Comments Add Comment

चिनियाँ कम्पनी शाओमीमाथिको प्रतिबन्ध अमेरिकाले फुकुवा गर्ने

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीमाथि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा लागेको प्रतिबन्ध अमेरिकाले फुकुवा गर्ने भएको छ ।

शाओमी कम्पनीमा लगानी गर्नका लागि ट्रम्प प्रशासनले अमेरिकी नागरिकहरुलाई लगाएको अल्पकालीन तथा विवादित प्रतिबन्धलाई हटाउन अमेरिकी सरकार सहमत भएको छ । प्रतिबन्धलाई तत्काल फुकुवा गर्न अमेरिकी रक्षा मन्त्रालय र शाओमीबीच मंगलबार सहमति भएको सीएनएनले जनाएको छ ।

पछिल्लो सहमतिका विषयमा विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले कुनै प्रतिक्रिया जनाएको छैन ।

स्मरण रहोस्, जो बाइडेनले कार्यभार सम्हाल्नु केही दिन अगाडि मात्र अमेरिकी रक्षा मन्त्रालयले शाओमीलाई चिनिया सेनासँग सम्बन्धित रहेका कम्पनीको सूचीमा राखेको थियो । त्यस्ता कम्पनीमाथि अमेरिकाले कडा प्रतिबन्ध लगाउनुका साथै लगानीमा पनि बन्देज लगाउने गरेको छ ।

तथापि उक्त प्रतिबन्ध लागू हुनु अगाडि अमेरिकी संघीय अदालतले अमेरिकी सरकारलाई प्रतिबन्ध तत्काल लागू नगर्न आदेश दिएको थियो । शाओमी कम्पनी चिनियाँ सेनाद्वारा स्वामित्व लिइएको वा नियन्त्रणमा रहेको कम्पनी भएको भन्ने अमेरिकी सरकारको दाबीको कुनै वस्तुपरक प्रमाण नरहेको अदालतको ठहर थियो ।

अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापार युद्ध बढिरहेको बेला शाओमीसँग भएको सम्झौतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले पछिल्लो सम्झौताका विषयमा अझै जानकारी प्राप्त भइनसकेको भएपनि अमेरिकाले अघिल्लो सरकारका पालामा गरेका गल्ती सच्चाउने र चिनियाँ कम्पनीहरुलाई विभेदमुक्त र न्यायिक व्यावसायिक वातावरण बनाउने विश्वास रहेको जनाएको छ ।

शाओमीमाथि अमेरिकाले प्रतिबन्ध फुकुवा गरेको समाचार सार्वजनिक भए लगत्तै हंगकङमा कम्पनीको शेयर मूल्यमा बुधबार ६ प्रतिशतको बढोत्तरी भएको छ ।

एनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment