Comments Add Comment

खच्चड व्यवसायीको व्यथा : हिउँदमा कामविहीन, बर्खामा भ्याइनभ्याइ

फाइल तस्वीर

४ साउन, म्याग्दी । ग्रामीण क्षेत्रसम्म सडक पुगेपछि कामविहीन बनेका खच्चड बर्खायाममा भने मालसामान ढुवानीको भरपर्दो साधन बन्ने गरेको छ ।

वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिराले यातायातका साधन सञ्चालन हुन नसकेपछि अहिले खाद्यान्नलगायतका मालसामान ढुवानीका लागि खच्चड व्यस्त बनेका छन् भने खच्चड व्यवसायीलाई भ्याइनभ्याइ छ ।

ग्रामीण क्षेत्रमा मोटरबाटाले नजोडिँदा खच्चडमार्फत आयआर्जन गर्ने व्यवसायी हिउँदमा कामविहीन बन्छन् भने बर्खामा भ्याइनभ्याइ हुने गरेको बताउँछन् । जिल्लाका सबै गाउँ सडक सञ्जालले जोडिएपछि विगत छ वर्षयता घोडा तथा खच्चडको प्रयोगमा कमी हुँदै आएको मल्काबाङका खच्चड व्यवसायी टेकबहादुर विक बताउँछन् ।

‘वर्खामा भ्याइनभ्याइ भएर के गर्नु, हिउँदका दिन काम कहाँ पाइ हुन्छ’, मालिका गाउँपालिका– ५ देवीस्थानका खच्चड व्यवसायी तिलक फगामी भन्छन्, ‘बर्खाका तीन महिना हो काम पाइने, हिउँद लागेपछि त सुख्खा हो ।’ सडक सञ्जालसँग ग्रामीण क्षेत्र नजोडिएको समयमा गुर्जा, मुदी, मुना, लुलाङ, ताकम, देविस्थान, मल्काबाङ, तिमखोला, पाखापानी, ठाडाखानीलगायतका विकट गाउँमा देखिने खच्चड अहिले कम हुँदै गएका छन् ।

ग्रामीण क्षेत्रमा सडकको पहुँच नपुगुञ्जेलसम्म खच्चडबाहेक अरुमा सामान ढुवानी गर्ने विकल्प थिएन । जिल्लाका विभिन्न बजारमा पनि खच्चडले नै सामान ढुवानी गर्ने गर्थे । जब सडकले बजार र गाउँ जोडिए, त्यसपछि घोडा खच्चडको प्रयोग कम हुँदै गएको ठाडाखानीका खच्चड व्यवसायी छकबहादुर छन्त्यालले बताए

खच्चड व्यवसायीले हिउँदको समयमा काम नपाए पनि वर्षाको समयमा भने काम पाउँछन् । वर्षात्को समयमा बाढी, पहिराका कारण सडक अवरुद्ध हुने हुँदा सामान ढुवानीका लागि भ्याइनभ्याइ हुने गरेको व्यवसायी बताउँछन् । गाडीको पहुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा तथा खच्चडको प्रयोग गर्ने गरेको मालिका गाउँपालिका– ३ रुमका एकवीर घर्तीले बताए ।

उनले खच्चडको काम नहुँदा पाल्नसमेत गाह्रो हुन थालेको गुनासो गरे । ‘पहिले त घोडा खच्चड हुने मान्छे निकै धनी मानिन्थे, अहिले तीभन्दा गरीब अरु छैनन् होला, घोडा खच्चडको कामै छैन अहिले, काम नभएपछि पाल्न पनि गाह्रो भएको छ’, उनले भने । सात वर्षअघिसम्म १८ खच्चड पालेर ढुवानीको काम गर्ने गरेका घर्तीले अहिले पाँच मात्र खच्चड पालेका छन् । उनले सडकले धेरै सजिलो भए पनि आफूहरुको गरी खाने माध्यम बन्द हुने अवस्थामा आएको दुखेसो गरे ।

‘गाउँगाउँमा मोटरबाटो आयो, धेरै सुविधा पनि भएको छ, दुःख बिमारी हुँदा सजिलै अस्पताल पुगिन्छ, तर हामी जस्ता खच्चड व्यवसायी त निकै ठूलो मारमा पर्‍यौं’, घर्तीले भने, ‘बाटो आए पनि दुई/तीन वर्ष अगाडिसम्म त अलिअलि काम त हुन्थ्यो, अहिले त काम पाउनै गाह्रो छ, कहिलेकाहीँ पायो भने पनि पहिलाको जस्तो पैसा दिँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment