Comments Add Comment

सिन्धुपाल्चोकमा बर्सेनि विपत्ति, २०७१ सालयता के-के भयो ?

२ असार, काठमाडौं । सिन्धुपाल्चोकले केही वर्षयता लगातार ठूला प्राकृतिक विपत्तीको सामना गर्दै आएको छ । बर्सेनि बाढी र पहिरोका कारण जनधनको क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले गत वर्षमात्रै विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

२०७२ सालको गोरखा भूकम्पको बेलामा पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै भएको थियो । तर विपद प्रतिकार्यको काम प्रभावकारी नहुँदा सिन्धुपाल्चोकवासीले ठूलो क्षति व्यहोर्दै आएका छन् ।

सिन्धुपाल्चोकमा २०७१ सालयता भएका प्राकृतिक विपत्तिका मुख्य मुख्य घटना यस्ता छन् –

  • २०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भयो । घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसमेत १५३ घर पूर्णरूपमा क्षति पुग्यो ।
  • २०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो । भूकम्पले १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५ सय ३७ घर पूर्णरुपमा क्षति भयो ।
  • २०७३ असार २१ गतेको भोटेकोशी नदीको बाढीले लिपिङ बजारका ३० घर बगायो । तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुग्यो । अरनिको राजमार्ग बन्द भयो ।
  • २०७४ साउन ८ गते रातिको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद भयो । अरनिको राजमार्ग पनि अबरुद्ध भयो ।
  • २०७५ भदौ २ गते राति साँधी खोलामा आएको पहिरोले पक्की पुल बगायो । पहिरोले २२ घरमा लेदो माटो पस्यो, १२ घर जोखिममा परे ।

  • २०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका वडा नं. ५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु भयो भने १७ जना वेपत्ता भए । २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भए । बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त भयो । भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एक जनाको मृत्यु भयो भने तीन जना बेपत्ता भए । लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भयो । लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखियो । अरनिको राजमार्गका खागदल र बुल्कुटेका दुईवटा पक्की पुल पनि क्षतिग्रस्त भए ।
  • २०७७ असार ३१ गते राति भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो, ३ घर पूर्ण रुपमा क्षतिग्रस्त भए ।
  • २०७७ साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भयो । सोही रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो ।
  • २०७७ साउन २२ गतेको अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिए । बलेफी-कात्तिके सडक अबरुद्ध भयो । सयौं रोपनी धानखेत बगायो ।
  • २०७७ साउन ३० बिहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिए । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनालाई मृत घोषणा ।
  • २०७८ साल असार १ गते साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी । मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुग्यो । नदी तटीय क्षेत्रबाट धेरै मानिस सम्पर्क विहीन भएको स्थानीयको भनाइ छ । यद्यपि प्रहरीले यसको पुष्टि गर्न बाँकी छ । मेलम्ची (ईन्द्रावती)को बाढीले मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ ।
यो पनि पढ्नुहोस बाढी-पहिरोबाट १८ लाख बासिन्दा उच्च जोखिममा, पूर्वतयारी फितलो यो पनि पढ्नुहोस सिन्धुपाल्चोकमा बर्सेनि विपत्ति, २०७१ सालयता के-के भयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment