Comments Add Comment

बिजुली निर्यात गर्न कार्यविधि ल्याउने तयारी

१ चैत, काठमाडौं । ऊर्जा मन्त्रालयले अन्तर्देशीय विद्युत ब्यापारका लागि कार्यविधि बनाउने भएको छ । नेपालमा खपत हुन नसकेर बढी भएको बिजुली लागि मन्त्रालयले एक कार्यदल नै बनाएर काम थालेको  छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधु भेटवालका अनुसार केही समयअघि नै गठन भएको यो कार्यदल पछिल्ला दिनमा सक्रिय भएको छ । कार्यदलमा ऊर्जा मन्त्रालयसहित नेपाल विद्युत प्राधिकरण लगायतका निकायका अधिकारीहरु छन् ।

भारतले २६ फेब्रुअरी २०२१  (१४ फागुन २०७७) अन्तर्देशीय विद्युत् व्यापार कार्यविधि जारी गरेपछि नेपाल सरकारले पनि कार्यविधि तयार गर्न थालेको हो ।

भारतले नेपाललाई भारतसँग सरकारीस्तर तथा निजी क्रेता-बिक्रेताबीच द्विपक्षीय सम्झौता र बोलपत्रबाट विद्युत् व्यापार गर्ने बाटो खोलिदिएको छ । नेपालले पनि तीनवटै माध्यमबाट भारत र बंगलादेशमा अन्तर्देशीय विद्युत ब्यापार गर्न मिल्ने गरी कार्यविधि बनाउन लागेको हो ।

‘कार्यविधिमार्फत अन्तर्देशीय विद्युत ब्यापार गर्दा कुन काम, कुन निकायबाट, कसरी गर्ने भनेर प्रक्रियाहरु तय गरिनेछ,’ प्रवक्ता भेटवालले भने ।

यो कार्यविधिले आएपछि आगामी वर्षायाममा नेपालमा खेर जान सक्ने बिजुली भारतमा बिक्री गर्ने बाटो खुल्नेछ ।

हाल नेपालको विद्युत उत्पादनको जडित क्षमता करिब १५ सय मेगावाट पुगेको छ । निजी क्षेत्रका आयोजनाबाट ७२८ मेगावाट विद्युत् उत्पादन हुन्छ । तामाकोसी जलविद्युत आयोजनाको समेत गरेर आर्थिक वर्ष २०७७/७८ मा करिब ८२५ मेगावाट बिजुली प्रणालीमा थपिने अनुमान छ । यी आयोजनाहरुले वर्षायाममा मात्र पूर्ण क्षमतामा बिजुली उत्पादन गर्छन् ।

नेपालको प्रणालीमा उच्चतम् लोड १४७५ मेगावाट रहेकाले वषर्ायाममा उत्पादन हुने सबै बिजुली देशभित्र खपत हुन सक्दैन । विद्युत प्राधिकरणले निर्माणाधीन आयोजनाबाट उत्पादन हुने करिब ३ हजार ३०० मेगावाट विद्युत पनि केही वर्षभित्र किन्नुपर्छ । छ हजार मेगावाट बराबरका आयोजनासँग प्राधिकरणले ‘लेऊ वा तिर’ (पीपीए मोडालिटी) मा सम्झौता गरेको छ ।

यो कारण वर्षयाममा बढी हुने विद्युत भारतलाई बेच्नु प्राधिकरणका लागि अनिवार्य छ । त्यसो हुन नसके अर्बौ रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने अवस्था छ । गत वर्षायाममा नै रातिको समयमा २०० मेगावाटसम्म बिजुली खपत हुन नसकेर खेर गएको थियो ।

भारतले आफ्नो कार्यविधि ल्याइसकेकाले नेपाले पनि यस्तो कार्यविधि जारी गरेर यस्तो जोखिम टार्नेछ ।

नेपाल विद्युत प्राधिकरणले भारतको नोडल एजेन्सी एनटीपीसी विद्युत ब्यापार निगम (एनभीभीएन)सँग आफ्नो बिजुली भारतको पावर एक्सचेन्ज मार्केटमा लैजाने गरी समझदारी गरिसकेको छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणलाई भारत र बंगलादेशको पावर एक्सचेन्ज बजारमा नेपालमा खपत भएर बढी हुने बिजुली बेच्न अनुमति दिइसकेको छ ।

भारतमा भारतीय विद्युत एक्सचेन्ज (आईईएक्स) र पावर एक्सचेन्ज इन्डिया लिमिटेड (पीएक्सआईएल) गरी दुई वटा विद्युत ब्यापारको एक्सचेन्ज अनलाइन मार्केट छन् । यो मार्केटमा आफ्ना लागि आवश्यक हुने बिजुली अगि्रम बुक गर्न सकिन्छ ।

आफूलाई बढी हुने बिजुली बेच्न चाहानेले एक्सचेन्ज मार्केटमा बेच्नका लागि प्रस्ताव राख्छन् । यस्ता डे-अहेड वा टर्म अहेड बजारमा विदेशबाट आयातित बिजुली बेच्न भारतको अन्तरदेशीय विद्युत ब्यापार निर्देशिकाले बाटो खुला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment