
२३ भदौ, काठमाडौं । काठमाडौं जिल्लामा राष्ट्रिय जनगणनाको काम ‘पेपरलेस’ हुने भएको छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार २५ कात्तिकदेखि ९ मङ्सिरसम्म मूल गणना हुने गरी तोकिएको छ ।
सोही अनुसार अन्य जिल्लामा म्यानुअल्ली रुपमै जनगणना हुने छ । काठमाडौं जिल्लामा भने ट्याबलेट प्रयोग गरिने विभागले जनाएको छ ।
भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजरहरू घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् । त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।
यसअघि विभागले असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित गरिएको थियो ।
नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन नसकेको हो ।
२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । त्यसपछि महामारीका कारण अहिले दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो ।
यद्यपि यस वर्ष भने २०७८ सालभित्रै जनगणना सकिने विभागको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4