+
+

पत्रकार, पर्व र परिवार

बिष्णु बसौला बिष्णु बसौला
२०७८ असोज ३० गते १६:४९

पत्रकार, पर्व र परिवार तीनवटै शब्दको प्रारम्भ एउटै अक्षर (प) बाट हुन्छ । एउटै अक्षरबाट सुरू भएपनि पर्वमा पेशा र परिवार बीचको सम्बन्धमा सामञ्जस्यता कायम गर्न प्रकाशन भन्दा प्रशारण माध्यमका पत्रकारलाई सकस हुन्छ ।

विशेषगरी पर्वमा पेशा र परिवार दुश्मन जस्तो लाग्छ । पेशा र परिवारको दूरी टाढा भएका धेरै पत्रकारलाई चाडपर्वको प्रतीक्षा सायदै हुन्छ । प्रतीक्षा नहुँदा नहुँदै घडीले घटस्थापना निम्त्याउँछ । घरको नम्बरले फोनको घण्टी बजाउन थाल्छ ।

घरको सबैभन्दा महत्वपूर्ण सदस्यबाट फोनमा फेरि त्यही जबरजस्त प्रश्न सोधिन्छ । दशैं आयो, घर कहिले आउने ?

यो पहिलोपटक नसोधिएको प्रश्नको पनि सोझो र निश्चित जवाफ पत्रकारसँग हुँदैन। प्रश्न सोध्ने पेसेवरलाई करीब-करीब नाजवाफ र निरीह बनाउने प्रश्न हो यो ।

निरीहता र नाजवाफ हुनुमा खास बाध्यता लुकेको छ, किनकी आउन पाउँदिन, आउँदिन भन्न सकिँदैन। जान पाइन्छ भन्ने पक्का हुँदैन ।

के जवाफ दिने, आउन नपाउन सक्छु भनेर कसरी भन्ने वा कसरी प्रश्नकर्तालाई अनिश्चितताको भाव बुझाउने गरी जवाफ दिने भनेर शब्द सोचिरहँदा फेरि सोधिन्छ ?

यसपटक त टीकाको दिनमा आउँछौ नि ? यो प्रश्नभन्दा अगाडि वा पछाडि तर जवाफ आउनुभन्दा अगाडि विभिन्न प्रश्नहरू र सन्दर्भहरू बताइन्छ । वर्षमा एकपटक आउने दशैं, अर्को वर्ष के हो के ? उसको छोरा/छोरी विदेशबाट त आयो/आइन्, उनीहरु आउँदैछन्, आइसके तिमीलाई सोधेका छन्। यस्तै यस्तै ।

यो अझ बढी अपेक्षा भएको प्रश्न हो । थालीको सुकेका अक्षता भिजाएर टीका लगाइदिँदाको मर्म परिवारले बिर्सेको छैन भन्ने यो प्रश्नबाट प्रष्ट हुन्छ। यो प्रश्नले त झन ठहरै बनाउँछ ।

यसको पनि जवाफ हुँदैन। क्रमैसँग सोध्ने गरिएको र यसपटक पनि सोधिएको प्रश्नमा जवाफ नआउँदा प्रश्नकर्तालाई पनि लाग्ने रहेछ। यसपटक पनि आउने सम्भावना कम छ।

फेरि उतैबाट भावनात्मक नम्र आग्रह आउँछ-‘चाडवाडमा त सकेसम्म मिलाएर आउ न।’

यो पङ्क्तिको व्याख्या धेरै कोणबाट गर्न सकिएला। तर, धेरै पत्रकारको जीवनसँग करिब मिल्ने व्याख्या भनेको पर्व बाहेकका समयमा पनि परिवारलाई दिन समय कम छ, पर्याप्त छैन र थिएन भन्ने नै हो।

पर्वमा सोधिने प्रश्नले दिने पीडा पेशामा प्रवेशको वर्ष बढ्दै जाँदा केही कम त हुन्छ ।तर, माथिका भावनात्मक प्रश्नको खास जवाफ हुँदैन ।

यता, कार्यालयमा पञ्चमीसम्म बिदा पाउने पक्का हुँदैन । पुराना नहुने अर्थात् जहिले प्रशारण गर्न पनि मिल्ने, जनचासोका र पर्वसँग सम्बन्धित अधिकांश प्रसारण सामग्रीको उत्पादन करिब सप्तमीमा सकिने अवस्थामा त हुन्छ। तर, पनि बिदाको विषयमा संशय नै हुन्छ।

त्यसपछि कार्यालयमा एकअर्कालाई भेट्दा एउटा प्रश्न छुट्दैन। त्यो हो- बिदा मिल्यो ? तर, निश्चित जवाफ धेरैजनासँग हुँदैन । बिदा पाउने आश गरेको भने बुझिन्छ । बिदा चाहिने र बिदा नपाउनेको मोटामोटी अनुमान भने हुन्छ।

पेशा र परिवारको दूरी टाढा भएका धेरै पत्रकारलाई चाडपर्वको प्रतीक्षा सायदै हुन्छ । प्रतीक्षा नहुँदा नहुँदै घडीले घटस्थापना निम्त्याउँछ । घरको नम्बरले फोनको घण्टी बजाउन थाल्छ ।

विवाह गरेको पहिलो वर्ष, अघिल्ला वर्ष बिदा नपाएका, तिहारमा बिदा नलिनेहरु प्राथमिकता सूचीमा भएपनि बिदा पाउने निश्चित हुँदैन ।

टीका नलगाउने, आफन्त गुमाएका, कार्यालयमा काम सुरू गरेको पहिलो वर्ष, नजिक घर भएकाहरू बिदाको प्राथमिकतामा पर्दैनन् ।

वर्षमा एकपटक आउने पर्व परिवारसँग मनाउन नचाहने भेटिँदैनन् । अझै त्यसमा पनि मुख्य दिनलाई प्राथमिकतामा राखेर घर जान पाउने आश राखिएको हुन्छ । सकेसम्म धेरै बिदा लिन चाहने कर्मचारी र थोरै बिदा दिएर मनाउन खोज्ने विभागीय प्रमुखहरुबीच वार्ता हुन्छ ।

दशैंको पाँच दिन (सप्तमी देखि टीकाको भोलिपल्टसम्म) काम गर्नेले सोही दिनको डबल रकम, खानाको कार्यालयमा नि:शुल्क व्यवस्थाले बिदा नबस्न राेक्न सक्तैन। पटक-पटकको वार्तापछि कसैलाई तिहारमा बिदा दिने, कसैलाई दसैंपछि बिदा दिने प्रतिबद्धताका साथ काम गर्न उत्साहित बनाइन्छ ।

दशैंलाई केन्द्रमा राखेर गरिने बिदा बाँडफाँडमा बिदा नै नपाउने, दशैंको मुख्यदिन बिदा पाउने र टीकाको पर्सीपल्टबाट बिदा पाउनेको सूची सार्वजनिक हुन्छ ।

यता, दशैंलाई लक्षित गरेर घर फर्कने बढे, दैनिक यति लाखले शहर छाडे, मुख्य नाकामा सवारीको भीड, हवाई यात्रामा चापसहितका समाचार संकलन र प्रशारण गर्दा मन भने घर पुगिसकेको हुन्छ ।

सामाजिक सञ्जालमा साथीभाइ घर जाँदै गरेका, पुगेका, भेटघाट र रमाएका फोटोहरु देख्दा शरीर पनि यसै यसै उचालिन्छ ।

आफन्त, परिवार र साथीहरुको फोन त फेरि फेरि आइरहन्छ तर, बिदा मिलिहाल्यो भनेपनि घर नहिँडेसम्म मात्रै होइन घर नजिकै पुग्न लाग्दा पनि आउँछु भन्ने जवाफ दिन मनले मान्दैन ।

जतिबेला घरआँगनमा पर्वको रौनक र हर्षोल्लास बढ्छ, परिवारका सदस्य जम्मा हुन सुरू हुन्छ । त्यति नै बेला कार्यालयमा सहकर्मीको संख्या पनि घट्न थाल्छ ।

सप्तमीपछि टाढा घर हुने सहकर्मीहरु कार्यालयबाट घर जान्छन् । अष्टमी र नवमीसम्म पहिलो चरणमा अर्थात् टीकाको दिन घर पुग्ने साथीहरु जाने गर्दछन् ।
कार्यालयको वातावरण विस्तारै सुनसान हुँदै जान्छ।

बिदा नपाउनेहरुलाई पनि अगाडि नै केहि सामग्री तयार भइसकेकाले कामको धेरै चाप नहुनसक्छ । तर, जुनसुकै परिस्थितिका लागि तयार भने भइरहनुपर्छ ।

टीकाको साइत सुरू भएपछि लगाइदिनु भयो, ग्रहण गर्नुभयो, वा आ-आफ्नो संस्थाको सम्पादकीय भाषा अनुसार टीका लगाइदिए, ग्रहण गरे, वा टीका लगाइँदैछ भनिरहँदा उसको निधार प्रायः खाली खाली हुन्छ । समाचारकक्ष साइतका बेला झन् सुनसान, नि:शब्द हुन्छ ।

साइतको टीकापछि संस्थाका सञ्चालक, कतै प्रधानसम्पादक, सम्पादक वा उपलब्ध वरिष्ठ कर्मचारी अथवा जेष्ठ सहकर्मीबाट भएपनि टीका लगाउने क्रम चल्छ ।

एकआपसमा शुभकामना साटासाट पनि हुन्छ । टीकापछि नजिक घर भएका सहकर्मी आउन थाल्ने भएकाले चहलपहल बढ्न थाल्छ ।

सुनसान सहरका घुम्तीको मोडसम्म देखिने सडक, बन्द भएका सटरहरु र सडकमा फाट्टफुट्ट मात्रै आवातजावत देखिने स्थिति टिकाको साइत पछि फेरिन्छ । सहर फेरि यथास्थिति, गाउँ पूर्ववत् अवस्थामा फर्कन्छ।

समाचार, सन्देश, सूचनाको संवाहक पत्रकार पेशागत जिम्मेवारीका लागि सधैं नतमस्त रहनुपर्ने हुन्छ र रहन्छन्। किनकी सधैं र सबै समय तयार हुनुपर्ने पत्रकारिता पेशामा जुनसुकै परिस्थितिमा क्रियाशील रहनुपर्ने कर्मको धर्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?