करिव नब्बे वर्ष पुग्न लाग्नुभएकी हजुरआमा क्षयरोगबाट पीडित भएर निको हुनु भएको दशक लागिसक्यो । क्षयरोगको शंका लाग्ने बित्तिकै शीघ्र निदान, पूर्ण उपचार, उपयुक्त पौष्टिक आहार, सरसफाई, पारिवारिक माया र स्नेहले अहिले निको हुनु भएको छ ।
भेट हुदा नाति आयो भनेर काखतिर तान्दै सुम्सुम्याउनु हुन्छ । म्वई खानु हुन्छ नाति भन्दै गाला छुदै बस भन्नुहुन्छ । अनि मेरो मन प्रफुल्लित हुन्छ । आखा रसाएर आउछन, खुट्टामा ठोग गर्दै हजुर आमाको स्नेहमा बाँधिन्छु । एक समय थियो क्षयरोग भन्ने बित्तिकै हामी डराउँथियौँ । तर अब डराउने होईन रोगसंग लड्नको लागी हाम्रो बानि ब्यवाहार परिवर्तन र उपचार गर्नु आबश्यक छ ।
सचेतना र बानी व्यवाहार परिवर्तन गराउने उदेश्यले क्षयरोग दिवस मनाइन्छ । यस बर्ष ‘संकेत समयको, क्षयरोग अन्त्यको’ (द क्लक इज टिकिङ) भन्ने नाराको साथ मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइदैछ ।
क्षयरोग अर्थात् ट्युबरक्लोसिस ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भएपनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरु मध्ये एक जल्दो बल्दो समस्या हो ।
क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, थुक्दा यसका जीवाणुहरु निस्कन्छन् र हावाको माध्यमबाट अरु निरोगी व्यक्तिहरुमा समेत सर्ने गर्दछन् । क्षयरोगका जिवाणुले शरीरको फोक्सोमा बढि असर गर्दछ तर जिवाणुले शरिरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।
यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुको साथै व्यक्तिको तौल पनि कम हुदै जाने लक्षण देखा पर्दछन् । यी लक्षणहरु देखा पर्ना साथ तुरुन्त नजिकको अस्पतालमा गई रोगको निदान र पूर्ण उपचार गराउनु पर्दछ ।
स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदन २०७५-०७६ अनुसार नेपालमा हरेक वर्ष बयालीस हजार नयाँ क्षयरोगका बिरामीहरु थपिने गरेको तथ्याङ्क सार्बजानिक भएको छ । विश्व स्वास्थ्य संगठन ग्लोवल टी.बी. रिपोर्ट २०१८ का अनुसार क्षयरोग मृत्युदर तेइसप्रति लाख रहेको पाइएको छ । यो मृत्युदरमा एच्.आई.भीसहितको टी.बी.लाई समावेश गरिएको छैन ।
विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा एक करोड बिरामी र चौध लाख जना टीबीबाट मृत्यु भएको तथ्य सार्बजानिक गरेको थियो । क्षयरोगले पार्ने आर्थिक, सामाजिक समस्यालाई निर्मुल पार्न नेपाल सरकार स्यास्थ्य मन्त्रालयले क्षयरोग मुक्त नेपालको परिकल्पना गरेको छ । यसको लागि सन् २०१५ मा देखिएको नयाँ बिरामीको दरलाई सन् २०२१ मा २० प्रतिशतले कम गर्ने उदेश्य मन्त्रालयले राखेको छ ।
टी.बी. बाट बच्नको लागि एक मात्र खोप बीसीजी हो । यो जन्मिने बित्तिकै बच्चालाई लागाउनुपर्दछ । स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिबेदन २०७५÷२०७६ अनुसार बि.सि.जी. खोप लगाउने बच्चाहरुको संङ्ख्या ९१ प्रतिशत छ ।
नेपालको सबैभन्दा बढी बीसिजी कभरेज भएको जिल्ला रुपन्देही हो भने सबैभन्दा कम कभरेज भएको जिल्ला मनाङ हो । बीसीजी खोप लगाउँदा ६० प्रतिशत सम्म क्षयरोग लाग्ने सम्भावना कम हुन्छ ।
क्षयरोग एक सरुवा रोग भएकोले रोकथाम गरे सजिलैसंग बच्न सकिन्छ । बच्ने उपाए अपनाउदा अपनाउदै पनि रोगको शंका लाग्ना साथ नजिकको अस्पतालमा गई रोगको निदान गरि पूर्ण उपचार गरे योे रोग पूर्ण रुपमा निको हुन्छ । यो रोग बाट बच्नका लागी निम्न उपायहरु अपनाउन सकिन्छ ।
१. बच्चालाई अनिबार्य रुपमा बीसीजी खोप लागाउने । यसका लागि नेपाल सरकार, स्वास्थ्यकर्मी र आम जनताहरु सबैले आफ्नो जिम्मेवाारी पूर्ण रुपमा पालना गर्ने ।
२. धेरै भिड–भाड हुने ठाउँमा सकेसम्म नजाने, जानै परे विशेष सावधानी अपनाएर मात्र जाने ।
३. पोषणयुक्त खाना नियमित रुपमा खाने । रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने खानेकुराहरु खाने ।
४. दैनिक रुपमा शारीरिक ब्यायम गर्ने ।
५.बिरामीले जथाभाबी थुक-खकार नफाल्ने । निश्चित ठाउमा फालिएको थुक खाकारलाई रामरी बिसर्जन गर्ने । नियमित रुपमा औषधी खानुको साथै हावा आवत–जावत हुने कोठाको प्रयोग गर्ने ।
६.धुम्रपान मद्यपानको सेवन नगर्ने ।
क्षयरोग रोकथाम र उपचार गर्न सकिने जनस्वस्थ्य समस्या भएकोले यस रोग लाई न्यूनीकरण गर्न हामी सबै एक भइ बीसीजी कोभरेजलाई १०० प्रतिशत पुर्याई बानीव्यहोरा परिवर्तन, समयमा निदान र पूर्ण रुपमा उपचार गरे क्षयरोग बाट सजिलै बच्न सकिन्छ । क्षयरोगबाट वच्नको लागी उपचारात्मक सेवालाई जोड दिनु भन्दा रोगको रोकथाम मै ध्यान दिन सके आम जनताको स्वास्थ्यलाई जोगाउन सकिन्छ ।
लेखक चौधरी कोशी हेल्थ एण्ड साईन्स क्याम्पसका प्राध्यापक हुन् ।
प्रतिक्रिया 4