+
+
कुकुर तिहार विशेष :

जम्बो : प्रहरीको वर्ष उत्कृष्ट कुकुर

गौरव पोखरेल गौरव पोखरेल
२०७८ कात्तिक १७ गते १८:३०

१७ कात्तिक, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्रौटामा डेरा गरी बस्दै आएकी ५९ वर्षीया सुशीला खड्काको २७ मंसिर २०७७ मा हत्या भयो । मध्यराति भएको घटनाबारे भोलिपल्ट जानकारी पाउने वित्तिकै वडा प्रहरी कार्यालय, चन्द्रौटाको टोली घटनास्थलमा खटियो ।

अपराध भएको ठाउँलाई सुरक्षित गरेर प्रहरी निरीक्षक दिपेश खरेलले कर्णाली प्रदेश प्रहरी कार्यालय, केनाइन शाखाबाट तालिम प्राप्त कुकुर मगाए । आँगनमा भेटिएको शव नजिकै इँटाको टुक्रा र लोहोरो थियो । प्रहरीसँग भएको जर्मन सेफर्ड जातको कुकुरलाई डग ह्याण्डलर प्रहरी सहायक निरीक्षक (असई) विष्णु पौडेलले लोहोरो सुँघाएर छाडिदिए ।

कुकुर आइनपुग्दासम्म अनुसन्धान नै नथालेको प्रहरीले तालिम प्राप्त कुकुर जम्बोलाई छाड्ने वित्तिकै आरोपी नै पक्राउ परे । ह्याण्डलर पौडेलका अनुसार छाड्ने बित्तिकै जम्बो सीधैं भतिजो २३ वर्षीय तोरणबहादुर खड्का भएतिर गयो र बेस्सरी भुक्न थाल्यो । ‘कुकुर उनीतिर संकेत गर्दै भुक्न र हातमा समात्न थालेपछि अतालिएका खड्काले फूपूलाई हत्या गरेको स्वीकारेका थिए,’ पौडेलले अनलाइनखबरसँग भने ।

सल्यानको अर्को घटनामा पनि जम्बोले अनुसन्धान अधिकृतलाई महत्वपूर्ण सहयोग गरेको छ । जिल्लाको बाघचौर नगरपालिका-२, गैरीमा ५४ वर्षीया रामकला खत्री मृत अवस्थामा भेटिइन्, १७ असोज २०७८ मा । ठाटीचौरको कच्ची सडकमा शव भेटिएलगत्तै जिल्ला प्रहरी कार्यालय, सल्यानले घटनास्थललाई घेरा हालेर सुरक्षित राख्यो ।

जम्बोले घटनास्थलमा रहेको सबुत सुँघेपछि मात्रै थप अनुसन्धान सुरु भयो । प्रहरीका अनुसार सबुत सुँघेपछि दगुरेको जम्बो झण्डै दुई किलोमिटरसम्म ट्याक लिँदै गएर एउटा जेसीबी मेसिनसम्म पुगेको थियो ।

‘मेसिनमा पुगेर संकत गरेकोमा पछि मेसिनका चालक र सह-चालकको समेत घटनामा संलग्नता खुल्यो र पक्राउ गर्न प्रहरी सफल भयो,’ नेपाल प्रहरी केनाइन महाशाखाकी प्रमुख डा. देउती गुरुङ भन्छिन् ।

कर्णाली प्रदेशमा रहेको यो कुकुरले ११ साउन २०७८ मा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-४ मा मारिएकी २६ वर्षीया मनकला खत्रीबारे अनुसन्धानमा पनि सहयोग पुर्‍याएको थियो । ‘घटनास्थलमा प्राप्त सबुत चप्पल सुँघाएर छाड्दा करिब ५०० मिटर पर रहेको सबुत मोबाइल सेट देखाइदिएको थियो’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) समेत रहेकी डा. गुरुङ भन्छिन् ।

अपराध अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेवापतमा केनाइन महाशाखाले बुधबार कुकुर तिहारको अवसरमा जम्बोलाई सम्मानसमेत गर्दैछ । ‘उपत्यका अथवा नजिकै राखिएको कुकुर भएको भए, यहीँ आयोजना हुने कार्यक्रममा मेडल लगाइदिन्थ्यौं’ डा. गुरुङ भन्छिन्, ‘टाढा भएकाले उनको ह्याण्डलरलाई मेडल दिएर पठाइदिन्छौं ।’

प्रहरीसँग ७ प्रजातिका कुकुर

यसपालि ‘बेस्ट डग अफ द एयर’ को अवार्ड पाउने जम्बो नेपालमै जन्मिएको कुकुर हो । स्वदेशमै खरिद गरेर प्रहरी जवान जगत विष्टले ह्याण्लिङ गरेर जम्बोलाई अपराध अनुसन्धानमा प्रयोग गर्न योग्य बनाएका थिए ।

नेपालका ब्रिडिङ हाउसमा गएर खेलाउँदा र खान दिँदा असाधारण देखिएका कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा प्रयोग गर्न मिल्ने गरी अब्बल बनाउने गरिएको डा. सत्याल बताउँछन् ।

‘जम्बोलाई २०७६ सालमा ७८ दिन बेसिक तालिम दिएर तयार गरिएको थियो, थप तालिमचाहिँ कर्णाली प्रदेशमै पठाएर दिइएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘प्रदेशमा रहेको भुन्टी नामक कुकुर बुढो भएपछि उसको रिप्लेसमेन्टका रुपमा जम्बोलाई काठमाडौंबाट पठाइएको थियो ।’

जंगे अहिले दुई वर्षको भएको बताउँदै उनी भन्छन्, ‘सामान्यतया जर्मन सेफर्ड डगले ८ वर्षसम्म काम गर्छ, त्यसपछि चाहिँ कार्यसम्पादन स्तर घट्दै जान्छ ।’ कार्यालय प्रमुख डा. गुरुङका अनुसार नेपाल प्रहरीसँग देशभर ८७ वटा तालिम प्राप्त कुकुर छन् । जर्मन सेफर्ड जातको ३६, ल्याब्राडोर २१, बिगल ५, बेल्जियन सेफर्ड १०, क्रोकर स्पाइनियल १, डच सेफर्ड १ र गोल्डेन रिट्रिभर १३ वटा छन् ।

तीमध्ये १४ वटा कुकुर अपराध अनुसन्धान, ३६ वटा हातहतियार तथा विष्फोटक पदार्थको खोजी एवं पहिचान, २६ वटा लागूऔषध खोजी र ८ वटा खोजी तथा उद्दारमा प्रयोग हुने गरेका छन् । थप ३ वटा कुकुरचाहिँ तालिम लिइरहेका छन् ।

‘यहाँ ल्याइने डगहरुलाई उनीहरूको जातको आधारमा पनि बेग्लाबेग्लै तालिम दिने गरिन्छ’ डा. गुरुङ भन्छिन्, ‘जस्तैः ल्याब्रोडर जातका कुकुरलाई हातहतियार तथा विष्फोटक पदार्थको पहिचान तथा खोजीको मात्रै तालिम दिइन्छ । र, त्यही अनुसार तालिम दिइन्छ ।’

जर्मन सेफर्डको हकमा भने हरेक विधाको तालिम दिन सकिने उनी बताउँछिन् । अधिकारीहरू यो जातको कुकुरलाई ‘अल राउण्डर’ डग पनि भन्छन् । हाल देशभर प्रहरीको ११ वटा केनाइन शाखाहरू छन् । हरेक प्रदेशसहित काठमाडौंमा केनाइन महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर र जनकपुर विमानस्थल पनि कुकुर राखिएका छन् ।

बढ्दो माग

डा. गुरुङका अनुसार पछिल्लो समय अपराध अनुसन्धानमा कुकुरको प्रयोग बढ्दै गएको छ । ‘चाडपर्वको वेला त नाकामा पनि खटिन्छ, महत्वपूर्ण कार्यक्रम स्थलहरुमा पनि खटिँदा डगहरुलाई भ्याइनभ्याइ हुन्छ’ उनी भन्छिन्, ‘त्यसमाथि अहिले हरेक अपराध हुने बित्तिकै जनस्तरबाटै कुकुरको माग अनिवार्यजस्तै भइसकेको छ ।’

मानिसको छालाबाट हरेक मिनेट मृत कोषिकाहरू झरिरहेका हुन्छन्, डीएनए जस्तै ती एकअर्कासँग मिल्दैनन् । त्यही गन्धको आधारमा तालिम प्राप्त कुकुर अपराधीसम्म पुग्ने हो

हुन पनि कञ्चनपुरको चर्चित निर्मला हत्या प्रकरणमा घटना भएलगत्तै कुकुर परिचालन नगरिएको विषयले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठाउन भूमिका खेलेको थियो । पछि प्रहरी लापरबाहीका थप श्रृंखलाहरु पनि बाहिर आएपछि घटना थप गिजोलियो ।

यो घटनाले अभियुक्त पत्ता लगाउन मात्र नभइ, अपराध अनुसन्धानलाई विश्वासनीय बनाउन पनि कुकुरको भूमिका महत्वपूर्ण भइसकेको देखाउने अधिकृतहरू बताउँछन् ।

अधिकृतहरूको दाबीमा निर्मला प्रकरणको घटनस्थलमा पानी जमेर हिलाम्ये भएकाले कुकुर प्रयोग गर्न सक्ने अवस्था थिएन । त्यस्तो अवस्थामा पनि कुकुर ल्याउनैपर्ने अडान स्थानीयले राख्नुलाई ‘प्रहरी कुकुरमाथिको बढ्दो विश्वास’ मान्छिन्, डा. गुरुङ ।

डा. देउती गुरूङ, एसएसपी

डा. सत्याल कुकुर परिचालनमा केही सीमितता पनि हुने बताउँछन् । ‘कुकुर परिचालनका लागि २४ घन्टाभित्रको समय सबैभन्दा उपयुक्त हो’ उनी भन्छन्, ‘त्योभन्दा ढिलो भए सतप्रतिशत परिणाम नआउन सक्छ ।’ प्रहरीले अहिले ७८ घन्टाको अवधिसम्म पनि परिणाम दिनसक्ने जातको कुकुर त ल्याएको छ, तर जति ढिलो भयो, कुकुरको प्रभावकारिता त्यति ह्रास हुँदै जाने अधिकृतहरू बताउँछन् ।

कुकुर परिचालनलाई वातावरणले पनि असर गर्ने डा. सत्याल बताउँछन् । उनी भन्छन्, ‘पानी परेको छ वा बीचमा नदी, नाला वा चौबाटो छ भने पनि प्रभावकारिता कम हुनसक्छ ।’

घटनास्थल सुरक्षित नभए पनि सफलता प्राप्त नहुने अधिकृतहरू बताउँछन् । कुनै चौबाटोमा पुगेर अपराधीले सवारीसाधन प्रयोग गरेको कतिपय घटनामा त कुकुर आफैं अलमलिएको दृष्टान्तहरु पनि छन् ।

महाशाखा प्रमुख डा. गुरुङका अनुसार मानिसको छालाबाट हरेक मिनेट मृत कोषिकाहरू झरिरहेका हुन्छन्, डीएनए जस्तै ती एकअर्कासँग मिल्दैनन् । त्यही गन्धको आधारमा तालिम प्राप्त कुकुर अपराधीसम्म पुग्ने हो ।

‘मानव शरीरबाट प्रति मिनेट ४० देखि ६० हजार वटासम्म कोषिकाहरू र्झछन्’ उनले सुनाइन्, ‘घटनास्थलमा भेटिने त्यस्ता कोषिकाहरू कुकुरले सुँघ्छ र त्यसलाई पछ्याउँदै अपराधी भएको ठाउँसम्म पुग्छ ।’

थुप्रै छन् चुनौति

अपराध अनुसन्धान कुकुर प्रयोगको माग बढिरहे पनि प्रहरीसँग भएका कुकुरको संख्याचाहिँ उल्लेख्यरुपमा बढ्न सकेको छैन । कुकुर परिचालनको अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार पर्याप्त ‘ह्याण्डलर’ पनि छैनन् ।

कुकुर परिचालनका लागि अन्तर्राष्ट्रिय सिद्धान्त छ, ‘वान डग टु हृयाण्डलर’ अर्थात् ‘एक कुकर परिचालन गर्ने दुई जना अधिकारी’ । तर, नेपालमा भने ठीक विपरीत छ, ‘टु डग वान हृयाण्डलर’ । जनशक्ति अभावका कारण दुई वटा कुकुरलाई एउटा हृयाण्डलरसम्म हेर्नुपर्ने बाध्यता रहेको अधिकृतहरू बताउँछन् ।

नेपाल प्रहरीले २०२६ सालमा चार जना प्रहरी अधिकारीलाई कुकुर तालिमका लागि मलेसिया पठाएको थियो । त्यहाँबाट फर्किँदा चार वटा तालिम प्राप्त कुकुर नेपाल ल्याएर अनुसन्धानमा प्रयोग गर्न थालिएको इतिहास छ

कुकुरको उपचारका लागि चिकित्सक जनशक्ति पनि पर्याप्त छैनन् । प्रदेशमा राखिएका कुकुरहरू बिरामी भए उपचारका लागि महाशाखाले कर्मचारीलाई सामान्य तालिम दिएर पठाएको छ ।

जटिल किसिमका बिराम देखिए जिल्लाका पशु उपचार केन्द्रमा पठाउने गरिएको छ । ‘जाडो सिजनमा खोकी लाग्ने र गर्मीमा किर्नाबाट सर्ने रोग इक्यानिज र ग्यास्टो इन्टेस्टाइनल डिसअर्डर्र कुकुरहरुलाई देखिने गरेको छ,’ डा. सत्याल भन्छन् ।

नेपाल प्रहरीले २०२६ सालमा चार जना प्रहरी अधिकारीलाई कुकुर तालिमका लागि मलेसिया पठाएको थियो । त्यहाँबाट फर्किँदा चार वटा तालिम प्राप्त कुकुर नेपाल ल्याएर अनुसन्धानमा प्रयोग गर्न थालिएको इतिहास छ ।

त्यसबेला प्रहरी प्रधान कार्यालयको एउटा कोठामा सीमित कुकुर २०३२ सालमा छुट्टै कुकुर शाखा बनाएर राखिएको थियो । कुकुरको प्रयोग बढेसँगै केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालय २०४७ सालमा स्थापना गरियो भने हाल कुकुरहरुलाई केनाइन महाशाखा अन्तरगत राखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment