+
+

कार्यदलले दोषी ठहराएका बीपी प्रतिष्ठानका पदाधिकारीलाई संरक्षण हुँदैन : स्वास्थ्य मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १८:२२

२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न गतिरोध सम्बन्धी समस्या पहिचान र छानबिन कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण नगर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समितिले पेश गरेको प्रतिवेदन अनुसार दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण गर्ने नीति नरहेको स्पष्ट पारेका हुन् ।

कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्दा २०७३ सालमा तयार भएको मापदण्ड समय सापेक्ष परिमार्जन गर्नका लागि हाल छलफलको क्रममा रहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ । छलफलबाट हुने परिमार्जित मापदण्ड अनुसार पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति

चिकित्सा शिक्षा ऐन २०७५ को प्रावधान अनुसार २०८५ देखि नेपालको मेडिकल शिक्षा गैरनाफामूलक हुने भएकोले त्यो नीति कार्यान्वयनका लागि मन्त्रालय प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना प्रक्रिया शुरु भइसकेको भन्दै मन्त्रालयले गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि पूर्वाधारको तयारी अन्तिम चरणमा पुगिसकेको पनि जानकारी दिएको छ ।

२०८० सालसम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना गर्ने उद्देश्य पूरा गर्न सरकार लागि परेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार प्रदेश २ मा स्थापना हुने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार तयारीको काम सुचारु भएको छ ।

नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय मेडिकल स्कुललाई सार्वजनिक मेडिकल कलेजको रुपमा तोकी चिकित्सा शिक्षा ऐन–२०७५ को प्रावधान अनुसार छात्रावृत्ति कायम गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् मन्त्रालयले सच्याएको विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?