News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
- अर्थमन्त्री वाग्लेले लगानीकर्ताको हितमा इमानदारीपूर्वक काम गर्दै पुँजीबजार सुधारका लागि निश्चित समयसीमासहितको योजना पेस गर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको छ ।
- नवनियुक्त अध्यक्ष भट्टले सरकारको लक्ष्यअनुसार लगानीकर्ताको सुरक्षा र पुँजीबजारको विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
१५ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा भट्टलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
शपथपछि अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिए । कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उनले अध्यक्ष भट्टलाई निर्देशन दिए ।
लगानीको सुरक्षा र बजारमा पूँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने वाग्लेको भनाइ छ । ‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,’ वाग्लेले भने ‘म साथमा छु, सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।’
अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए ।
‘पूँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा कन्फिडेन्स बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,’ अर्थमन्त्रीले भने ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।’
कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पूँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए । आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता उनले जनाए ।
पूँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4