+
+

आकाशे पुल नै बन्दैछन् यात्रुका लागि धराप

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक १५ गते १९:२५
माइतीघरको आकाशे पुल निर्माणपछिको अवस्था, असुरक्षित भएको भन्दै आलोचना भएपछि तारलाई अहिले केही माथि सारिए पनि अझै यात्रु सुरक्षित छैनन् । फाइल तस्वीर

१५ कात्तिक, काठमाडौं । आइतबार साँझ वीर अस्पताल अगाडिको आकाशेपुल उक्लिँदै गर्दा ६५ वर्षीया शान्तिमाया थिङलाई निकै सकस भयो । अग्लो–अग्लो बनाइएको भर्‍याङमा पाइला चाल्नै उनलाई मुश्किल पर्‍यो । फुटपाथमा किनेको सामान बोकेर जसोतसो आकाशेपुल उक्लिएकी थिङलाई ठाडो सिँढीबाट ओर्लिन पनि उत्तिकै गाह्रो भयो ।

‘दुईवटा सिँढी उक्लिँदै खुट्टा गल्छ, झर्न लाग्दा खुट्टा काम्छ, भर्‍याङको खुड्किला किन यति अग्लो बनाएको होला ?,’ मुश्किलले ओर्लिएपछि उनले अनलाइनखबरसँग भनिन्, ‘बालबच्चा र हामीजस्तो बुढाबढी पनि हिँड्छन् भन्ने ख्याल राख्नुपर्छ नि !’

यस्तो सास्ती काठमाडौं र ललितपुरका सबैजसो आकाशे पुलमा हिँड्ने कमजोर शारीरिक अवस्थाका व्यक्तिले भोग्नुपर्छ । काठमाडौंमा अहिलेसम्म एउटा पनि अपांगमैत्री आकाशेपुल छैन । भएका आकाशे पुल पनि बिरामी, वृद्धवृद्धा र बालमैत्री छैनन् ।

यातायात तथा शहरी पूर्वाधारविज्ञ आशिष गजुरेल व्यवस्थित र न्यायमूलक शहरका लागि आकाशेपुलभन्दा ‘इन्टेलिजेन्ट ट्राफिक सिस्टम’मा आधारित जेब्राक्रसिङ उपयुक्त हुने बताउँछन् । तर, नेपालमा पैदल यात्रुको व्यवहार इन्टेलिजेन्ट ट्राफिक सिस्टमको अभाव लगायत कारण आकाशे पुल अनिवार्य बनेको उनको भनाइ छ ।

‘आकाशेपुलमा अहिले भइरहकै लगानीमा केही प्रतिशत बढाएर लिफ्ट, रोलिङ स्पेयर्स जस्ता पूर्वाधार राखिदिने हो भने अशक्त, अपांग, वृद्धवृद्धा, बालबालिका, बिरामी सबैले सहजै प्रयोग गर्न सक्थे,’ गजुरेल भन्छन्, ‘तर, धेरै पैदलयात्रीलाई आकाशेपुलहरु प्रयोग गर्दा मेरो जीवन बाँच्छ र नगर्दा मेरो जीवन खतरामा छ भन्ने विश्वास र चेतना नै जाग्न सकेको छैन । ’

यसकै कारण सचेत व्यक्तिले पनि बाध्य भएर आकाशे पुलमुनिबाटै ज्यानको बाजी थापेर बाटो काटिरहेका हुन्छन् । आकाशेपुल बनाइएका ठाउँमा जेब्राक्रस पनि मेटिने भएकाले अपांगता र अशक्त यात्रीलाई सास्ती पर्ने गरेको छ ।

नयाँ बानेश्वरमा आकाशेपुल बनाएर जेब्रा क्रसिङमा डोरी टाँगिएपछि विशेष शारीरिक अवस्थाका व्यक्तिलाई सडक पार गर्न कि २०० मिटर टाढाको एभरेष्ट होटल वा सिभिल अस्पताल अगाडि पुग्नु परिरहेको छ । यात्रुको सुरक्षाका लागि बनेका आकाशे पुलहरु प्रयोगकर्ताका लागि ‘धराप’ बनिरहेका छन् ।

प्रयोगकर्ता बिर्सिएर बनेका पुल

आकाशेपुललाई होडिङ बोर्ड र पसलहरु राख्ने व्यापारिक मोडलमा हेरिएकाले यस्तो समस्या आएको विज्ञहरु बताउँछन् । यात्रु र सवारी चालकको जीवन रक्षा, सहजता र ट्राफिकजन्य समस्या निराकरणको लागि बनेका आकाशेपुल मूल रुपमा पैसा कमाउने वा ‘बनाउनका लागि बनाइदिने’ गरिएका कारण यस्तो अवस्था आएको उनीहरुको भनाइ छ ।

यातायात तथा शहरी पूर्वाधारविज्ञ गजुरेल आकाशे पुलको उपयोगिता र प्रयोगकर्ताको सहजताबारे नसोचिएको बताउँछन् । ‘आकाशे पुल प्रयोगका लागि यात्रुमा सुरक्षा सचेतना, उत्प्रेरणा र कार्यान्वयन जरुरी हुन्छ,’ उनी भन्छन्, ‘जनताले कस्ता संरचना सचेत रुपमा सहजताका साथ बढीभन्दा बढी प्रयोग गर्छन् भनेर सामान्य अध्ययनसमेत नगरी बनाउँदा पनि आकाशेपुलहरु सबैका लागि उपयोगी बन्न सकेको छैन ।’

पूर्व ट्राफिक प्रहरी निरीक्षक तथा ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अुनसार काठमाडौंमा यसै पनि पर्याप्त आकाशे पुलहरु छैनन् । भएका पुलहरु पनि पायक पर्ने ठाउँमा छैनन् ।

विस्तारित चक्रपथ : भब्य सडकमा त्रुटि नै त्रुटि (भिडियोसहित) – Online Khabar

कलंकी-सातदोबाटो-कोटेश्वर खण्डको विस्तारित चक्रपथमा बनाइएका आकाशेपुलहरु पनि मुख्य चोकभन्दा धेरै टाढा छन् । एकान्तकुना, कोटेश्वर र बालकुमारीमा पनि चोकबाट निकै पर आकाशे पुल बनाइएको छ ।

आकाशे पुल नै प्रयोग गर्दा पनि उक्लिँदा ७२ र ओर्लंदा ७२ गरी १४४ सिँढी पार गर्नुपर्छ । ‘बिरामी, वृद्धवृद्वा, अपांग र बालबालिकाले यस्ता पुल प्रयोग गर्न सक्दैनन्, भएका पुल पनि अव्यवहारिक ठाउँमा भएपछि यात्रुले प्रयोग गरिरहेका छैनन्’, हाछेथु भन्छन्, ‘पुल यात्रु उक्लिएर रमिता हेर्ने ठाउँ जस्तो भएको छ ।’

आवश्यकता र औचित्य हेरी नबनाइँदा नयाँ बानेश्रको छक्कुबक्कु पार्कसँगैको आकाशे पुल प्रयोगविहीन छ । छोटो चौंडाइँ (वारपारको दूरी) को सडक भएकाले यात्रुले पुल चढ्ने र ओर्लिने झन्झट मान्दै आएका छन् ।

शहरी पूर्वाधार विज्ञ गजुरेल पुल प्रयोगका लागि बाध्य (कार्यान्वयन) पनि नपार्ने र प्रोत्साहन पनि नगर्ने सरकारी शैलीले यस्तो अवस्था आएको बताउँछन् ।

सुरक्षामाथि प्रश्नै–प्रश्न

शहरमा भएका आकाशे पुलको मर्मत सम्भारमा पनि कसैको चासो छैन । कामचलाउ तरिकाले गरिएका मर्मतका कारण प्रयोगकर्तालाई समस्या मात्रै थपिएको छैन, सुरक्षाको प्रश्न पनि उठेको छ ।

केहीअघिसम्म सुन्धारा चोक, न्युरोड जाने चोक, वीर अस्पताल र दरबार हाइस्कुल अघिका आकाशेपुलका भर्‍याङहरु जीर्ण भइसकेका थिए । आकाशेपुल मुनिका पसलमै पानी चुहिन थालेपछि पुल बनाउने ठेकदार इनोभेटिभ कन्सेप्ट प्रालिले मर्मत गरेको छ ।

यसअघि आकाशेपुलका खुड्किलाहरुमा यात्रु नचिप्लिउन् भनेर फलामले ‘ब्यान्डिङ’ गरिएको थियो । दरबार हाइस्कुल अगाडि बाहेकका रत्नपार्क आसपासका सबैजसो आकाशेपुलमा अहिले कंक्रिट ढलान गरेर खुड्किला त्यसै छाडिएको छ ।आकाशे पुलमुनि पसलहरु भएकाले एक भागमा बलियो सपोर्ट सिस्टम राखिएको छैन । इँटाको गाह्रोले माथिबाट थोपरिएको नयाँ ढलान मात्रै हैन, पुलमा एकै पटक जम्मा हुने ठूलो संख्याको पैदलयात्रुलाई पनि थेगिरहेको छ । दरबार हाइस्कुलअघिको आकाशेपुल मर्मत गरिए पनि भर्‍याङ (ढलानको भाग) चर्किएको देखिन्छ ।

अहिलेसम्म चाडपर्व, मेला–जात्रा र विशेष दिनहरुमा जम्मा हुने भीडलाई आकाशे पुलले थेग्न सक्ने/नसक्नेबारे महानगरपालिकाले कुनै अध्ययन गरेको छैन । रत्नपार्क आसपास १७ वर्ष अघि बनेका पुल मर्मत गर्दा ठेकदार कम्पनीले स्वीकृत डिजाइन अनुसार काम गरेको छैन । यसबारे काठमाडौं महानगरपालिका मौन छ ।

जथाभावी ढंगले गरिएको मर्मतका कारण ती आकाशे पुलहरुमा हिँड्ने अशक्त, आपांग र वृद्धवृद्धालाई समस्या मात्रै भएको छैन, सुरक्षाको चिन्ता पनि बढाएको छ ।

कुरुप पुलको व्यापारीकरण

काठमाडौं महानगरपालिकाले जमल, रत्नपार्क, नयाँ बसपार्कजस्ता ठाउँका आकाशे पुलमा राखिएका पसल र विज्ञापनबाट वार्षिक २२ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्छ । यो रकम महानगरपालिकाले न पुलहरु मर्मतमा खर्च गर्छ न त ठेकदार इनोभेटिभ कन्सेप्ट प्रालिलाई उचित व्यवस्थापनका लागि जिम्मेवार बनाएको छ ।

महानगरपालिकाका पूर्वधार विभाग प्रमुख (इन्जिनियर) राम थापा ठेकदार कम्पनीले स्वीकृत मापदण्डअनुसार समयमै आकाशे पुलको मर्मत नगरेको बताउँछन् । उनका अनुसार कतिपय पुलका फलामे संरचना खिया लागेर जीर्ण भएका छन्, नटबोल्ट फुस्किएर फलामे पाता हल्लिरहेका छन् । रंगरोगन नगरिँदा पुलहरु कुरुप बनेको थापा बताउँछन् ।सही ठाउँमा सही तरिकाबाट नबनाइँदा र व्यवस्थापन पनि नगरिँदा आकाशेपुलहरुले शहरी सौन्दर्य समेत बिगारिरहेका छन् । ‘विकसित शहरमा रेल्वे स्टेसनहरुमा बढी आकाशे पुल प्रयोग हुन्छन्, हामीकहाँ भने अन्डर पासवे बनाउन नसकेकाले यस्ता पुल बनाएका हौं,’ थापा भन्छन्, ‘सस्ता लागतका यी आकाशे पुलहरु शहरी सौन्दर्यताका हिसाबले पनि उपयुक्त छैनन् ।’

रत्नपार्कलगायतका क्षेत्रका आकाशेपुलमा फुटपाथ ब्यापार हुने गरेको छ । यसले गर्दा यात्रु मात्रै नभएर व्यापारी र ग्राहक पनि त्यही जम्मा हुने गरेका छन् । खुलामञ्च र सैनिक मञ्चमा विशेष कार्यक्रम हुँदा ती आकाशेपुलमा रमितेहरु झुम्मिने गरेका छन् । यसरी जीर्ण अवस्थाका पुलहरुले सुरक्षा सवाल पनि पैदा गरेका छन् ।

बन्दाबन्दै धराप

समस्या पुराना पुलमा मात्रै छैन, नयाँ बानेश्वर चोकमा हालसालै बनेको आकाशेपुलमा पनि सुरक्षाको सवालमा गम्भीर लापरवाही गरिएको छ । काठमाडौंमा सबैभन्दा धेरै पैदलयात्रुको चाप हुने स्थानमा बनेको स्टिल स्ट्रक्चरको आकाशेपुलका कतिपय भागका ‘प्लेट’मा नटबोल्ट कसिएको छैन । कतिपय प्लेटका प्वालहरु खाली छाडिएका छन् ।

स्ट्रक्चरल इन्जिनियर डा. राजन सुवाल समान्यतयाः यस्तो स्ट्रक्चरको सबै प्वाल (होल) हरुमा नटबोल्ट कसिनुपर्ने बताउँछन् । कतिपय अतिरिक्त होलहरु बनाइएको हुनसक्ने भएपनि प्वाल खुला छोड्न नहुने उनी बताउँछन् । उनी भन्छन्, ‘प्वालहरुमा नटबोल्ट कतिसम्म कस्ने भन्नेसम्मको मापदण्ड हुन्छ । त्यसअनुसार काम भएको हुनुपर्छ ।’

नयाँ बानेश्वर चोकदेखि पश्चिम करिब ५० मिटर पर बनाइएको यो आकाशे पुल निर्धारित समयभन्दा करिब एक वर्ष ढिला तयार भएको थियो । सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयको करिब ३ करोड लागतको यो पुल यात्रुले अहिले नै समस्या भोग्न परिरहेको छ ।

स्थानीय व्यापारी लक्ष्मण सिग्देल अग्लो आकाशेपुलको खुड्किलाको भित्ताको भाग खुला छोड्दा मोबाइल र सरसामान झर्ने समस्या बढी देखिएको बताउँछन् । ‘आजभोलि सबैको हातमा मोबाइल हुन्छ, बिरामी वा उचाइमा डराउने समस्या भएका यात्रुले मोबाइल र हातमा बोकेका खसालिरहेका छन्,’ उनले भने, ‘यति अग्लो पुलको खुड्किला खुलै छाड्नु हुँदैनथ्यो ।’

बालबालिका र वृद्धवृद्धा खुड्किलोमा अल्मलिएर खुट्टा फस्नसक्ने उनको भनाइ छ । ‘असोज २५ गते राति एक जनाले यही पुलको बारमाथि चढेर हामफाले, प्रहरीले बल्लतल्ल उद्धार गरेर लग्यो,’ उनले भने, ‘माथि उक्लिएर यस्ता दुष्प्रयास या बदमासी गर्नेलाई रोक्ने गरी केही सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने देखिएको छ ।’

पुरातत्व विभाग अगाडि बनेको नयाँ आकाशे पुल पनि असुरक्षित छ । सञ्चालन भएको महिनौंसम्म पुलको भित्रबाट तारको गुजुल्टो लगियो । दुर्घटना हुनसक्ने भन्दै आलोचना भएपछि तार अहिले पुलभन्दा माथिबाट लगिएको छ, तर कुनै विद्युतीय दुर्घटना भए यो पुलमा हिँडिरहेका यात्रु जोगिने अवस्था छैन ।

पानीको आहाल छ, बत्ती छैन

काठमाडौंका अधिकांश आकाशेपुलमा साँझ र रातिमा बत्तीको व्यवस्था छैन । होर्डिङ बोर्ड राख्न दुबै तर्फबाट बन्द गरिँदा साँझ पर्नासाथ पुलमा अवाञ्छित गतिविधि हुने गरेको महानगरपालिका इन्जिनियर थापा नै बताउँछन् ।

बत्तीको व्यवस्था नभएकोले रातिको समयमा रत्नपार्क आसपासको आकाशेपुलहरुमा यौनकर्मी र ग्राहकको भीड लाग्ने गरेको छ । साँझमा असभ्य यात्रुहरुले पिसाब फेर्ने गरेका छन् । त्यस्ता व्यक्तिहरुलाई गस्ती प्रहरीले बेला–बेलामा लखेट्ने गरेको छ, तर पुल बन्द भएकाले पूरा निगरानी हुन सकेको छैन ।

इन्जिनियर थापा ठेकदारसँगको सम्झौतामा बत्ती राख्ने विषय उल्लेख नभएकाले बत्ती राख्न नसकिएको बताउँछन् । ‘अब चोकहरुमा अग्ला स्मार्ट बत्ती राख्न लागेका छौं, अहिले देखिएको समस्या त्यसपछि समाधान हुनसक्छ,’ उनी भन्छन् ।

रातको समयमा रत्नपार्कको पुल

काठमाडौंका आकाशे पुलहरुमा वर्षायाममा पानी जम्छ । निकास नहुने गरी बनेका पुलहरुमा यात्रुले फोहोर पानीमै टेकेर हिँड्नुपर्छ । रत्नपार्क र बागबजार जोड्ने आकाशेपुल वरपर फोहोर फाल्ने गरिएको छ । जसले गर्दा पैदलयात्रुलाई दुर्गन्ध सहँदै यात्रा गर्न बाध्यता छ ।

नयाँ योजना, शैली पुरानै

समावेशी शहरको सिद्धान्तविरुद्ध मानिने आकाशे पुलहरु बनाउने क्रम बढ्दो छ । यसलाई सबैको पहुँचमा पुर्‍याउने र अधिकतम् सुविधा दिनेतर्फ भने सम्बन्धित निकायहरुको ध्यान गएको छैन । २०४० को दशकमा काठमाडौंको सुन्धारा र खुलामञ्चबाट आकाशे पुलको प्रयोग सुरु भएपनि अझैसम्म पुरानै ढर्राबाट निर्माणको काम चलिरहेको छ ।

विज्ञहरुका अनुसार शहरी विकासको सिद्धान्तले शहरभित्र बसोबास गर्ने सबै पक्षको सुविधा बढाउनुपर्ने बताउँछ, तर बनेका र बन्दै गरेका आकाशेपुलहरुबाट एकथरिको सुविधा खोसेर अर्का थरिलाई सुविधायुक्त बनाउने काम भइरहेको छ ।

चितवनको रत्ननगरमा बनेको आकाशे पुलको माथि यात्रुले हातैले भेट्न सक्ने बिजुलीको नांगो तार

सडक विस्तारका क्रममा २०५५ सालमा पुराना पुलहरु भत्किएपछि आकाशेपुल बनाउन सार्वजनिक निजी साझेदारीका नाममा ‘व्यापारीकरण’ सुरु भएको थियो । यसको शुरुआतकर्ता तत्कालीन मेयर केशव स्थापित थिए । अहिलेसम्म पनि महानगरपालिका उनकै पथमा देखिन्छ ।

अहिले काठमाडौं महानगरपालिकाले जयबागेश्वरीमा पुल बनाइरहेको छ । चालु आर्थिक वर्षमा चाबहिल चोक, मित्रपार्क र शोभाभगवतीमा आकाशेपुलहरु थपिँदै छन् । विस्तारित चक्रपथका पनि विभिन्न ठाउँमा सडक विभागले आकाशेपुल बनाउँदैछ । ती पुलहरु पनि अरु पुलहरुजस्तै यात्रुमैत्री नहुने महानगरका अधिकारीहरु नै बताउँछन् ।

पैदलयात्रु र सवारीको चाप हुने ठाउँमा गाडीका लागि ओभरहेड ब्रिज (फ्लाइओभर) बनाएर पैदलयात्रुलाई जेब्राक्रसबाट सहजै वार–पार गराउने अन्तर्राष्ट्रिय अभ्यासअनुसार पूर्वाधार निर्माण गर्नेतर्फ अहिलेसम्म सोचिएको छैन ।

काठमाडौं महानगरपालिकाका इन्जिनियर थापा आकाशे पुल शहरका लागि उपयोगी नभएको जान्दाजान्दै पनि दुर्घटना घटाउन बनाइरनु परेको बताउँछन् । ‘लिफ्ट राख्न नसकिने हैन, तर खुला सडकमा सुरक्षा र सम्भारको काम सहज हुँदैन,’ उनी भन्छन्, ‘ह्विलचियरको लागि र्‍याम्प राख्न सकिन्थ्यो, तर हाम्रा साँघुरा फुटपाथ मिचेर फराकिलो वा लामो र्‍याम्प राख्नु उपयुक्त नहुने भएकाले पुरानै शैली पछ्याउन बाध्य छौं ।’

आकाशे पुलहरु बनाउँदा फुटपाथ मासिरहेको छ । यसले सडक वारपार नगरी सोझो बाटो हिँड्ने यात्रुलाई अर्को समस्या परिरहेको छ ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment