Comments Add Comment

उपत्यकाबाट साढे ६ हजार अक्सिजन सिलिण्डर जफत, कहाँ-कहाँ बाँडिदैछ ?

२४ वैशाख, काठमाडौं । उपचारबाहेकका प्रायोजनामा घर र विभिन्न उद्योगहरुमा राखिएका ६ हजार ४८४ थान अक्सिजन सिलिण्डर सरकारले जफत गरेको छ ।

केही उद्योगी, व्यवसायीले उद्योग मन्त्रालयलाई आफैं फिर्तासमेत गरेका छन् भने अटेरी गरी लुकाएर राख्नेबाट नेपाल प्रहरीले सिलिण्डर बरामद समेत गरेको हो ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै अक्सिजन सिलिण्डरको अभाव भएकाले उपचारबाहेकका काममा सिलिण्डर नराखिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो । त्यसको अनुगमन गृह मन्त्रालयको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय एवं अनुगमन समितिले गरिरहेको थियो ।

समितिका संयोजक सह–सचिव जनकराज दाहालका अनुसार उद्योग मन्त्रालयमार्फत एक हजार १३४ र नेपाल प्रहरीमार्फत काठमाडौं, ललितपुर र भक्तपुरबाट ५ हजार ३५० गरी जम्मा ६ हजार ४८४ अक्सिजन सिलिण्डर संकलन भएको छ ।

‘अझै केही व्यक्ति र उद्योगसँग सिलिण्डर हुनसक्छ, निगरानी गरिरहेका छौं’, मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुखसमेत रहेका दाहालले अनलाइनखबरसँग भने ।

उनका अनुसार संकलित सिलिण्डरहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल प्रहरीको समन्वयमा शुक्रबारबाटै अस्पतालहरुमा पठाइनेछ । र, अनुगमन गरेर सिलिण्डरको दैनिक अध्यावधिक विवरणसमेत राखिनेछ ।

यी अस्पतालमा दिइनेछ सिलिण्डर

बिहीबार बसेको समितिको बैठकले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ५ सय, नेपाल मेडिकल कलेजमा १५०, वीर अस्पतालमा ३ सय, किस्ट अस्पतालमा एक सय, महेन्द्र निधि अस्पतालमा ६०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ सय ३०, भक्तपुर अस्पतालमा एक सय र सिभिल अस्पतालमा २ सय सिलिण्डर दिने निर्णय गरेको छ ।

समिट अस्पतालमा ४५, काठमाडौं मेडिकल कलेजमा ४ सय, पाटन अस्पतालमा २ सय, सशस्त्र प्रहरी अस्पतालमा ३ सय, नेपाल प्रहरी अस्पतालमा २ सय, पिपुल्स डेन्टर कलेजमा १ सय, लुम्बिनी प्रादेशिक अस्पतालमा एक हजार र सुदूरपश्चिम प्रादेशिक अस्पतालमा ३ सय सिलिण्डर दिने निर्णय भएको छ ।

महामारीमा बल्ल तात्यो गृह

कोभिड–१९ महामारीको नियन्त्रणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राम्रो भूमिका खेल्न नसकेको भन्दै आलोचना हुने गरेको थियो । प्राप्त अधिकारको प्रयोग गर्न नसकेकाले सबै अधिकार उपप्रधानमन्त्री ईश्वर पोखरेलसम्म पुगेको भन्दै मन्त्रालयकै कर्मचारीहरुले गुनासो गर्ने गरेको थिए ।

यो पनि पढ्नुहोस ‘कोरोनाको कमाण्डर’ बादल हुनुपर्ने, ईश्वर पोखरेल किन ?

तर, महामारीको दोस्रो लहर सुरु भएपछि चाहिँ गृहमन्त्री थापा सक्रिय बन्न थालेका छन् । उनले गत २२ गते शान्ति सुरक्षा महाशाखाका प्रमुखको नेतृत्वमा सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन, समन्वय र अनुगमनका लागि भन्दै एउटा समिति बनाएका छन् ।

समितिमा उद्योग मन्त्रालयका सह–सचिव प्रेमकुमार श्रेष्ठ, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी क्रमशः कालिप्रसाद पराजुली, डुण्डीप्रसाद निरौला र प्रेमप्रसाद भट्टराई सदस्य छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारी, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रञ्जितकार, सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा सदस्य छन् ।

समितिले बिहीबार बसेको पहिलो बैठकले उपत्यकामा शव व्यवस्थापनका लागि जटिलता सिर्जना भएको निष्कर्ष निकाल्दै शव व्यवस्थापनका लागि नयाँ ठाउँ खोज्ने निर्णय गरेको छ । पहिलो बैठकमा गृहसचिव महेश्वर न्यौपानेले पनि समितिका पदाधिकारीहरुलाई निर्देशन दिँदै महामारी नियन्त्रणमा सशक्त भूमिका खेल्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

ट्रेन्डिङ

Advertisment