
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मभूमि नेपालको अयोध्यामै भएको तथ्य प्रस्तुत गर्दै अयोध्याधाम राममन्दिर निर्माणका लागि त्यहाँका जनप्रतिनिधिसँग चासो व्यक्त गरेपछि माडी पछिल्लो समय सर्वाधिक चर्चामा छ ।
यही सन्दर्भसँग जोडिएको अयोध्यापुरी पुगेर त्यहाँको माटोसँग स्पर्श गर्ने र त्यस ठाउँका नागरिकको जनजीवन बुझ्ने उत्कट अभिलाषा मनमा पालुवा जसरी उम्रिरहेका थिएँ । तर, त्यहाँ पुग्ने संयोग भने मिलिरहेको थिएन ।
चैतको पहिलो हप्ता काठमाडौं महानगरपालिकाले चितवनको सौराहामा आयोजना गरेको ‘काठमाडौँ महानगरपालिका र वडास्तरबाट सञ्चालन भएका कार्यक्रमहरुको समीक्षा तथा आगामी योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा सहभागी हुने अवसर मिल्यो । त्यही कार्यक्रमको सिलसिलामा म चितवनको सौराहा पुगेको थिएँ ।
चैतको पहिलो हप्ता काठमाडौंबाट चितवन पुग्दा त्यहाँको तापक्रम ४२ डिग्रीको आसपासमा थियो । भरतपुरको तातो मौसमसँगै मलाई माडी पुग्ने हुटहुटीले पनि त्यत्तिकै तताइरहेको थियो ।
चितवन पुगेको पहिलो दिन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित महानगरपालिकाका विभिन्न विभागका प्रमुख र जनप्रतिनिधिसहितको उपस्थितिमा अन्तरक्रियामा सहभागी भइयो ।
कार्यक्रममा सहभागी भइरहँदा पनि मलाई भने माडी पुग्ने, राम जन्मभूमिबारे त्यहीका बासिन्दाबाट थप बुझ्ने, रामराज्यका बेलाका पुरातात्विक दृष्टिले महत्वपूर्ण प्राचीन अवशेष नियाल्ने, ती प्राचीन अवशेषलाई स्पर्श गर्ने जस्ता खुलदुली मनमा नाचिरहेका थिए । भोलिपल्टको कार्यतालिका चितवनको माडी अयोध्यापुरी जाने थियो ।
तर, देवघाट र दियालो बंगलाको पनि भ्रमण गर्ने र त्यसै दिन काठमाडौं फर्किने व्यस्त कार्यतालिका भएकाले अयोध्यापुरी भ्रमण तालिका छुट्ने हो कि भन्ने चिन्ता मनमा थियो । बेलुका सुत्ने बेलामा मैले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई ‘अयोध्यापुरीको भ्रमण तालिका त काटिएको छैन नि ? भनी प्रश्न गरें ।
उहाँले हल्का मुस्कानसहित ‘प्रधानमन्त्रीले त्यत्रो चर्चामा ल्याएको अयोध्यापुरीको यात्रा त्यो पनि चितवन आएको बेला छुट्ने सम्भावना होला त !’ भनी मलाई आश्वस्त पार्नुभयो । उहाँले त्यति भनेपछि म पनि ढुक्क भएँ र होटलको ४०२ नम्बर कोठामा आराम गर्न छिरे । मनमा अयोध्यापुरी पुग्ने उत्सुकता बढेर होला राति सपना पनि अयोध्यापुरी नै घुमेकै देखेछु ।
भोलिपल्ट बिहानको औपचारिक कार्यक्रम समापनपछि हाम्रो टोली बिहान १० बजेतिर होटल ल्याण्डमार्कबाट अयोध्यापुरीको यात्राका लागि निस्कियो ।
बिहानको खानाको व्यवस्था कसरा रिसोर्टमा गरिएको रहेछ । कसरासम्म पुग्न हामीलाई ल्याण्र्डमार्कका म्यानेजर धर्मभक्त तिवारीले गाइडको काम गर्नुभयो । करीब १२ बजेतिर होटल कसरा पुगी घुँगी, सिस्नुको दाललगायतको स्वाद लियौं । करीब दुई घण्टाको आरामपछि हाम्रो यात्रा माडीतिर मोडियो । माडी यात्राका लागि पथप्रदर्शकका रुपमा नन्दु थारु तयारी अवस्थामा हुनुहुँदो रहेछ ।
काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले २० वर्षदेखि पथप्रदर्शकको काम गरिरहेका नन्दुलालाई जिस्क्याउँदै भन्नुभयो– ‘नन्दुजी तपाईं पत्रकारको गाडीमा बसेर, माडीबारे प्रशस्त जानकारी दिनुहोला ।
त्यसो भयो भने उहाँहरुलाई माडीबारे लेख्न सहज हुन्छ ।’ महामनगर प्रमुख शाक्यले त्यत्ति भनेपछि नन्दु पनि मुस्कुराउँदै हामी सवार गाडीमा बस्नुभयो । कसराबाट केही अघि बढेपछि नन्दुले समग्र माडीका बारेमा हामीलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार तत्कालीन गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाविस रहेको क्षेत्रलाई एकीकृत रुपमा माडी क्षेत्र भनिएको रहेछ । नेपाल सरकारले २०७१ साल मंसिर १६ गते ४ वटै गाविसलाई मिलाएर माडी नगरपालिका गठन गरेको रहेछ ।
माडी मेरो पहिलो यात्रा थियो । त्यसैले सबै कुरा मेरा लागि नयाँ थिएँ । भरतपुरबाट करिब ३८ कि. मी. को दूरीमा अवस्थित माडी चितवनको दक्षिणी सिमानामा भारतसँग जोडिएर रहेको रहेछ ।
हामी कसराबाट केही मिनेटको यात्रापछि राप्ती पुल पुग्यौं । राप्ती पुल तरेपछि चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरिने रहेछ । केहीबेर निकुञ्जकै जंगलको यात्रापछि पश्चिम बहने रियु खोला तरेपछि माडी नगरपालिका प्रवेश गरिने रहेछ । हामी निकुञ्जकै जंगलको यात्राका क्रममा थियौं । गाडीमा सँगै बसेकी सहकर्मी पूजा गिरीले नन्दुसँग निकुञ्जबारे केही जिज्ञासा राखिन् ।
नन्दुले पनि यात्राका क्रममा बाघ, गैंडा, हात्ती आदि भेटिन सक्ने भन्दै सतर्क रहन र नडराउन आग्रह गरे । नन्दुले यात्राका क्रममा थुप्रै पटक बाघसँग जम्काभेट भएको स्मरण गराउँदा सहकर्मी पूजाको मुहार त्रासले भरिएको थियो । फरासिला पाराका नन्दुले बाघसँग जम्काभेट हुँदा आँखा झिम्काइयो र पछाडि फर्कियो भने मसँग हार्यो भन्ठानेर झम्टिने सम्भावना बढी हुुने भन्दै त्यसो नगर्न सुझाएपछि केही छिन अघिसम्म त्रासले भरिएको पूजाको मुहारमा मुस्कान देखियो ।
मधुर आवाजसहित पूजाले फेरि प्रश्न गरिन्– आँखा झिम्काएन भने चाहिं बाघले झम्टिदैन ?’ नन्दुले पूजाको प्रश्नमा केही भरोसा मिसाउँदै हण्टिङको समय र पोथी बाघसँग रोमान्समा रहेका बेला जम्काभेट भयो भने मात्रै त्यो बेला बाघ हिंस्रक हुने भएकाले सतर्क रहनुपर्ने बताए ।
कुराकानीकै सिलसिलामा हामीले निकुञ्ज क्षेत्रको यात्रा पार गरिसकेका रहेछौं । निकुञ्ज पार गर्ने वित्तिकै पश्चिम बग्ने रिउ खोला तरेपछि हामी माडी नगरपालिका प्रवेश गर्र्यौं ।
