+
+

कोभिड–१९ खोपबारे विश्व परिवेश : नेपालको गन्तव्य के हुनसक्छ ?

कमल रानाभाट कमल रानाभाट
२०७८ जेठ १३ गते १६:१९

एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो मानव संकटको रूपमा देखिएको कोभिड–१९ को महामारीमाथि विजय प्राप्त गर्न विश्वभरिका वैज्ञानिक खोप उत्पादन तथा परीक्षण लगायत विविध मेडिकल अनुसन्धानमा तल्लीन छन् ।

यतिबेला विश्व–राजनीति कोभिड–१९ खोप रणनीतिको माध्यमबाट आफ्नो देशका जनतालाई खोपको पहुँच र उपलब्धता प्रदान गर्दै कोभिड रोकथाममा लागिपरेको देखिन्छ ।

वैज्ञानिकहरूले कोभिड–१९ खोपको माध्यमबाट महामारी नियन्त्रण गर्न कुल जनसंख्याको ७० प्रतिशत जनताले अनिवार्य खोप लगाउनुपर्ने बताएका छन् । विभिन्न अन्तर्राष्ट्रिय मेडिकल अनुसन्धानको रिपोर्ट अनुसार बेलायत, अमेरिका लगायत विकसित राष्ट्रहरूले खोपको माध्यमबाट गत वर्षको तुलनामा कोभिड–१९ को नयाँ संक्रमणको दर ६०–७० प्रतिशतले नियन्त्रण गर्न सफल भएका छन् ।

साथै खोप लगाएका केही प्रतिशत व्यक्तिहरूमा कोरोना संक्रमण देखिए तापनि गम्भीर संक्रमण हुन नदिन तथा मृत्युदर रोक्न कोभिड–१९ खोप ९९ प्रतिशत भन्दा धेरै प्रभावकारी रहेको विभिन्न अध्ययनले देखाएको छ ।

छिटोभन्दा छिटो खोप प्राप्त गर्न मित्र राष्ट्र चीन, खोप उत्पादन गर्ने अन्य मित्र राष्ट्रहरू रूस, बेलायत र अमेरिकासँग युद्धस्तरमा कूटनीतिक पहल गर्नुपर्ने देखिन्छ ।

मेडिकल साइन्समा वैज्ञानिकहरूले कोभिड–१९ खोप उत्पादन गरेर कोभिड–१९ नियन्त्रणमा संजीवनी बुटी प्रदान गरेका छन् । यद्यपि खोपको समतामूलक वितरणको माध्यमबाट विश्वमा नै कोभिड–१९ महामारी नियन्त्रण गर्न आएका विश्वव्यापी चुनौती र पहललाई उल्लेख गर्नु सान्दर्भिक देखिन्छ :

खोपको न्यायोचित वितरण

अहिलेसम्म विश्वको कुल जनसंख्याको १६ प्रतिशत स्थान ओगटेका विकसित राष्ट्रका नागरिकहरूले ५२ प्रतिशत खोप सुनिश्चित गरिसकेका छन् । यसको मतलब विकासोन्मुख मुलुकका ८४ प्रतिशत जनताले बाँकी रहेको ४८ प्रतिशत खोपको सुनिश्चितताको ठूलो कसरत गर्नुपर्ने अवस्था छ ।

विकसित मुलुकका अधिकांश नागरिकले सन् २०२१ सम्म खोप पाउने सुनिश्चित छ भने अर्कोतर्फ गरीब मुलुकका अधिकांश जनताले यही रफ्तारमा खोप प्राप्त गर्न कम्तीमा २०२३ सम्म कुर्नुपर्ने देखिन्छ । अहिलेसम्म करीब ७ प्रतिशत नेपाली जनताले जम्मा एक डोज खोप लगाएका छन् भने विश्वमै ठूलो परिमाणमा खोप उत्पादन गर्ने मुलुक भारतका करीब १५ प्रतिशत जनताले जम्मा एक डोज खोप प्राप्त गरेका छन् ।

संसारमा कोभिड–१९ महामारी नियन्त्रण गर्न विकसित मुलुकका नागरिकले मात्र खोप सुनिश्चित गरेर हुँदैन यसको साथै विकासोन्मुख मुलुकका जनताहरूले समेत कोभिड–१९ खोपमाथिको पहुँचमा सुनिश्चितता प्राप्त गर्नु अनिवार्यता रहन्छ । यद्यपि अहिलेको यस तथ्यांकलाई आधार मान्दा समतामूलक खोप वितरणमा ठूलो विश्वव्यापी चुनौती देखिएको छ ।

कोभिड–१९ खोपमा विश्व राजनीतिक परिवेश

भर्खरै मात्र अमेरिकाले कोभिड–१९ खोपमा भएको बौद्धिक फर्मूला (पेटेन्ट राइट) हटाएको छ । यस महत्वपूर्ण निर्णयसँगै अविकसित देशहरूले सरल मूल्यमा खोप प्राप्त हुने आधारशिला खडा भएको छ । भारत र दक्षिण अफ्रिकाको अगुवाइमा विभिन्न विकासोन्मुख देशको सक्रियता र अनुरोधमा अमेरिकी सरकारले उक्त निर्णय गरेको हो ।

यस परिवेशले के प्रमाणित गर्दछ भने विकासोन्मुख मुलुकमा कोभिड–१९ महामारी नियन्त्रण गर्न उक्त देशहरूको आपसी समझदारी, समन्वय र नेतृत्वदायी भूमिकाले ठूलो भूराजनीतिक अर्थ राख्दछ ।

यद्यपि खोप माथिको पेटेन्ट राइट हटाउँदैमा खोपको न्यायोचित र समतामूलक वितरणको लक्ष्य प्राप्त गर्न सकिंदैन । साथसाथै चाँडोभन्दा चाँडो ठूलो परिमाणमा खोप उत्पादन गर्न खोप उत्पादन गर्ने विकसित देशहरूले प्रविधि र सीप समेत विकासोन्मुख मुलुकलाई हस्तान्तरण गर्नुपर्ने देखिन्छ ।

कोभिड–१९ खोपको प्राविधिक पक्ष

विश्व स्वास्थ्य संगठनबाट प्रयोगको लागि स्वीकृत भएका कोभिड–१९ विरुद्ध हालसम्मका प्रभावकारी खोपहरूमा फाइजर÷बायोटेक (९४ प्रतिशत प्रभावकारी), मोर्डोना (९४ प्रतिशत प्रभावकारी), नोभाभेक्स (८९ प्रतिशत प्रभावकारी), बेलायतको अक्सफोर्ड एस्ट्राजेनेका खोप (८१ प्रतिशत प्रभावकारी), रूसको स्पुतानिक खोप (९२ प्रतिशत प्रभावकारी) तथा चीनको सिनोफार्म कम्पनीको भेरोसेल (७८ प्रतिशत प्रभावकारी) खोप आदि रहेका छन् ।

अक्सफोर्डले उत्पादन गरेको कोभिशिल्ड खोपको पहिलो र दोस्रो मात्राको कति अन्तरमा खोप लगाउँदा खोपको प्रभाकारितामा वृद्धि हुन्छ भन्ने अध्ययन भएको थियो । उक्त अन्तर्राष्ट्रिय अध्ययन अनुसार तीन हप्ता र १२ हप्ताको अन्तरालमा खोप दिंदाको प्रभाकारिताको अध्ययन गरिएको थियो । नतिजा अनुसार पहिलो र दोस्रो डोजको अन्तर तीन हप्ता भन्दा १२ हप्ताको फरकमा दोस्रो डोज खोप लगाउँदा ३.५ गुणा धेरै एन्टिबडी निर्माण भएको देखिएको हँुदा वैज्ञानिकहरूले पहिलो खोप लिए पश्चात् १२–१६ हप्ताको फरकमा दोस्रो मात्राको खोप लिन सुझाव पेश गरेका छन् ।

त्यस्तै गरी विभिन्न खाडी मुलुकमा भेरोसेल खोपको दोस्रो खोप लगाएको ६ महीनाको अन्तरमा बुस्टर मात्रा लगाउँदा खोपको प्रभावकारिता राम्रो हुने र कोरोनाको सबै नयाँ नयाँ भेरियन्टविरुद्ध राम्रो काम गर्ने बताइएको छ ।

साथै भारतले भर्खरै खोपको एक डोज लिएका व्यक्तिमा कोरोना संक्रमण देखिएमा उक्त व्यक्तिहरूलाई कोरोना निको भएको तीन महीनाको फरकमा दोस्रो मात्रा लिन गाइडलाइन जारी गरेको छ । एक डोज मात्र खोप लगाएका व्यक्तिहरूले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना नगर्दा उनीहरूबाट अन्य स्वस्थ व्यक्तिहरूमा तीव्र रूपमा संक्रमण फैलिएको विभिन्न अध्ययनले बताएका छन् ।

नेपालको अबको गन्तव्य

दक्षिण एशियाली राष्ट्रहरूमा भुटानले खोप उत्पादन गर्ने मुलुकहरूले अँगालेको भ्याक्सिन डिप्लोमेसीको पूर्ण लाभ लिंदै भारत र चीन दुवै मुलुकबाट खोप सहयोग प्राप्त गर्दै कुल जनसंख्याको ६६ प्रतिशत भन्दा बढीलाई खोप उपलब्ध गराइसकेको छ । भुटानको सफल कोभिड–१९ खोप रणनीतिबाट नेपालले पाठ सिक्नुपर्ने देखिन्छ ।

अहिले कोरोनाभाइरसका विभिन्न नयाँ नयाँ भेरियन्टहरू देखिएका छन् भारतमा मात्र डबल र ट्रिपल म्युटेन्टले गर्दा तेस्रो लहर आउने अनुमान गरिएको छ । नेपालमा समेत बेलायतको भेरियन्ट र डबल म्युटेन्ट भित्रिएको पुष्टि भइसकेको छ । भर्खरै गरिएको एक अन्तर्राष्ट्रिय अनुसन्धानको नतिजा अनुसार खोपको प्रभाकारिता डबल म्युटेन्ट भेरियन्टविरुद्ध (दोस्रो डोज लिए पश्चात कोभिशिल्ड खोपको प्रभावकारिता ६० प्रतिशत) न्यून देखिएको छ ।

साथै चाँडै सबै नेपालीले तत्काल खोप पाउने सम्भावना कम देखिएको हुँदा कोरोना रोकथामको अचूक उपाय जनस्वास्थ्यका नियमहरू भौतिक दूरी, हातको सफाइ र मास्क प्रयोगको सख्त रूपमा पालना गर्नु नै कोभिड–१९ रोकथाममा आम नागरिकको भूमिका ठहरिन्छ ।

भर्खरै भारतको खोप उत्पादन गर्ने अग्रणी निकाय सेरम इन्ष्टिच्युटले सन् २०२१ को अन्त्यसम्म बाह्य मुलुकलाई खोप उपलब्ध गराउन नसकिने सूचना जारी गरिसकेको छ । साथै अविकसित देशहरूलाई खोप उपलब्ध गराउने विश्वव्यापी कोभिड–१९ खोप कार्यक्रम ‘कोभ्याक्स’ ले समेत नेपाललाई खोपको विकल्प खोज्न औपचारिक रूपमा जानकारी गराएको छ ।

यस तथ्यलाई मध्यनजर गर्दै छिटोभन्दा छिटो खोप प्राप्त गर्न नेपाल सरकार, सबै राजनीतिक पार्टीहरू, बुद्धिजीवी तथा पेशागत संघठनहरूको साझा उद्देश्य मित्र राष्ट्र चीन लगायत खोप उत्पादन गर्ने अन्य मित्र राष्ट्रहरू रूस, बेलायत र अमेरिकासँग युद्धस्तरमा कूटनीतिक पहल गर्नुपर्ने देखिन्छ ।

(कोभिड–१९ लगायत विभिन्न मेडिकल रिसर्चमा क्रियाशील लेखक नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य हुन् ।)

लेखकको बारेमा
कमल रानाभाट

कमल रानाभाट डब्ल्यूएचओका रिसर्च फेलो एवम् जनस्वास्थ्य अनुसन्धानविज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?