+
+
अग्रपथ :

दर्शनशास्त्रीय बहसमा ‘सर्वाङ्गिक तथा वैज्ञानिक मानवतावाद’ को प्रस्ताव

राजनीतिक सिद्धान्तले मानव चरित्रको बहुआयमिकतालाई समेट्नु पर्दछ । अन्यथा सिद्धान्तले जीवनलाई डोर्‍याउन सक्दैन । जब सिद्धान्तले जीवनलाई मार्गदर्शन गर्न सक्दैन, त्यस्तो सिद्धान्त न सही हुन्छ न मान्न जरुरी छ ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ असोज ३१ गते ९:४४

ज्ञान र शास्त्रका हाँगा दर्जनौं छन् तर, मुख्य चारवटा विशेषता हुन्छन्– धर्म, विज्ञान, कला र दर्शन । यी चार विधाबीच विशिष्ठ प्रकारको समानता र असमानता, सम्बन्ध र असम्बन्ध, पृथकता र समरूपता, द्वैष र प्रेम हुन्छ ।

धर्मसँग पनि दर्शन जोडिएर आउँछ, जसलाई ‘धर्मदर्शन’ भनिन्छ । धर्मसँग विज्ञान जोडिँदा त्यो ‘धर्मविज्ञान’ बन्छ । धर्मसँग कला जोडिँदा अनेकौं धार्मिक ग्रन्थ, कथा, मिथ, संस्कृति र जीवन पद्धति बन्दछन् । धर्म मूलतः ‘आस्था र विश्वास’ को शास्त्र हो । ‘आस्था र विश्वास’ को आधिक्यताले धर्मलाई विज्ञान, कला र दर्शनबाट फरक बनाउने हो ।

धर्ममा शंका, अविश्वास, तर्कविर्तक, तथ्य वा कारणको खोज हुँदै नहुने त हैन तर त्यो धर्मको मूल प्रवृत्ति भने बन्दैन । धार्मिक चिन्तनधारा तत्कालीन राजनीति, दर्शन, वैज्ञानिक खोज र सामाजिक आन्दोलनबाट मुक्त र शुद्ध आस्था थिएनन् । धर्म पनि आ–आफ्नो समयको राजनीति, विज्ञान, दर्शन र सामाजिक आन्दोलनका उपज थिए । तर ती निरपेक्ष विश्वास र अनुकरणका कारणले प्रकारान्तले ‘धर्म’ मा परिणत भए । अझ अघि बढेर पन्थ र रूढीमा परिणत भए ।

राजनीतिक सिद्धान्तले मानव चरित्रको बहुआयमिकतालाई समेट्नु पर्दछ । अन्यथा सिद्धान्तले जीवनलाई डोर्‍याउन सक्दैन । जब सिद्धान्तले जीवनलाई मार्गदर्शन गर्न सक्दैन, त्यस्तो सिद्धान्त न सही हुन्छ न मान्न जरुरी छ ।

विज्ञानले अस्तित्वका नियमलाई पद्धतिसंगत संज्ञानमा लिने प्रयत्न गर्दछ । विज्ञान मूलतः खोज, अन्वेषण, तथ्य, प्रयोग र तकनिकीमा आधारित हुन्छ । विज्ञान धर्मझैं विश्वासमा हैन, सत्यमा आधारित हुन्छ । तर, विज्ञानले निरूपण गरेका सत्यहरू पनि अन्तिम हुँदैनन्, ती निरन्तर परिमार्जनमा हुन्छन्, गहिरा र परिष्कृत हुँदै जान्छन् । भौतिक, रसायनिक, जैविक, खगोलीय आदि विज्ञानका अनेक शाखा छन् ।जस्तै– रामायण आज ‘धर्मग्रन्थ’ हो । रामको समयको ‘राजनीति’ हो । महाभारत आज ‘धर्मग्रन्थ’ हो । कृष्णको समयको ‘राजनीति’ हो । कुरान, बाइबल, त्रिपिटक सबै यस्तै हुन् । यी सबै त्यो समयको वैचारिक तथा दार्शनिक आन्दोलनका उपज थिए । ती आज धर्मग्रन्थ भए । कुनै पुरानो चिज, ज्ञान, मान्यता, बुझाई, शैली वा जीवन पद्धतिलाई आस्था र विश्वासका आधारमा आत्मसात गरिन्छ भने त्यो धर्म बन्छ । त्यसप्रतिको कट्टरता वा रुढीले अन्धविश्वास बन्छ ।

कला भावना, संवेदना र मनोविज्ञानको क्षेत्र हो । यो अनन्त अभिव्यक्तिको क्षेत्र हो । मानवीय मनोविज्ञानलाई निश्चित शैली, मिथ, बिम्ब र प्रतिकमा चित्रण र व्यक्त गर्ने कौशल हो । कलाका अनेक विधा छन् । गीत, संगीत, साहित्य, सिनेमा, नृत्य, चित्रकारिता आदि । यी विधामार्फत् कलाले मानवीय मनोदशाको चित्रण गर्दछ । कलाको उद्देश्य मानवीय ज्ञान र संवेदनाका अनेक पक्षलाई उत्तेजित वा जागरूक गरी स्वयम् मान्छेभित्र आनन्द सृजना गर्नु हो । अभिप्रेरणा सृजना गर्नु हो । वा अरु कुनै खास प्रकारको भावावेग सिर्जना गर्नु हो ।

दर्शन धर्म, विज्ञान र कलाबाट मुक्त हुँदैन तर त्यसमा सीमित पनि हुँदैन । दर्शनशास्त्र धर्मग्रन्थझैं आस्था, विश्वास र अन्धताको विज्ञान हैन न त विज्ञानझैं प्रयोगशाला र तकनिकीको धर्मशास्त्र हो, न त कलाझैं भावुकता र शैलीको धर्म र विज्ञान हो ।

दर्शनको उद्देश्य सर्वव्याप्त ज्ञानको खोज, पहिचान, विश्लेषण र संश्लेषण गर्नु हो । धर्मको सार, विज्ञानको सत्य र कलाको सौन्दर्यलाई एकसाथ अभिव्यक्त गर्न सक्ने शास्त्रलाई दर्शनशास्त्र भनिन्छ । दर्शनशास्त्रका पनि अनेक हाँगा छन् । जस्तै– तत्वशास्त्र, ज्ञानशास्त्र, तर्कशास्त्र, नीतिशास्त्र, सौन्दर्यशास्त्र आदि ।

दर्शनशास्त्रले सबै शास्त्रका ज्ञानलाई एक साझा तर्क प्रणालीमा ल्याउने प्रयत्न गर्दछ । एक आम धारणा निर्माण गर्ने प्रयत्न गर्दछ । धर्म, विज्ञान र कला क्षेत्रका खोज र आविष्कारहरू जतिजति विकसित हुँदै जान्छन्, दर्शनशास्त्र उतिउति विकास हुँदै जान्छ । धर्मग्रन्थमा निहित अन्धता, विज्ञानमा निहित तकनिकी र कलामा निहित भावुकताको सीमा नाघेर ‘सत्यको सत्यापन’ (र्‍याटिफिकेसन अफ ट्रुथ) गर्ने शास्त्रलाई दर्शनशास्त्र भनिन्छ ।

दर्शनशास्त्रले राजनीतिक विचारधारालाई प्रभावित गर्दछ । जस्तो कि– साम्यवादको राजनीति कार्ल माक्र्सको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादबाट, संवद्र्धनवाद वा दक्षिणपन्थको राजनीति थोमस हब्सको ‘शक्तिको अविभाज्यता’ दर्शनबाट, फासीवादको राजनीति नित्सेको ‘शक्तिको चाहना सिद्धान्त’ बाट, राष्ट्रवादको राजनीति हिगेलको ‘परमसत्यको सिद्धान्त’ बाट, उदार लोकतन्त्रको राजनीति जोहन लँकको ‘अनुभव तथा उपयोगितावाद’ बाट, ग्रिन पार्टीहरूको पर्यावरणीय राजनीति ‘प्रकृतिवादी दर्शन’ बाट प्रभावित थिए/छन् ।

एक्काइसौं शताब्दीसम्म आइपुग्दा दर्शनशास्त्रको विकासक्रम कुन चरणमा पुगेको हो र त्यसले कस्तो राजनीतिक विचारधारा र अभ्यासलाई प्रेरित गर्दछ, यो आजको दर्शनशास्त्रीय बहसको केन्द्रभागमा भएको अहम् महत्वको प्रश्न हो । यसबारे कुनै निष्कर्षमा पुग्न विगत शताब्दीका दार्शनिक धाराका मान्यताको संक्षिप्त चर्चा आवश्यकता हुन्छ ।

अठारौं, उन्नाइसौं र बीसौं शताब्दीको दर्शनशास्त्रले मूलतः ‘पदार्थ’ र ‘चेतना’ को अन्तर्सम्बन्धलाई प्रस्थानबिन्दु बनाएको थियो । पदार्थ प्रथम हो कि चेतना ? जस्तो अमूर्त तर्कनाबाट निष्कर्षलाई सत्यापन गरिन्थ्यो । यो ‘चल्ला पहिलो कि अण्डा ?’ भने जस्तै कहिल्यै अन्त्य नहुने बहस थियो । भौतिकवादीहरूले ‘पदार्थ प्रथम हो’ भन्ने निष्कर्ष निकालेर चेतनसत्तालाई ‘वस्तुगत यथार्थको मनोगत अभिव्यक्ति’ मानेका थिए । चेतनावादीहरूले ‘पदार्थ चेतनसत्ताको, वस्तुजगत मनोजगतको विस्तार हो’ पहिलेदेखि नै भनेकै थिए । ‘अहं ब्रह्मास्मी, ब्रह्मसत्य, जगत मिथ्या’ जस्ता भनाइहरू हज्जारौं वर्षदेखि चलिआएकै थिए ।

आजको ज्ञानविज्ञानले पुष्टि गरेको सत्य के हो भने पदार्थ र चेतना एउटै परम अस्तित्वका दुई रूप मात्र हुन् । न पदार्थ विनाको चेतना हुन्छ, न चेतना विनाको पदार्थ हुन्छ । न पदार्थ पहिलो हो न चेतना पहिलो हो, दुवै सँगसँगै हो । पदार्थ र चेतनाका विभिन्न रूप मात्र हुन्छन्, ती एक र अर्को हुँदैनन । पदार्थ र चेतनाका मुख्य दुई रूप हुन्छन्– पिण्ड/मास (म्याटर फर्म) र ऊर्जा/इनर्जी (पावर फर्म) । संसारमा न कुनै चिजको आदि हुन्छ न अन्त्य हुन्छ । न जन्म हुन्छ, न मृत्यु हुन्छ । न सृजना हुन्छ, न ध्वंस हुन्छ । अस्तित्व ‘म्याटर’ र ‘इनर्जी’ को अनन्त चक्रमा हुन्छ ।

आदि र अन्त्य, निर्माण र ध्वंस, जन्म र मृत्यु एउटै अस्तित्वका रूपान्तरण मात्र हुन् । यसको अर्थ यी प्रवर्गको अस्तित्व नै नहुने हैन । जस्तो मान्छे जन्मिन्छ, मान्छे बाँच्छ, बढ्छ र अनेक कर्म गर्दछ । मान्छे मर्छ, त्यो कसरी सत्य हैन ? त्यो सत्य हो, तर स्थूल सत्य हो, सुक्ष्म सत्य हैन, सांसारिक सत्य हो, परमार्थिक सत्य हैन । स्थूल तहमा विगत शताब्दीका आधुनिक दर्शनहरू ठीक थिए तर सुक्ष्म तहसम्म ती विरलै पुगेका थिए । अठारौं, उन्नाइसौं र बीसौं शताब्दीका आधुनिक र वैज्ञानिक भनिएका दर्शनभन्दा त बरु प्राचीन पूर्वीया दर्शन बढी सही थिए ।

जन्मिँदा मान्छे पञ्च तत्वले बनेको थियो, बाँच्दा पञ्तत्वकै सन्तुलनले बाँच्छ । मर्दा पञ्चतत्व मै लीन हुन्छ । जन्मिँदा ‘इनर्जी फर्म’ मा आएको थियो, जैविक रूपमा आएको थियो, मर्दा पुनश्चः ‘म्याटर’ फर्ममा फर्किन्छ । जैविक गुणको अन्त्य हुन्छ तर भौतिक र रसायनिक गुणको अन्त्य हुँदैन ।

क्वान्टम विज्ञानले यसलाई कण (पार्टिकल) र तरङ्ग (वेभ) द्वैधता भन्दछ । कण र तरङ्ग अस्तित्वको सुक्ष्मतामा एकै हुन्छन् । यसको दार्शनिक अर्थ हो कि पदार्थ र चेतना अस्तित्वको सुक्ष्मतामा एकै हुन्, ती प्रथम र द्वितीय हैनन् । तसर्थ वस्तुजगतले मनोजगत निर्माण गर्दछ भन्ने भौतिकवादी वा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टि आफैंमा गलत हो । वस्तुजगत र मनोजगत प्रथम र द्वितिय तत्वको सम्बन्धमा हैन, सँगसँगै हुने गुणको सम्बन्धमा बाँधिएका हुन्छन् । वस्तुजगत भन्नु नै मनोजगत पनि हो । मनोजगत भन्नु नै वस्तुजगत पनि हो । स्थूल तहमा यी फरक देखिन्छन् तर सुक्ष्म तहमा यी एकै हुन्छन् ।

युगौंयुगदेखि मान्छेमा निरन्तर अध्यात्मिक भावना देखापर्नु अज्ञानता, मुर्खता वा रुढीवाद मात्र हैन, अध्यात्मको औैचित्य पुष्टि हुनु हो । ईश्वरको मायाले मानिसले ईश्वर मानेको हैन । भगवान हुँदैन भन्ने मान्छेलाई थाहा छ तर पनि मान्छे ‘हे भगवान’ भन्न छोड्दैन

दोस्रो कुरा– विकासको कुनै एकल रेखीय (लिनियर) वा सर्पिल (स्पाइरल) नियम हुँदैन । गति एक गैरएकल रेखीय (ननलिनियर) र बहुआयामिक (मल्टि डाइनेन्सनल) अस्तित्व हो । जस्तो– कुनै भकुन्डोलाई जति जोडले भुईमा बजार्‍यो, त्यति नै जोडले माथितिर जान्छ भन्ने कुरा एक सरलीकृत एकलरेखीय अपेक्षा हो । सम्भावनाको एक आयाम हो । त्यसका अरू पनि आयाम छन् ।

जस्तो– भकुन्डोमा हावा कति छ ? हावा कम छ भने धेरै बल लगाउँदा पनि थोरै उफ्रिन्छ । हावा नै छैन भने जति बल लगाए पनि उफ्रिँदैन । सतह कस्तो छ ? सतहमा काँटी छ भने भकुन्डोको हावा त्यहीँ खुस्किन्छ, माथि जाँदैन । सतहमा बालुवा वा अरु कुनै नरम चिजको थुप्रो छ भन्ने भकुन्डो अपेक्षित हिसाबले उफ्रिँदैन, थोरै उफ्रिन्छ । यी सबै गैरएकलरेखीय र बहुआयामिक सम्भावनाका उदारहण हुन् ।

तेस्रो कुरा– संसारिक सम्बन्धका पनि बहुआयामकिता हुन्छन् । संसार आधार (बेस) र अधिरचना (सुपर स्ट्रक्चर) को सरलीकृत र एकल नियममा बनेको हुँदैन । तसर्थ, कुनै पनि सामाजिक तथा राजनीतिक प्रवर्गहरू ‘आधार–अधिरचना सम्बन्ध’ का कारण र परिणाम हैनन्, ती अनेक फरक र अन्तरसम्बन्धित प्रवर्गका योग हुन् । संसार यथार्थमा ‘वृत्तीय–व्यतिकरण’ (इन्टरफेरेन्स सर्कल) हुन्छ ।

चौथो कुरा– गति र विकासको परिणाममा निश्चितता र अनिश्चितताको सार्वभौम सम्बन्ध क्रियाशील हुन्छ । जस्तो– नाँच्ने मान्छेले जिउ हल्लाउँछ भन्ने निश्चित हो । तर, हजारौं मान्छेलाई एउटै संगतिमा एकैपटक नचाउने हो भने पनि उनीहरू सबै एकै तरिकाले नाँचिरहेका हुन्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन ।

कैयौंका तरिका मिल्न सक्दछ । कैयौैंले फरकफरक तरिकाले शरीर हल्लाइरहेका हुन सक्दछन् । कसले के पहिला हल्लाउँछ, हात कि खुट््टा ? दाँया हात कि बाँया हात ? कम्मर कि टाउको ? यी अनिश्चित कुरा हुन् । अनिश्चितता सिद्धान्तको अर्थ योजनालाई पूर्वनिर्धारित परिणाममा हैन, निरन्तर गति, परिमार्जन र सुधारमा बुझ्नु पर्दछ भन्ने हो ।

पाँचौ कुरा– संसारको कुनै पनि अस्तित्व, परिघटना र विचार निषेध (नेगेसन) मा हुँदैन । निषेधको निषेध आफैंमा एक भ्रामक बुझाई हो । अस्तित्व, परिघटना र विचार छिटोछिटो दोहोरिने (फ्रिक्वेन्टी अकुरेन्स) र बिरलै दोहोरिने (रियर्ली अकुरेन्स) मा हुने हो, नेगेसन भएको ग्यारेन्टी कुनै पनि कुराको हुँदैन । बरु विकास र गतिको वास्तविक नियम गतिशील सन्तुलन (डाइनामिक ब्यालेन्स) हो ।

जस्तो कि– कुनै दुर्घटना भयो, अबदेखि दुर्घटना रोक्ने भनियो, योजना र कार्यक्रम बन्यो । तर के अब दुर्घटना फेरि हुँदैन भन्ने ग्यारेन्टी गर्न सकिन्छ त ? दुर्घटना रोक्ने योजनाले यसलाई सधैंलाई निषेध गर्न सक्दछ त ? बिल्कुल सक्दैन । किनकी दुर्घटना आफैंमा एक भौतिक अस्तित्व हो र त्यसको सम्भावना कहिल्यै अन्त्य वा निषेध हुँदैन । कुरा कति मात्र हो भने दुर्घटना रोक्ने योजना र कार्यले बारम्बार वा छिटोछिटो दोहोरिने घटनालाई विरलै दोहोरिने वा कम हुने मात्र बनाउँछ ।

अर्को एक उदाहरण हेरौं– आधुनिक विश्व पुँजीवादमा धार्मिक कट्टरतावाद नफर्किनु पर्ने हो तर अफगानिस्तानमा तालिबान फर्कियो । करिब दुई दशक साम्यवादी र थप दुई दशक उपनिवेशवादी सत्ता चलिसक्दा पनि धार्मिक कट्टरतावादको राजनीति निषेध भएको रहेछ त ? त्यो फर्कियो । किनकी त्यो निषेध भएको थिएन, ‘रेयर्ली अकुरेन्स’ मा गएको मात्र थियो ।

उपरोक्त नियमलाई जब हामी मानव जगतसँग जोडेर हेर्छौं– मान्छे सामान्य चेतनरूप वा अन्य प्राणी रूपभन्दा किन फरक छ भनेर बुझ्न आवश्यक हुन्छ । दर्शनलाई राजनीतिक विचारधारासँग जोड्दा पदार्थ र ऊर्जाको मानवीय रूप (ह्युमन फर्म अफ म्याटर एण्ड इनर्जी) पहिला बुझ्नु पर्दछ । किनकी राजनीति अस्तित्वको मानव रूपमा मात्र हुने प्रक्रिया हो । मान्छे अस्तित्वको एक ऊर्जा रूप, जैविक रूप हो भने यसका यथार्थ के हुन् ? यो बुझ्न जरुरी हुन्छ । साथै यो भुल्नु हुँदैन कि ‘मान्छे’ का मौलिक पक्ष स्थूल हुन्, सुक्ष्म तहमा त्यो पदार्थ र चेतनाको समष्टि नै हो ।

जस्तो– कुनै एउटा मान्छे गरिब छ । यहाँ गरिबी एक समान अवस्था हो । स्थूल वा सांसारिक सत्य हो । तर, गरिबीले व्यक्तिमा ल्याउने सोच समान हुँदैन । कसैले गरिबीलाई एक सामान्य अवस्थाको रूपमा स्वीकार गर्न र सधैं गरिब नै रहन सक्दछ । गरिबीको पीडामा कसैले चोरी, डकैती, गुण्डागर्दी जस्ता अपराधको बाटा अपनाउन सक्दछ । कसैले इख लिएर पढ्न शिक्षा र ज्ञान लिन सक्दछ, ठूलो विद्वान कहलिन सक्दछ । कसैले आफूलाई उद्यमशीलतातिर प्रवृत गर्न र जीवनकालमै धनी हुन सक्दछ । कसैले त्यो ठाउँ नै छोडेर कुनै नयाँ संसारमा पुग्दै नयाँ पेशा र भविष्य खोज्न सक्दछ । कसैले क्रान्तिकारी बाटो रोज्न र राजनीतिक परिवर्तनमा योगदान गर्न सक्दछ ।

गरिब मान्छेले के गर्छ ? यसको कुनै एक उत्तर हुँदैन । जस्तो कि भुईमा बजारेको भकुन्डो के हुन्छ ? त्यसको कुनै एक उत्तर हुन सक्दैन । त्यस्तै गरिब मान्छेले के गर्दछ, त्यसको पनि कुनै एक उत्तर हुन सक्दैन । अर्थात् मान्छेको नियति समग्रमा अस्तित्वकै नियति हो । यहाँ भकुन्डो भौतिक पदार्थ हो र मान्छे प्राणी चेतना तर अस्तित्वको रूपमा दुवैको नियति एउटै हो ।

तसर्थ राजनीतिक विचारधाराको पहिलो धर्म हो– त्यसले अस्तित्वको मानव रूप (ह्युमन फर्म अफ एक्जिस्टेन्स) लाई बुझ्न पर्दछ । मान्छे आम वा सरलीकृत चेतनस्तरभन्दा कसरी फरक छ ? अन्य प्राणी जगतभन्दा किन र कसरी फरक छ ? तर परमार्थिक सत्य किन समान छ भन्ने बुझ्न सक्नु पर्दछ ।

पहिलो कुरा– अरु प्राणीका आवश्यकता सीमित छन् । तिनमा ‘चाहना’, ‘रुचि’ र ‘अभिप्रेरणाको तह’ हुँदैन ‘आवश्यकता’ मात्र हुन्छन् । पशु प्रकृतिले दिएको स्वभाव, बानीव्यहोरा, आहारविहार फेर्ने इच्छा गर्दैन । इच्छा गरेर पनि सक्दैन । बाख्रो घाँसमै सन्तुष्ट छ । प्रकृतिले त्यही खाना बनाइदियोे उसलाई, त्यही खान्छ, बाँच्छ । बाघ मांशाहारी छ । त्यो स्वभाव प्रकृतिजन्य छ । बाघलाई प्रकृतिले त्यस्तै बनाएको छ । बाघ त्यसैमा सन्तुष्ट छ ।

तर मान्छेका आवश्यकता, चाहना, रुचि र अभिप्रेरणाको कुनै सीमा छैन । कुनै प्राप्तिबाट मान्छे सन्तुष्ट हुँदैन । मान्छे निरन्तर असन्तुष्ट प्राणी हो । कुनै आवश्कयता पूरा भयो, मान्छे अझ राम्रो, अझ धेरैको खोजीमा लाग्छ । भोकको आवश्यकता मेटियो, मान्छे आवासको खोजमा लाग्छ । आवास पूरा भो, अरु भौतिक सुख सुविधातिर लाग्छ । कति प्राप्ति र सफलतापछि सन्तुष्ट हुने ? मान्छेको सन्तुष्टिको कुनै स्तर हुँदैन । कुनै मापन हुँदैन ।

मान्छे पशुझैं कुनै स्वभावमा पनि बस्दैन । मान्छे बाघझैं मांशाहारी पनि हुन सक्दछ । बाख्रोझैं शाकाहारी पनि हुन सक्दछ ।

मान्छेका लागि कुनै कुरा अन्तिम हुँदैन । कुनै दर्शन अन्तिम दर्शन हुँदैन । कुनै विचार अन्तिम विचार हुँदैन । कुनै प्रणाली अन्तिम प्रणाली हुँदैन । कुनै आविष्कार अन्तिम आविष्कार हुँदैन । कुनै योजना अन्तिम योजना हुँदैन । कुनै निर्माण अन्तिम निर्माण हुँदैन । कुनै सृजना अन्तिम सृजना हुँदैन ।

दोस्रो– मान्छेको भाषिक क्षमता वा ‘शब्दको महाविस्फोट’ हो । अरु प्राणीको पनि आफ्नै प्रकारको भाषा र संकेत हुन्छ । तर मान्छेको भाषिक क्षमता असीमित छ । मान्छेसँग हजारौं भाषा छन् । प्रत्येक भाषामा लाखौं शब्द छन् । प्रत्येक शब्दको फरक ध्वनि छ । आफ्नो अर्थ छ । मान्छेमा शब्द, ध्वनि र संकेतको तालमेल छ । भाषा मान्छेको ताकतको महास्रोत हो ।

भाषामार्फत् मान्छे सूचना आदानप्रदान गर्छ । भावना अभिव्यक्त गर्छ । साहित्य सृजना गर्छ । अभिलेख स्थापित गर्दछ । शैक्षिक प्रणाली सञ्चालन गर्दछ । ज्ञानविज्ञानको सञ्चयन गर्दछ । एउटा युगको मान्छेको अनुभव र ज्ञान अर्को युगका मान्छेका लागि सुरक्षित रहन्छ । मान्छेका अनुभव र ज्ञान मान्छेको जीवनसँगै समाप्त हुँदैन । ती अर्को युग र पुस्ताका मान्छेका लागि भाषा, साहित्य, अभिलेख र शिक्षा प्रणालीमार्फत् सञ्चित हुन्छन् । नयाँ पुस्तामा सर्दै जान्छन् । ज्ञान हस्तान्तरण हुन्छ । प्रकृतिले यो सुविधा अरु प्राणीलाई दिएको छैन ।

तेस्रो– मानिस प्रकृतिवत् मात्र छैन, सामाजिक छ । सामाजिक तहमा मान्छेलाई आवरण र मर्यादा चाहिन्छ । पशु जगत प्रकृतिवत् रहन्छ । पशुले नग्नता बोध गर्दैन । मानिसलाई शरीरमा कपडा चाहिन्छ, नत्र लजाउँछ । मर्यादाहीनताको अनुभूति गर्छ । कपडाले शरीर ढाकेजस्तै मान्छेका कैयौं कर्महरू आवरणभित्र हुन्छन् । तसर्थ, मानिसलाई ‘गोपनीयताको अधिकार’ चाहिन्छ । पशु खुलेआम दिसापिसाब र यौनकर्म गर्न सक्छ । मानिस सक्दैन । आवरण निर्माण र मर्यादा रक्षाका लागि मान्छेले अनेक थप कर्म गर्नु पर्दछ ।

चौथो– मान्छेको फरक यौनाचरण छ । मानिसको यौनस्वभाव र पशुजगतको यौनस्वभाव मिल्दैन । पशुलाई यौनको स्वतन्त्रता छ तर छनौटको आधिकार छैन । पशुको यौनिकता प्रकृतिद्वारा सीमाबद्ध छ । पशुले यौनउत्सवको आयोजन वा वियोजन गर्दैन । प्राकृतिक रूपमा जति यौनरञ्जनको अवसर प्राप्त हुन्छ, त्यतिमै यौनाचरणलाई सीमित गर्दछ । पशुजगतमा यौन हिंसा, बलात्कार वा ‘फेमडम’ हुँदैन । साँढे बलियो छ तर गाई बलात्कार गर्दैन । लुरे केटाले बलियी महिलामाथि बलात्कारको प्रयास गर्न सक्दछ । यसको अर्थ साँढे ज्ञानी, बलात्कारी पुरुष अज्ञानी, साँढे नैतिकवान, बलात्कारी पुरुष अनैतिक भन्ने हैन ।

स्त्रीपशुले ऋतुआमन्त्रण नगरिकन पुरुष पशुको यौनभावनाले काम गर्न सक्दैन । मान्छेले यौन ज्ञान र आत्मशक्तिको आधारमा फरकफरक यौनाचरण गर्दछ । मान्छे यौन भावनाको दमन गर्न सक्दछ । ब्रह्मचारी वा सन्यासी हुनसक्छ । मान्छे यौनभावनाको सन्तुलन गर्न सक्दछ । पतीपत्नी, प्रेमीप्रेमिका हुन सक्दछ । मान्छे यौनाचरणको अतिशयोक्तिकरण गर्न सक्दछ । दुराचारी, बलात्कारी वा फेमडमी बन्न सक्छ । मान्छेले एकनिष्ठ यौनजीवनको अभ्यास वा बहुगामिता दुवै गर्न सक्दछ । यौनाचरणका लागि मान्छेसँग अनेक विकल्प छन्, छनौट गर्न । मान्छे आफंैले छनौट गरेको विकल्पले उसको यौनाचरण निर्धारण गर्दछ ।

पाँचौ– पशुजगतमा अध्यात्म हुँदैन, मान्छेसँग हुन्छ । मान्छे धर्माचरण र आध्यात्मिक अभ्यासबाट न कहिल्यै मुक्त थियो, न छ, न हुनेछ । मान्छे मन्दिर, मस्जिद, चर्च, गुम्बा, गुरुद्वार बनाउँछ । पशुले बनाउँदैन । आफूलाई भौतिकवादी, अध्यात्मिक वा नास्तिक भन्न रुचाउने मान्छे नहुने हैनन् । तर भन्नु एउटा कुरा हो, हुनु अर्कै कुरा हो । अध्यात्म धार्मिक कर्मकाण्ड वा सम्प्रदाय मात्र हैन । ईश्वर मान्नु वा नमान्नुले पनि मानव जीवनमा अध्यात्मको स्थान फरक पर्दैन ।

ईश्वरवादीले ‘आत्म’ र ‘परमात्मा’ भन्नु र भौतिकवादीहरूले ‘नश्वर व्यक्ति’ र ‘सृष्टिको सर्वोपरिता’ को सम्बन्ध स्वीकार गर्नु दुवै अध्यात्म हो । अध्यात्म भनेको यथार्थमा प्रकृतिको परमसत्ताप्रति मान्छेको व्यक्तिसत्ताको स्वीकारोक्ति हो । मान्छे प्रकृतिमा लीन हुन्छ, आत्म परमात्मामा लीन हुन्छ । चेतना पदार्थमा लीन हुन्छ, पदार्थ ऊर्जामा लीन हुुन्छ, ऊर्जा चैतन्यमा लीन हुन्छ । यी सबै अभिव्यक्ति फरक प्रकारले अध्यात्मको अनुभूति र अभिव्यक्ति हो ।

युगौंयुगदेखि मान्छेमा निरन्तर अध्यात्मिक भावना देखापर्नु अज्ञानता, मुर्खता वा रुढीवाद मात्र हैन, अध्यात्मको औैचित्य पुष्टि हुनु हो । ईश्वरको मायाले मानिसले ईश्वर मानेको हैन । ईश्वरको अस्तित्व पुष्टि भएर मानिसले ईश्वर मानेको हैन । भगवान हुँदैन भन्ने मान्छेलाई थाहा छ तर पनि मान्छे ‘हे भगवान’ भन्न छोड्दैन ।

यसको अर्थ– ईश्वर मान्छेको आवश्यकता हैन, अध्यात्म मान्छेको आवश्यकता हो । ईश्वरको अवधारणामार्फत् मान्छे आफ्नो अध्यात्मिक आवश्यकता पूरा गर्दछ । मान्छे ईश्वरका अनेक प्रतिमान आफैं स्थापित गर्दछ । आफैं पूजा गर्दछ । आफैं डराउँछ, आफैंले स्थापना गरेको ढुङ्गोसँग आफैं वरदान माग्छ । ईश्वर न सत्य हो, न छ, न कहिल्यै पुष्टि हुनेछ तर आफ्नो अध्यात्मिक औचित्यका लागि मान्छेले अनेक रूपमा ईश्वरको प्रतिमान खडा गर्न कहिल्यै छोड्दैन । किनकी अध्यात्म मान्छेको एक प्राकृतिक चरित्र हो ।

छैटौं– ज्ञान/विज्ञान र शिक्षा प्रणाली अर्को विषय हो । मानिसले निरन्तर ज्ञान र विज्ञानको निर्माण गर्दछ । अध्ययन र प्रयोग गर्दछ । शास्त्रको रचना र आविष्कार गर्दछ । मानिसले आफ्ना ज्ञान, विज्ञान, सीप र क्षमता नयाँ पुस्तामा सार्दै जान्छ । मानव जगतमा ज्ञानको सञ्चिती हुन्छ । तर पशुजगतले त्यसो गर्दैन । मानिसको ज्ञान, सीप र धन सञ्चितीकरण हुन्छ । पशुको ज्ञान, सीप र धन सञ्चितीकरण हुँदैन । पशुजगत सामान्य प्राकृतिक अवस्थामा आफ्नो आहारा र आवासको व्यवस्था गर्दछ । मान्छे ज्ञान, विज्ञान र प्रविधिको आविष्कार, संकलन, सङ्ग्रहण, प्रसारण र हस्तान्तरण गर्ने क्षमता राख्दछ ।

सातौं– स्वध्वंशको क्षमता । मानिसबाहेक संसारको अरु कुनै पनि प्राणीले स्वध्वंश गर्दैन । पशुले कहिल्यै आफ्नै जातको अर्को पशुको हत्या गर्दैन । ‘ठूलो माछाले सानो माछा खान्छ’ जस्ता अपवादबाहेक बाख्राले बाख्रा खाँदैन । बाघले बाघ, हात्तीले हात्ती मार्दैन । पशु स्वजातीय हत्या, अपराध, दण्ड र सजाय गर्दैन । मान्छे युद्ध गर्छ, हत्या गर्छ, अपराध गर्छ । मान्छेले मान्छे मार्छ । त्यसैलाई गौरवगाथा बनाउँछ । वीरता र पराक्रमको बिषय बनाउँछ ।

मानिसले हत्या मात्र हैन, आत्महत्या पनि गर्छ । हत्या वा आत्महत्या, स्वजाति र स्वअस्तित्वको ध्वंश हो । परिवार नियोजन र भ्रुणहत्याको क्षमता मान्छे बाहेक अरु प्राणीसँग हुँदैन । परिवार नियोजन पनि एक प्रकारको हत्या नै हो, जसलाई मानव समाजले बैध बनाएको छ । गर्भपतन एक किसिमको हत्या नै हो, जो आधुनिक महिलाअधिकारको मुद्दा भएको छ । नीति, नैतिकता, संविधान, कानून, धर्म, अधर्म मान्छेका लागि ‘सत्य’ नभएर ‘धारणा’ हुन् । गर्भपतन कुनै समय अनैतिक र गैरकानूनी मानिन्थ्यो । आज मानिन्न ।

आठौं– स्वनिर्माणको क्षमता । यो स्वध्वंशको विपरित अवस्था हो । मानिसले स्वध्वंश गरेजस्तै स्वनिर्माण पनि गर्छ । सामाजिक चेतनाले व्यक्तिगत चेतनाको निर्माण मात्र गर्दैन, बरु व्यक्तिगत चेतनाले सामाजिक चेतनाको विनिर्माण समेत गर्दछ । मानिस आफैं आफ्नो भाग्यनिर्माता हो । कुनै देश अविकसित छ भने स्वयं त्यो देशका मान्छेको कारण अविकसित छ । कुनै देश विकसित छ भने त्यही देशका मान्छेको कारण विकसित छ । खराब संगतका बीचमा पनि खराब चिज फेरौं भन्ने मान्छे जन्मिन सक्छ । असल वातावरणमा राम्रा चिज बिगारौं भन्ने मान्छे भेटिन सक्छ । मान्छेसँग नराम्रोमा राम्रो हुने र राम्रोमा नराम्रो हुने क्षमता हुन्छ ।

नवौं– मान्छेको सफलता वा असफलतामा निश्चितता र अनिश्चिततासँगै संयोगिकताको प्रभाव छ । संयोग अरु प्राणीको जीवनमा पनि हुन्छ । तर मान्छेको जीवनमा जस्तो चर्को हुँदैन । मानौं कि एकसाथ १० हात्तीहरू भिरालो बाटोबाट हिंड्दैछन् । अरु हात्ती कटे । अन्तिम एक हात्तीको पालोमा भीर खस्यो र पहिरोले पुरियो । अन्तिम हात्तीको जीवन गयो । यहाँ त्यो अन्तिम हात्ती वा पहिरोलाई दोष दिन मिल्दैन । यो संयोगिक हो । यो घटनाबाट अरु सबै हात्ती नैतिकवान, इमान्दार र असल थिए, तसर्थ बाँचे, अन्तिम हात्ती बदमास थियो, तसर्थ मृत्युदण्ड पायो भन्ने अर्थ निस्कन्न ।

मानव जीवनमा राम्रा कर्म सफल र नराम्रा कर्म असफल हुन्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन । नियमकानून मानेर चल्ने व्यापारीभन्दा कालोबजारी गर्ने व्यापारी छिटो धनी हुन सक्छ । नैतिकवानले भन्दा हराम राजनीतिज्ञले चुनाव जित्न सक्छ । मान्छेको जीवनमा धन, यौन, प्रेम, विवाह, सन्तान, पद, प्रतिष्ठा, यात्रा, उन्नति, ज्ञान र आत्मिक उन्नयनको कुनै बनिबनाउ बाटो हुँदैन । असल कर्म असल प्रतिफलमा परिणत हुन पनि सक्दछ, नहुन पनि सक्दछ । असल र राम्रा मान्छेहरूको प्राप्ति झनै खराब, गलत र नराम्रा मान्छेहरूको प्राप्ति झनै राम्रो हुन सक्दछ । अर्थात् मान्छेको जीवनमा ‘अनिश्चितताको सिद्धान्त’ महत्वपूर्ण रूपमा क्रियाशील छ ।

मानव जीवन एक अविछिन्न ‘डाइलेक्टिक’, एक बहुआयामिक ‘कन्ट्राडिक्सन’ हो । सिद्धान्त निर्माणको प्रश्न मान्छेका यिनै विशिष्टता, मौलिकता, विपरितता र अन्तर्विरोधलाई नियमबद्ध गर्नु हो । राजनीतिक सिद्धान्तले मानव चरित्रको बहुआयमिकतालाई समेट्नु पर्दछ । अन्यथा सिद्धान्तले जीवनलाई डोर्‍याउन सक्दैन । जब सिद्धान्तले जीवनलाई मार्गदर्शन गर्न सक्दैन, त्यस्तो सिद्धान्त न सही हुन्छ न मान्न जरुरी छ ।

अन्ततः प्रश्न उठ्छ– एक्काइशौं शताब्दीमा दर्शनशास्त्रको सार के हो ? राजनीतिक विचारधारामा त्यसको प्रभाव कस्तो हुनु पर्दछ ? सामान्यतः मानव जीवन मुख्य ७ तत्वको वृत्तीय–व्यतिकरण (इन्टरफेरेन्स सर्कल) हो । अहं, यौन–प्रेम, पहिचान, शक्ति, प्रज्ञान, धन र खुशी ।

अहं– यो व्यक्तिसत्ताको सार हो । हरेक व्यक्ति आफैंमा स्वतन्त्र र सार्वभौम हुन्छ । वैयक्तिक स्वतन्त्रता र सार्वभौमसत्ताको जगमा कैयौं राजनीतिक सिद्धान्तको जन्म हुन्छन्, जसलाई ‘राजनीतिक लोकतन्त्र’ भनिन्छ । व्यक्तिसँग व्यक्तिगत मनस्थिति, छनौटको अधिकार, घृणा, प्रतिशोध, संघर्ष, लघुता, उच्चता र रचनात्मकताको आयाम हुन्छ । अर्थात् ‘अहं’ व्यक्ति सत्ताको आयाम हो ।

‘यौन’– प्रेम, विवाह र परिवारसम्बन्धको केन्द्र हो । वैयक्तिक प्रेम तथा यौन अधिकार, विवाह, पारपाचुके र पुनर्विवाह, परिवारभित्रको लोकतन्त्र र परिवार संरचना, यौनिक प्रवृत्ति र जनसंख्या आकार, सम्पत्तिको अधिकार वा महिला–पुरुष बीचको अंशबण्डा र वंशपरम्परा, अन्तरजातीय विवाह र सामुदायिक अन्तर्घुलन, परिवार नियोजन, गर्भरक्षा वा गर्भपतनको अधिकार, कुमारी आमा, समलैङ्गिकता, वेश्यावृति वा यौनकर्मीका कानूनी सुविधा र व्यवधान, लिभिङ्ग टुगेदर, एडल्ट फिल्म र पोर्नोग्राफीको वैधता वा अवैधता आदि सवाल यौनिक एजेण्डा हुन् । यो परिवार सत्ताको आयाम हो ।

मानव जीवनको कुनै एउटा केन्द्र छैन । जीवन ‘बहुकेन्द्र’ ले बनेको छ । हरेक केन्द्रको आ–आफ्नै परिधी छ । जीवन यिनै केन्द्र र केन्द्रका परिधीहरूको गतिशील सन्तुलन हो । जीवन ‘सप्ततत्व’ को समग्रता हो । सर्वाङ्गिकता हो ।

‘पहिचान’– जाति, भाषा, धर्म, संस्कृति, इतिहास, भेषभुषा, मूल्यमान्यता, सामुदायिक मनोविज्ञानको आयाम हो पहिचान । अर्थात् यो समुदाय सत्ताको आयाम हो । यसले ‘सामाजिक–सांस्कृतिक लोकतन्त्र’ को आयाम सृजना र माग गर्दछ ।

‘शक्ति’– राज्य, राजनीति, राजीतिक प्रणाली, राजनीतिक सम्बन्ध र संघर्षको आयाम हो यो । साथै समाजमा विद्यमान विभिन्न सामाजिक संगठनमा व्यक्तिको भूमिकाको आयाम हो । अर्थात् शक्ति राजनीति तथा सामाजिक सत्ताको आयाम हो । संगठन सत्ताको आयाम हो । राष्ट्रिय तथा राज्यसत्ताको आयाम हो । शक्तिको चाहना विनाको मानिस हुँदैन । तर, त्यसका सीमा हुन्छन् । व्यक्तिसत्ता, परिवारसत्ता र समुदाय सत्तालाई मान्छेले राष्ट्रियसत्ताको आवश्यकतासँग जोड्दछ ।

‘प्रज्ञान’– ज्ञान, शिक्षा, रचनात्मक क्रियाशीलता र बौद्धिककर्मसँग जोडिएको केन्द्र हो । यो बौद्धिक सत्ताको आयाम हो । बौद्धिकसत्ताले अन्तर्राष्ट्रिय सत्ताको काम गर्दछ । प्रज्ञानको तहमा मान्छे वैश्विक हुन्छ, त्यसको कुनै देश वा राष्ट्र हुँदैन । सबै मान्छेमा कुनै न कुनै रूपमा भूमण्डलीकरणको चाहना हुन्छ । संसार हेर्ने, घुम्ने, बुझ्ने, नयाँ, राम्रा र अवसर भएका ठाउँमा जाने चाहना हुन्छ । राजनीतिक तथा कानूनी तहबाट वैश्विक मान्यता सम्भव नभए पनि बौद्धिक तहबाट अन्तर्राष्ट्रिय सत्तासँग निकटता र दूरीको अनुभूति गर्दछ ।

‘अर्थ’– उत्पादन, उत्पादन सम्बन्ध र बृहत्तर अर्थशास्त्रको केन्द्र्र बन्छ । वर्ग, वर्गसंचरना र वर्गसंघर्षजस्ता प्रश्न यसैमा जोडिएर आउँछन् । आर्थिक विकास, उत्पादन वृद्धि, समतामुलक समृद्धि र समन्यायिक वितरण आदि ‘अर्थ’ केन्द्रका एजेण्डा हुन् । यो आर्थिक सत्ताको आयाम हो । राजनीतिमा यसले ‘आर्थिक लोकतन्त्र’ माग गर्दछ ।

‘खुशी’– यसले व्यक्ति र सृष्टि, आत्मा र प्रकृतिबीचको सम्बन्धको क्षेत्र ओगट्दछ । अर्थात् यो सृष्टि सत्ता/अस्तित्व सत्ताको आयाम हो । अध्यात्मको वास्तविक अर्थ यही हो । अध्यात्मको सही अर्थ पहिल्याउन नसक्दा मानिसले ईश्वरलाई त्यसको प्रतिक बनाउँछ, अन्धता र रुढीवादमा फस्छ । तर, यसको सार प्रकृतिको सर्वोच्चतासँग व्यक्तिलाई तादाम्य गराउनु हो । राजनीतिमा यसले ‘पर्यावरणीय लोकतन्त्र’ को माग गर्दछ ।

अहं, शक्ति र प्रज्ञान– राजनीतिक लोकतन्त्रका विषय हुन् । पहिचान– सामाजिक/सांस्कृतिक लोकतन्त्रको विषय हो । यौन–प्रेम र खुशी– पर्यावरणीय लोकतन्त्रका विषय हुन् । अर्थ– आर्थिक लोकतन्त्रको बिषय हो । यही दार्शनिक निष्कर्षले लोकतन्त्रलाई ‘चार आयामिक’ बनाउँछ । जहाँ लोकतन्त्रका यी चारवटै आयाम एकसाथ क्रियाशील हुन्छन्, त्यस्तो समाजमा गतिशील सन्तुलन हुन्छ । त्यस्तो समाजले सर्वाङ्गिक विकास गर्दछ ।

राजनीतिक लोकतन्त्रका दृष्टिकोणबाट राजनीति ‘उदार लोकतान्त्रिक’ हुनु पर्दछ । आर्थिक लोकतन्त्रका दृष्टिकोणबाट राजनीति ‘समतामूलक र समन्यायिक’ हुनु पर्दछ । सामाजिक/सांस्कृतिक लोकतन्त्रको दृष्टिकोणबाट राजनीति ‘सहभागितामुलक, संघात्मक र समावेशी’ हुनु पर्दछ । पर्यावरणीय लोकतन्त्रका दृष्टिकोणबाट राजनीति ‘नैतिक, सदाचारी र प्रकृतिमैत्री’ हुनु पर्दछ ।

अस्तित्वको मानव रूपमा सृष्टिसत्ताको सार, ‘अहं’, ‘यौन’, ‘शक्ति’, ‘पहिचान’, ‘प्रज्ञान’ ‘अर्थ’ र ‘खुशी’ यी मुख्य ७ तत्वको ‘वृतीय–व्यतिकरण’ हो । यी मध्ये कुनै प्रमुख छैनन्, कुनै गौण छैनन् । कुनै आधार हैनन्, कुनै अधिरचना हैनन् । यी सबैको आ–आफ्नो केन्द्र छ । आआफ्नो गुरूत्व र महत्व छ ।

अर्थात् मानव जीवनको कुनै एउटा केन्द्र छैन । जीवन ‘बहुकेन्द्र’ ले बनेको छ । हरेक केन्द्रको आ–आफ्नै परिधी छ । जीवन यिनै केन्द्र र केन्द्रका परिधीहरूको गतिशील सन्तुलन हो । जीवन ‘सप्ततत्व’ को समग्रता हो । सर्वाङ्गिकता हो । राजनीतिक विचारधाराको लक्ष्य मानव जीवनका यी सातवटै पक्षको समुचित सम्बोधन तथा वैज्ञानिक व्यवस्थापन गर्नु हो ।

यो विश्लेषण पद्धतिमा तीनवटा मुख्य चरित्रसँगै आउँछन् । एक– सर्वाङ्गिकता, दुई– वैज्ञानिकता, तीन– मानवता । सर्वाङ्गिकताको अर्थ हो– एकाङ्की नहुनु । जस्तो कि पुँजीवादले व्यक्तिवादलाई जोड दियो, एकाङ्की भयो । साम्यवादले ‘धन र वर्ग’ लाई जोड दियो, एकाङ्की भयो । फासीवादले अनुवंशिक सर्वोच्चतामा जोड दियो, एकाङ्की भयो । यस्तो गर्नु हुँदैन ।

वैज्ञानिकताको अर्थ हो– ज्ञान विज्ञानले पुष्टि गरेका सत्य स्वीकार गर्नु । रुढी र अन्धतामा नजानु । सत्यप्रति कुनै पूर्वाग्रह नराख्नु । सत्य स्वीकार गर्नु र सधंै सत्यको खोज गर्नु । रुढी र अन्धतामा जाने बित्तिकै त्यो धर्म बन्छ, दर्शन हैन ।

मानवतावादको अर्थ हो कि मान्छेलाई पदार्थवादी विश्वदृष्टि र यान्त्रिक भौतिकवादी दर्शनको पूर्वाग्रहबाट नहेर्नु । मान्छे जे हो, त्यही प्राकृतिक रूप, जैविक रूपबाट मान्छेलाई बुझ्नु र मान्छेसँग सोही अनुरूपको व्यवहार गर्नु । माथि उल्लेखित मान्छेका ९ विशेषताबाट मान्छेलाई बुझ्नु, राजनीतिक सिद्धान्तमा आउँदा राज्यले नागरिकसँग नागरिक मान्छे हो भन्ने बुझेर व्यवहार गर्नु । नागरिकले मानवता अनुकूलको राज्य निर्माण गर्ने प्रयत्न गर्नु ।

सर्वाङ्गिकता, वैज्ञानिकता र मानवता– यी तीन चिजको समष्टिबाट जुन दर्शन बन्छ त्यो नै ‘सर्वाङ्गिक तथा वैज्ञानिक मानवतावाद’ (होलिस्टिक एण्ड साइन्टिफिक ह्युम्यानिज्म) हो ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?