन गरेका छन् ।

नेपाली इतिहास लेखनको दायरा साँघुरो भयो । राजा र राजकाजमा हालीमुहाली भएकाहरूको इतिहास मात्र इतिहास भनियो । अरूहरूको जीविका र भूमिका समेटिने गरी नेपाली इतिहास फराकिलो नहुँदा सम्पूर्ण राष्ट्रको इतिहास ओझेलमा पर्‍यो । नेपाली इतिहासमा ओझेलमा परेको वा पारिएका एक त्यस्तै ऐतिहासिक घटना ‘हनुमाननगर जेल काण्ड’ हो, जसको चर्चा दशकयता फाट्टफुट्ट रूपमा हुने गर्ने गरेको भए पनि त्यसले पाउनुपर्ने महत्व पाउन सकेको छैन ।

वि.सं. २००० तिर सप्तरी जिल्लाको सदरमुकाम हनुमाननगरबाट राजविराज सर्दै गरेको अवस्था थियो । सरकारी कार्यालयहरू केही यता र केही उतै रहेको अवस्था थियो । बडा हाकिमका कार्यालय त्यहीं थियो । बडा हाकिमको कार्यालयसँगै गारद पनि राखिएको थियो । नेपाल र भारतका क्रान्तिकारीहरूले वि.सं. २००० जेठ ९ गते राति १२ बजे सोही गारदमा आक्रमण गरी त्यहाँ थुनिएका भारतीय स्वतन्त्रता सेनानीहरूलाई छुटाएर लगेको घटना नै हनुमाननगर जेल काण्ड हो ।

हनुमाननगर जेल काण्ड नेपाली जनताले जहानियाँ राणा शासनबाट मुक्ति प्राप्त गर्न सञ्चालन गर्दै आएको क्रान्तिको दृष्टिले मात्र होइन, अपितु भारतीय जनताले बेलायती हुकुमतबाट मुक्ति पाउनका लागि सञ्चालन गर्दै आएको स्वतन्त्रता संग्रामको इतिहासमा पनि अविस्मरणीय घटनाको रूपमा रहेको छ । हनुमाननगर जेल काण्ड तत्कालीन राणा शासकका खिलाफ गरिएको एक त्यस्तो प्रतीकात्मक द्रोह थियो, जो तत्काल प्रजातान्त्रिक परिवर्तनका लागि त सहायक बन्यो नै अपितु त्यसको ६-७ दशक पश्चात गणतन्त्रात्मक परिवर्तनको मियो पनि बन्यो ।

हनुमाननगर जेल काण्डको समयमा दोस्रो विश्व युद्ध उत्कर्षमा थियो । दोस्रो विश्व युद्ध सन् १९३९ देखि १९४५ सम्म चल्यो । मार्शल फ्रेडरिक पाल्स नेतृत्वको जर्मन सेनाको अन्तिम समूहले फरबरी २, १९४३ को दिन स्टालिनग्रादमा आत्मसमर्पण गर्‍यो । त्यो आत्मसमर्पण नै जर्मनीको पहिलो ठूलो पराजय मानियो । हनुमाननगर जेल काण्ड मई २२, १९४३ को घटना हो ।

दोस्रो विश्व युद्धका थुप्रै कारणहरू थिए, जसमध्ये प्रथम विश्व युद्धको असर, इटलीमा फासीवादको विस्तार, जापानी सैन्यवाद र चीनमाथिको आक्रमण, जर्मनीमा एडोल्फ हिटलरको उदय प्रमुख थिए । तर यसको तात्कालिक कारण भने १ सेप्टेम्बर १९३९ मा जर्मनीद्वारा पोल्याण्डमाथि आक्रमण र बेलायतद्वारा जर्मनीविरुद्ध युद्धको घोषणा थियो । हिटलरद्वारा पोल्याण्डमाथिको आक्रमण एक तरहले बेलायतको साम्राज्यवादी अहंकारमाथि चोट थियो, जसलाई बेलायती साम्राज्यले सहन गर्न सकेन र स्वयं प्रत्याक्रमणको जिम्मेवारी लियो ।

