
१५ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पर्याप्त नभएर अहिले धेरै मुलुकमा खोप अभियान सुस्त गतिमा चलिरहेको छ । नेपालमा अहिलेसम्म करीब पाँच प्रतिशत जनसंख्याले मात्र पूर्ण खोप पाएका छन् । तर, दक्षिण एसियाकै अर्को मुलुक भुटान भने छिट्टै नै शतप्रतिशत नागरिकलाई कोरोना खोप दिन सक्ने अवस्थामा देखिएको छ ।
गत मंगलबार भुटानको स्वास्थ्य मन्त्रालयले अबको एक साताभित्र मुलुकका ९० प्रतिशत वयस्क मानिसहरुले कोरोना खोप पाउने बताएको थियो । जसअनुसार अबको केही दिनमा नै उसको लक्ष्य पूरा हुनेछ । भुटानले खोप अभियानमा पाएको यो सफलतालाई संयुक्त राष्ट्रसंघको बालबालिका संगठन युनिसेफले ‘एक सफल कथा’ भएको बताएको छ । भुटानले पाएको सफलताले दक्षिण एसियाली मुलुकमा आशाको किरण जगाएको युनिसेफको बुझाइ छ ।
करीब सात लाख ७० हजार जनसंख्या भएको भुटानमा पाँच लाख ३० हजार मानिस कोरोना खोपको लागि योग्य छन् । यद्यपि यो मुलुकमा कोरोना खोप सञ्चालन गर्नु भने कम चुनौतीपूर्ण छैन । विकट ग्रामीण भेगहरु, ठूला–ठूला पहाडहरु र खराब मौसमको कारण मुलुकभर खोप पुर्याउनै समस्या छ । यद्यपि भुटानले खोप अभियान सञ्चालनका लागि राम्रो तयारी गरेर जुलाई २० बाट दोस्रो डोज कोरोना खोप लगाउन शुरु गरेको छ । विकट ग्रामीण क्षेत्रमा भुटान सरकारले हेलिकप्टरबाट खोप पुर्याइरहेको छ भने खोपका लागि आवश्यक पर्ने कोल्ड चेन भण्डारण केन्द्रको पनि व्यवस्था गरेको छ । साथै उसले खोप वितरणका लागि स्वयंसेवकको पनि व्यवस्था गरेको छ ।
गत मंगलबारसम्ममा भुटानमा ४ लाख ८० हजार मानिसले कोरोना खोप लगाएका छन् । युनिसेफका भुटान प्रतिनिधि विलियम पार्क भन्छन्, ‘यो महमारीको समयमा चलाइएको सबैभन्दा तीव्र गतिको खोप अभियान हो ।’
कहाँबाट पायो भुटानले कोरोना खोप ?
भुटानले सबैभन्दा पहिला गत मार्च र अप्रिलमा कोरोना खोप अभियान शुरु गर्दा भारतले उसलाई पाँच लाख डोज अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप दिएको थियो । तर, त्यसपछि भारतले कोरोना खोप निर्यातमा रोक लगायो । त्यसपछि भुटानले खोपका लागि अन्य मुलुकसँग सहयोग माग्यो ।
भुटानले सहयोगका लागि गरेको आग्रहमा धेरै मुलुकले सकारात्मक प्रतिक्रिया दिए । अमेरिकाले भुटानलाई कोभ्याक्स कार्यक्रममार्फत मोडेर्नाको पाँच लाख डोज खोप दियो । डेनमार्कले एस्ट्राजेनेकाले बनाएको कोरोना खोपको दुई लाख ५० हजार डोज खोप दियो । त्यस्तै चीनले उसलाई सिनोफर्मले बनाएको कोरोन खोपको ५० हजार डोज दिएको थियो । त्यस्तै क्रोएसिया, बुल्गेरिया र अन्य केही मुलुकले पठाएको एक लाख डोज एस्ट्राजेनेकाको खोप पनि भुटानले मंगलबारसम्ममा प्राप्त गर्नेछ ।
भुटानले अन्तर्राष्ट्रिय समुदायले दिएको अनुदानकै भरमा आफ्नो मुलुक सबै नागरिकलाई चाहिनेभन्दा धेरै खोप जम्मा पारेको छ । यसअघि भुटानले आफ्नो आग्रहलाई धेरै मुलुकले सकारात्मक रुपमा लिएको र आवश्यकताअनुसार खोप प्राप्त भइसकेकाले धेरै मुलुकले दिन लागेको खोप सहयोग अस्वीकार गरेको बताएको थियो ।
युनिसेफका भुटान प्रतिनिधि पार्क कोरोना खोप आवश्यक परेका मुलुकलाई अन्य मुलुकले दिल खोलेर सहयोग गर्नुलाई राम्रो पक्ष रहेको बताउँछन् ।
प्रभावकारी योजना
खोप पर्याप्त भएर मात्रै पनि कोरोना खोप अभियान सफलतापूर्वक सञ्चालन गर्नु उत्तिकै चुनौतीपूर्ण छ । अहिले धेरै पश्चिमा मुलुक पर्र्याप्त स्रोत सम्पन्न हुँदा पनि भुटानले जस्तो उच्चदरमा खोप लगाउन सफल देखिएका छैनन् । स्वास्थ्य विशेषज्ञहरु भुटानको सानो आकारको जनसंख्याको कारण पनि उसलाई सहज भएको बताउँछन् । साथै उसले वरिष्ठ अधिकारीबाट मानिसहरुमा खोपबारे स्पष्ट सन्देश पुर्याउन सक्यो र कोल्ड चेन स्टोरेज पनि स्थापना गर्यो । यसबाट उसलाई खोप अभियानमा सहयोग पुग्यो ।
भुटानले मानिसहरुलाई खोप लगाउनका लागि तीन हजार स्वास्थ्यकर्मी खटाएको थियो भने १२ सय खोप केन्द्रहरु तोकेको थियो । यसबाट सबै वयस्क नागरिकहरुलाई खोप केन्द्रसम्म तान्न भुटान सफल भयो ।
भुटानको सरकारमा चिकित्सा क्षेत्रलाई राम्रोसँग बुझेका मानिसहरु छन् । प्रधानमन्त्री, विदेशमन्त्री र स्वास्थ्यमन्त्री सबै मेडिकल पेशाबाट आएका हुन् । जसका कारण सरकारले कोरोना र खोपबारे प्रत्यक्ष रुपमा नागरिकहरुमा सन्देश पुर्याउँथ्यो । सामाजिक सञ्जाल फेसबुकमा मानिसहरुले गरेको प्रश्नको उत्तर सरकारको तर्फबाट आउँथ्यो । यसले पनि मानिसहरुमा खोपप्रतिको विश्वास बढाउन सहयोग पुग्यो ।
भुटानका राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुक र प्रधानमन्त्री लोटे त्सेरिङले सबैभन्दा पहिला विश्वभर कोरोना खोपबारे आशंका जारी रहेको बेला पनि खोपको पक्षमा वकालत गरेका थिए । राजाले मानिसहरुमा खोप अभियानबारे सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै आएका थिए ।
भुटानलाई कोरोना खोप अभियानमा सफल बनाउने अर्को कारण मुलुकका स्वयंसेवक पनि हुन् । भुटानमा गत वर्र्षदेखि सचेतना बढाउने, मिथ्या समाचारको खण्डन गर्ने, मानिसहरुलाई परीक्षणको लागि सघाउनेजस्ता काममा २२ हजारभन्दा धेरै स्वयंसेवकहरु लागिपरेका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4