वनकट्टा, गर्दीलगायतका ठूलो पठारमा अवस्थित गाउँमा कतै लहलह बर्खे धान झुलिरहेका थिए भने कतै गहुँ पहेलपुर देखिन्थे । कतै गाई–भैंसीहरु चरनमा मस्त देखिन्थे । ठूला–ठूला खेतका फाँटका बीचमा देखिने परालका कुन्यूँँ, माटाका घर र झिँगटीका छानाले गाउँको परिवेशलाई जीवन्त बनाइरहेको देखिन्थ्यो । वनकट्टाकै खुला फाँटमा भैंसीहरु चरिरहेका थिए ।
क्यामरा पर्सन सरोज न्यौपानेले छेउमै बसेकी पूजालाई जिस्क्याउँदै भने– ‘अघि निकुञ्जमा गैंडा देखिएन । अहिले ऊ पर हेर त काला गैंडाहरु कति मज्जासँग चरिरहेका रहेछन् ।’ पूजाले हौसिँदै मोबाइलमा तस्वीर कैद गर्न खोज्दै थिइन् । नन्दुको हाँसो थामिएनछ । थारु पारामै नन्दुले भने– ‘होइन सर–म्याम ती त भैंसी हुन् ।’
नन्दुले त्यसो भनेपछि पूजा लाजले भुतुक्क भइन् । ‘गैंडा देखेको छैन भनेर मलाई जिस्काएको होला, कम्तिमा नक्सामा त देखेकी छु नि ।’ पूजाको कुराले मस्तसँग गाडी कुदाइरहेका गुरुजी सागर पनि बेजोडसँग हाँसे ।
बनकट्टा र गर्दी गाउँमा थारु बस्तीको बाहुल्यता रहेछ । कुनै समय एकै प्रकारका झिँगटीका छाना भएका ती बस्तीमा अहिले ठूला–ठूला विल्डिङहरु बन्न थालेका रहेछन् । हामी यात्राकै क्रममा बरुवा बजार, लौगाई, सिधुवा, मुगई खोला, वसन्तपुर बजार, कल्याणपुर हुँदै बाँदरमुढे पुग्यौं । नन्दुले १५ वर्षअघि माओवादीले गरेको नरसंहार बाँदरमुढे घटना यही ठाउँमा भएको हो भन्दै चोरीऔंलाले देखाए ।
आजभन्दा करीब १५ अघि अर्थात् २०६२ साल जेठ २३ गते बिहानको झुल्के घाँमसँगै तत्कालीन माओवादीले माडीको बाँदरमुढे खोलामा बम विस्फोट गराएर स–साना बालबालिकासहित घटनास्थलमै ३८ जनाको ज्यान लिएसँगै चर्चामा आएको माडी मेरो मानसपटलमा फेरि नाच्न थाल्यो । मैले ड्राइभरलाई गाडी रोख्न लगाए र बाँदरमुढेको माटोमा पहिलो पटक पाइला टेकें अनि एक मुठी माटो हातमा लिएँ ।
हामी वसन्तपुरबाट केही समयको कच्चीबाटोको यात्रापछि होमस्टेहरुको दृश्यावलोकन गर्दै प्रधानमन्त्रीले राममन्दिर निर्माणका लागि पहल अघि बढाएको स्थान अयोध्यापुरी पुग्यौं । हामी त्यहाँ पुग्दा माडी नगरपालिका–९ का वडाध्यक्ष एवं माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदी, वडा नम्बर ६ का अध्यक्ष भरत गुरुङ, स्थानीय जनजीवन विद्यालयका शिक्षक रामप्रसाद भण्डारीलगायत हाम्रो स्वागतका लागि तयारी अवस्थामा हुनुहुँदो रहेछ ।
गाडीबाट ओर्लिने वित्तिकै पूर्व, पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको सुन्दर हरियाली माडी उपत्यकामा अवस्थित अयोध्यापुरीको माटोसँग स्पर्श गर्न पाउँदा हर्षले रौं ठाडा–ठाडा भए भने मन रोमाञ्चक बन्यो ।
माडीबारे गत साउनमा पहिलो पटक जिज्ञासा राख्दै प्रधानमन्त्री स्वयंले फोन गर्नुभएका व्यक्ति अर्थात् माडी नगरपालिकाका प्रवक्ता शिवहरि मेरै समीपका उभिनु भएको थियो । काठमाडौं महानगरपालिकाका प्रमुखसहितको टोली नै यसरी अयोध्यापुरीको यात्रामा टुप्लुक्क आइपुग्दा शिवहरिको खुसीको सीमा रहेनछ । उहाँले हामीलाई स्वागत गर्दै माडीमा बन्न लागेको राममन्दिर र रामधामबारे प्रचार–प्रसार गरिदिन आग्रह गर्नुभयो ।
कुराकानीकै सिलसिलामा शिवहरिले अयोध्याबारे प्रधानमन्त्री स्वयंले आफूलाई फोन गरेको बेलीविस्तार लगाउनुभयो ।
उहाँले पछिल्लो पटक माघको २४ गते बालुवाटार पुग्दा प्रधानमन्त्रीले रामधामका लागि राम–सीताका केही मूर्तिहरु तयारी अवस्थामा राखेको भन्दै भेटमा ‘यी तपाईंका गाउँलेहरु लैजानुहुन्छ कि यतै छाड्नुहुन्छ’ भनेर ठट्टा गरेको समेत स्मरण गराउनुभयो ।
शिक्षक समेत रहनुभएका भण्डारीले पनि हामीलाई अयोध्याबारे थप प्रष्ट पार्ने प्रयास गर्नुभयो । उहाँले पर्शुरामले ध्यान गर्नका लागि नुवाइधुवाइ गर्ने गरेको पर्शुराम कुण्ड, पाण्डवहरु वनवास बस्ने बेलामा भीमसेनले खनेका इनारहरु, त्यतिबेलाका इट्टाहरु अहिले पनि अवशेषका रुपमा भेटिएको बेलीविस्तार लगाउँदा मलाई साँच्चिकै अयोध्यापुरीमा पुगेको अनुभूति भयो ।
उहाँले अयोध्याको प्रचारप्रसारमा तीनै तहका सरकार र सञ्चार क्षेत्रले अहम् भूमिका खेल्नुपर्छ भन्दै राज्यको आयस्तर समेत बढाउन सकिने र रामधाम बनेपछि यहाँका नागरिककको मुहारमा मुस्कान छाउने बताउनुभयो । काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडाध्यक्ष गुरुङका अनुसार पर्शुराम कुण्डमा चैतेदशैं रामनवमीका दिन अहिले पनि ठूलो मेला लाग्ने गरेको रहेछ । अयोध्यापुरीका स्थानीयको भनाइ अनुसार रामायण र स्कन्द पुराणमा उल्लेख पाँच पाण्डव ग्राम, वाल्मिकी आश्रम, त्यतिबेला दशरथ राजा शिकार खेल्न जाँदा श्रमणकुमारले घैंटाबाट पानी उगाएको र वाण हानेको बैकुण्ठे ताल, रामसीता गुफा, ठोरीको सीता गुफा यी सबै तथ्यले पनि निकट भविष्यमा विश्वकै ध्यान केन्द्रित गर्ने धार्मिक तथा पर्यटकीय स्थलका रुपमा अयोध्यालाई विकास गर्न सकिने सम्भावना रहेछ भन्ने लाग्यो ।
करीब एक घण्टा जतिको अयोध्यापुरीको भ्रमणपछि फर्किने बेलामा शिवहरिले २०५४ सालतिर ठूलो बाढी आएर अयोध्यापुरीलाई नै बगरमा परिणत गरेको स्मरण गराउनुभयो ।
‘२०२२ सालतिर पहाडबाट डोको बोकेर यहाँ बसाइँ सरेका हाम्रा बुबा–बाजेहरुले पनि पहिला–पहिला खनजोत गर्दा रामराज्य कालका अवशेषहरु फेला पारेको बताउनुहुन्थ्यो ।
जंगलमा घाँस–दाउराका लागि जाँदा हुमानका फोटा भएका तामाका पैसा ल्याउने बोटे जाति अहिले पनि छन् । उनीहरुले कति पैसा त आरनमा हालेर दियो बनाए, कतिको बाठा–टाठाले सित्तैमा लगिदिए,’ शिवहरिले सुनाउनुभयो ।
माडीमै भेटिएका स्थानीय विकास बरालले पनि छानो छँदा मूर्ति भेटिएको, प्राचीन ढुंगा र इट्टा भेटिएको स्मरण गराउँदै राम जन्मभूमि नेपालको अयोध्यापुरीमै भएको दाबी गर्नुभयो ।
माडी क्षेत्रमा बसोबास गर्ने सबै जातजातिको उज्यालो भविष्यको मीठो परिकल्पनामा डुब्दै हाम्रो टोली पुनः बस्ती–बस्तीमा सञ्चालित होमस्टेको दृश्यावलोकनसँगै अयोध्यापुरीबाट गोधुलीमा सौराहा फर्कियौं ।
प्रतिक्रिया 4