Comments Add Comment

ओली पक्षीय सांसदको जवाफ : पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीविरुद्ध मतदान

प्रदेशसभा सदस्य पठानसिंह बोहरा

२६ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पार्टीको निर्देशन अनुसार नै मुख्यमन्त्रीविरुद्ध मतदान गरेको जवाफ दिएका छन् । संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिंदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्रीविरुद्ध मतदान गरेको बताएका हुन् ।

‘एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कमरेड कर्णबहादुर थापा र सचिव कमरेड राजेन्द्र रावलले जारी गरेको च. नं. ३२ को पत्रअनुसार प्रदेशसभा सदस्यहरुको अनिवार्य उपस्थिति गराइ मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मत लिने प्रस्तावको विरुद्धमा मतदान गर्न केन्द्रको निर्देशन अनुसार ह्वीपको पालना गरी मैले पार्टी विधि, विधान, सिद्धान्त र निर्णय अनुसार नै मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारविरुद्ध मतदान गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ संसदीय दलका नेतालाई प्रदेशसभा सदस्यले बुझाएको पत्रमा भनिएको छ । साथै दलको ह्वीप उल्लंघन गरेको आरोप लगाएकोप्रति ध्यानाकर्षण भएको उनीहरुले बताएका छन् ।

प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भइनसकेको अवस्थामा सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने समेत उनीहरुले उल्लेख गरेका छन् । मंगलबार एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले दलको ह्वीप विपरीत प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मत हालेको भन्दै ओली पक्षीय सात जनालाई स्पष्टीकरण सोधेका थिए । उनले चित्त बुझ्दो जवाफ प्राप्त नभएमा कारबाही गर्ने चेतावनी समेत दिएका थिए । प्रदेश संसदीय दलको कार्यालयले अहिले स्पष्टीकरण पत्रमाथि अध्ययन भइरहेकाले आवश्यक निर्णय त्यसपछि मात्र लिने जनाएको छ ।

प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लीलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

तर माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गर्‍यो । तीन मन्त्रीले राजीनामा दिए लगत्तै चार मन्त्री र तीन राज्यमन्त्री लिएर नेपाल समूह प्रदेश सरकारमा कायमै छ ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठक मंगलबार बसेको थियो । बैठकले भट्टको पक्षमा मत दिने निर्णय गरेको थियो । बैठकमा ओली पक्षका सांसदहरुले विश्वासको मत दिन नहुने भन्दै फरक मत राख्न चाहे पनि बहुमत पक्षले दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment