Comments Add Comment

दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध फेला, तीन जना पक्राउ

२७ जेठ, विराटनगर । मोरङमा दुर्घटनामा परेको मोटरसाइकलमाथि अनुसन्धान गर्दा प्रहरीले लागूऔषधका तीनजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिक बिहीबार बिहान दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँ   छन् ।

दुर्घटना भएको मोटरसाइकलमा लागूऔषध भेटिएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धमला र भट्टराई सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । उनीहरु सवार प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिकै  तीनजनालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धमला र भट्राईसहित पैदलयात्री बेलबारी–११ का १६ वर्षीय प्रितम राई, १५ वर्षीय सन्देश दास र कानेपोखरी गाउँपालिका–७ का ६५ वर्षीय दिलकुमार योगी गरी पाँच जना घाइते भएका थिए ।

मोटरसाइकलमा सवार धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा लागूऔषध भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार झोलाबाट लागूऔषध ८९२ थान नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेस जस्तो देखिने वस्तु भेटिएको थियो ।

उनीहरुमाथि अनुसन्धान गर्दा प्रहरी कारोबारी मियाँसम्म पुगेको थियो । सुनवर्षीस्थित मियाँको घरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा एउटा कटुवा पेस्तोल, दुई राउण्ड गोली, ६०० ट्याब्लेट नाइट्राभेट र दुई बोतल डीसी नामक लागूऔषध तथा एउटा चक्कु बरामद भएको एसपी खड्काले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागूऔषध र हतियार भारतबाट ल्याएर सप्लाई गर्दै आएका थिए । दुर्घटनामा घाइते भएका धमला र भट्टराईले मियाँबाट किनेर अरु सेवनकर्तालाई बिक्री गर्न लागुऔषध ल्याएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment