Comments Add Comment

सेयर ‘कर्नरिङ’ : २ वर्षसम्म कैद हुनसक्ने कानून छ, तर कारबाही हुँदैन

२७ जेठ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा निकै आकर्षण बढेको छ । कारोबार रकमको अंक नै दैनिक १७ अर्ब हाराहारीमा पुग्न थालेको छ । एक वर्ष अघिसम्म १७ अर्ब कारोबार हुन एक महिना कुर्नुपर्ने अवस्था थियो । अहिले एकै दिनमा यति ठूलो कारोबार हुने गरेको छ ।

पछिल्लो समय सेयर कारोबारमा देखिएको बढोत्तरीलाई नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले निषेधाज्ञाको असर भएको बताउँदै आएका छन् । पछिल्लो समय कोरोनाका कारण सबै क्षेत्र बन्द भएको र अन्त लगानी हुने रकम पनि सेयर बजारमा आएको नेप्सेका अधिकारी मात्रै होइन अन्य जानकारहरूले पनि बताउँदै आएका छन् ।

मंगलबार नेपाल धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिले भने सेयर बजारका लगानीकर्ताहरूलाई सशंकित बनाएको छ । बोर्डले पछिल्लो समय सेयर ‘कर्नरिङ’को विषयमा धेरै उजुरी परेको बताएको छ ।

बजारमा कर्नरिङ हुने गरेको बोर्डले स्वीकार समेत गरेको छ । अहिले यस विषयमा अध्ययन भइरहेको र केही समय लाग्ने बोर्डले बताएको छ । तर बोर्डले कर्नरिङ गरेको कसुरमा कारबाही गरेको हालसम्म अभिलेख छैन ।

बोर्डले अहिले भने अध्ययन सुरु गरेकाले लगानीकर्तामा सकारात्मक सन्देश गएको छ । यस्तो बेला लगानीकर्ताहरू सजग हुनुपर्ने समेत बोर्डले आग्रह गरेको छ । जोखिम उच्च रहेको र सजगता नअपनाए लगानीकर्ताहरू डुब्नसक्नेतर्फ बोर्डले सचेत गराएको हो ।

सेयर कर्नरिङ नयाँ विषय भने होइन । बोर्डकै कर्मचारीहरू यो विषय बेलाबेलामा उठान भइरहने बताउँछन् । तर बोर्डले अहिलेसम्म पनि एक जनालाई कर्नरिङ गरेको अभियोगमा कारबाही गर्न सकेको छैन ।

अलि सामान्य बुझ्ने मान्छेले पनि कर्नरिङ देखेको सेयर बजारका विश्लेषक प्रकाश तिवारी बताउँछन् । तर बोर्डले २९ वर्ष वाषिर्कोत्सव मनाइसक्दा पनि कारबाही गर्न नसकेको उनले बताए । यसले बोर्डप्रतिको विस्वास घटेको उनले बताए ।

‘अब त सामान्य लगानीकर्तालाई पनि जानकारी भइसक्यो कि, बजारमा कर्नरिङ हुन्छ, इन्साइडर ट्रेडिङ हुन्छ,’ उनले भने, ‘तर बोर्डले अझै जानकारी नपाउनु दुःखद हो, गलत गर्ने क्रमलाई सुधार्न पनि बोर्डले अब एक्सन लिनुपर्छ ।’

सेयर कर्नरिङ अपराध हो

पछिल्लो समय सेयर बजारमा साना लगानीकर्ता डुबाउने २ कारोबारहरू चर्चामा छन् । पहिलो- इन्साइडर ट्रेडिङ, अनि दोस्रो-कर्नरिङ । इन्साइडर ट्रेडिङ भन्दा कर्नरिङ झन खतरनाक रहेको जानकारहरू बताउँछन् । यी दुवै कारोबारले लगानीकर्ताहरूलाई डुबाउने उनीहको भनाइ छ ।

गत चैत तेस्रो साता अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै ५० प्रतिशत हकप्रद सेयर दिने घोषणा गर्‍यो । समग्रमा बजार घट्दा समेत अजोडको पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको थियो ।

सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा गरिएपछि अजोडको सोमबार भएको कारोबारलाई शंकास्पद रुपमा हेरियो । इन्साइडर ट्रेडिङ (सूचना चुहाएर कारोबार) भएको भन्दै लगानीकर्ताहरूले कारोबार नै रद्द गर्नुपर्ने माग गरे ।

नेपाल स्टक एक्सचेञ्ज अगाडि नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल लगायतका लगानीकर्ताहरु

सेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएमा कम्पनीले सबैभन्दा पहिला नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिनुपर्ने हुन्छ । तर, कम्पनीको सञ्चालक समितिमा रहेका वा उच्च व्यवस्थापन तहका कर्मचारीहरूले सूचना बाहिर लगेर इन्साइडर ट्रेडिङ गराउने गरेका छन् । यो घटनाका कारण बिमा समितिले कम्पनीको हकप्रद निष्काशन गर्नै बन्द गरिदियो । यसले पनि यहाँ इन्साइडर ट्रेडिङ भएको पुष्टि हुने सेयर बजारका जानकार नयन बास्तोला बताउँछन् ।

योभन्दा खतरा अहिले बजारमा कर्नरिङको रहेको उनको भनाइ छ । सेयर कर्नरिङ धितोपत्र बजारमा हुने एक अपराध हो । तर यसका विषयमा बोर्डले कारबाही भने गर्न नसकेको उनले बताए । कुनै कम्पनीको सेयर मूूल्य बढाउन वा घटाउनका लागि व्यक्ति वा समूह मिलेर सेयर कर्नरिङ गर्ने गरेका छन् ।

बजार घटाउन वा बढाउनका लागि २ वा २ भन्दा बढि मिलेर खरिद बिक्री हुन्छ । बजार किनबेचको आधारमा घटबढ हुने हो । यसरी मिलेर मूल्य घटाउने वा बढाउने कामलाई कर्नरिङ भनिन्छ । कर्नरिङ भएको उजुरीहरू परेपछि बोर्डले वस्तु विनिमय बजार तथा अनुसन्धान विभागका कामु कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा छानविन समति बनाएर अध्ययन भइरहेको बताएको छ ।

प्रारम्भिक निष्कर्ष निकाल्दै बोर्डले कर्नरिङ मौलाएको स्वीकार गरेको छ । तर यस विषयमा अन्तिम निष्कर्श नआई बाहिर नल्याउने बोर्डको रणनीति छ । यसरी जानकारी पाएर पनि कारबाही हुन नसक्नु बोर्डको हदैसम्मको कमजोरी भएको उनी बताउँछन् ।

एक लाखसम्म जरिवाना वा एक वर्ष कैद

दण्ड सजाय सम्बन्धी दफा १०१ को उफदफा (२) मा दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ

धितोपत्र कारोबार सम्बन्धी अपराध गरेमा कडा सजायको व्यवस्था गरिएको छ । तर पछिल्लो समय नियामक निकायले कानूनको अभाव भन्दै जिम्बेवारीबाट पन्छिने गरेको छ । धितोपत्र बजार सम्बन्धी ऐन, २०६३ ले बजारलाई प्रभावित पार्न गतिविधि गरेमा कसुर मान्ने व्यवस्था गरेको छ ।

ऐनको दफा (९६) मा कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली देहायका कुनै काम गरेमा धितोपत्र बजारलाई प्रभावित गरेको मानिने उल्लेख छ ।

यस दफाको (क) मा कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, (ख) मा कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने गरेमा कसुर मानिनेछ ।

सोही दफाको (ग) मा कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने काम गरेमा पनि यसलाई कसुर मानिने उल्लेख छ ।

कर्नरिङ यही दफामा आकर्षित हुने बोर्डका एक उच्च कर्मचारी बताउँछन् । ‘अहिले हामीले कर्नरिङका विषयमा अध्ययन गरिरहेका छौं, दोषि भेटिए यही कसुर मानिने हो,’ उनले भने ।

यो कसुर गर्नेलाई के सजाय हुन्छ भन्ने सोहि ऐनको दफा १०१ मा दण्ड सजाय सम्बन्धी व्यवस्था उल्लेख छ । दण्ड सजाय सम्बन्धी दफा १०१ को उफदफा (२) मा दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनुपर्ने उल्लेख छ ।

अनुशासित बनाउनु हाम्रो उद्देश्य हो : बोर्ड अध्यक्ष

बोर्ड स्थापनाको २९ वर्ष र ऐन निर्माणको पनि १५ वर्ष भइसकेको छ । तर बोर्डले बजारमा हुने यस्ता गतिविधि रोक्न प्रभावकारी काम भने विगतका केही वर्षदेखिमात्रै सुरु गरेको छ । बोर्डको नेतृत्व गरिरहेका भिष्मराज ढुंगाना बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका व्यक्ति हुन् ।

बाेर्डका अध्यक्ष भिष्मराज ढुंगाना

नियमनमा राम्रो अनुभव भएका ढुंगाना बोर्डको नेतृत्वमा आएपछि भने सुधारको थालनी गरेका छन् । यसअघि अध्ययन नै नभएका कारण पनि कारबाही हुन नसकेको अध्यक्ष ढुंगानाको भनाइ छ । अहिले भने अध्ययन सुरु गरिएकाले अध्ययनले देखाएको निष्कर्शले आवश्यक कारबाही गर्न सहज हुने अध्यक्ष ढुंगानाको भनाइ छ ।

ऐन विपरीत काम कारबाही गराउनेहरूलाई २ लाख रुपैयाँ र २ वर्ष कैदसम्म हुनसक्ने व्यवस्था छ । तर यसअघि बोर्डबाट गलत कार्य सुधार्ने प्रयास नै भइसकेको छैन । अब अध्ययनको निष्कर्श आएपछि के कारबाही गर्ने ? कुन प्रक्रियामा जाने ? भन्ने जानकारी हुने अध्यक्ष ढुंगानाले बताए ।

‘सुधार्ने प्रयास त गर्नुपर्‍यो, गर्दागर्दै पत्ता लगाउन सकिएन वा क्षमता पुगेन भने अलग कुरा भयो,’ उनले भने, ‘सिष्टमहरू सुधार हुनुपर्ने छ भने सुधार गर्ने हो, अब सुरुआत भयो, अब हुन्छ ।’

संस्थागत रुपमा मात्रै होइन अब व्यक्तिगत रुपमा पनि हेर्ने अध्यक्ष ढुंगानाले बताए । बजारमा अनुशासन ल्याउनु ठूलो कुरा हो भन्दै उनले भने, ‘अब गल्ती गर्नु भएन, गल्ती गर्‍यो भने बोर्डले कारबाही गर्नसक्छ भन्ने कुरा बुझाउनै पर्नेछ ।’

यो पनि पढ्नुहोस् – 

अजोड इन्स्योन्समा ‘इन्साइडर ट्रेडिङ’को आशंका, कारोबार रद्द गर्न माग 

सेयर बजारमा मौलाउँदो ‘इन्साइडर ट्रेडिङ’

सेयर बजार : सोझा लगानीकर्ता डुब्ने खतरा 

आईपीओमा झेल : सयौँको नाममा एकै व्यक्तिको आवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आचार्यले मुलतः बैंक बित्तिय संस्था, सेयर बजार र निजी क्षेत्रका बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment