+
+

यो दशैँ रमाइलै भएन

गणेश कार्की गणेश कार्की
२०७८ असोज २९ गते १३:५३

“दशैँ त पहिले केटाकेटी मै मनाइएछ ।” विदेशबाट भर्खरै घर आएको साथीसँग भेट गर्न गएको थिएँ, यहि मौकामा कुरैकुरामा उसले भन्यो, “अहिले त दशैँमा केहि मज्जै हुन्न ।”

उ दशैँको छेक पारेर दशैँ मनाउने गरि देश आएको थियो । हुन सक्छ उसले देश आउदै गर्दा दशैँका लागि लुगाकपडा र उपहारसँगै केहि सपना, उत्साह र जाँगर पनि पोको पारेर ल्याएको थियो । तर उहि मान्छे यहाँ आइसके पछि भन्छ, “अहिले त दशैँमा केहि मज्जै हुन्न ।”

दशैँ मज्जाको हुन के चाहिन्छ ? बालापन वा बालापनका दौँतरी वा बालापनको परिवेश चाहिने हो ? बालापनको जस्केलो नाघेर उमेर बाहिरिदै गर्दा हामीले बालापन मात्रै छोड्छौँ कि मज्जा हुने कारणहरु पनि छोड्छौ ? अपवाद छोडेर हेर्ने हो भने धेरै वयस्कहरुको धारणा विदेशबाट आएको मेरो साथीको जस्तै हुन्छ ।

फर्किएर हेर्दा, हाम्रो बालापनमा दशैंको अलग्गै रौनक हुन्थ्यो जस्तो लाग्छ । म आफुलाई पनि बेला बेला म भन्दा साना पुस्ताले हामीले जस्तो रैथाने दशैँ मनाउनै नपाएको वा नजानेको जस्तो सोच्छु । हामीलाई दशैँ आउँछ भन्ने सम्झिदा मात्रै पनि रमाइलो लाग्थ्यो । दशैँ जोडिए पछि जे पनि रमाइलो हुन्थ्यो । दशैँको हाटबजारको अटसमटस भिड पनि रमाइलो । भर्खरै मिलबाट कुटेर ल्याएको तातो चिउराको स्वाद रमाइलो । दशैँको पिङ रमाइलो । दशैँको नयाँ लुगा रमाइलो । दशैँको खसीको पोलेको कान रमाइलो । हारे पनि दशैँको लंगुरबुर्जा रमाइलो ।

दशैँको सबैथोक रमाइलो । दशैँको मामाघर सबै भन्दा रमाइलो । र, मामाले दिने दक्षिणा सबै भन्दा पनि धेरै रमाइलो ।

हामी दशैंमा भर्खरै सिलाएका नयाँ लुगा लगाएर मामाघर जान्थ्यौँ । हामी छोराहरुका लागि दक्षिणाको एकमात्र स्रोत भनेको मामाघर मात्रै थियो । दशैँ हाम्रो लागि ‘द कलेक्सन’ थियो । हामी मात्र हैन अरु पनि थिए हामी जस्तै । सबैलाई आफुले बढि ‘कलेक्सन’ गर्नु पर्थ्यो भने अरुको कति पुग्यो भनेर सुराकी गर्नु अनिवार्य हुन्थ्यो । मामाघर पुग्न पनि नपाई आँगनमा नै हामीभन्दा पहिले आएर टिका र दक्षिणा थापिसकेकाले सोध्थे, ‘ओए ! तेरो कति भइसक्यो ?’

अरुको के हुन्थ्यो कोनी तर म चैँ एक पैसा हात नपारेको भए पनि थोरै पैसा भन्दिन थिएँ । इज्जतको सवाल जो मानिन्थ्यो । यसै पनि, पैसाको लागि इज्जत नदिनु तर इज्जतको लागि पैसा दिनु भन्ने सायरी लेखेको पोस्टकार्ड दशैँमा पनि बाडिन्थ्यो । मैले पनि पाएको थिएँ । मैले हुदै नभएको पैसा खर्चै नगरि इज्जत जोगाएको हुन्थेँ ।

मलाई सानो छँदा सबैभन्दा खड्किने कुरा एउटै हुन्थ्यो । घरमा सानो भन्दा सानो सत्यनारायणको पूजा लगाउँदा पनि दिदीहरुको हातमा पैसा पुग्थ्यो । बुबा र ममी नै दिदीहरुलाई बोलाइ बोलाइ खुट्टामा ढोकेर २ रुपैयाँ / ५ रुपैयाँ हातमा दिनुहुन्थ्यो । हामी दाजुभाई बुबाममीलाई ढोग्थ्यौं र खाली हातमा प्रसाद थाप्थ्यौं । केटो भएर जन्मिएकै कारण हातमा रुपैयाँ नपरेको भनेर थाहा पाए देखि नै कस्तो केटी भएर नजन्मिएको भनेर थकथकी लागेर आउँथ्यो ।

अझ दशैंमा त के भन्नु ! घरमा त पाइएन पाइएन । काका बढाउकोमा पुगियो भने पनि उही रित्तो हात । दिदीहरुको हातमा १०० रुपैयाँ पुगिसक्दा पनि कहिलेकाँही त आफ्नो बनीसम्म भएको हुदैनथ्यो । कहिले भने पैसामा सारै लोभिएर हेरेको देखेर कसै कसैले ट्यास्स १ रुपैयाँ हातमा राखिदिन्थे । अरु बेला त ठिकै हो, दशैंको बेलामा १ रुपैयाँले बनी बिग्रिदाको नमज्जा त झन् भनिनसक्नुको हुन्थ्यो । लाग्थ्यो, बरु १ रुपैयाँ नदिएकै भए पनि हुन्थ्यो । तर पनि दशैँ रमाइलो हुन्थ्यो ।

दशैंमा मामाघरमा हजुरबुबाले टिका लगाउँदा नै दक्षिणा दिनु हुन्थेन । सबैले टिका लगाइसकेको निकै बेरसम्म कति दक्षिणा पाइन्छ भन्ने खुल्दुलीले उकुसमुकुस बनाइरहन्थ्यो । हामी केटाकेटीहरु मुखामुख गर्दै दक्षिणा बाढ्ने समय पर्खिएर बसेका हुन्थ्यौँ । जब केटाकेटीको दक्षिणा थाप्ने पालो आउँथ्यो, दक्षिणा समाउने बित्तिकै हरेक केटाकेटी सु आयो भन्दै ट्वाइलेट जान थाल्थे ।

मेरो पालो आए पछि मेरो पनि उहि अवस्था थियो । हातमा नोटहरु बटारिएको सानो बिटो पर्ने बित्तिकै पिसाबले च्याप्यो । म भन्दा अगाडी गएकाहरु ट्वाइलेटमा पस्न पालो पर्किदै रहेछन् । कोही कसैसँग बोलेका थिएनन् । पालो पर्खिदै गर्दा मेरो पछाडि पनि अरु उभिइसकेका थिए । मलाई कति बेला पालो आउला भन्ने औडाहा थियो । पालो आयो । ट्वाइलेटमा छिरे । भित्र पस्ने बित्तिकै गोजीबाट दक्षिणामा आएको बटारिएको पैसाको बिटो फुकाएँ । सु आउने त बहाना मात्रै थियो, एजेन्डा पैसा गन्ने हुन्थ्यो । १/१ का १५ वटा नयाँ नयाँ नोटहरु गनेँ । पोहोरको भन्दा ५ रुपैयाँ बढी ।

कसैले ढोका ढक्ढकायो । बाहिर सानिमाको छोरो मेरो भाइ पर्खिरहेको रहेछ ।

हामीलाई निकै बर्ष टिका लगाउँने बित्तिकै सु ले च्यापिरह्यो । मामाले भन्नु हुन्थ्यो, “सबै भान्जाभान्जीलाई एकै पटक सु लाग्ने । अचम्म छ, हेर्नुस् न ।”

साथीसँग कुरा गर्दागर्दै म एकोहोरिएछु । साथीले नामले बोलाए पछि झस्किएँ ।

“केटाकेटीकै कुरा सम्झिन थालिस् कि क्या हो ?” उसले हास्दै भन्यो, “तन्नेरी भए पछि पनि हामीले दशैँमा कम रमाइलो गरेको चैँ होइन ।”

हाम्रै पुस्ताले दशैँको धार्मिक पक्ष भन्दा बढि सामाजिक पक्षलाई मान्यो । आउदो पुस्ताका लागि सामाजिक भन्दा बढि मनोरञ्जन हावी हुन सक्ला । परिवर्तन अनुमान मात्रै हुन्छ । अनुमान मिल्छ पनि र मिल्दैन पनि तर तयारी दुवै नतिजाका लागि हुनु पर्छ ।

तन्नेरी भए पछिको अर्थ थियो, किशोरवस्था लाग्दै गर्दा । हुन पनि, त्यो उमेर हुँदा दशैँको अलग्गै रौनक हुन्थ्यो । अहिले जस्तो बिजुली हुन्थेन । बिजुली भए पनि फिलामेन्ट तात्तिएर आउने पहेलो उज्यालो अहिलेको सिएफएल र एलइडी बत्ति जस्तो दुधिलो र चम्किलो त पिटिक्कै हुन्थेनन् । अँध्यारो हुने बित्तिकै घरबाट निस्किन बन्द ।

घरकालाई लाग्थ्यो, नयाँ सिलाएका कपडाको गन्धले अब पनि हाम्रो दशैँ रमाइलो हुनेछ । दशैँको पिङले पहिले जस्तो रमाइलो ल्याउनेछ । दशैँको खसीको पोलेको कानले दशैँको उत्साह थप्ने छ । दशैँको मामाघर उसै रमाइलो हुनेछ । तर हामीलाई त्यतिले पुग्दैन थियो । हामीलाई किशोरवस्थाले छुदै थियो । आफ्नै शरिर नयाँ हुदै थियो । हामीलाई आफ्नै शरिरदेखि सारा संसार खोतल्न बाँकी नै थियो । घाम ढल्किसके पछि आफ्नै गाउँ कस्तो देखिन्छ भन्ने पत्तो हुदैन थियो । हामीलाई जुनको उज्यालोमा गाउँ हेर्नु थियो । जे पाइरहेका थियौँ, ति सामान्य भइसकेका थिए । तिनमा हाम्रो लागि केहि रोमाञ्चकता बाँकी थिएन । हामीलाई नयाँ गर्नु थियो ।

यो मौका हामीलाई दशैँले दिन्थ्यो ।

दशैँको टहटह जुनमा घरबाट निष्फिक्री निस्कन पाइन्थ्यो । राती निस्किने बहाना पिङ खेल्ने हुन्थ्यो । पिङमा छुत्तिने हाम्रै उमेरका केटी पाहुनाहरु हाम्रालागि पिङमा रल्लिने बहाना बन्थे । रात पर्दै गए पछि उनीहरुको संख्या पातलिदै कम भएर सकिन्थ्यो । र, हामी कुनै साथीको घरमा लुसुक्क छिरेर तास खेल्न थाल्थ्यौँ । एक, दुई, तिन रुपैयाँको कलब्रेक वा एक रुपैयाँ बोटको फँलास । पछि पछि म्यारिज पनि सिकियो र दशैँको उत्साहमा आठाना पइन्ट खेल्न थालियो । घर जति बेला फर्किए पनि गाली खाइदैन थियो । घरका कसैले केहि नभनी खर्याक्क ढोकाको आग्लो निकालिदिन्थे ।

सानो छँदा रोमाञ्चकता दिने नयाँ लुगा, मामाघर, मामाघरको दक्षिणा, पोलेको कानहरुले किशोरवस्थामा रोमाञ्चकता दिएनन् । हामीले नयाँ खोज्यौँ । नयाँ पायौँ । र, रमायौँ । हामीले उमेर भोग्दा भोग्दै रमाइलाका तरिकाहरु फेर्यौँ । कुनै बेला हाम्रो लागि दशैँ भनेको दक्षिणा, मामाघर, नयाँ लुगा र मासु मात्रै थियो । पछि रात, पिङ, तास र संगतले दशैँ रमाइलो बनायो । तर दशैँ भनेको दक्षिणा र टिका मात्रै रहेनछ । राती जुनको उज्यालोमा हिड्नु, पिङ र तास खेल्नु मात्रै पनि रहेनछ । अन्य कुरा यथावत रहे पनि दशैँको परिभाषा उमेर अनुसार फेरिदै जाने रहेछ ।

अहिलेको रमाइलाका तरिकाहरु उमेरले कम तर प्रबिधिले बढि फेर्छ । अहिले सबै कुरा फेरियो । प्रबिधिले गिजोल्दै ल्यायो । हत्केलामा मनोरञ्जनका किसिम किसिमका उपायहरु छन् । तर कुन बिषयले हामीलाई पहिलेको जस्तै रोमाञ्चकता दिन्छ भन्नेमा हामी स्पष्ट छैनौँ । हत्केलाको साधनले हामीलाई समय भन्दा निकै अगाडि पुर्याइदियो तर हाम्रो रमाइलोको चेतना निकै पछाडि छोडियो । हामी न हत्केलाको साधनसँग दौडिन सक्यौँ, न हत्केलाको साधनलाई आफुसँगै हिड्न सक्ने बनायौँ । हामी अलमलियौँ । दशैँको हाम्रो रमाइलो पनि यतै कता अल्मलिएको छ ।

दशैँको इतिहास पछ्याउनेहरु जरो खोज्दै धेरै सभ्यता पुगेका छन् । उनीहरुका अनुसार दशैँ केवल एउटा धर्मविशेषको मात्रै होइन । दशैँमा लगाइने जमराको संस्कृति इरानी प्रभाव हो । चामलको टिका लाउने चलन किरातहरुको हो, जसमा हिन्दुहरुले पवित्र र शुभ मान्ने गरेको अबिर राखेर रातो बनाए । एक धर्म विशेषको मात्रै रहेको भए यस्तो विविधताको मिश्रण सायदै देख्न पाइन्थ्यो ।

हाम्रै पुस्ताले दशैँको धार्मिक पक्ष भन्दा बढि सामाजिक पक्षलाई मान्यो । आउदो पुस्ताका लागि सामाजिक भन्दा बढि मनोरञ्जन हावी हुन सक्ला । परिवर्तन अनुमान मात्रै हुन्छ । अनुमान मिल्छ पनि र मिल्दैन पनि तर तयारी दुवै नतिजाका लागि हुनु पर्छ ।

दशैँ र अरु चाडपर्वहरुको सुरुवाती प्रयोजन जे रहे पनि वर्तमान यी सबैको महत्व तब मात्रै हुन्छ, जब मानिसलाई मानिससँग जोड्छ; जब खुसी, रमाइलो र पुनर्ताजगी हुने बहाना दिन्छ । चण्डीपाठ गरेर नवरात्री मनाउने हजुरबुबा पुस्ता पनि सहि थिए । बाले पाठ गर्नु भएकै छ नि भनेर चण्डीपाठ भन्दा पिङ र मेलामा रमाउने बुबा पुस्ता पनि सहि हुन् । र, चण्डीपाठ थाहा नपाइ, कुनै दुर्गा वा भगवतीप्रति पिटिक्कै आश्था नभइ दशैँको रमाइलो गर्ने नातीनातिना पुस्ता पनि गलत हुदैनन् ।

पटक पटक प्रमाणित भइसकेको कुरा हो, समय फेरिन्छ, रमाइलो गर्ने साधन फेरिन्छ । कयौँ परिवर्तन हामीले नै अनुभव गरिसकियो । यसैले पहिलेकै राम्रो, पहिलेकै तरिका राम्रो, पहिलेकै परिभाषा राम्रो जस्ता सुगा रटानमा आजलाई नराम्रो नबनाएकै ठीक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment