+

एनएसएलका लागि बुटवल लुम्बिनीमा ३ अफ्रिकी खेलाडी

२०७७ चैत  २० गते १७:३० २०७७ चैत २० गते १७:३०
एनएसएलका लागि बुटवल लुम्बिनीमा ३ अफ्रिकी खेलाडी

२० चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम बुटवल लुम्बिनी एफसीले तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै टिमले भारतको आई लिगसमेत खेलिसकेका दुईसहित तीन अफ्रिकी खेलाडीको नाम सार्वजनिक गरेको हो।

घानाका ओपोकु विलियम असिएडु, नाइजेरियाका ओमुलाजा करिम र चाडका अर्माड बेअडोलाई बुटवल एफसीले एनएसएलका लागि अनुबन्ध गरेको क्लबका महाप्रवन्धक राजुकाजी शाक्यले जानकारी दिए ।

विलियम र करिम आई लिग खेलेका खेलाडी हुन् भने चाडको अर्माडले गत सिजन च्यासल युथ क्लबबाट नकआउट प्रतियोगिता खेलेका थिए ।

गत सिजन च्यासल क्लबको प्रशिक्षक हुँदा आफूले नै प्रशिक्षण दिएको खेलाडी भएकाले र अर्मान्डलाई अनुबन्ध गरेका शाक्यले जानकारी दिए ।

बुटवल लुम्बनी एफसीका अध्यक्ष राजकुमार तिमिल्सिनाले अहिलेसम्म १८ खेलाडी अनुबन्धित भइसकेको र अब दुई-दुई स्थानीय खेलाडी अनुबन्ध गर्न बाँकी रहेको बताए।

‘एनएसएलको लागि एउटा टिमले २० खेलाडी राख्न पाउँछ । हाम्रो अब २ जना खेलाडी राख्न बाँकी छ। विदेशी खेलाडीको पनि टिकेटिङ प्रोसेस शुरु भइसकेको छ । उनीहरु आएपछि हामी सबै खेलाडीलाई सोल्टी होटलमा राख्र बन्द प्रशिक्षण सुरु गर्नेछौँ’ उनले भने।

टिमको मार्की प्लेयरमा गोलकिपर विशाल श्रेष्ठ छन् । यस्तै प्रशिक्षकमा सनोज श्रेष्ठ, गोलकिपिङ प्रशिक्षकमा उज्वल मानन्धर छन् ।

मार्की प्लेयर विशाल श्रेष्ठले बुटवलको टिममा युवा र सिनियर खेलाडी रहेकाले सन्तुलित टोली बनेको बताए । ‘टिम सन्तुलित छ । अनुभवी र युवा खेलाडी टिममा छन् । टेक्निकल पाटो पनि राम्रो छ । टिमको प्रशिक्षक पनि राम्रा छन् । राजुकाजी शाक्य पनि हुनुहुन्छ । यसले खेलाडीको मनोबल बढाएको छ,’ उनले भने ।

महाप्रबन्धक राजुकाजी शाक्यले विदेशी खेलाडी टिमसँग सेट भएमा फाइदा हुने बताए । ‘विदेशी खेलाडीले नेपालमा एडजस्ट गर्न सके राम्रो हुन्छ, तर नेपाली मैदानमा एडजस्ट नभए गाह्रो हुन्छ’ शाक्यले भने, ‘हामीले च्याम्पियन बन्न मिहिनेत त गर्नै पर्छ ।’

शाक्यले २५ र २६ गते हुने प्रतियोगिताबाट २ जना स्थानीय खेलाडी पनि छनोट गर्ने बताए । बुटवल लुम्बिनी एफसीका अध्यक्ष राजकुमार तिलम्सिनाले खेल जित्नका लागि कुनै सम्झौता नगर्ने बताए ।

नेपाल सुपर लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिगमा ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

एनएसएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय