+
+

फेवा किनारबाट आह्वानः थोत्रो थिति फालौं, नयाँ थालौं

प्रकृति मास्ने र विभेद उकास्नेविरुद्ध जागरण अभियान

अमृत सुवेदी अमृत सुवेदी
२०७८ कात्तिक ७ गते ८:५४

७ कात्तिक, पोखरा ।

दोहन गरेर प्रकृतिको

भत्काएर संरचना पृथ्वीको

आफ्नै मृत्यु किनिरहेको छ

पुँजीवादी मुनाफाखोर मान्छे ।

कवि कल्पना चिलुवालले कविताका यी हरफ वाचन गरिरहँदा मानिसहरुका नजर भने फेवातालतिर थियो । फेवा किनार बाराहीघाटमा शनिबार कवि कल्पना चिलुवालले कवितामार्फत प्रकृतिको दोहन गर्ने पुँजीवादी समाजप्रति खरो शब्द ओकलिन् ।

फेवाताल बर्सेनि पुरिँदै गइरहेको मात्रै छैन, अतिक्रमणको चपेटामा पनि उत्तिकै पर्दै आएको छ । प्राकृतिक सम्पदाको दोहन गरेर मानिसले आफ्नै मृत्यु किनिरहेको कविता वाचन गर्दै कल्पनाले निरीह राज्यसत्ताप्रति आगो ओकलिन् ।

फेवाताल सयर र तालबाराही मन्दिर जान पर्यटकको भीड लाग्ने बाराहीघाटमा शनिबार प्रकृति दोहनका विरुद्ध कविता गुञ्जिए । फेवा मिच्ने र सेती नदी ठेक्कामा दिने कामकाविरुद्ध आवाज उठे । विभेद, शोषण, दमन र अन्यायका विरुद्ध युवाहरुले आक्रोश पोखे ।

दलित भएकै कारण भीमबहादुर विश्वकर्माहरुले ज्यान गुमाउनु पर्ने राज्य तथा सामाजिक व्यवस्था विकल्प खोज्ने स्वरहरु सुनिए । सबैखाले विभेदका विरुद्ध विद्रोह गर्न युवाहरुले आह्वान गरे । राज्य सत्ताले सबै नागरिकलाई समान व्यवहार नगरेको भन्दै असन्तुष्टिका आवाजहरु शनिबार फेवा किनारमा गुञ्जिए ।

प्रकृति मास्ने र विभेद उकास्ने ‘थोत्रो नीति फालौं, आउनुस् नयाँ थालौं’ भन्दै पोखराबाट प्रतिरोध जागरण अभियान सुरु भएको हो । काठमाडौंमा पनि जनदबाबका कार्यक्रम गर्दै आएको प्रतिरोध समूहले पोखराबाट नेतृत्व नै चुनेर जागरण अभियान थालेको छ ।

फेवाताल, सेती लगायत देशैभरि खोला, जंगल र पहाडमाथि झेल भइरहेको भन्दै प्रतिरोध थालेका युवाहरुले देशमा भइरहेका उत्पीडनका विरुद्धमा पनि उभिन आह्वान गरेका छन् ।

अध्यक्ष मनोज खतिवडा र सचिव अनिता पण्डित लगायतको नेतृत्वमा अब देशका विभिन्न ठाउँमा प्रतिरोध सांस्कृतिक यात्रा हुने भएको हो । अभियानकै रुपमा देशभर प्रतिरोध यात्रा गर्न मेसो मिलाइरहेका साहित्यकार संगीत स्रोता भन्छन्, ‘जनता निराशा जगाउने होइन, यो यात्राले जागरण ल्याउने र सबै विभेदका विरुद्ध भण्डाफोर गर्न प्रेरित गर्ने छ । सुधारिएको व्यवस्थाका लागि बहस उठ्ने छ ।’

फेवा किनारमा गायक अञ्जन बाबुले असमानता विरुद्धका गीत गाए, पिँधमा परेका जनताको मुद्दा उनिएका शब्दलाई लय हाले । राज्य सत्तालाई प्रश्न गरे ।

चौतारी पोखरी मिचेर

ढुंगो र माटै बेचेर

कहाँ जान्छौ मान्छे किचेर ?

संगीत स्रोताले सिर्जनालाई गाएका अञ्जनबाबुले ‘चरी लैजा समाचार’, ‘हामी कोही होइनौं’ जस्ता गीत प्रस्तुत गरे । सुसेरा संगीत मञ्च र संगम सांस्कृतिक मञ्च पोखराले झरीका बीच पनि जागरणका गीत गाउँदा सर्वसाधारणले साथ दिए ।

कार्यक्रमको सुरुआतमै कवि विकास रोकामगरले कविता प्रस्तुत गर्दै विभेदकारी मानसिकता र त्यसलाई प्रशय दिइरहेको संयन्त्रप्रति आक्रोश पोखे । प्राध्यापक तथा कवि राजेन्द्र पौडेलले खोला, नदी, नाला, पोखरी दोहनका विरुद्ध कविता सुनाए ।

फेवाताल, सेती लगायत देशैभरि खोला, जंगल र पहाडमाथि झेल भइरहेको भन्दै प्रतिरोध थालेका युवाहरुले देशमा भइरहेका उत्पीडनका विरुद्धमा पनि उभिन आह्वान गरेका छन् ।

अभियन्ताहरु विभिन्न पम्प्लेट लिएर कार्यक्रममा सहभागी भएका थिए । प्रतिरोध सांस्कृतिक यात्राका अध्यक्ष मनोज खतिवडाले प्रकृतिलाई मासेर खडा गरिएको विकासको मोडलको विपक्षमा अभियान चलाइने बताए ।

‘सेती दोहन भइरहेको छ । प्रकृति बाँचेमात्र, मान्छे बाँच्ने हो । त्यसैले प्रकृति रक्षाका निम्ति अभियान सञ्चालन गरिरहेका छौं । प्रतिरोध, विभिन्न खाले शोषण र उत्पीडनको विरुद्धमा उभिएका मानिसहरुको समूह हो,’ खतिवडाले भने, ‘भीमबहादुर विश्वकर्माको हत्या भएको छ । सबैखाले दमन र उत्पीडनका विरुद्ध अब सांस्कृतिक अभियान सुरु भयो ।’

सबैखाले विभेदको विरोध गर्ने र गलत अभ्यास भइरहेको यो व्यवस्थालाई प्रतिरोध समूहले इन्कार गर्ने उनको भनाइ थियो । ‘यो व्यवस्थाले ६९ लाख युवालाई विदेश पैठारी गरेको छ । यो व्यवस्थाले खोकनाको प्राचिन वस्तीलाई मासिरहेको छ । खुवालुङलाई फुटाइरहेको छ । माझीहरुको बस्तीलाई मासिरहेको छ । मौलिक अभ्यासलाई कमजोर गराइरहेको छ, हमला गरिरहेको छ,’ खतिवडाले भने, ‘हामी त्यसको विरुद्धमा उभिन्छौं । महिलाहरुमाथि यौन हिंसा, कार्यक्षेत्रमा हिंसा र नागरिकतामा असमानता छ । त्यसका विरुद्ध लड्ने हो ।’

प्रतिरोध सांस्कृतिक यात्राको घोषणा गर्नुअघि अभियन्ताहरुले २/४ दिनदेखि नै पोखरामा छलफल र बहस गरिरहेका थिए । अहिलेको विचार, सिद्धान्त, राजनीतिक व्यवस्था र त्यसको अभ्यासबारे छलफल गर्दै त्यसको विकल्पबारे पनि समीक्षा गरेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?