Comments Add Comment

‘कर्णालीको ५० प्रतिशत जनसंख्याबारे सरकारले कहिले सोच्छ ?’

२८ फागुन, सुर्खेत । अक्सर करुणाको बिम्बमा आउँछ, कर्णाली । त्यही कर्णालीको माटोमा सञ्चालित कर्णाली उत्सवको मञ्चमा ‘छाउ र भाउ’ अर्थात महिला र बालबालिकाको विषयमा बहस गर्दै थिए– बालरोग विशेषज्ञ डा.नवराज केसी, लेखक राधा पौडेल, राजनीतिकर्मी विन्दा पाण्डे र अधिकारकर्मी गमता बिक  ।

देशका फरक–फरक भूगोलबाट आएका तर, कर्णाली भोगेका र बुजेका ती पात्रसँग वहस छेड्दै थिए– अध्येता दिव्यराज खड्का ।

‘कर्णालीमा विभेदको अवस्था, महिला र बालबालिकाको अवस्था कस्तो छ ?’ उत्सवको मञ्चमा डा. केसीलाई दिव्यराजले प्रश्न गरे । ‘कर्णालीमा छाउ र भाउको अवस्था साँचिकै नाजुक छ, दयनीय छ,’ डा. केसीले गम्भीर हुँदै जवाफ दिए । डा. केसी ती व्यक्ति हुन्, जो कर्णालीमै बसेर दुरदराजका बस्तिमा बालबालिकाहरुलाई विशेषज्ञ सेवा प्रदान गर्छन् ।

‘कर्णालीका ५० प्रतिशत बालबालिका कुपोषित छन् । पोषण दिवसका बेला खानपानबारे कुरा ठूलै गरिन्छ । के तपाईलाई थाहा छ ? बालबालिका किन कुपोषित छन् ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘किनकी बालबालिकासँगै आमाहरू पनि कुपोषित छन् ।’

डा. केसीका अनुसार कर्णालीका ९२.५ प्रतिशत महिलाहरूको नाममा घरजग्गा छैन । उनीहरु सुकुमवासी हुन् । ४१.५ प्रतिशत महिलाहरु अशिक्षित छन् । जसको प्रत्यक्ष असर बालबालिकामा देखिने गर्छ । कर्णालीमा युवाहरुको एउटा ठूलो जमात पनि अशिक्षित छ ।

‘हाल कर्णालीमा रहेको ५० प्रतिशत कुपोषित बालबालिका अबको २० वर्षपछि कर्णालीको आधा जनसंख्या हो । यो आधा जनसंख्याबारे सरकारले कहिले सोच्छ ?’ डा. केसीको प्रश्न छ ।

डा. केसीलाई लाग्छ, कर्णालीमा देखिने अनेकन समस्याहरुको मुख्य जरो यही हो । जबसम्म आमा र अर्थतन्त्रलाई जोड्न सकिँदैन तबसम्म देश जहाँको त्यहीँ रहने उनको तर्क छ ।  ‘हाम्रो दिमागको ७० प्रतिशत हिस्सा आमाको कोख र काखमा विकसित हुन्छ् । त्यो साइजमा मात्र होइन, भावनात्मक र बौद्धिक विकास पनि हुन्छ,’ डा. केसीको तर्क छ, ‘त्यसैले गर्भवती र सुत्केरी आमाको स्याहारका लागि राज्यले आमाको ‘अ’ लाई अर्थतन्त्रको ‘अ’सँग जोड्न आवश्यक छ ।’

०००

कुप्रथा विरुद्धको संघर्ष, सामाजिक विभेद विरुद्धको संघर्ष, उ बेला भोगेको र अहिले बाँचिरहेको जीवनसम्म आइपुग्दा चढिने हरेक खुट्किला आफैंमा संघर्ष हुन्छन् । र, आफ्नो कथा तिनै खुट्किला, तिनै पाइलामा भेटिन्छन् । आफ्ना लागि गरिएका कतिपय निर्णयहरू अहिले आएर ‘विद्रोह’ ठान्छिन् गमता बिक  ।

१९ वर्षको उमेरमा ‘घरबारे’ भएकी गमताले महिनावारी र सुत्केरी अवस्थाबारे आफ्नो अनुभव सुनाइन् । ‘१९ वर्षमा लछारपछार गर्दै बिहे गरिदिए, आइरन चक्कीको सट्टा ढुङ्गा खाएर बच्चा जन्माए । छाउ र सुत्केरी हुँदा आराम चाहिने रहेछ । त्यो बेला बच्चा जन्मिएको दुईतीन दिनमै घाँस दाउरा गर्न जंगल जान्थे ।’

गमतालाई लाग्थ्यो, महिनावारी हुँदा चुलो छोए देउता लाग्छन्, बारी छोए फूल फूले पनि फल लाग्दैन । तर, गमताले छाउ विद्रोहको शुरुआत आफ्नै बारीबाट गरिन् । आफूले छोएको फूल फूलेर फल लाग्न थालेपछि गमताले महिनावारी बार्न छाडिन् ।

‘यसरी मजस्तै २० जना साथी मिलाएर आमा समूह बनाएँ । आमा समूहबाट छाउ भत्काएर ट्वाइलेट बनाउन सुरु ग¥यौँ,’ उनी सम्झिन्छिन्, ‘तर अहिले पनि नीतिमा विभेद नगर्नू भने पनि व्यवहारमा कार्यान्वयन भने भएको छैन ।’ महिलाहरू पछि पर्नुमा उनी आर्थिक अवस्था मुख्य कारण मान्छिन् ।

त्यो बेला उनलाई थाहा थिएन छाउ विद्रोह कस्तो हुन्छ ? आज सयौं गमताहरू छाउ कुप्रथा विरुद्धको अभियन्ता बनेका छन् । उनको बुझाइमा वर्षौंदेखि समाजमा जरा गाडिबसेको ‘पित्तृसत्तात्मक चिन्तन’ चिर्न त लामो समय लाग्छ । यो रातारात हुने परिवर्तन होइन । तर, त्यसका लागि मैदान छोड्नुभएन ।

गमतालाई लाग्छ, ‘अधिकारका लागि लड्ने हो । जटिलता त थुप्रै हुन्छन् । त्यही हाम्रो विद्रोह हो । त्यही हाम्रो संघर्ष हो ।’

०००

अक्षर र भाषणमा महिला सशक्तीकरणको भए पनि व्यवहारमा उनीहरूलाई पशु समान व्यवहार गरिने लेखक राधा पौडेलको बुझाइ छ । ‘जबसम्म महिनावारी विभेदलाई वार्ता गर्दैनौँ तबसम्म केही हुँदैन,’ उनी भन्छिन् ।

समाजले छोरीहरुलाई शक्तिविहीन र छोरालाई शक्तिशाली बनाएको उनको तर्क छ । ‘तर, अब प्रश्न गर्नुपर्छ । प्रश्न गर्ने पहिलो थलो घर हो,’ लेखक पौडेलले भनिन्, ‘आज आफ्नो परिवारमा प्रश्न गर्न नसक्ने छोरीले भोलि श्रीमान र समाजसँग प्रश्न गर्न सक्दिनन् ।’

त्यस्तै राजनीतिकर्मी विन्दा पाण्डेले कर्णाली श्रोत नभएर नभइ त्यसको व्यवस्थापन हुन नसक्दा गरिब भएको बताइन् । देशलाई समृद्ध बनाउन पहिला आमालाई समृद्ध बनाउनुपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment