Comments Add Comment

अभूतपूर्व चीन

जनवादी गणतन्त्र चीनले शासकीय व्यवस्था र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलताको विषय आधुनिक विश्व परिवेशमा आम सर्वसाधारण लगायत सम्पूर्णमा चासो, चिन्तन र जिज्ञासाको विषयका रुपमा रहेको छ ।

पश्चिमा राष्ट्रहरुले निरन्तर वकालत र अभ्यास गरे/गराएको उदार लोकतान्त्रिक शासन व्यवस्थाको समेत कमि–कमजोरी देखा परिराखेको अवस्था तथा लोकप्रियतावादमा रमाउने समकालीन शासकहरूको शासन व्यवस्थाबाट आजित आम नागरिकहरूका लागि चिनियाँ शासकीय सफलताप्रति चासो हुनु स्वाभाविक नै मान्न सकिन्छ ।

आर्थिक वृद्धि र विकासको जग

आधुनिक चीनको सफलताको प्रस्थान विन्दु सन् १९७८ मा राष्ट्रपति देङ सियाओ पिङले लिएको आर्थिक खुलापन र सामाजिक सुधारको राष्ट्रिय नीति नै हो । पिङको नेतृत्वमा चिनियाँ विशेषताको समाजवाद र बजार अर्थतन्त्रमा आधारित अर्थतन्त्र स्थापनाका लागि विभिन्न उदार आर्थिक नीतिहरू अँगालिएको थियो ।

सोही कारणले सन् १९९० को दशकदेखि त चीनको आर्थिक वृद्धि लगातार रुपमा दोहोरो अङ्क हासिल गर्न सफल भएको थियो । चीनले अग्रगामी र सर्वव्यापी विकासका लागि पूर्वाधार क्षेत्रमा व्यापक लगानी, शिक्षा, स्वास्थ्य तथा मानव संशाधन जस्ता सामाजिक क्षेत्रमा लगानी र देशको सांस्कृतिक सामाजिक एकीकरण, प्रविधिको क्षेत्रमा अनुसन्धान, विकास र आविष्कार लगायतका कामहरू गरेको छ ।

सोही कारणले आजको दिनमा चीन उच्च प्रतिस्पर्धी अर्थतन्त्र, दोस्रो ठूलो अर्थतन्त्र, प्रमुख वस्तु तथा व्यापार निर्यातकर्ता, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सबैभन्दा ठूलो मुलुक, सबै किसिमका ठूला पूर्वाधार निर्माणकर्ता, ठूलो प्रविधि बजार र ठूलो वैदेशिक विनिमय सञ्चितकर्ताको महत्वपूर्ण स्थान ओगट्न सफल भएको छ ।

एकदलीय दूरदर्शी राजनीतिक नेतृत्वको अगुवाइमा तत्कालीन विश्व परिवेशमा सिर्जना भएका नवीनतम अभ्यासहरूलाई आत्मसात् तथा आन्तरिक बजारको सफल परिचालन मार्फत मौलिक किसिमको कार्य सम्पादन शैलीलाई अपनाएर चीनले आजको सफलता प्राप्त गरेको हो ।

नागरिकको सद्भाव

चिनियाँ नागरिकहरूले सत्तामा आउने जोसुकै नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीले अख्तियार गरेको नीति कार्यक्रममा पूर्णतः विश्वास गरी सरकारी नीति कार्यान्वयनमा भरपुर सहयोग पुर्‍याएको समाचार सुन्न पाइन्छ ।

यस्तो खालको अभ्यास र प्रयास अमेरिका, जर्मनी, बेलायत जस्ता प्रतिस्पर्धी अर्थतन्त्रमा समेत विरलै देख्न पाइन्छ । सोही कारणले चिनियाँ नागरिकले स्वीडेन, नर्वे जस्ता समृद्ध मानिएका युरोपेली देशका नागरिकहरूले योगदान गर्नेभन्दा बढी आफ्नो आम्दानीको करीब ६० प्रतिशत रकम राज्य कोषमा योगदान गरेका छन् । चिनियाँ नागरिकको शिक्षा, स्वास्थ्य लगायत सामाजिक सुरक्षा र संरक्षणको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ ।

आर्थिक गतिशीलता

सन् १९७८ मा कुल गार्हस्थ्य उत्पादनको हिसाबले विश्वभरमा १५औं स्थानमा रहेको चीन सन् २०१० देखि निरन्तर दोस्रो स्थानमा रहेको छ । सन् २०२० मा करीब १७ ट्रिलियन अमेरिकी डलर रहेको चिनियाँ अर्थतन्त्र विश्वको कुल अर्थतन्त्रको ६ भागको एक भाग हुन आउँछ ।

यदि चीनले आफ्नो आर्थिक वृद्धिलाई अमेरिकाको आर्थिक वृद्धिभन्दा दुईदेखि तीन प्रतिशत बढी राख्दै गयो भने सन् २०३० मा एक नम्बर अर्थतन्त्र हुने अनुमान छ । चीनका लागि १३औं पञ्चवर्षीय योजनाको अवधि (सन् २०१६-२०२०) महत्वपूर्ण रह्यो । चीनले सन् २०१९ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन दश हजार अमेरिकी डलर कटाई उच्च मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुन सफल भएको छ ।

गरीबी निवारणको क्षेत्रमा समेत चीनको प्रगति आकर्षक रहेको छ । सन् २०१३ देखि सन् २०१९ सम्मको अवधिमा चीनले ग्रामीण गरीबी करीब एक सय मिलियनबाट साढे पाँच मिलियनमा झार्न सफल भएको छ । विगत चालीस वर्षमा अन्य विकसित देशहरूले जस्तै चीनले समेत सामाजिक स्थायित्व, कानूनको शासन र कानूनको पूर्ण परिपालना गरी गराई देशलाई वैदेशिक लगानीको प्रमुख गन्तव्यका रुपमा स्थापित गरेको तथ्य हामीसामु रहेको छ ।

एकल राजनीतिक पार्टीको नेतृत्वमा तीव्र आर्थिक विकास हासिल गर्नु र दीर्घकालीन सामाजिक स्थायित्व हासिल गर्नु जस्ता दुई फरक विधामा उत्तिकै सफलता हासिल गरेको विषय पश्चिमा मुलुकका लागि अध्ययनको विषय बन्‍न पुगेको छ ।

अपराध नियन्त्रण र सामाजिक सद्भाव

चिनियाँ अपराधशास्त्र समाजका सहअध्यक्ष तथा ‌सांघाई युनिभर्सिटी अफ पोलिटिकल साइन्स एण्ड ल का प्रोफेसर यान लिका अनुसार अपराधको सफलतापूर्वक नियन्त्रण, राजनीतिक स्थायित्व, स्वस्थ र दिगो आर्थिक विकास नै आधुनिक चीन विकासको मूल मन्त्र हो ।

करीब ७० वर्ष पहिले स्थापना भएको जनवादी गणतन्त्र चीनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा अति गरीब मुलुकको स्तरबाट तीव्र रुपमा छलाङ मार्दै उच्च आर्थिक वृद्धिसहित उच्च मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुनु अभूतपूर्व उपलब्धि हो ।

मुलुकको विकास र समृद्धिको मुख्य इन्जिन आर्थिक वृद्धि र विकास भए तापनि सोका लागि राजनीतिक र सामाजिक स्थायित्व अति आवश्यक छ भन्ने कुरामा चिनियाँ नेतृत्व सचेत र प्रतिबद्ध रहेको देखिन्छ । करीब एक अर्ब चालीस करोड जनसङ्ख्या भएको देशमा सामाजिक विवाद, मतभेद र द्वन्द्वलाई व्यवस्थापन गर्नु र जनसमर्थन प्राप्त गर्दै आर्थिक गतिशीलतालाई निरन्तरता दिनु चुनौतीपूर्ण काम हो ।

संयुक्त राष्ट्रसंघीय अध्ययनले हाल चीनमा प्रति एक लाख जनसङ्ख्यामा एकभन्दा कम मानिसको हत्यासम्बन्धी अपराध रहेको देखाउँछ । सो अपराधको दर जर्मनी, बेलायत, अमेरिका भन्दा थोरै हो । चिनियाँ सांस्कृतिक क्रान्तिको बढेको अपराधलाई नियन्त्रणका लागि पार्टीको केन्द्रीय कमिटीको नेतृत्वमा ‘क्र्याकडाउन’ नामको जनता समेत सहभागी भएको देशव्यापी अपराध नियन्त्रण अभियान र अपराधमा संलग्नलाई गम्भीर किसिमको सजाय दिइने कानूनको निर्माण मार्फत उक्त अपराध नियन्त्रण गरेको थियो ।

हाल चीनमा विगत तीन दशकको अवधिमा गम्भीर प्रकृतिको अपराध व्यापक मात्रामा घटेको देखाउँछ । यसरी चिनियाँ सरकारले पार्टीको क्रियाशील देशव्यापी सञ्जाल, विभिन्न पञ्चवर्षीय योजना र प्रतिवद्ध नेतृत्व र विभिन्न तहका अदालत जस्ता स्थापित संस्थाको परिचालन र सबलीकरण मार्फत उक्त सफलता हासिल गरेको निष्कर्ष निकाल्न सकिन्छ ।

कानूनी आधार

चीन समाजवादमा आधारित कानूनको शासनमा विश्वास राख्दछ । सांघाई नगर सरकारका सल्लाहकार गुआन बायोयिङले चिनियाँ कम्युनिष्ट पार्टीमा आधारित सबल कानूनी शासन स्थापनाका पाँच सैद्धान्तिक आधार ठम्याउँछन् ।

ती हुन्-कार्यान्वयन योग्य कानूनी मूल्य मान्यताको अवलम्बन, कानून कार्यान्वयनको प्रभावकारी संयन्त्र, कडा खालको कानूनी सुपरीवेक्षण प्रणाली, कानून संरक्षणको शक्तिशाली संयन्त्र र हरेक तहमा चिनियाँ कम्युनिष्ट पार्टीको पूर्ण नियन्त्रण, शासनमा शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलनका सम्बन्धमा चीनमा अनौठो नयाँ र सफल प्रयोग देख्न सकिन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीमा निहित सर्वोच्च व्यवस्थापकीय शक्तिलाई प्रशासकीय, न्यायिक, सुपरीवेक्षण र अभियोजन अधिकार गरी चार प्रकारमा विभाजित गरेको पाइन्छ । देशको राजनीतिक, सामाजिक, आर्थिक स्थायित्व र विकासका लागि चीनले व्यापक मात्रामा ऐन कानूनको तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ ।

तीमध्ये व्यापक परिमार्जनसहित यसै वर्षको जनवरी एकदेखि कार्यान्वयनमा ल्याइएको सात भाग, १२६० दफा रहेको तथा व्यक्तिगत स्वतन्त्रता र अधिकारलाई विशेष महत्व दिइएको देवानी संहिता, विदेशी लगानी संरक्षणसम्बन्धी कानूनलगायत केही महत्वपूर्ण कानून हुन् ।

साथै, सु-व्यवस्थित कानूनी संस्कार र सन् २०१३ देखि व्पापक मात्रामा प्रयोगमा ल्याइएको स्मार्ट अदालत मार्फत लाखौं मुद्दाहरू इन्टरनेटमार्फत भर्चुअल तरिकाले सुनुवाइको प्रभावकारी व्यवस्था मिलाउनु चीनको सफलताको अर्को आधार हो ।

सी जिनपिङको नेतृत्व र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)

सन् २०१२ मा चीनको राष्ट्रपतिको पद सम्हालेपछि प्राचीन रेशम व्यापार मार्गमा पर्ने एशिया, अफ्रिका र युरोप महादेशमा विभिन्न भू-भागलाई जोडी यस क्षेत्रको एकीकृत विकासका लागि सी जिनपिङले अगाडि सारेको महत्वाकांक्षी परियोजना नै बेल्ट एण्ड रोड इनिसिएटिभ हो । यसलाई छोटकरीमा बीआरआई लेखिन्छ ।

विशेषतः यसअन्तर्गत चीनको सियानदेखि इटालीको भेनिससम्म पुग्ने प्राचीन जमीनको रेशम मार्ग र चीनको गुआउन्जौदेखि हिन्द महासागरबाट अफ्रिकी देशहरूको सामुद्रिक बन्दरगाह हुँदै इटालीको भेनिस पुग्ने प्राचीन सामुद्रिक मार्गमा पर्ने क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिएको छ । यस परियोजनाअन्तर्गत सो प्राचीन मार्गमा पर्ने देशहरूको पूर्वाधार विकास, सांस्कृतिक एकतासहितको जनसम्बन्ध विस्तार, सघन अन्तरआवद्धता र प्रविधिको प्रयोग मार्फत दिगो विकास गर्नु प्रमुख लक्ष्य हो ।

हाल यस परियोजना अन्तर्गत हालसम्म १४१ देश, ३१ विभिन्न संघ सङ्गठन समावेश भएका छन् भने दुई सयभन्दा बढी परियोजनाहरू कार्यान्वयनमा आएका छन् । एक्काइसौं शताब्दीकै ठूलो मानिएको यस परियोजनामा चीनले आफ्नो राज्य नियन्त्रित तथा विभिन्न निजीस्तरका बैंक तथा वित्तीय संघ संस्थाको पूँजी परिचालन गरी लगानीका लागि आवश्यक स्रोत जुटाउने लक्ष्य राखेका छन्।

सो कार्यका लागि चीनले भारत, रुसलगायत देशको समेत सह-लगानीमा एशियाली पूर्वाधार विकास बैँक समेत सञ्चालनमा ल्याएको छ । यस्ता संयन्त्र मार्फत चीनले ल्याटिन अमेरिकी देश र अफ्रिकन देशहरूमा आफ्नो लगानी व्यापक रुपमा गरेको छ । नेपाल समेत यस अवधारणाको संस्थापक सदस्य राष्ट्र र चीनको निकटतम छिमेकी देश भएको हैसियतले वैकल्पिक ऊर्जा, यातायात लगायतका क्षेत्रको पूर्वाधार विकासमा लगानी भित्र्याई अवसरको सही सदुपयोग गर्नुपर्दछ ।

कोभिड १९ व्यवस्थापन र खोप कूटनीति

सन् २०१९ को अन्तिमतिर चीनको वुहानमा देखिएको कोरोना संक्रमणले सन् २०२० जनवरी २२ सम्म चीनको हुवे प्रान्तमा महामारीको रुप लिइसकेको हुनाले जनवरी २३ बिहानदेखि लागू हुने गरी मानिसहरूको हिंडडुल पूरै बन्द गर्ने आदेश जारी गरियो । सो दिनसम्म सामान्य जस्तै लाग्ने बेइजिङमा जनवरी २५ को चिनियाँ कम्युनिष्ट पार्टीको आपतकालीन बैठकपछि नितान्त भिन्न भइसकेको थियो ।

सोही बमोजिम सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणलाई महत्व दिई कठोर आदेश जारी गरी सबै संयन्त्र परिचालन र सबै सामर्थ्यको प्रयोगबाट रोग नियन्त्रण गरी जनताको जीउधन जोगाउन शुरुदेखि सक्रिय थियो । लकडाउनकै बीचमा महामारी नियन्त्रण गर्न सरकारले १२ दिनभित्र एक हजार शय्याको अस्पताल निर्माण, व्यापक मात्रामा कोरोना परीक्षण गरी स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने लगायतका कामहरू गरेको थियो ।

चीनले संक्रामक रोग व्यवस्थापनसम्बन्धी कानूनको अधीनमा रही राज्य संयन्त्र र समुदायको उच्चतम परिचालन र प्रविधिको प्रयोग मार्फत तीन महीना भित्रै कोरोना महामारीलाई नियन्त्रणमा लिई अर्थतन्त्रलाई निरन्तर चलायमान बनाइरहेको छ । यसैको फलस्वरुप सन् २०२० मा विश्वको १० खर्ब अमेरिकी डलरभन्दा धेरै कुल गार्हस्थ्य उत्पादन हुने १६ मुलुकमध्ये चीनमा मात्र आर्थिक वृद्धि सकारात्मक रह्यो ।

चीनले व्यापक मात्रामा भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री निर्माण गरी विश्वभरि आपतकालीन सहयोग पठायो । हाल आफैंले अनुसन्धान गरी विकास र उत्पादन गरेको भेरोसेल र सिनोफार्म कोरोना खोपको वितरणमार्फत अन्तर्राष्ट्रिय समुदायमा आफ्नो छवि उँचो बनाउन सफल भएको छ ।

केही अपवाद

यसरी चीनको महानताको बारेमा एकोहोरो लेखिरहँदा चीनलाई पश्चिमा राष्ट्रहरूले निरन्तर आरोप लगाइरहने सन् १९८९ मा घटेको तियान्मेन घटना, अल्पसंख्यक उग्युर मुस्लिमहरूलाई चिनियाँ सरकारले गरेको व्यापक दमन तथा राज्यले आमरुपमा मानवअधिकार हनन गर्ने गरेको विषय, केही अफ्रिकी देशहरूलाई डेब्ट ट्रयापमा धकेलेको भन्ने विषय र व्यापक मात्रामा हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरणमा केही पनि प्रभावकारी कदम नचालेको भन्ने विषयहरूमा समेत लेखकले थोरबहुत जानकारी राख्दछ ।

तर पश्चिमा देशहरूले चीनमाथि जस्तोसुकै आरोप लगाइरहेतापनि चीन भने आफ्नो लक्ष्य प्राप्तिमा विचलित नभई अगाडि बढिरहेको छ।

निष्कर्ष:

करीब ७० वर्ष पहिले स्थापना भएको जनवादी गणतन्त्र चीनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा अति गरीब मुलुकको स्तरबाट तीव्र रुपमा छलाङ मार्दै उच्च आर्थिक वृद्धिसहित उच्च मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुनु अभूतपूर्व उपलब्धि हो । त्यसका लागि चीनले अपनाएको चिनियाँ मोडेलको समाजवाद र सांस्कृतिक एकतामा आधारित मार्क्सवादलाई चीनको सफलताको सैद्धान्तिक आधारका रुपमा लिन सकिन्छ ।

निःसन्देह चीनले आजको स्थान प्राप्त गर्नुको पछाडि देङ सियाओ पिङ, जियाङ जेमिन, हु जिन्ताओको योगदान र सफल नेतृत्व शैलीको हात छ । चीनको चौतर्फी आर्थिक सामाजिक विकासको प्रस्थानविन्दु सन् १९७८ मा लिइएको खुलापनको नीति भए तापनि सो नीतिलाई दिगोपन दिई २१औं शताब्दीको आधुनिक महान् चीन स्थापनाका लागि बलियो आधारशिला निर्माण हुनुमा वर्तमान राष्ट्रपति सी जिनपिङको भिजन र नेतृत्व समेत अहम् रहेको छ ।

सोही बमोजिम चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं राष्ट्रियसभाले जनवादी गणतन्त्र चीन स्थापना भएको शतवार्षिकीको अवसरमा अथवा सन् २०४९ मा चीनलाई पूर्णतः विकसित र आधुनिक राष्ट्र बनाउने भनी तय गरे बमोजिमको लक्ष्य प्राप्त गर्नु नै आजको दिनमा चीनको एक मात्र लक्ष्य रहेको देखिन्छ ।

(चापागाई जिल्ला अदालत बागलुङमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment