Comments Add Comment

किशोर गणतन्त्रमा माओवादी सपनाको चिरफार

जनयुद्धकालका माओवादी सेना

नेपाली राजनीतिमा मैले सबैभन्दा निकट रहेर सहकार्य गरेका व्यक्ति हुनुहुन्छ पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई । उहाँले संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा भएको दिन १५ जेठ २०६५ मा एउटा नोट लेख्नुभयो– ‘एउटा सपना पूरा भएको दिन ।’ अर्को हप्ता २१ जेठ २०६५ को जनादेश साप्ताहिकमा उहाँको ‘बेलाबखत’ स्तम्भमा लेखका रूपमा प्रकाशित भयो । त्यो नोटको अन्तिम अनुच्छेदमा उहाँले भन्नुभएको थियो-

‘…जे होस् जेठ १५ गतेले हाम्रो पुस्ताका सबै सच्चा क्रान्तिकारीहरूको सपना पूरा गरेको छ । अब कमसेकम हामीलाई नातिनातिनीको पालासम्म नेपालमा कुनैबेला राजतन्त्र भन्ने संस्था थियो र त्यसलाई हामीले नेपाली इतिहासको पहिलो संविधानसभाको पहिलो बैठकबाट २०६५ साल जेठ १५ गते टेबल ठटाएर बिदा गर्‍यौं भनेर कथा सुनाउने राम्रो मौका मिलेको छ । त्यसमा हामीले घिरौंला जत्रो पारेर नाक किन नफुलाउने ? साम्यवादसम्मको बाँकी लडाइँ त भावी पुस्ताले लडिरहन्छ नि !’

त्यो दिन अर्थात् आजको दिन (जेठ १५ गणतन्त्र घोषणाको दिन) प्रचण्ड बाबुराम भन्दा अघिल्लो पुस्ताले पनि देखेको सपनाको दिन थियो । त्यो सपना पूरा गर्न नेपालमा मुख्यतः पुष्पलालको नेतृत्वमा कम्युनिष्ट र बीपी कोइरालाको नेतृत्वमा कांग्रेस पार्टीहरू निर्माण भए । र, राजनीतिक संघर्षका सशस्त्र र शान्तिपूर्ण विभिन्न रूप नेपालमा प्रयोग भए ।

मनऋषि धिताल

बीपी–पुष्पलालको पुस्ताले राणाशासनको अन्त्य गरे पनि संविधानसभाको चुनावबाट नेपालमा गणतन्त्रको स्थापना गर्ने त्यो अवसर गुमाए । पछि बीपी जो राणा हटाउन त सफल भए तर राजतन्त्र स्वीकार गरेकाले उनी आफैंले राजनीतिक दुर्घटनाहरू व्यहोर्नुपर्‍यो र पटक–पटक राजनीतिक संघर्षका आफ्नै पुराना रूपहरूमा आफैं फर्किनुपर्‍यो ।

आखिर पुष्पलाल र बीपीले राजाले थोपरेको पंचायती व्यवस्था व्यहोर्नु पर्‍यो र उहाँहरूको अर्को पुस्ताले पचास वर्ष कुरेर सशस्त्र र शान्तिपूर्ण आन्दोलनका अनेकौं उपचरणमा गुज्रेर दुई चरणमा आन्दोलन गर्दै १५ जेठ २०६५ आइपुग्यो ।

‘घिरौंला जत्रो’ नाक बनाउन सफल पुस्ताका नेता बाबुराम भट्टराईले त्यो नोटमा पहिलो चोटि २०२५/२६ सालतिर भरतशमशेरको राजतन्त्र विरोधी पर्चा र २०२८ मा रामराजाप्रसाद सिंहले गणतन्त्रको पक्षमा निकालेको पर्चाले आफूलाई गणतन्त्रवादी बनाउन प्रेरित गरेको भनेर लेख्नुभएको छ ।

सोही प्रेरणाले आफूले भारतमा विद्यार्थी संगठन बनाएर गणतन्त्रका पक्षमा कांग्रेस कम्युनिष्टलाई एकै थलोमा ल्याउँदै नेपालमा गणतान्त्रिक आन्दोलनलाई सघाउ पुर्‍याउने कोशिश गरेको तर तीस र चालीसको दशकको कांग्रेस कम्युनिष्ट पानी बाराबारले आफ्ना कुरा नसुनिएको गुनासो पनि लेख्नुभएको छ ।

उहाँले त्यो नोटमा लेख्नुभएको छ कि– ‘कांग्रेस कम्युनिष्टमध्ये गणतन्त्रका पक्षमा कम्युनिष्टहरू नै इमानदार भएकाले म कम्युनिष्ट आन्दोलनमा होमिएको थिएँ । यसरी म कम्युनिष्ट भएकोले गणतन्त्रवादी भएको नभई गणतन्त्रवादी भएकोले म कम्युनिष्ट हुन पुगें ।’

उहाँहरूको पुस्ताले प्रमुख नेतृत्व तहबाटै व्यहोरेको केशरजंग रायमाझी प्रवृत्ति र कांग्रेस कम्युनिष्टबीचको पानी बाराबारको अवस्था भन्दा अहिले विकसित प्रवृत्ति र अवस्था कम खतरनाक छैन । उहाँहरूकै पुस्ताले हामी नयाँ पुस्ताका लागि तयार गरेको ‘गौरवमय’ खासमा ‘कौरवमय’ कथा पनि उहाँहरूले आफ्ना नातिनातिना पुस्तालाई पक्कै सनाउनु हुनेहोला ।देशले चौधौं गणतन्त्र दिवस मनाइरहँदा प्रचण्ड–बाबुराम, माधव–केपी वा शेरबहादुर–रामचन्द्र पुस्ताले उहाँहरू भन्दा पछिल्लो पुस्ताका प्रभाकर–गङ्गा, प्रदीप–योगेश वा विश्वप्रकाश–गगन पुस्ताको संघर्ष र बलिदानको टाकुरामाथि उभिएर घिरौंला जत्रो नाक बनाउनुभएको निकट इतिहास जगजाहेर छ ।

उहाँहरूको सपनाको गणतन्त्र स्थापना हुँदैमा र उहाँहरूको नाक घिरौंला जत्रो हुँदैमा पछिल्लो पुस्ताप्रतिको उहाँहरूको योगदान पूरा हुँदैन । कि त उहाँहरूले सक्रिय राजनीतिबाट सन्न्यास लिएर नीति कथा र राजनीति कथा सुनाउने जिम्मा लिनुपर्‍यो होइन भने अर्को पुस्ताले लेख्ने इतिहासमा यो अनुच्छेद पनि त थपिएला– ‘नेपालमा गणतन्त्र स्थापनाको सपना देख्दै पूरा गरेर घिरौंला जत्रो नाक बनाएका नेताको पुस्ताले आफ्ना वर्गीय आदर्श र इमानदारी त्यागेर अप्राकृतिक सहवास गरेकाले ‘टीन एज’मा प्रवेश नगर्दै किशोर गणतन्त्र असांस्कृतिक बनेर बरालिएको छ ।’

यो गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको माओवादी जनयुद्ध र त्यो जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुरामको अक्षमताको परिणामस्वरुप किशोर गणतन्त्र बरालिएको हो । मैले सम्पादन गरेका प्रचण्ड र बाबुरामका गणतन्त्र घोषणा नजिकैका लेख रचना र अन्तर्वार्ताहरूको सँगालो पढ्दै गर्दा अहिले मलाई उहाँहरूप्रति दया लागेर आउँछ ।

त्यसबेला उहाँहरूका दृष्टिकोण त्यो वरिपरिका विचार, गतिशीलता र घोषणाहरूले नयाँ नेपाल, व्यवस्था र संस्कृति नजिकै क्षितिजमा देखिन्थ्यो । तर गणतन्त्र घोषणा भएर उहाँहरूले आफ्नो नाक घिरौंला जत्रो बनाएको भोलि पल्टैदेखि फेरि आफ्ना सहयात्रीहरूको नाक ताछ्ने दर्शनमा उहाँहरू हिंड्नुभो ।

अब त पाँच वर्ष पनि बित्यो प्रचण्ड बाबुरामले एक जना केपी ओलीको सहनायक र अर्को उपेन्द्र यादवको सहनायक भएर नयाँ राजनीतिको पहलकदमी लिन खोज्नुभएको तर उहाँहरू दुवैजना फेरि असफल भैसक्नुभएको छ । उहाँहरूले टेक्न खोज्नुभएका माधव र महन्थरूपी लौराहरूले पनि उहाँहरूलाई नै रामधुलाई गरिसकेका छन् ।

हाम्रा आदरणीय पूर्व सुप्रिमोहरू अब पनि तपाईंहरू विजातीय र निर्वर्गीय गठबन्धनको विश्वासमा आफ्नो वर्गले त्याग र बलिदानले ल्याएको गणतन्त्र र जोगाएको राष्ट्रियताको मलामी बन्न कुर्ने कि आफ्नो वर्ग धरातलमा पाइला टेकेर फेरि एकताको अँगालो कस्ने त्यो तपाईंहरूको जिम्मा ।

हाम्रो पुस्ता पनि नालायक भएकाले नै तपाईंहरूका कमजोरी सच्याउन सम्भव भएन । हामी आत्मसमीक्षा गर्छौं– तपाइँहरूको नातिनातिना पुस्तालाई तपाईंहरूको नालायकीको कथा सुनाउनुअघि नै वर्गीय एकताका हात फैलाउँछौं र जनताको गणतन्त्र र इन्द्रेणी राष्ट्रियता जोगाउने नयाँ आन्दोलनमा लाम लाग्न तयार हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment