+
+

यसरी भित्रिन्थ्यो पोखरामा त्यो बाल्यकालको दशैं

सरुभक्त सरुभक्त
२०७८ असोज २९ गते १५:३३

बाल्यकालमा दशैं रमाइलो हुनुको दुई कारण हुन्थ्यो । पहिलो, लामो विदा हुन्थ्यो । लामो बिदा भएपछि यसै रमाइलो लाग्ने भइहाल्यो । दोस्रो, वर्षमा एक पटक राम्रो लगाउन र मीठो÷मीठो खान पाउनु नै हो ।

पोखरा अहिलेजस्तो बाक्लो बस्ती थिएन । अहिलेजस्तो बाटो थिएन । जहाँतहीँ बजार थिएन । सुपरमार्केटहरु थिएनन् । बुवाले दशैंमा नयाँ लुगा सिलाइदिनुहुन्थ्यो । दाजुभाइका लागि उस्तै तर फरक रङका लुगा सिलाइदिनुहुन्थ्यो । त्यही लुगाका लागि पनि दाजुभाइको फाइट पर्थ्यो ।

अहिलेका नातीनातिनाहरुले सधैं लगाउन पाइराखेकै छन्, कुनै मतलब हुँदैन । तर, हामीले दशैं नै कुर्नु पथ्र्यो । हाम्रो टोलमा एक जना ‘पहले दमाइ’ नामले चिनिएका काका हुनुहुन्थ्यो । दशैंमा उहाँलाई कपडा सिलाउन भ्याइनभ्याइ हुन्थ्यो । मेरो बुवाले त्यहीँ सिलाउन दिनुहुन्थ्यो । जब बुवाले लुगा सिलाउन दिनुहुन्थ्यो, अनि हाम्रो खुसीको दशैं भित्रिन्थ्यो ।

दशैंमा नेवारहरुको अझ बढी विशेष परिकारहरु पाक्थे । हामीले भोज हाने भन्थ्यौं । वर्षभरि त्यस्ता खाना कहाँ खान पाउनु ? दशैंको तयारीमा सिंगो परिवार केही दिनदेखि लाग्थ्यो । जब घरमा अनेक परिकारको बासना फैलिन्थ्यो, अनि हामीलाई दशैं लाग्थ्यो ।

त्यो बेलाको दशैं अहिलेजस्तो धेरै आयातित सामान किनेर मनाउने दशैं थिएन । ठाउँ ठाउँमा चिउरा कुट्ने घरहरु थिए । आधा रातदेखि नै जब चिउरा कुटेको ट्वाङ ट्वाङ ओखलको आवाज आउँथ्यो, अनि दशैंको तरंग सुरु हुन्थ्यो ।

गोरखा दरबारबाट फूलपाती लिएर हनुमान ढोका जाने प्रचलन भएजस्तै फूलबारी आर्मी ब्यारेकबाट बाजागाजासहित विन्ध्यवासिनीमा फूलपाती भित्राउन गइन्थ्यो । जब फूलपातीमा ब्याण्ड बाजा घन्किन्थ्यो, अनि दशैंको रौनक बढ्थ्यो ।

बगरको मेरो घरदेखि २-४ मिनेटको दूरीमै आइपुग्छ, पुरानो टुडिखेल । मल्टिपर्पोज हाइस्कुल अन्तर्गतको त्यो टुडिखेल हाम्रो खेल्ने ठाउँ पनि हो, पढ्ने ठाउँ पनि हो । त्यो टुटिखेल मैदानमात्र होइन, दशैं भित्राउने आर्थिक, सांस्कृथिक तथा सामाजिक सम्बन्ध जोड्ने ठाउँमात्र हो । टुलेखेल दशैंको किनमेलको किनमेलको इतिहाससँग गाँसिन्छ । पोखरा आसपासका उपत्यकादेखि गाउँहरुले बजार गर्न पाउने थलो बनेर जोडिन्छ ।

हिमाली क्षेत्रका किसानको अर्थशास्त्र पनि टेडिखेलसँग सम्बन्धित थियो । दशैं सुरु हुनुभन्दा २-४ दिनभन्दा पहिले नै भेडाच्यांग्रा आएपुग्थे । अहिलेजस्तो गाडीको ट्याँट्याँ थिएन, मान्छेले लिएर गएका भेंडाको भ्याँ भ्याँ, च्यांग्राको म्याँ म्याँसँगै टोल टोलमा दशैं हिँड्थ्यो । दशैं जब मुस्ताङदेखि टुडिखेलसम्म भेडा, च्यांग्रा आइपुग्थ्यो, अनि पोखरेलीको दशैं उत्सव भित्रिन्थ्यो ।

लामाचौर, र्‍यालेचौर, बाटुलेचौरजस्ता विभिन्न गाउँ गाउँका किसानको दशैं सम्बन्ध पनि पोखराको पुरानो टुँडिखेलसँगै जोडिन्थ्यो । टुँडिखेलमा लाग्ने मेलामा गाउँदेखि कृषि उत्पादन लिएर दशैंका लागि आवश्यक सामान किन्न आउँथे र बजारदेखि घरायसी सामान लिएर जान्थे । चोखाको भकारी, डोको, गुन्द्रिसमेत लिएर आउँथे । फूलपातिदेखि नै टुँडिखेलमा हाटबजार लाग्थ्यो ।

बाल्यकालमा हामीले देखेको हाटबजार निकै ठूलो र मान्छेहरुको भीडभाड हुन्थ्यो । फूलपाति आउनुभन्दा एक-दुई दिन अगाडिदेखि नै मानिसहरु त्यहाँ कटेर बनाएर बस्थे । होटल चलाउँथे । खर र चित्राले छाएका कटेराहरुका दोकान तयार पार्थे । सबै खालेका किनमेलका सामानदेखि चिया, मीठाइसम्म सबै थोक हाटबजारमा पाइन्थ्यो ।

चौरभरि नै मानिसहरु हुन्थे । मानिसहरु मात्रै कहाँ हुन्थे र भेंडा, च्यांग्राका बथान हुन्थे । हाम्रा लागि भेंडा च्यांग्रा हेरेरै पनि उमंग मिल्थ्यो । दशैंमा नयाँ लुगा लगाउने, मीठो खानेजस्तै खुसी बाल्यकालमा हामीलाई वर्षमा एक दिन भेंडा च्यांग्रा हेर्न पाउँदा पनि मिल्थ्यो ।

मलाई चाहिँ भेंडाच्यांग्रा मात्र होइन, पोखरामा भेंडाच्यांग्रा ल्याउने हिमाली मान्छे हेर्न पनि रहर लाग्थ्यो । लामो लामो केस बाटेको, स्याउजस्तो राता र फुट्लाजस्तो गाला निकै चाखले हेर्थें म । बख्खु लगाएर आउने, कम्मरमा छुरी भिर्ने, दोचा लगाएका हिमाली मान्छे मेरा लागि साँच्चिकै नौला थिए ।

हाम्रो घरमा किराना पसल थियो । फूलपातीका दिन बुवाआमालाई फुर्सदै हुँदैनथ्यो । नुनतेल, मट्टितेल, गेडागुडी लगायतका घरायसी सामान किन्नेको ठूलो भीड लाग्थ्यो । सबैभन्दा व्यापार हुने दिन नै फूलपातीको दिन हुन्थ्यो । त्यसको भोलिपल्टतिर बल्ल बुवाले च्यांग्रा किनेर घरमा ल्याउनुहुन्थ्यो । धेरैजसो बाहुन क्षेत्रीले फूलपातीकै दिन च्यांग्रा खरिद गर्ने भने नेवाले ब्यापार गर्ने भएकाले अष्टमी वा नवमीमा मात्र किन्ने चलन थियो ।

दशैंसँगै जोडिएर आउने पिङ हो । बाल्यकालको सबैभन्दा रमाइलो पल । पोखरा पाटनै पाटनको सहर पनि हो । पोखराका सबैजसो चौरमा लिंगे पिङ हालिएका हुन्थे । रुखमा पिङ हालिन्थ्यो । प्रत्येकजसो टोलमा लठ्ठे पिङ चचहुइँ गरिरहेको हुन्थ्यो । पछि ठाउँ ठाउँमा चौवाली पिङ हाल्न थालियो । जब पिङ हाल्ने तयारीमा पोखरा जुट्थ्यो, अनि दशैं भित्रिन्थ्यो । त्यो पोखरा, अहिले छैन । पिङ हाल्ने ती चौर, ती मानिसहरुबीचको उत्साह अहिले लगभग हराइसक्यो ।

दशैंमा टीका लगाएर पाउने सुका, मोहर, ढ्याकले दिने खुसी अहिलेको लाखलेभन्दा बढी हुन्थ्यो । चाँदीजस्तो टलक्क टल्किने ८-१० सिक्का भएपछि आफूलाई बिल गेट्स नै सम्झिन्थें । मजस्तो धनी कोही छैन भन्ने महसुस हुन्थ्यो । कसले कति कमायो ? भनेर साथीभाइमा प्रतिस्पर्धा नै चल्थ्यो ।

१०-१२ वर्ष कटेपछि राति २-३ बजे नै उठेर पोखरामा देबल, देवीस्थानहरुमा घुम्ने गथ्र्यौं । जतिबेला महेन्द्रपुल पनि बनिसकेको थिएन । सेतीमाथि सानो साँघु थियो । त्यसैबाट मानिसहरु आउजाउ गर्थे । अरु मानिसहरु दर्शन गर्न जान्थे, हाम्रो बहाना रातरात भर यात्रा गर्थ्यौ।

कहिले भद्रकाली, कहिले तालबराही हाम्रो यात्रा हुन्थ्यो । पोखराका विभिन्न देबल देवीस्थानहरुको फन्को मार्दै अन्तिममा बगर भीमकाली हुँदै विन्ध्यवासिनी पुगेर बिट मारिन्थ्यो । त्यतिबेला बिहान ५÷६ बजेको हुन्थ्यो । टोल÷टोलका ठिटा ठिटीहरु मिलेर मन्दिरहरुको भ्रमण हुन्थ्यो । त्यो बेला बिजुली पनि थिएन, सबै ठाउँमा ।

पोखरामा दशैंको अन्त्य पनि निकै रोमाञ्चक र नौलो तरिकाले हुन्थ्यो । टुँडिखेलमा हाटबजार लागेजस्तै पूर्णिमाको दिनमा फेवातालमा मेला लाग्थ्यो । फेवाताल किनार, बैदामतिर पनि लिंगे पिङ हालिन्थ्यो, चौवाले पिङ हुन्थ्यो । अहिलेको लेकसाइड भनिने बजार थिएन । खाली ठाउँ थियो । फेवा किनारमा धेरै चौतारी र रुखहरु थिए । ती रुखमा पिङ हालिन्थे ।

अहिले तालबराही जान ढुंगा चढ्ने ठाउँमा ठूलो भीड लाग्थ्यो । बिहान घरमा खानेकुरा बनाएर हिँडेरै लिएर फेवा किनार पुग्थ्यौं । घरका ढोका सबै बन्द गरेर परिवारै जान्थ्यौं । तालबाराही मन्दिर दर्शन गर्ने र किनारमा आएर घरमै बनाएर लिएर गएको भोज खाएसँगै दशैं सकिन्थ्यो ।

भोज खाएपछि फेवातालको पानी उभाएर कलकल पिएर फर्किएपछि दशैं सकिन्थ्यो । दशैं त अहिले आइरहेको छ, गइरहेको छ तर त्यो दशैं, त्यो मजा अहिले सम्झनामा मात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?