+
+
अनुभूति :

कर्म खोज्दै धरान : पत्रकार ! यो पनि काम हो र ?

डम्बरकृष्ण श्रेष्ठ डम्बरकृष्ण श्रेष्ठ
२०७८ असोज १६ गते १९:०१

ठूलो भएपछि तँ के बन्छस् ? बाल्यकालमा सबैलाई झैं मलाई पनि यस्तो प्रश्न सोधिन्थ्यो । कहिले मलाई गाउँ-ठाउँमा फटाहा, जड्याहा सबैलाई तह लगाउने पुलिस हुन मन लाग्थ्यो । कहिले ठूला-ठूला बस-ट्रक गुडाउने चालकहरू देखेर ‘गुरुजी’ हुन मन लाग्थ्यो । आकाशमा उडेको हवाईजहाज देख्दा पाइलट, स्कूलमा शिक्षकको शान देख्दा शिक्षक । पछि फिल्म हेर्ने लत लागेपछि हिरो हुन पाए हुन्थ्यो भन्ने मनमा आउँथ्यो ।

मेरा बा (बुबा) दानबहादुर श्रेष्ठ गाविसबाट ठेक्का लिएर मोरङको डाँस खोलाको ढुङ्गा-गिटी निकासी कर उठाउने ठेकेदार थिए । उनको काम थियो, खोलामा आएका सबै ट्रकलाई पुर्जी काटेर पैसा लिने । कहिलेकाहीं खोलामा गाडी कुरेर बुबाले काटेको पुर्जी चालकलाई दिएर पैसा लिने काम मैले पनि गर्नुपथ्र्याे । ठेकेदारसँगै गाउँमा सबैले कुरा सुन्ने र स-साना झगडाको छिनोफानो पनि गरिदिने बाको शान-मान देख्दा मलाई बुबा झैं बन्न मन लाग्थ्यो । सप्तरङ्गी इन्द्रधनुषी सपना थिए, मेरा आँखामा ।

मोरङको साविकको शनिश्चरे-१ स्थित सानो गाउँ जिरीखिम्ती पूर्व-पश्चिम महेन्द्र राजमार्गसँगै जोडिए पनि यहाँ सवारी साधन भने रोकिंदैनथे । गाउँमा निम्नमाध्यमिक विद्यालय पनि थिएन । गाउँलेका लागि किनमेलको बजार र बालबालिकाका लागि पढ्न नजिकैको पथरी बजार हिंडेरै पुग्नुपथ्र्याे । पथरीको विद्यालयसम्म पुग्न करीब एक घण्टा टाढा भएकोले होला त्यहाँको प्राथमिक विद्यालय टेक्न पाइनँ । बुबाले घरैमा एक जना शिक्षक राखिदिएका थिए, जसले दुई/तीन वर्ष हाम्रै घर-आँगनमा म, मेरा दाइ-दिदी र गाउँका केही बालबालिकालाई अक्षर चिनाए । गुन्द्रीमा बसेर कालोपाटीमा लेखी कखरा पढेर हुर्केको भन्दा आज आनन्द महसूस हुन्छ ।

तीन वर्षपछि बुबाकै सक्रियतामा गाउँमै कक्षा ३ सम्म पढाइ हुने प्राथमिक विद्यालय खुल्यो । गाउँमा सबैले ‘कान्छाले सबै पुस्तक पढ्न सक्छ, पथरी स्कूलमा कक्षा ४ मा नाम लेखिदिए हुन्छ’ भनेकाले म बा, मा (आमा) को करले पथरी पनि पुगें । कक्षा ४ मा एक दिनभर सबै पिरियडमा पनि बसे । तर, टाढा हिंडेर जानुपर्ने र एकै चोटि धेरै विद्यार्थीको भीड देखेर अत्यास लाग्यो । भोलिपल्टबाट गइनँ । गाउँकै स्कूलमा कक्षा ३ मा भर्ना भएँ ।

एक वर्षपछि त पढाइका लागि पथरीको त्यही स्कूलमा कक्षा ४ मा भर्ना भएँ । यतिबेला मसँगै पढ्ने र गाउँबाट जाने साथी धेरै थिए ।

स्कूल पुग्न पथरी बजारको बाटो हुँदै जानुपथ्र्यो । जाँदा-आउँदा बजार घुम्दै, पसलहरू हेर्दै हिंड्दा एक दिन पत्रिका पसलमा मेरो आँखा पर्‍यो । पसलमा धेरै पत्र-पत्रिका थिए । तर, मेरो ध्यान बालपत्रिका ‘मुना’मा पर्‍यो । पसलेलाई सोधेको पत्रिका किन्न त पाँच रुपैयाँ लाग्ने रहेछ । स्कूल जाँदा आमा (चन्द्रमादेवी श्रेष्ठ) ले खाजा खान दिने १/२ रुपैयाँ जम्मा गरेर पहिलो पटक मुना किनेर पढ्दा अर्कै संसारमा पुगेको महसूस भयो ।

*** ***

एक दिन बाले महाभारत, रामायण, गीता लगायत धर्म-ग्रन्थका ठेली पढ्न दिए । शुरूमा त नबुझे पनि पढेर सुनाएँ । मज्जाले पढेको देखेर बा, मा दंग । यसको असर भोलिपल्टैदेखि स्कूलबाट आएर एक घण्टा महाभारत-रामायण पढ्ने र बुबा, उहाँका दौंतरीहरूलाई सुनाउने नयाँ नियम लागू भयो । घरको भुईंतलामा १० जनासम्म अटाउने बुबाको कचहरी बस्ने ठाउँ थियो । जहाँ पलेंटी कसेर फुच्चे वाचकबाट कथा सुन्न विस्तारै सबै उमेरका श्रोता भेला हुन थालेका थिए । धर्मग्रन्थका कथा, श्लोक सुनेर सबैले प्रशंसा गर्दा मेरो मन फुरुङ्ग हुन्थ्यो । यसरी सबै पुस्तक एकपटक पढिसके पनि सुनाउनुपर्ने बाध्यताले पछिपछि दोहोर्‍याइरहनुपर्ने भयो । कुनै दिन दिक्क लागेर पढ्दिनँ भन्दा बाको झापड खाने अवस्था पनि आयो ।

बाको यो नियमले ममा पढ्ने लत लाग्यो । कक्षा ४ पुग्दासम्म मैले अरूका ९/१० कक्षाका पुस्तक पढिसकेको थिएँ । ३/४ कक्षामा हुँदै पढेको ठूला कक्षाका नेपाली पुस्तकका कथाहरू दाउरे र बन्चरो, झगडाको ओखती, गोनु झा र चोर, राजकुमार दिक्पालका कथाहरूले दिमागमा अमिट छाप छाडेका थिए । राजकुमार दिक्पालको कथा पढ्दा मलाई स्फटिकको खम्बा फोडी राक्षसलाई मारेर राजकुमारीलाई बचाउने तिनै राजकुमार जस्तो पात्र बन्न पाए हुन्थ्यो भन्ने दिमागमा धेरै पछिसम्म आइरहन्थ्यो ।

पढ्ने बानी यसरी बढ्यो कि बाटो, पसलमा जे कागज भेटे पनि पढ्ने । पसलमा दाल-चिनी लगायतका सामान पोका पारेर दिने नेपाली-हिन्दी पत्रिकाका पानाहरू पनि पढ्ने । मुनाबाट शुरू भएको पढ्ने प्रक्रिया अब युवामञ्च, गोरखापत्रको शनिवासरीय परिशिष्टांक लगायत जे भटियो त्यही पढ्ने बानी भयो । नेपाली-हिन्दी फिल्म हेर्ने बानी भएपछि कामना, मनोकामना, रोशनीदेखि मायापुरी, फिल्मफेयर लगायत कार्टुनका अनेकौ हिन्दी कमिक्सहरूले घरका कोठा भरिन थाले ।

यो समय म धेरै रेडियो पनि सुन्न थालिसकेको थिएँ । रेडियो नेपालमा गीतहरू फर्माइस गरेर आफ्नो नाम सुन्न पाउँदा मक्ख पर्ने भइसकेको थिएँ ।

कक्षा ८ मा पढ्दा साथीहरु किरण, गोपालसँग पथरी मोरङमा (२०४८ साल)

बाको कचहरीमा भेला भएका बुढा-पाकालाई नियमित पौराणिक कथा पढेर सुनाउने काम जारी नै थियो । फुर्सद निकालेर गाउँघरका साथीभाई, बाल बालिका भेला गरेर पढेका पुस्तक र पत्रिकाका रोचक जानकारी, कथा र घटनासँगै हेरेका नयाँ फिल्महरुको कहानी सुनाउँने क्रम थपिएको थियो । हरेक दिन जसो ‘भाई, आज के पढिस् ? कुन फिल्म हेरिस्’ भन्दै सबै उमेरका सोध्न आइपुग्थे ।

*** ***

सधैं पत्र-पत्रिका किनेर पढ्न र हलमा फिल्म हेर्न मसँग पैसा हुन्थेन । बा कुनै बेलाका भोजपुरको दावा-दिंगलाका नामी व्यापारी र मधेशको जमीनदार भए पनि मैले थाहा पाउँदासम्म परिवारको आर्थिक अवस्था सामान्य थियो ।

डाँसखोलामा आएको बाढीले खान पुग्ने खेती बगर भएपछि हाम्रो परिवारको आर्थिक स्रोत बुबाको ठेक्का र आमाको सानो-तिनो खुद्रे व्यापार मात्र थियो । जसले हात-मुख जोर्नै मात्र ठिक्क हुन्थ्यो । बा गाउँमा बस स्टप राख्ने, स्कूल, मन्दिर बनाउने जस्ता काम्का लागि माथिल्लो निकायहरुमा ताकेता गर्न जाने र अरूलाई परेको समस्याको छिनोफानोतिरै व्यस्त हुन्थे । खोलाको कमाइको ठूलो हिस्सा गाविसलाई नै टेण्डर पार्दा बुझाउनुपर्ने भएकोले आम्दानी धेरै हुन्नथ्यो । त्यसमाथि वर्षायाममा खोलामा भेल आएर बाको ठेकेदारीको आय शून्य हुँदा मालाई घरको गर्जो टार्न हम्मे पर्थ्यो ।

कक्षा ८ मा पुग्दासम्म आमाबाट खाजा खान हरेक दिन रु.५ पाउन थालिसकेको थिएँ । त्यही पैसा नै हुन्थ्यो, मन परेको फिल्म हेर्ने र पत्रिका किन्ने स्रोत । तर, त्यतिले कहाँ पुग्नु ! यस्तो बेला पैसा जुटाउन कहिले लंगुरबुर्जा खेलाउने, कहिले छुट्टीमा साथीहरूसँग मिलेर डाँसखोलामा ढुङ्गा गिटी जम्मा गरेर ट्रकलाई बेचेर हामी साथीहरू पैसा बाँड्थ्यौं । अलिपछि आमाले दिएको र यसरी जम्मा गरेको पैसाले एउटा ३६ वटा तस्वीर खिच्ने फ्याट फ्याटे रिलवाला क्यामरा किनेपछि अरुको फोटो खिचेर पनि खर्च जुटाउन थालियो ।

पथरी, उर्लाबारी, दमकसम्मका हलहरूमा चलेका प्रायः सबै फिल्म हेर्ने चाहनाका कारण त्यो बेला मैले अर्को काम पनि गरें । त्यो थियो, फिल्म हलका प्रचार सामग्री, पोस्टर गाउँमा फिल्म चलुञ्जेलसम्मका लागि सुरक्षित राखिदिने अनि त्यसवापत सित्तैंमा फिल्म हेर्न पाइने कुपन पाउने । यसबाट पनि धेरै फिल्म हेरियो । हलमा फिल्म परिवर्तन भएपछि घाम-पानीबाट जोगाएर राखेको त्यही पोष्टर बेचेको पैसाले अर्को ठाउँको फिल्म हेर्न पनि भ्याइयो ।

धरानमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र गायक राम श्रेष्ठसँग (२०५४ सालमा)

*** ***

‘पत्रकार ? ! यो पनि काम हो र ? कति कमाइ हुन्छ ? लेखेर पैसा पाइन्छ ? खान पुग्छ र ?’ सबै यस्तै प्रश्न गर्थे । तर, मसँग यसको कुनै जवाफ थिएन

त्यहीबेला कामना प्रकाशन समूहबाट साधना मासिक पत्रिका निस्कियो । जसले शुरुआतबाटै मेरो ध्यान खिच्यो । लामा-लामा खोज रिपोर्टिङ, देश-विदेशका अद्भुत कथा पढ्दा लाग्थ्यो, यस्तो कसरी लेख्न सकेका होलान् ? कसरी खोजेका होलान् ? के म पनि यस्तो लेख्न सकुँला ?

२०४९ सालतिरको कुरा हो, त्यो बेला म कक्षा ९ मा पढ्थें । एकदिन पसलबाट सामान पोका पारेर आएको रद्दी कागजमा आँखा पर्‍यो । पंजाब केसरी नामक हिन्दी पत्रिका थियो, त्यो । त्यसमा विश्व प्रसिद्ध फूटबल खेलाडी पेलेको जीवनी छापिएको थियो । पत्र-पत्रिकामा हिन्दी-अंग्रेजीबाट अनुवाद गरेर नेपालीमा छापिएका लेखहरू पढिरहेकोले मलाई पनि पेलेको जीवनी हिन्दीबाट नेपालीमा अनुवाद गर्ने सोच आयो । हिन्दी फिल्म हेरेको र पत्रिका पढेको भरमा पेलेको कथा नेपालीमा लेखेर तस्वीरहरू पंजाब केसरीकै काटें । र पुछारमा आफ्नो नाम र स्रोत साभार उल्लेख गरेर माधुरी नामक नयाँ फिल्मी पत्रिकामा पठाएँ । त्यो लगत्तै ‘फूटबलका जादूगर पेले’ शीर्षकमा नाम सहित छापिएर आयो । पहिलो पटक पत्रिकामा आफूले लेखेको सामग्री प्रकाशित भएको त्यो पत्रिकामा छापिएको आफ्नो नाम मैले कैयौं पटक पढें । जीवनकै पहिलो अनौठो खुशीसँग साक्षात्कार भइयो ।

धरानसँगको साइनो

५ भदौ २०४५, बिहान झिसमिसेमै पूरै घर पीङ जस्तै मच्चियो । निद्रामै खाटबाट हुत्तिएर भित्तामा पुगियो । के भएको हो पत्तो थिएन । एक्कासी गाउँभर हल्ली-खल्ली भयो ‘भुइँचालो, आयो-भुइँचालो आयो…’ भन्दै गाउँले आँगनतिर निस्किए । बा, आमासँगै हामी भुरा-भुरी पनि बाहिर पुगिसकेका थियौं । सधैं पूजा-पाठ, भजन-कीर्तन गर्ने मेरा बा ‘हरे राम, हरे कृष्ण’ भन्दै सबैलाई रामनाम जप्न लगाइरहेका थिए । आँगनबाट हेर्दा गाउँभरिको हाम्रो अग्लो काठेघर बाङ्गो देखिएको थियो । केहीबेरपछि बिहानीपख रेडियो नेपालले फुक्यो ‘उदयपुर केन्द्रबिन्दु भएर आएको भूकम्पले भक्तपुर अनि पूर्वी नेपाल र त्यसमा पनि धरान नगरमा ठूलो जनधनको क्षति गरेको छ ।’ रेडियोले धरानको नाम फुक्नासाथ बाका कान ठाडा भए । ‘लौ बर्वाद भयो धरान त ध्वस्तै भयो भन्छ त ।’ गाउँमा टेलिफोनको सुविधा थिएन । केहीछिन पछि नै आमालाई ‘लौ बूढी म धरानतिर हिंडे’ भन्दै बा घरबाट निस्किए ।

भूकम्पले धरान तहसनहस बनाएको खबरले बा यसरी अत्तालिनुको कारण थियो । हाम्रो परिवारका धेरै सदस्य धरानमै बसोवास गर्थे । बाका अरू छोरा-छोरी, भाइ र आफन्तहरूको ठूलो परिवार धरानमा थियो । बा नफर्किन्जेलसम्म आमा पनि चिन्तित । साँझतिर बा फर्किएर भने, ‘भगवानको कृपाले हाम्रो सन्तानका कसैलाई पनि केही भएन । धरान बजार त भूकम्पले भताभुङ्ग पारेछ । मान्छे पनि धेरै मरिरहेको देखेर आएँ ।’ १९९० सालको भूकम्प देखे-भोगेका बा सधैं हामीलाई भूकम्पको अनुभव सुनाइ रहन्थे । आज हामी आफैंले भोगिरहेका थियौं ।

*** ***

२०५१ सालको अन्तिमतिर, बल्लतल्ल एसएलसी परीक्षा सकियो । कहिले परीक्षा सकिन्छ र धरान पुगौं भइरहेको ज्यान धेरै दिन गाउँमा टिकेन । अरू बेला पनि लामो छुट्टी र चाडबाड आउनासाथ धरान पुग्ने मेरा लागि एसएलसी परीक्षा सकिनु ‘फलामे पर्खाल’ तोडेर फुक्काफाल भए सरह थियो ।

२०१९ सालतिर भोजपुरबाट झरेका बुबाले शुरुआतको कर्म थलो बनाएका थिए, धरानलाई । त्यसबेला हालको भानुचोकमा किरानापसल र अलि तलको बाघमहल पछाडिको ठूलो खाली चौर नै किनेर सम्पत्ति जोडे पनि बुबालाई धरानले आकर्षण गर्न सकेन । केही वर्ष धरान बसेर कौडीको दाममा जग्गा बेचेर चारकोसे झाडी छिचोलेर मधेश झरेको कथा उहाँ सुनाइरहनुहुन्थ्यो । मोरङको बोराबाँधमा जंगल फडानी गरेर बस्ती बसाउँदै, जग्गा बाँड्दै एक ठाउँबाट अर्को ठाउँ चहार्दै बेलबारी, कानेपोखरी, बयरबन हँुदै बुबा मोरङकै हालको पथरी-शनिश्चरे पुगेका थिए । तर विस्तारै उनका सन्तानहरू भने एकपछि अर्को गर्दै मधेश छाडेर त्यही बुबाले छाडेको धरानतिर बसाइँ सर्दै गए । जहाँ एसएलसीपछि बुबा-आमालाई गाउँमै छाडेर पखेटा पलाएको चरा जस्तै म पनि त्यही धरान पुगिरहेको थिएँ ।

*** ***

२०५२ सालको शुरुआततिर धरान-९, पुतलीलाइनको एक कम्प्युटर प्रशिक्षण केन्द्रमा साँझपख म कम्प्युटर सिक्न जान्थें । कम्प्युटर सेन्टर मेरा भान्जा उमेशले साथी जीवन भट्टराईसँग मिलेर सञ्चालन गरेका थिए । एक दिन साँझपख एक जना राई-लिम्बू जस्तो देखिने गोरो, दुब्लो युवक त्यही कम्प्युटर सेन्टरको सोफामा बसेर सादा कागजमा केही लेखिरहेको देखें । उनले करीब दुई घण्टासम्म डायरी पल्टाउँदै हेर्दै लेखिरहे । के लेखेका होलान् ? ममा कौतूहल बढिरहेको थियो । म घरी-घरी उनले लेखेको चियाउँथें । उनी केही असजिलो मानेर मलाई हेर्थे र फेरि लेख्न थाल्थे । पूरै लेखिसकेपछि उनले पहिलो पेजको सबै भन्दामाथि लेखको शीर्षक लेखे, अनि त्यसपछि आफ्नो नाम । त्यो नाम थियो- राजकुमार दिक्पाल ।

अरे, तपाईं धनकुटा ४, देब्रेबासको राजकुमार दिक्पाल हो ?

जनमञ्च लगायत विभिन्न पत्रिकामा लेख्ने राजकुमार दिक्पाल तपाईं नै हो ?

मेरो एकपछि अर्को प्रश्नले उनी अक्क न बक्क परे । भने ‘हो म त्यही राजकुमार दिक्पाल हो ।’

त्यो दिन मलाई सानोमा कथामा पढेको राजकुमार दिक्पाललाई नै भेटे जस्तो खुशी लागिरहेको थियो । भोलिपल्टदेखि त्यो कम्प्युटर सेन्टरमा मैले उनै ‘दिक्पाल दाइ’लाई र दाइले मलाई खोज्ने, पर्खने, भेट्ने क्रम बढ्यो । कम्प्युटरसँगै लेखन, साहित्य, पत्रकारिताको गफगाफ र सिक्ने थलो बन्यो । धरान झरेर पत्रकारिता गरिरहेका राजकुमार दिक्पाल र पथरी-शनिश्चरेबाट धरान पुगेर आफन्तकोमा बसेर एसएलसीपछि के गर्ने भन्नेमै अन्योलमा रहेको मेरो भेट त्यसैत्यसै बाक्लिन थाल्यो ।

‘तिमीले अहिले केही लेखिरहेका छौ ? कुनै विषय छ लेख्ने ? लेख्नु यहाँको स्थानीय पत्रिकामा छापौंला’ केही दिनपछि दाइले भन्नुभयो । तर के लेख्ने, कसरी लेख्ने ? मैले पूर्वतिर विद्यार्थी र बस कर्मचारीबीच गाडी भाडाको निहुँमा सधैं झगडा, कुटपिट र चक्काजाम भइरहने घटना सुनाएँ र पछिल्लो ५/६ महीनामा कति पटक कस्तो घटना भयो त्यो जानकारी भएको बताएँ । त्यो सुनेपछि २/३ पेज त्यही लेखेर ल्याउने कुरा भयो ।

गुफापोखरी, संखुवासभामा राजकुमार दिक्पाल, यात्रा थुलुङ र देवराज राइसँग (२०५४ सालमा)

दुई दिनपछि बल्लतल्ल लेखेको पाना देखाएपछि दाइले आफू कार्यकारी सम्पादक रहेको चतरालाइनस्थित सयपत्री साप्ताहिकको कार्यालयमा लगेर सम्पादक/प्रकाशक विमल शाक्यलाई देखाए । शाक्यले सरसर्ती हेरे अनि ‘यो त छाप्ने खालको भएन’ भनेर ‘रिजेक्ट’ गरिदिए । डस्टविनमा फ्याँकिसकेको पेज टिपेर मैले भनें ‘दाइ के पुगेको छैन भन्नुस्, म फेरि थपेर लेखेर ल्याउँछु ।’ त्यसपछि समाचार-रिपोर्टमा हुनुपर्ने कुराहरूको टिपोट गरें । फेरि लेखेर दिक्पाल दाइलाई देखाएँ र थप सुधारसहित अनि अर्को दिन विमल शाक्यलाई लगेर बुझाएँ । रमाइलो कुरा त त्यो समाचार छापियो मात्र होइन, आधा पेज नै छापियो ।

राजकुमार दिक्पाललाई भेटेको केही समयमै म बाइलाइनवाला बनें । त्यसपछि त झनै संगत बाक्लियो । दाइबाट दिनहुँ धेरै कुरा सिकिरहेको हुन्थें । हातले एक-एक अक्षर कम्पोज गरेर लेटर प्रेसमा छापिने सयपत्री साप्ताहिकमा हरेक साता दुई/तीन वटा समाचार र फिचर छापिन थालिसकेका थिए ।

त्यसको केही महीनापछि दिक्पाल दाइले मलाई दुई वटा समाचार लेख्न लगाए । अरू दुई वटा चाहिं आफैंले लेखेर मलाई सार्न लगाए । अर्को पेजमा एउटा पत्र लेखे र खाम बन्दी गरेर कुरियर गर्न लगाए । पत्रसहित पठाएको त्यही चार वटा समाचार त्यही साताको शुक्रबार प्रतिपक्ष साप्ताहिकमा प्रकाशित भयो । यसरी म राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरको पत्रिकाको संवाददाता भएँ । अर्थात् ‘पत्रकार’ बनें । अब आफन्त, साथीहरूले ‘त के बन्छस् ?’ भन्दा ‘म पत्रकार बन्छु’ भन्न थालिसकेको थिएँ ।

‘पत्रकार ?! यो पनि काम हो र ? कति कमाइ हुन्छ ? लेखेर पैसा पाइन्छ ? खान पुग्छ र ?’ सबै यस्तै प्रश्न गर्थे । तर, मसँग यसको कुनै जवाफ थिएन । किनकि मैले लेखेर पारिश्रमिक पाउन थालेकै थिएन । नेपाली पत्रकारिता आज जस्तो व्यावसायिक पनि थिएन ।

म त पत्रिकामा आफ्नै नाम पढेर सन्तुष्ट थिएँ । खुशी थिएँ । यो मैले रोजेको बाटो थियो । त्यो बेला मलाई थाहा थिएन, मैले रोजेको सपनासँगै अनेकौं आरोह-अवरोह, दुःख, हण्डरले पनि सँगै पर्खिरहेका हुनेछन् !

हाल, हङकङमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?