Comments Add Comment

विद्यालय खोल्ने विषयमा सीसीएमसीमा छलफल

प्रतीकात्मक तस्वीर

१४ साउन, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालय तथा विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालाको धारणा बुझेको छ ।

बिहीबार सीसीएमसी र सरोकारवालाहरुबीच शैक्षिक संस्था सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो । छलफलमा सरोकारवालाहरुले केन्द्रीकृत निर्णय गर्न नहुने, जोखिम कम भएका र विद्यार्थीको संख्या कम भएको स्थानीय तहका विद्यालयहरु खोल्न अनुमति दिनुपर्ने बताएको सीसीएमसीका प्रवक्ता नुरप्रसाद खतिवडाले जानकारी दिए ।

सहभागीमध्ये अधिकांशले लामो समयसम्म विद्यालय, विश्वविद्यालय बन्द गरिरहन विद्यार्थी र राज्यका लागि नै घाटा भएकाले विकेन्द्रीकृत निर्णय गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

शिक्षासँग सम्बन्धित व्यक्तिहरुसँगको छलफलले शैक्षिक संस्था सुचारु गर्नका लागि स्थानीय तहले निर्णय गर्न सक्ने परिस्थिति बनाउन सहज हुने खतिवडाले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कम विद्यार्थी भएका विद्यालयका विषयमा सोच्न सकिने भए पनि बढी विद्यार्थी भएका विद्यालयलाई तत्काल खुलाउन अनुमति दिन नसकिने बताए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई खोप दिएर मात्र परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने धारणा राखे ।

छलफलमा सहभागीहरुले सय जनाभन्दा कम विद्यार्थी भएको, जोखिम क्षेत्र कम भएको स्थानमा विद्यालय खोल्न अनुमति दिनुपर्ने, उमेर पुगेका विद्यार्थी एवं शिक्षकलाई खोपको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । सिकाइलाई नियमित गर्न संघीय सरकारले मापदण्ड बनाइदिनुपर्ने पनि उनीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment