Comments Add Comment
रिपोर्ट चित्रकला :

कोरोनाले चित्रकलाको कथ्य फेरिँदै

२१ भदौ, काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अहिले ‘हिमालयन आर्ट फेस्टिभल’ चलिरहेको छ । वैशाखयता बन्द रहेको आर्ट काउन्सिल कलापारखीहरूको चहलपहलले गुलजार बनेको छ । अघिल्लो वर्ष कोरोना महामारीकै कारण छ महिनासम्म प्रदशर्नी एवं सभाहरू ठप्प थिए ।

त्यही समयमा ६५ जना कलाकाररूले बनाएका दुई सय बढी चित्र, मूर्ति एवं इन्स्टलेसन आर्ट अहिले प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीका अधिकांश चित्रले कोरानाकालीन समयको प्रतिबिम्ब देखाएको बताउँछिन् कलाकार रागिनी उपाध्याय । ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वकुलपतिसमेत रहेकी उनी केही दिनअघि प्रदशर्नी हेर्न बबरमहल पुगेकी थिइन् ।

उनका अनुसार कोरोनाकालमा सिर्जना गरिएका अधिकांश चित्रमा महामारीले मानव जीवनमा पारेको प्रभावलाई नै मुख्य विषय बनाइएको छ । ‘कलाकारहरू यही समाजको उत्पादन भएकाले उनीहरूले सिर्जना गर्ने विषय वरिपरिकै वातावरणबाट लिन्छन्’ रागिनी भन्छिन्, ‘कोरानाकालमा बनाइएका चित्रले सयौं वर्षपछाडि पनि मानव जातिलाई परेको शंकटबारे जानकारी दिने भएकाले यो समयलाई कलामा समावेश गर्नु सान्दर्भीक छ ।’

कला समीक्षक लय मैनाली पनि सिर्जनामा तत्कालीन परिवेश र समाजको चित्रण हाबी हुने बताउँछन् । मैनालीका अनुसार भूकम्प आउँदा त्यही भावका कला, युद्धको बेला युद्धलाई आधार बनाइएका कला सिर्जना हुने गरेको इतिहास छ ।

उनी भन्छन्, ‘विश्व ललितकलाको इतिहास हेर्दा चित्रकलामा तत्कालीन समयको प्रभाव ज्यादा पाइन्छ । अहिले नेपाली कलाकारहरूले पनि आफ्नो कथ्यमा कोरोना-कहरलाई नै मुख्य विषय बनाएका छन् ।’

मैनालीले कोरोना महामारीकै समयमा सिर्जना गरेका चार थान कला यो फेस्टिभलमा राखेका छन् ।

कलाकार एरिना ताम्राकारले कोरानाकालमा आफ्नो चित्रको शैलीमा नै केही परिवर्तन गरेकी छिन् । प्रायः महिला आकृतिभित्र तेस्रो नेत्र बनाउने उनले तेस्रो नेत्रको सट्टा चन्द्रमा समावेश गरेकी छिन् । कोरोना प्रभावले गर्दा चित्रको शैलीमा नयाँपन दिन खोजेको उनी बताउँछिन् ।

‘आफ्नो दुःख, अरूको दुःख हेर्दाहेर्दै त्यो कुराले हामीलाई प्रभावित बनाएको हुन्छ’ एरिना भन्छिन्, ‘मेरोमात्र होइन अन्य कलाकारको चित्र बनाउने शैलीमा पनि परिवर्तन देखिन्छ । जसको कारण कोरोना सन्त्रास नै हो ।’

हिमालयन आर्ट फेस्टभलमा राखिएको आफ्ना चित्रहरूको साथमा कलाकार एरिना ताम्राकार ।

कलाकार विनोद प्रधानले भने लकडाउनको समयमा बनाएका चित्रमा ईश्वरीय शक्तिको बिम्ब देखाउन खोजेका छन् । प्रायः ल्यान्डस्केप फ्रेममा चित्र बनाउने उनले महामारीमा सिर्जना गरेको चित्रको कथ्य फेरिएको छ ।

प्रधान भन्छन्, ‘महामारीमा राज्यले जनताको स्वास्थ्यमाथि चरम लापर्बाही गर्‍यो । यसलै जनता भगवान्को भरोसाको अवस्था बाँच्न बाध्य भए । यही कुरालाई ईश्वरीय बिम्ब वा शक्तिको रूपमा क्यानभासमा समावेश गरेको छु ।’

यता कलाकारहरूले सामाजिक सञ्जालमा राख्ने गरेका चित्रहरूमा पनि मास्क तथा कारोना भाइरसको प्रतीक मानिने काँडेदार गोला आकृति समावेश गरेका छन् । कतिपय चित्रमा मानिसमा व्याप्त डर देखाइएको छ भने कतिमा प्रकृति संरक्षणलाई बिम्ब बनाइएको छ ।

सहज सिर्जना, ठप्प बजार

कोरोनाका कारण जारी गरिएको लकडाउनका बेला (निषेधाज्ञा) कलाकारहरूले सिर्जना गर्न प्रश्स्त समय पाएका छन् । उनीहरू घरभित्रै बस्नुपरे पनि सिर्जना गर्न समय दिन सजिलो भएको बताउँछन् ।

दोस्रो भेरियन्टपछिको लकडाउनको समय सिर्जनामा नै बिताएको बताउँछन् कलाकार एनबी गुरूङ । जलरंग -वाटरकलर) विधामा कुची चलाउने उनी अन्तराष्ट्रिय जलरंग समाज नेपालका अध्यक्षसमेत हुन् ।

लकडाउनमा नयाँ र पृथक खालका चित्र बनाउन व्यस्त रहेको बताउँदै गुरूङले भने, ‘पहिला नै लकडाउनको अनुभव भइसकेकाले यो पटक सम्पूर्ण समय सिर्जनामा नै लगाएँ । अन्य कामा हात खाली हुँदा सिर्जनालाई धेरै समय दिन पाइनेरहेछ ।’

बाहृय व्यस्तता नहुँदा कलाकारहरूलाई सिर्जनामा एकाग्र हुने विशेष समय मिलेको अनुभव सुनाउँछिन् रागिनी उपाध्याय । देश-विदेशको सेमिनार, कार्यशाला, प्रशिक्षण आदिमा व्यस्त रहने उनी पछिल्ला दुई वर्ष सिर्जनामा केन्द्रीत भइन् ।

‘लकडाउनले घरभित्रै बस्नुपर्दा सिर्जनालाई नै समय दिन पाएँ । तर प्रदर्शनी एवं कार्यक्रमहरू नहुँदा धेरै गाह्रो परेको छ’, उनले भनिन् ।

कलाकार रविन्द्र श्रेष्ठ लकडाउनको समयमा नै बढी सक्रिय भए । म्यानमारमा भएको सैन्य ‘कू’देखि कोरोना सन्त्राससम्मलाई उनले कलामा प्रस्तुत गरे । श्रेष्ठ भन्छन्, ‘घरमै बस्नुपरे पनि सिर्जनामा मग्न हुने बानी बसिसक्यो । यसैले कोरोना छ भन्दैमा सिर्जनामा असर परेको छैन ।’

यता कलाकार विनोद प्रधानले दोस्रो भेरियन्टपछि गरिएको लकडाउनमा सिर्जना गरिएको चित्रहरू हिमालयन आर्ट फेस्टिभलमा राखेका छन् । उनीलकडाउनले एक्लै बसेर सिर्जना गर्ने अवसर जुराएको बताउँछन् ।

‘पहिलो भेरियन्ट आउँदा हामी सबैलाई निकै डर थियो’ प्रधान भन्छन्, ‘डरकै कारण पहिलो लकडाउनमा नयाँ सिर्जना गर्न सकिनँ । तर यसपछि लकडाउन हुनासाथ नयाँ सिर्जनामै समय दिने गरेको छु ।’

कलाकार एरिना ताम्राकार र आशा डंगोलले २०७६ चैतमा पहिलो लकडाउनपछि प्रत्येक दिन नयाँ चित्र बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरे । त्यतिबेला लगातार ८० दिन नयाँ चित्र बनाएका उनीहरूले २०७८ वैशाखपछिको लकडाउन पनि सिर्जनामा उपयोग गरे ।

यद्यपि कोरोनाकालमा सिर्जना बढेको देखिएपनि कलाकारले सिर्जना गरेका चित्रको बिक्री-वितरण ठप्प बनेको छ । विदेशबाट आउने अर्डरसमेत बन्द भएकाले आर्थिक अभाव सुरु भएको कलाकारहरूले बताउन थालेका छन् । जन्मदिन एवं विशेष उपलक्ष्यमा उपहार दिन चित्र खरिद गर्ने परम्परा पनि लकडाउनकै कारण बन्द भएको छ ।

यता काठमाडौंका अधिकांश आर्ट ग्यालरीहरू बन्द छन् । सरकारले गत वैशाख १६ पछि सम्पूर्ण प्रकारका सार्वजनिक गतिविधि गर्न निषेध गरेसँगै कलासम्बन्धी गतिविधिमा पनि पूर्णविराम लागेको हो ।

सिद्धार्थ आर्ट ग्यालरी, तारागाउँ म्युजियम, पार्क आर्ट ग्यालरी, क्लासिक आर्ट ग्यालरी, मिथिला येन आर्ट ग्यालरी, एम क्युब ग्यालरीमा प्रायः चित्रकला प्रदर्शनी टुट्दैनथ्यो । तर २०७७-७८ मा अधिकांश समय यी ग्यालरी बन्द भएपछि चित्रकला बिक्रीमा ह्रास आएको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

ट्रेन्डिङ

Advertisment