+
+

तपाईले कति प्रदूषण फैलाइरहनुभएको छ ? यसरी थाहा पाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १८:३१
फाइल तस्वीर

२४ असोज, काठमाडौं । के तपाईलाई आफू गाडी वा जहाजबाट यात्रा गरिरहेको बेला कति प्रदूषण फैलाइरहेको छु भन्ने थाहा छ ? आफूले गरेको प्रदूषण मापन गर्ने कुरा अहिलेसम्म केवल अनुमानको कुरा मात्र थियो । तर गुगलले एउटा यस्तो फिचर ल्याएको छ, जसको सहयोगमा तपाईले आफूले गरेको प्रदूषण नाप्न सक्नुहुन्छ ।

गुगलको उक्त फिचरबाट तपाईले आफू जुन उडान वा सडकमार्गबाट यात्रा गरिरहनु भएको हुन्छ त्यसबाट कति मात्रामा प्रदूषण हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ ।

वास्तवमा गुगलले आफ्नो तर्फबाट प्रदूषणलाई कम गर्ने दिशामा काम गरिरहेको छ । तर यसको मतलब प्रदूषण नफैलाउने भनेर कुनै यात्रा नै नगर्ने भन्ने होइन ।

गुगलको यस फिचरले कुन सडक मार्ग वा उडानबाट कम प्रदूषण हुन्छ र तपाईले कुन उडान वा रुट लिनु उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन्छ । यसो गर्दा केही हदसम्म प्रदूषण कम गर्न सकिन्छ । साथै गुगलले अन्य केही काम पनि गर्दैछ, जसबाट प्रदूषण उत्सर्जनमा लगाम लगाउन सकियोस् ।

कार्बनमुक्त उडान र होटलहरुको पहिचान

प्रविधि कम्पनी गुगलले जलवायु संकटलाई ध्यानमा राख्दै आफ्नो प्लाटफर्ममा एक विशेष फिचर थप गरेको छ जसबाट प्रयोगकर्ताहरुले इन्टरनेटमा होटलको खोजी गर्दा कम कार्बन उत्सर्जन गर्ने होटलको विकल्प प्राप्त गर्नेछन् । त्यसमा पर्यावरण प्रमाणपत्र सामेल हुनेछ ।

गुगलको यस्तो फिचरपछि विश्वका विभिन्न होटलहरुले यस विषयमा जानकारी थप्न सुरु गरेका छन् ।

यसका अलावा प्रयोगकर्ताहरुले उडानको सर्च रिजल्टमा धेरै कार्बनवाला सिटको जानकारी प्राप्त गर्नेछन् । कम्पनीका अनुसार प्रयोगकर्ताहरुले यसको माध्यमबाट जहाजको सिट रोज्दा पनि कम कार्बन उत्सर्जन हुने सिट छनोट गर्न सक्नेछन् ।

गुगल म्यापमा नयाँ फिचर

कार्बन उत्सर्जनको एउटा ठूलो श्रोत सवारी साधनले फ्याँक्ने धुवाँ पनि हो । सोही तथ्यलाई ध्यानमा राख्दै गुगल म्यापमा आगामी वर्षबाट एक नयाँ फिचर थप हुनेछ, जसले प्रयोगकर्ताहरुलाई गाडीमा इन्धन खपत कम गर्ने सडक मार्गका विषयमा जानकारी दिनेछ । यसबाट इन्धनको बचत हुने र पर्यावरणमा कम क्षति हुनेछ ।

हाल पृथ्वीमा जलवायु संकट बढिरहेको अवस्था छ । त्यसैलाई ध्यानमा राख्दै दिग्गज प्रविधि कम्पनी गुगलले कार्बन उत्सर्जन न्यूनिकरण गर्ने विभिन्न प्रयासहरु गरेको छ । साथै पर्यावरण संरक्षणमा सहयोगी हुने विभिन्न फिचरहरु पनि थप घोषणा गरेको छ ।

गुगलको तर्फबाट जारी गरिएको विज्ञप्तीमा क्यालिफोर्नियास्थित गुगल कम्पनीको मुख्यालयका विभिन्न भवनहहरुमध्ये एक भवनको छतमा ५० हजारभन्दा धेरै सोलार प्यानल जडान गरिएको छ जसले ९० प्रतिशत कार्बन मुक्त उर्जा पैदा गर्दछन् ।

गुगल कम्पनी दिगो विकासका लागि प्रतिबद्ध रहेको कम्पनीका सिइओ सुन्दर पिचाइ बताउँछन् । सन् २०३० सम्ममा गुगललाई कार्बनमुक्त उर्जामा सञ्चालन गराउने योजना गुगलको छ ।

गुगलका अनुसार उसको डाटा सेन्टर अहिले ६७ प्रतिशत कार्बनमुक्त उर्जामा सञ्चालित छ । यसअघि सन् २०१९ मा गुगको डाटा सेन्टरमा कार्बन मुक्त उर्जाको खपत ६१ प्रतिशत थियो । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?