पोर्चुगल, स्पेन, जर्मन, नेदरल्याण्डलाई पछ्याउँदै उपनिवेश विस्तार गरेका बेलायत एक दिन इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली साम्राज्य बन्यो । एसियाली मुलुकहरू फ्रान्स, नेदरल्याण्ड, पोर्चुगल, स्पेन, बेलायत तथा अमेरिकाका उपनिवेश थिए । चीन, इन्डोनेसिया, जापान, इजरायलजस्ता एसियाली देशहरूले पनि आफ्ना छेउछाउका देशहरूमाथि उपनिवेश लादेका थिए तर बेलायती उपनिवेशमा सम्पूर्ण दक्षिण एसियासहित २३ वटा एसियाली राष्ट्रहरू थिए । नेपाल बाहृय शक्तिको नभई आन्तरिक उपनिवेशको सिकार रहिआएको थियो ।

एसियाली र अफ्रिकी उपनिवेशहरूमा राष्ट्रवादी आन्दोलनहरू भए र उनीहरूले औपनिवेसिक शासन अन्त गरी स्वतन्त्रता प्राप्त गर्नका लागि लडाइँ लडे, जसले गर्दा नै अन्ततः विदेशी शक्ति पछाडि फक्र्यो । हुनत धेरै घटनाहरू यस परिवर्तनको लागि उत्प्रेरक थिए । तर सबैभन्दा महत्वपूर्ण कुरा दोस्रो विश्व युद्ध थियो । दोस्रो विश्व युद्धले संसारमा ल्याएको राजनैतिक परिवर्तनका कारण बाह्य तथा आन्तरिक सबै खाले उपनिवेशहरू विघटन हुँदै गए । र त्यसैले भारत र नेपालका आन्दोलनकारीहरूलाई एकअर्काका लागि सहयोगी पनि बनायो ।

भारत जतिबेला बेलायती उपनिवेशबाट मुक्तिका लागि संघर्ष गरिरहेको थियो, त्यतिबेला नेपाली जनता राणा शासनबाट मुक्तिका लागि लडिरहेका थिए । राणा सरकारले बेलायती हुकुमतलाई सहयोग गरिरहेका कारणले दुबै देशका क्रान्तिकारी एकै ठाउँमा पुगेकामात्र होइन, आपसमा सहकार्य पनि गर्न थाले । उनीहरू एक अर्काको मुलुकका सीमावर्ति इलाकामा लुकेर बस्दथे र त्यहीँबाट पनि आन्दोलनका कार्यक्रम सञ्चालन गर्दथे । नेपालको क्रान्तिलाई उचाइँमा पुर्‍याउन राजा त्रिभुवन स्वयं पनि सपरिवार भारतमा शरण लिन पुगेका थिए र अन्ततः राणाहरू सत्ता छाडन विवश भएपछि स्वदेश फर्केका थिए ।

सन् १९४७ मा बेलायतको संसदले भारतलाई स्वतन्त्र गर्ने निर्णय गरेसँगै गणतन्त्र भारतको स्थापना भयो । तर नेपाल सन् १९५१ फरबरी १२ मा दिल्ली सम्झौताबाट राणा शासनबाट मुक्त हुँदा गणतन्त्र घोषित भएनÙ बल्कि यस मुलुकले गणतन्त्रत्व प्राप्त गर्न थप सत्तरी वर्ष पर्खिनुपर्‍यो र बलिदानीपूर्ण संघर्ष गर्नुपर्‍यो । राणा शासनको अन्त्य भएपछि जनता अधिकारसम्पन्न भएको धेरैले माने तर त्यो केबल भ्रममात्र सावित भयो ।

राणासत्ताको विघटनसँगै उसले खोसी राखेको राजाको अधिकार पुनः राजामा निहित हुन गयो । राष्ट्रको सम्प्रभु पनि श्री ५ नै मानिए । जनताको अधिकारको स्थापनाका निम्ति जनसंघर्ष पुनः प्रारम्भ भए । सन् १९९० को आन्दोलनबाट श्री ५ राष्ट्र प्रमुख कायमै रहे पनि राष्ट्रको सम्प्रभु र कार्यकारी अधिकार जनतामा आयो भने सन् २००६ को आन्दोलनबाट मात्र श्री ५ लाई च्यूत गरी नेपाल गणतन्त्र राष्ट्र घोषित भयो ।

गणतन्त्र नेपालको प्रणेता रामराजा प्रसाद सिंह हुन् । गणतन्त्रको निम्ति नेपालमा विभिन्न ढंगले संघर्षहरू त हुँदै आए, तर मुख्य रूपमा कसको मुख्य योगदान रहृयो भन्दा गणतन्त्रको नारालाई राजनीतिक ढंगले देशव्यापी रूपमा स्थापित गर्ने श्रेय रामराजा प्रसाद सिंहलाई नै जान्छ । उनले नै पञ्चायतीकालमा हुने स्नातक क्षेत्रको उम्मेदवार बनेर गणतन्त्रको नारालाई स्थापित गरे र त्यहाँबाट नै गणतन्त्रको कार्यक्रम राजनीतिक रूपमा स्थापित भयो । उक्त उम्मेदवारीसँगै उनले प्रकाशित गरेको घोषणापत्र राजतन्त्र र राजा महेन्द्रमाथि ठूलो वैचारिक प्रहार थियो । उक्त घोषणा यस्तो चर्चित भयो कि त्यस जमानामा पाँच पाँच सय रुपैयाँ खर्चेर मानिसले पढे ।

रामराजा प्रसाद सिंहले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति निर्वाचनमा उम्मेदवारी पनि दिए । तर नेपालले भने गणतन्त्रका लागि उनको योगदानको मूल्य चुकाउन सकेन । हुनत उनको निधनमा राष्ट्रले जुन ढंगले राजकीय सम्मान अर्पण गर्‍यो, त्यसले नेपाली राजनीतिक संघर्षको इतिहासको सम्मान अवश्य पनि भएको पाइयो । रामराजा प्रसाद सिंहको जीवनको एक मात्र लक्ष्य ‘गणतन्त्र नेपालको स्थापना’ थियो । उनले गणतन्त्र प्राप्तिको संघर्षमा आफ्नो जीवन र सर्वश्व होमी दिए । सौभाग्यवश जीवनको अन्तिम वयमा उनले नेपाल गणतन्त्र भएको पाए र औधि प्रसन्न भए ।

रामराजा प्रसाद सिंहलाई गणतन्त्रको आवाजलाई जनताको माझमा मुखरित गर्ने श्रेय जान्छ । उनले गणतन्त्र स्थापना गर्न संगठन निर्माण गरी आजीवन संघर्ष गरे । लामो समय निर्वासनमा बसेर पनि नेपाली राजनीति र समाजमा जोडदार धमाका दिइरहे । आफ्नो सर्वश्वहरण हुँदा पनि, मृत्युदण्डको सजाय तोकिँदा पनि उनी गणतन्त्र स्थापनाको जिदलाई छोडेनन् । यति विघ्न हुँदा पनि उनी गणतन्त्र स्थापनाको संकल्पबाट एक कदम पनि पछि हटेनन्, किन ?

हनुमाननगर जेल काण्ड मुद्दामा काठमाडौं जेलमा रहेका पिता जंगलीबाबुलाई भेट्न जाँदा थुनिएका नौ वर्षे बालक रामराजा प्रसाद सिंहलाई त्यतिबेला के थाहा थियो कि त्यसै घटनाले उनलाई राजशाहीको विनाशक र गणतन्त्रको महानायक बनाइदिनेछ

किनभने, रामराजा प्रसाद सिंहको बालमनमै राणाशाही-राजशाहीको खात्मा र गणतन्त्रको स्थापनाको संकल्पले ठाउँ बनाइसकेको थियो । उनको जीवनमा यस्तो अदम्य संकल्प भने एस्सै आएको थिएन । जनक्रान्तिकै बेला नौ वर्षको हुँदा पिता जंगलीबाबुका साथ भाइ लक्ष्मण प्रसाद सिंहसहित काठमाडौंको सदर जेलमा भोग्नुपरेको अवस्थाले नै उनीभित्र गणतन्त्रको दृढ संकल्प र महानायक्त्वको विजारोपण गरेको थियो । पिता र भाइसहित जेल पर्नु हनुमाननगर जेल काण्डकै प्रतिघटना थियो । अर्थात् वि.सं. २००० जेठ ९ गते राति १२ बजे भएको हनुमाननगर जेल काण्डपश्चात राणाले लिएको दमनको नीतिकै प्रतिक्रियामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विजारोपण भयो भने तत्पश्चात पुनस्र्थापित राजशाहीले पुनः दमन नीतिबाट गणतन्त्रको विरुवालाई बटवृक्ष बनाउने काम गर्‍यो ।

हनुमाननगर जेल काण्डको नामले प्रसिद्ध उक्त घटनामा राणा शासकले थुनेर राखेका स्वतन्त्रता सेनानीहरूलाई जेल तोडेर मुक्त गरिएको थियो । क्रान्तिकारीले गारदमा गरेको आगजनीको एउटा झिल्को अन्ततः नारायणहिटीसम्म पुग्यो र एक दिन पुरै नारायणहिटीलाई संग्रहालयमा परिणत गर्‍यो । हनुमाननगर जेल तोडेर कैदी भगाएको भनी नेपाल सरकारले चलाएको फौजदारी मुद्दामा ४२ जना नेपाली नागरिकलाई प्रतिवादी बनाइएको थियो, जसमा रामराजा प्रसाद सिंहका पिता जंगलीबाबु पनि परेका थिए । हनुमाननगर जेल काण्ड मुद्दामा काठमाडौं जेलमा रहेका पिता जंगलीबाबुलाई भेट्न जाँदा थुनिएका नौ वर्षे बालक रामराजा प्रसाद सिंहलाई त्यतिबेला के थाहा थियो कि त्यसै घटनाले उनलाई राजशाहीको विनाशक र गणतन्त्रको महानायक बनाइदिनेछ ।

बाबुमाथि लगाइएको अभियोगमा ‘ए ! उसैको छोरा हो ? ल, यसलाई पनि थुन्दे’ भन्ने किसिमको त्यो कस्तो अन्याय थियो । वास्तवमा त्यही अन्यायले गर्दा त्यो बालकको गणतान्त्रिक अवतरण भयो । त्यसैले हनुमाननगर जेल काण्डको महत्व वर्णन गर्नु त्यति सजिलो छैन । विश्व राजनीतिक परिवर्तनको लहरलाई नेपालसँग जोड्ने काम रामराजा प्रसाद सिंहले तबसम्म गरी रहे, जबसम्म कि यो मुलुकले राजनीतिक परिवर्तनको पूर्णता प्राप्त गरी सकेन ।

भारतमा अंगे्रजी हुकुमतविरुद्ध र नेपालमा राणा शासनविरुद्ध सत्ता हस्तान्तरणको लागि संघर्ष चलिरहेका थिए । सीमामा बसोबास गर्ने नागरिक विनाबर्दी र बन्दुकका सिपाही नै मानिन्छन् । उनीहरू आआफ्नो अस्तित्वका लागि आपसमा लड्छन् पनि र सहअस्तित्वका लागि एकअर्काप्रति समर्पित पनि रहन्छन् । सांस्कृतिक जीवनमा उनीहरू यस प्रकारले आबद्ध हुन्छन् कि राजनीतिक सीमा विभाजनले उनीहरूलाई अलग्याउन सक्दैन । सांस्कृतिक जीवनको त्यसै धरातलमा नेपाल र भारतमा आन्दोलनकारी एकअर्काको आन्दोलनका सहयोद्धा हुन पुगेका थिए ।

वि.सं. १९९९ श्रावण २४ गते (सन् १९४२ अगस्त ८) महात्मा गान्धीले भारतमा ‘करो या मरो’ को नारा दिएर तत्कालीन संघर्षलाई एक डेग अघि बढाएका थिए । गान्धीसँग छुट्टएिका नेताजी सुभाषचन्द्र बोस आजाद हिन्द फौज गठन गर्ने काममा लागेका थिए । यता राणा शासनका खिलाप वि.सं १९९३ मा नेपाल प्रजा परिषद् गठन भई आन्दोलन चर्किरहेको थियो । भारतका स्वतन्त्रता सेनानी नेपाली सीमावर्ति गाउँहरूमा र नेपाली क्रान्तिकारी भारतीय सीमावर्ति गाउँहरूमा लुकेर बस्थे, आपसी भेटघाट, क्रान्तिकारी बैठक आदि गर्ने गर्थे ।

नेपाली सीमावर्ति जिल्ला सप्तरीका कोइलाडी, बर्साइन, मधेपुरा, बनैनियाजस्ता गाउँमा राजपुतहरूको घनाबस्ती थियो । राजपुतहरू ठूल्ठूला जमिन्दार थिए । जमिन्दारीका कारण शासनमा उनीहरूको राम्रै पहुँच त थियो तर उनीहरू निरंकुशताका खिलाफ पनि लागेका थिए । उनीहरू नेपाल र भारत दुबै देशमा निरंकुशता र उपनिवेशविरुद्ध चलिरहेको मुक्तिकामी संघर्षको पक्षमा थिए र भारत एवं नेपालका क्रान्तिकारीहरूलाई हरेक तरहले सहयोग गरिरहेका थिए । ती गाउँका अलावा सखडा र नर्घोसमेत दुवै देशका क्रान्तिकारीहरूका लागि सेल्टर बनेका थिए ।

क्रान्तिकारीहरूलाई सहयोग गर्ने प्रमुख व्यक्तिहरूमा रामेश्वर प्रसाद सिंह, तारिणी प्रसाद सिंह, चतुरानन्द सिंह, जयमंगल प्रसाद सिंहलगायत थिए । जयमंगल प्रसाद सिंह रामराजा प्रसाद सिंहका पिता र जंगलीबाबुको नामले प्रसिद्ध थिए । भारतीय स्वतन्त्रता सेनानीहरू यता नेपाल पसेर बनैनिया, सखडा, बर्साइन, कोइलाडीमा र त्यस्तै नेपालका क्रान्तिकारीहरू उता भारत पसेर नेउर, कुनौली आदिमा सेल्टर लिने गरेका थिए ।

रामेश्वर प्रसाद सिंहको संस्मरणमा उल्लेख भए अनुसार हनुमाननगर जेल काण्डको संक्षिप्त घटनाक्रम यस प्रकार छ । गान्धीको अवज्ञा आन्दोलन र ‘करो या मरो’ को नाराले तरंग ल्यायो । देशभर रेल, डाक, तार, कचहरीको तोडफोड हुन थाल्यो । सरकारले दमन र धरपकड तीव्र बनायो । लोकनायक जयप्रकाश नारायण जेल तोडेर फरार भए । लुक्दै छिप्दै नेपाल पसे । डा. राममनोहर लोहिया, कुमारी विजया पटवर्द्धनलगायत दर्जनौं स्वतन्त्रता सेनानी पनि नेपाल पसे । उनीहरूको सेल्टर सखडा, बनैनिया, बनरझुला, बर्साइन, कोइलाडी, कोशी टप्पु आदि स्थान भए । जयप्रकाश नारायण तथा राममनोहर लोहिया कोशीटप्पु क्षेत्रमा बसेका थिए । स्वतन्त्रता सेनानीहरूले यता नेपालमा दुई पटक सम्मेलन सम्पन्न गरे भने त्यसै सम्मेलनको निर्णयबाट सुरुंगामा फौजी तालिम क्याम्प पनि सञ्चालन गरे ।

यसैबीच राणा सरकारका एक पूर्वकर्मचारीले कोशी टप्पु क्षेत्रमा हतियारधारी स्वतन्त्रता सेनानी लुकेर बसेको सूचना बडाहाकिमलाई दियो । प्रहरीहरू खटिए र जयप्रकाश नारायण तथा राममनोहर लोहियासहित सातजना स्वतन्त्रता सेनानीहरूलाई पक्राउ गरी हनुमाननगरस्थित बडाहाकिमको गारदमा राखे । जयप्रकाश एवं लोहिया समातिएको कुरा सखडा, बनैनिया, बनरझुला, बर्साइन, कोइलाडी, फौजी तालिम क्याम्प सुरुंगासम्म पुग्यो । स्वतन्त्रता सेनानी तालिमे फौजीहरूले त्यही राति गारदमाथि आक्रमण गरी आफ्ना नेताहरूलाई छुटाएर लगे । आक्रमणको क्रममा केही सिपाही मारिए र केही घाइते पनि भए ।

राणाहरू भारतीय स्वतन्त्रता सेनानीहरूले सेल्टर लिएको, बारम्बार सम्मेलन गरेको, फौजी क्याम्प चलाएको आदि घटनाबाट बेखबर थिए । तर जेलमाथि आक्रमण गरी कैदी छुटाएर लगेसम्मका घटनाबाट उनीहरू रन्थनिए । राणाले सहयोग गर्दै आएको अंग्रेजको आफूप्रतिको विश्वास भंग हुने कुराले पनि उनीहरू बेचैन भए । आक्रमणकारी स्वतन्त्रता सेनानीहरू त जेल काण्डपछि स्वदेश फर्की सकेका थिए तर त्यस घटनाको फौजदारी मुद्दा भने नेपाली नागरिकले झेल्नुपर्‍यो । सरकारले तत्काल धरपकड गरी ४२ जनामाथि मुद्दा चलायो । आरोपीहरूले आफूलाई घटनाबारे जानकारी नभएको बताए पनि अमिनी तथा जिल्ला अदालतमा कारबाहीपछि मुद्दासहित उनीहरूलाई काठमाडौं सारियो ।

वि.सं. २००१ अर्थात् सन् १९४४ मा बि्रटिश सरकारले एटर्नी जनरलसहितको टिम यो जान्नलाई नेपाल पठायो कि नेपाल सरकारलाई वादी बनाएर भारतमा जयप्रकाश नारायण उपर मुद्दा चलाउन सकिन्छ कि सकिँदैन । उनीहरूले १५ दिनसम्म मिसिलको अध्ययन गरे तर मुद्दा चलाउन नसकिने निष्कर्षमा पुगेर फर्के । गारदमा गोली चलाउनेमा स्वतन्त्रता सेनानी सूर्य नारायण सिंह, नित्यानन्द सिंह, गुलाबी सोनार, अवध सिंह नाम उल्लेख भए पनि त्यो दाबी पुष्टि हुने प्रमाण मिसिलमा थिएन । श्री ३ ले पनि मिसिललाई कारगर ठानेनन् ।

मिसिल कमजोर भएकाले आरोपीहरू छुट्न थाले । अब्दुल मियाँ र कृष्णवीर कामीको निधन जेलमै भइसकेको थियो । रामेश्वर प्रसाद सिंहले स्मरणमा उल्लेख गरे अनुसार वि.सं. २००२ असोज २ गते जेलमा चतुरानन्द सिंह र जंगली बाबू मात्र बाँकी रहेका थिए । सन् १९४६ मा अंग्रेज सरकार भारत त्याग्ने प्रक्रिया प्रारम्भ भएपछि मात्र उनीहरूको रिहाइ भयो । जंगलीबाबु काठमाडौं जेलमा हुँदा उनलाई भेटन गएका रामराजा प्रसाद सिंहलाई पनि त्यहीँ थुनेर राखियो । जेलमा रहँदा नै नौ वर्षको बालापनमा उनले क्रान्तिकारिताको पाठ पढे । र, त्यो पढाइ यस्तो गम्भीर थियो कि त्यसैको बलमा उनले सिंगो क्रान्तिलाई पूर्णता दिन सफल भए ।

गणतन्त्र नेपालका संस्थापक रामराजा प्रसाद सिंहको जीवनका महत्वपूर्ण घटनाहरू तथा कानूनी तथा अंग्रेजी साहित्यको अध्ययन, ग्रेजुएट कन्स्िटच्वेन्सीबाट उम्मेदवारी-घोषणापत्र-विजय र जेल यात्रा, राजा महेन्द्रसँगको वाकयुद्ध, निर्वासन, च्वे ग्वेभाराको दीक्षा, नेपाल जनवादी मोर्चाको गठन, गुरिल्ला युद्धको तयारी, बम काण्ड, माओवादी जनयुद्धलाई उत्प्रेरणा-प्रशिक्षण र सामरिक सहयोग, गणतन्त्र नेपालको प्रथम राष्ट्रपति पदमा उम्मेदवारी र अविजय, निधन र राजकीय सम्मान आदि आलोकित भए तर जुन घटनाले उनलाई क्रान्तिको मार्गमा लम्कन धक्का दिएको थियो, हनुमाननगर जेल काण्डको त्यो घटना भने इतिहासमा अझै ओझेलमै छ ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?