Comments Add Comment

राष्ट्रपति र विपक्षी नेताबीच भेटघाट : के थियो एजेण्डा ?

फाइल तस्वीर

८ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बाहेक थप जानकारी दिइएको छैन ।

राष्ट्रपतिका सञ्चारविज्ञ टिका ढकालले राष्ट्रपति र प्रमुख प्रतिपक्षी दलका नेताबीचको भेटबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । ‘त्यो विषयमा त मलाई जानकारी नै भएन है,’ ढकालले भने, ‘थाहै नभएको विषयमा त के प्रतिक्रिया दिनु ?’

राष्ट्रपति भण्डारीले यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई यसरी भेटेकी थिइनन् । राष्ट्रपतिले राज्यको कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्रीबाट नै मुलुकको नियमित कामकारवाहीका सबै सूचना र जानकारी लिने संवैधानिक व्यवस्था छ । त्यसैले राष्ट्रपति–प्रधानमन्त्री भेट सामान्य र स्वभाविक मानिन्छ ।

संविधानको धारा ८१ मा प्रधानमन्त्रीले राष्ट्रपतिलाई नियमित अद्यावधिक गराउनुपर्ने विषयको सूची नै राखिएको छ । मन्त्रिपरिषदका निर्णय, संघीय संसदमा पेश गरिने विधेयक, यी विषयमा राष्ट्रपतिले जानकारी मागेको अन्य आवश्यक विवरण अनि नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीबाट जानकारी लिनुपर्छ ।

त्यसैले राज्यको प्रमुख व्यक्ति राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री बीचको भेटघाटलाई नियमित र स्वभाविक मानिन्छ ।

तर, यहाँ राष्ट्रपति र प्रमुख विपक्षी दलको नेता बीचको भेटघाटका सम्बन्धमा अहिलेसम्म राष्ट्रपति कार्यालय र विपक्षी दलको नेताको सचिवालय कसैले पनि औपचारिक रुपमा केही बताएका छैनन् । राष्ट्रपतिलाई भेट्नुपर्ने परिभाषित जिम्मेवारीमा नरहेका विपक्षी नेतासँग राष्ट्रपतिको के कुरा भएको हुनसक्छ ? यो आम चासोलाई शीतलनिवास र विपक्षी दलका नेताको सचिवालयले केही उल्लेख गरेका छैनन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ राष्ट्रपति र विपक्षी नेता ओली बीचको भेटघाटको एजेण्डा ‘सार्वजनिक हुनुपर्ने’ बताउँछन् ।

‘प्रमुख प्रतिपक्षी दलको नेतालाई राष्ट्रपतिले भेट्नु स्वभाविक हो । विषयवस्तुमा आधारित भेटघाटलाई अन्यथा लिनु हुँदैन,’ उनले भने, ‘यसअघि राष्ट्रपति र पूर्वप्रधानमन्त्री ओलीले गरेका थुप्रै काममा अदालतले समेत तीखो आलोचना गरेको छ । यस्तो अवस्थामा उहाँहरुबीच भेटघाट हुने तर एजेण्डा सार्वजनिक नहुने यो चाहिं राम्रो भएन ।’

अहिलेको अवस्थामा दलहरुबीच विश्वासको आवश्यकता रहेको भन्दै उनले पारदर्शिता भएमा विश्वास झन् बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment