Comments Add Comment

वीरगञ्ज भन्सारमा पनि एकद्वार प्रणाली लागु गर्ने तयारी

२४ चैत, वीरगञ्‍ज। स्वचलित सूचना आदान प्रदान गर्दै पेपर फ्रि व्यापार प्रणालीको विकास गर्न भन्सार विभागले तयारी थालेको छ । त्यसैक्रममा सूचना आदान प्रदानको थलो वेवसाइट निर्माण गरिएको छ ।

अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सम्बद्ध पक्षहरुले आयात, निर्यात तथा पारवनसम्बन्धि सम्पूर्ण कागजात तथा सूचना एकै पटक एकै प्रवेश विन्दुबाट दिने, विभिन्न निकायमा कानुनी औपचारिकता पुरा गर्न वा निर्णयका लागि पेश भएका व्यापारिक घोषणाहरुको बारेमा भएका निर्णयहरु समेत सोही एप्लीकेसनले आवेदकसम्म पुर्‍याउने व्यवस्था यसमा छ।

थाइल्याण्ड, सिंगापुर, मलेशिया, इन्डोनेशिया, दक्षिण कोरिया, कीर्गिस्तान अजरवैजान, जापान जस्ता देशले यो प्रणाली प्रयोग गरिसकेका छन् भने भारत बंगलादेश, माल्दिभ्स देशले आंशिक प्रयोगमा ल्याइसकेका छन्।

प्रणाली लागु भएपछि एकल घोषणा हुने, पेपर वर्क नहुने, कर्मचारीहरुसँग भेट नहुने, पारदर्शी हुने, सूचनाको सरल आदान प्रदान हुने, जोखिम व्यवस्थापनमा टेवा पुग्ने मात्रै नभएर विद्युतीय भुक्तानीको समेत व्यवस्था गरिने दावी भन्सार विभागले गरेको छ।

तीन चरणमा गरी झण्डै ३८ वटा सरोकारवाला निकायलाई एकद्वार प्रणालीमा ल्याउने भन्सार विभागले जनाएको छ । हाल पशु सेवा विभाग, प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सेवा प्रणालीमा ल्याइसकिएको विभागको भनाइ छ । त्रिभुवन विमानस्थलमा यसको प्रयोग शुरु भइसकेको छ भने वीरगञ्ज भन्सार कार्यालयमा पनि लागु गर्ने तयारी छ।

त्यस क्रममा भन्सार विभागको नेपाल राष्ट्रिय एकद्वार प्रणाली आयोजना कार्यान्वयन एकाईको टोली वीरगञ्ज आएको छ । टोलीले प्रणालीमा आइसकेका विभागका वीरगञ्ज स्थित कार्यालयका कर्मचारीहरुलाई प्रणालीको बारेमा जानकारी दिनुका साथै सरोकारवालासँग छलफल गरेको छ । छलफलमा विभागका निर्देशक अनुप न्यौपानेले प्राणालीको बारेमा र कम्युटर अधिकृत अरुण पौडेलले प्राविधिक कुराहरुको बारेमा जानकारी गराएका थिए ।

विभागका निर्देशक सूर्यप्रसाद सेढाइँले सन् २०१९ देखि नै यो प्रणालीको विकास गर्न थालेको जानकारी दिए । कोभिडका कारण डिजाइन र कार्यान्वयनमा ल्याउन केही ढिला भएको उनले बताए ।

छलफलमा सहभागीहरुले भ्याट र भीसीटीएसमा जस्तो झुक्याएर नसताउन आग्रह गरेका थिए । उनीहरुले एकद्वार प्रणाली सुन्दा राम्रो लागे जस्तै कार्यान्वयनमा पनि राम्रो हुनुपर्ने तर्क गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले गैरकानुनी रुपमा हुने व्यवसायलाई निरुत्साहित गर्नका लागि भन्सारमा ल्याइने प्रणालीको कार्यान्वयनमा सहयोग गर्ने आश्वासन दिए । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले कुनैपनि बहानामा आयातकर्तालाई अनावश्यक दुःख दिन नहुने बताए ।

‘भ्याट लिएपछि भन्सारमा अन्य कर विस्थापित गर्दै जाने भनिएको थियो । तर अहिले विभिन्न कर लिने गरिएको छ । भिसिटिएस पनि व्यापारीलाई दुःख दिन ल्याएको जस्तै भएको छ’ उनले भने ‘ यसले पनि थप दुःख र झण्झट नदेओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment