Comments Add Comment

नेपाल समूहबारे ज्ञवाली भन्छन् : हामी अझै केही समय हेर्छौं

फाइल तस्वीर

१० वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिले माधव नेपाल पक्षलाई समानान्तर गतिविधि छोडेर मूल प्रवाहमा फर्किन पुनः आह्वान गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकका निर्णय सुनाउँदै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘समानान्तर गतिविधि गरिरहेका साथीहरुलाई ती गतिविधिहरु रोक्न, पार्टी एकतामा योगदान गर्न र पार्टीको मूल प्रवाहमा फर्किन पुनः आह्वान गरिएको छ ।’

समानान्तर गतिविधि गरिरहेकाहरुलाई कति समय पर्खिनुहन्छ ? नफर्किए पार्टीले लिने एक्सन के हुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा नेता ज्ञवालीले केही समय पर्खिने बताए ।

‘एक खालको सन्देश पाइसक्नुभएको छ । कर्णाली प्रदेशमा त्यो ढङ्गको गतिविधि गर्ने, फ्लोर क्रस गर्ने साथीहरुलाई आज कडा कारबाही गरेका छौं । त्यो अवस्था नआओस् भन्ने नै हाम्रो प्रयास छ’ प्रवक्ता ज्ञवालीले भने, ‘साथीहरुले आफैंलाई नोक्सान हुने आन्दोलनलाई नोक्सान हुने बाटो छोड्दै जानुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

उनले अघि भने, ‘हामी अझै केही समय हेर्छौं । संवाद पनि चलिरहेको छ । सकारात्मक परिणामको अपेक्षा गर्छौं ।’

एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा चार जनाले एमाले संसदीय दलको निर्णयविपरीत मत दिएका थिए । पहिले शाहीलाई मत दिएर पछि सच्याएकी प्रदेशसभा सदस्य देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकले गरेको छ ।

नयाँ स्थायी कमिटी किन ?

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका छन् ।

२८ फागुनमा आफ्नो समूहका नेताहरुको बैठक राखेर ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेकका सबै पदाधिकारी हटाएका थिए । स्थायी कमिटी खारेज गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएका थिए ।

पुनः स्थायी कमिटी किन ? भन्ने पत्रकारहरुको प्रश्नमा नेता ज्ञवाली भन्छन्, ‘केन्द्रीय कमिटी अथवा आयोजक कमिटीहरु सधैंभरि बसिरहन सम्भव हुँदैन । झन् कोरोना महामारी बढ्दै जाँदा बैठक/गतिविधिहरुलाई क्रमशः नियन्त्रण गर्दै जानु आवश्यक छ । यस्तो बेलामा आवश्यक निर्णयहरु गर्नको निम्ति छरितो संरचना आवश्यक हुन्छ ।’

माधवकुमार नेपाल पक्ष स्थायी कमिटीमा किन समेटिएन ? भन्ने प्रश्नमा ज्ञवालीको जवाफ छ, ‘उहाँहरु समाननान्तर गतिविधि गरिरहनुभएको छ । छुट्टै पार्टी बनाउँछौं भनिरहनुभएको छ । अनि स्थायी कमिटीमा रहने कुरा त भएन ।’

जुन दिन माधव नेपाल पक्षले बैठकमा आएर सक्रियताका साथ पार्टी काममा लाग्छौं भन्ने प्रतिवद्धता जनाउँछ त्यसपछि जिम्मेवारी दिन सकिने नेता ज्ञवालीको भनाइ छ । अब अरु पदाधिकारीहरु पनि चयन हुन्छन् कि ? भन्ने प्रश्नमा उनले भने, ‘सम्भवत महाधिवेन अगाडि अरु पदाधिकारीहरु राख्दैनौं ।’

शुक्रबारको बैठक पार्टी फुटको आमन्त्रण हो ?

एमालेले १९ सदस्यीय स्थायी कमिटी गठन गर्दा माधव नेपाल पक्ष नसमेटिनु पार्टी फुटको आमन्त्रण भएको प्रारम्भिक टिप्पणी आएको भन्दै नेता ज्ञवालीलाई पत्रकारहरुले प्रश्न गरे, ‘आजको बैठक पार्टी फुटको आमन्त्रण हो ? पार्टी फुटतर्फ नै अघि बढेको हो ?’

जवाफमा नेता ज्ञवालीले पार्टी फुटको अभ्यास माधव नेपाल पक्षले गरिरहेको बताए । ‘फुटको अभ्यास त उहाँहरुले गरिरहनुभएको छ किनभने पार्टीको नाममा पार्टीको ब्यानरमा कार्यकर्ता भेला आयोजना गर्नुभएको छ । छुट्टाछुट्टै कमिटीहरु बनाउने, र पार्टीको निर्णय विपरीत फ्लोर क्रस गरेर पार्टीको उम्मेदवार विरुद्ध मत दिने । यो भन्दा ठूलो विभाजनका कुरा अरु केही हुँदैन ।’

एमाले अध्यक्ष ओली र माधव नेपालबीच बुधबार र बिहीबार एक्लाएक्लै संवाद भएको थियो । संवादबाट कुनै निश्कर्ष ननिस्किएको हो भन्ने प्रश्नमा प्रवक्ताले ज्ञवालीले आफूहरु त्यस (पार्टी फुट) को निष्कर्षमा नपुगेको बताए ।

एमाले प्रवक्ता ज्ञवालीका अनुसार शुक्रबारको बैठकले कोरोना महामारी नियन्त्रणमा जुट्न पार्टीपंक्तिलाई आह्वान गरेको छ भने म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ ।

‘म्यानमारमा भएको सैन्य कु र आङ साङ सुकीलगायत निर्वाचित जनप्रतिनिधिहरुको गिरफ्तारीको विरोध गर्दै त्यहाँ लोकतन्त्रको बहालीको माग गरिएको छ’ ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment