+
+

भारतमा फेरि अक्सिजनको अभाव, अवस्था पहिलाको भन्दा गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १४:२७

१० वैशाख, काठमाडौं । शुक्रबार बिहान भारतको राजधानी दिल्लीमा २५ परिवारले गंगाराम अस्पतालमा उपचार गराइरहेका आफन्त बिरामीले पर्याप्त अक्सिजन पाउन नसक्दा मृत्यु भएको समाचार पाए ।

अस्पतालका मेडिकल निर्देशकले अक्सिजनको चरम अभावका कारण गम्भीर अवस्थामा रहेका २५ बिरामीमा पर्याप्त अक्सिजन नपुगेको बताए । उनीहरूलाई उच्च चापमा स्थिर रूपमा अक्सिजन दिनुपर्थ्यो ।

यस्तो दुःखद् घटना दिल्लीका प्रमुख अस्पतालमा अक्सिजन अभाव हुँदै गएको समाचारसँगै सार्वजनिक भएको हो । शुक्रबार बिहान गंगाराम अस्पतालमा थप ६० जना बिरामी मृत्युको मुखमा छटपटाइरहेको अवस्थामा एक अक्सिजन ट्यांकर आइपुग्यो । यद्यपि कोरोनाको नयाँ लहरले भारतको सबैभन्दा सम्पन्न शहर पनि अहिले स्वास्थ्य संकटमा देखिएको छ ।

श्वासप्रश्वासको लागि संघर्ष

अहिले भारतका महाराष्ट्र, गुजरात, हरियाणा र मध्यप्रदेशमा अक्सिजनको अभाव देखिएको छ । उत्तरप्रदेशमा पनि केही अस्पतालमा मात्रै अक्सिजन बाँकी नरहेको समाचार आउन थालेको छ ।

उत्तरप्रदेशको राजधानी लखनऊका अस्पतालले बिरामी लिन छाडेका छन् । राजधानी शहर दिल्लीमा पनि साना अस्पताल र नर्सिङ होमले बिरामी लिन छाडिसकेका छन् । भारतका केही शहरमा बिरामीका आफन्तहरू अक्सिजन रिफिलिङ सेन्टरमा अक्सिजनको लागि लाइनमा देखिन थालेका छन् । हैदराबादमा अक्सिजन लिन आउनेको भिड मिलाउन बाउन्सर समेत राखिएको छ ।

कोरोना संक्रमित धेरै बिरामीको अक्सिजन पाउनुभन्दा पहिला नै मृत्यु हुन थालेको छ । अस्पतालमा श्वासप्रश्वासको समस्या भएका धेरै बिरामीहरू आउन थालेका छन् । जसको कारण आईसीयू बेडको अभाव छ । बेड पाउने भाग्यशालीलाई पनि अक्सिजनको अभावका कारण बचाउन सकिएको छैन । सामाजिक सञ्जालहरूमा मानिसहरूले अक्सिजन सिलिण्डरको माग गरेका धेरै पोस्ट देख्न सकिन्छ ।

भारतमा अक्सिजन अभाव देखिएको यो पहिलोपटक भने होइन । सात महिनाअघि पनि भारतमा अक्सिजन अभावको समस्या देखिएको थियो । यद्यपि यसपटकको अवस्था पहिलाको भन्दा खराब छ ।

सामान्यतया भारतमा स्वास्थ्य स्याहार केन्द्रले समग्र अक्सिजन आपूर्तिको १५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । बाँकी औद्योगिक प्रयोजनका लागि प्रयोग हुने गर्थ्यो । तर, कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतको ९० प्रतिशत अक्सिजन आपूर्ति मेडिकल प्रयोजनका लागि प्रयोग भइरहेको छ । भारतमा दैनिक ७५ सय मेट्रिक टन अक्सिजनको प्रयोग मेडिकल क्षेत्रमा भइरहेको छ ।

भारतमा अक्सिजन अभाव देखिएको पहिलोपटक भने होइन । सात महिनाअघि पनि भारतमा अक्सिजन अभावको समस्या देखिएको थियो । यद्यपि यसपटकको अवस्था पहिलाको भन्दा खराब छ ।

यसअघि गत सेप्टेम्बरको मध्यमा कोरोना संक्रमणको पहिलो लहर उत्कर्षमा पुग्दा दैनिक २७ सय मेट्रिक टन अक्सिजन भएको थियो । त्यतिबेला दैनिक कोरोना संक्रमितको संख्या ९० हजारको हाराहारीमा थियो । तर, अहिले भने अवस्था फरक छ । दुई साताअघिसम्म भारतमा दैनिक संक्रमितको संख्या एक लाख ४४ हजारको हाराहारीमा थियो । अहिले यो संख्या बढेर झण्डै दुई गुणा भइसकेको छ ।

भारतको पुनेमा एक अस्पताल चलाइरहेका डाक्टर सिद्धेश्वर सिंघे भन्छन्, ‘अवस्था यति खराब भइसकेको छ कि हामीले केही बिरामीलाई आईसीयू बेड नपाउँदासम्म कार्डियाक एम्बुलेन्समा राखेर १२ घण्टा उपचार गरेका छौं ।’ पुने भारतको सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको र कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको जिल्ला हो ।

गत साता कुनै भेन्टिलेटर नहुँदा डाक्टर सिंघेले बिरामीहरूलाई उपचारको लागि अन्य शहरमा पठाएका थिए । पुने भारतमा कोरोनाबाट सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा पर्छ । यो राज्यमा दैनिक १२ सय मेट्रिक टन अक्सिजन उत्पादन भइरहेको छ । तर, सबै अक्सिजन कोरोनाका बिरामीलाई नै प्रयोग हुनेगर्छ र त्यसले पनि अब धान्न नसक्ने अवस्था आइसकेको छ । संक्रमित भने बढिरहेका छन् ।

अहिले महाराष्ट्रमा अक्सिजनको माग १५ देखि १६ सय मेट्रिक टन देखिएको छ । तर उत्पादन भने बढाउन सकिने अवस्था छैन ।

डाक्टर सिंघेका अनुसार सामान्यतया उनको जस्ता अन्य अस्पताललाई पर्याप्त मात्रामा अक्सिजन उपलब्ध हुन्थ्यो । तर, पछिल्लो केही समययता भने सिंघेको अस्पतालमा आवश्यक मात्रामा अक्सिजन आपूर्ति हुन सकेको छैन । डाक्टर सिंघेका अनुसार अहिले अस्पतालमा २२ वर्षभन्दा कम उमेरका युवालाई पनि अक्सिजनको सहयोगमा राख्नुपर्ने अवस्था देखिएको छ ।

डाक्टर तथा महामारीविद्हरू भारतमा कोरोना संक्रमण उल्लेख्य बढेका कारण परीक्षण तथा परामर्शमा पनि ढिलाइ भइरहेको बताउँछन् । उनीहरूका अनुसार धेरै मानिसहरूको अवस्था गम्भीर भएका कारण अस्पतालमा भर्ना भएका छन् । त्यसैले अक्सिजनको माग अत्याधिक बढेको हो ।

‘कसैलाई पनि यो कहिले सकिन्छ भन्ने थाहा छैन,’ डाक्टर सिंघे भन्छन्, ‘मलाई लाग्छ कि सरकारले पनि यसको भविष्यवाणी गर्न सक्दैन ।’

अक्सिजन पाउनै संघर्ष

भारतका केही राज्यले राम्रोसँग अक्सिजनको व्यवस्था गरेका छन् । भारतको दक्षिणी राज्य केरलाले माग र बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै अक्सिजनको आपूर्ति बढाउने निर्णय गरेको थियो । अहिले केरलामा पर्याप्त मात्रामा अक्सिजन छ र उसले अन्य राज्यलाई पनि अक्सिजन पठाइरहेको छ ।

दिल्ली र अन्य केही राज्यमा अक्सिजन उत्पादन गर्ने प्लान्ट छैनन् । उनीहरू आयातमा निर्भर छन् । भारतको सर्वोच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै अक्सिजन अभावको समस्या समाधानको लागि आदेश दिइसकेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले गत वर्षको अक्टोबर महिनामा अक्सिजन प्लान्ट निर्माणको लागि प्रस्ताव आह्वान गरेको थियो । जसमध्ये १६२ प्रस्ताव स्वीकृत भएका थिए । यीमध्ये अहिलेसम्म ३३ वटा मात्र बनेका छन् । ५९ ओटा अक्सिजन प्लान्ट अप्रिलको अन्तिमसम्ममा बनिसक्ने अनुमान छ । मे महिनाभित्र थप ८० प्लान्ट स्थापना हुने अनुमान छ ।

भारतमा अक्सिजनको अभाव हुनुको प्रमुख कारण आपतकालीन योजनाको अभाव हो । भारतमा पाँचसय कारखानाहरूले हावाबाट अक्सिजन निकालेर त्यसलाई शुद्ध बनाउँछन् र तरल अवस्थामा अस्पतालहरूमा ट्यांकरको माध्यमबाट वितरण गर्छन् ।

भारतका प्रमुख अस्पतालको आफ्नै अक्सिजन ट्यांक छ र यसमा अक्सिजन भण्डारण गर्ने गरिएको छ । यसरी भण्डारण गरिएको अक्सिजन पाइपको माध्यमबाट सोझै बिरामी रहेको बेडमा पुर्‍याइन्छ । साना र अस्थायी अस्पताल भने स्टिल र आल्मुनियमको सिलिण्डरमा निर्भर छन् ।

अक्सिजन ट्यांकरहरू अहिले अक्सिजन भर्न प्लान्टमा घण्टौंसम्म लाइनमा बस्ने गरेका छन् । एउटा ट्यांकर भर्न करिब दुई घण्टा लाइनमा बस्नुपर्ने अवस्था छ । यी ट्यांकरहरू राज्यका विभिन्न शहरहरूमा पुग्न थप केही घण्टा लाग्छ ।

अक्सिजन बोक्ने ट्यांकरहरूले केही विशेष नियमहरू पालना गर्नुपर्ने हुन्छ । उनीहरूले ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा सवारी कुदाउन पाउँदैनन् । दुर्घटनाबाट बच्न रातको समयमा पनि चलाउन नपाउने नियम छ । दिल्लीले अक्सिजन आपूर्ति सहज बनाउन रातको समयमा पनि अक्सिजन भर्न पाउने नियम ल्याएको थियो तर अदालतले त्यसलाई रोकिदिएको छ ।

भारतमा अक्सिजनको अभाव हुनुको प्रमुख कारण आपतकालीन योजनाको अभाव हो । भारतमा पाँचसय कारखानाले हावाबाट अक्सिजन निकालेर त्यसलाई शुद्ध बनाउँछन् र तरल अवस्थामा अस्पतालहरूमा ट्यांकरको माध्यमबाट वितरण गर्छन् ।

भारतको सबैभन्दा ठूलो अक्सिजन आपूर्तिकर्ताले भारतमा अक्सिजन अभाव सबैभन्दा धेरै पूर्वी भारतबाट भइरहेको बताएको छ । यी राज्यमा औद्योगिक क्षेत्रतर्फ हुने आपूर्ति धेरै छ । औद्योगिक क्षेत्रमा अक्सिजनको आपूर्ति उच्च रहेका राज्यमा ओडिसा र झारखण्ड छन् ।

भारतको मुम्बई अस्पतालका संक्रामक रोग विशेषज्ञ ओम श्रीवास्तव आफूहरूले सबै बिरामीको ख्याल राख्दाराख्दै पनि उनीहरूलाई पर्याप्त मात्रामा अक्सिजन भने पुर्‍याउन नसकेको दुखेसो गर्छन् ।

निकै कम, निकै ढिला

भारतमा अक्सिजनको अभाव हुनुभन्दा पहिला नै निर्वाचनको र्‍याली आयोजना गरेको र कुम्भमेलाजस्ता पर्वको लागि अनुमति दिएको भन्दै सरकारको आलोचना भइरहेको थियो । कोरोना खोप अभियान पनि निकै सुस्त चलाएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । आलोचकहरूले कोरोनाको दोस्रो लहरको लागि सरकारले पर्याप्त तयारी नगरेको आरोप लगाउँदै आएका छन् ।

चिकित्सक तथा संक्रामक रोग विशेषज्ञहरू मानिसहरूले सतर्कतापूर्वक जनस्वास्थ्यका मापदण्ड पालना गरेको भए यो अवस्था नआउने तर्क गर्छन् । गत जनवरी महिनामा भारतमा कोरोना संक्रमणमा उल्लेख्य कमी आउनुले मानिसमा भने आफूहरू सुरक्षित रहेको भ्रम पैदा भयो । यसले कोरोनाको भयानक दोस्रो लहर निस्कियो ।

अहिले भारत सरकारले अक्सिजन आपूर्ति सहज बनाउन ‘अक्सिजन एक्सप्रेस’ तथा आयातको योजना अघि सारेको छ । भारतमा अक्सिजन उत्पादन गरिरहेका प्लान्टहरू भने उत्पादन क्षमता बढाउन आफूहरूलाई सरकारको तर्फबाट सहयोग चाहिने बताउँछन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?