+
+

‘मिमेटिक डिजायर’ र ‘बलिको बोको’को खोजी

ध्रुवराज अधिकारी ध्रुवराज अधिकारी
२०७८ कात्तिक १९ गते १८:२७

यतिबेला नेपालको न्यायालयदेखि राजनीतिक दलसम्म ‘मिमेटिक डिजायर’ र द्वेषभावको भुसको आगो सल्किएको छ । यो आगो सल्काउने देवता मन्साउन कुनै ‘बलिको बोको’को खोजी भइरहेको छ । नेपाली समाजले अझै पनि वैदिक ‘बलिदानको युग’ पार गरेर सभ्य समाजतर्फ पदार्पण गरेको रहेनछ भन्ने यसबाट देखिएको छ ।

‘मिमेटिक डिजायर’को को नेपाली शब्दार्थ हो ‘नक्कल गर्ने चाहना’र ‘स्केपगोट’को अर्थ हो ‘बलिको बोको’। सर्वप्रथम त शीर्षकमा नेपाली शब्द नभई अङ्ग्रेजी शब्द छानेकोमा क्षमा याचना गर्दछु । यी दुवै शब्द मैले फ्रान्सेली समाजशास्त्री रेने जिरार्डबाट सापटी लिएको हुँ । ‘नक्कल गर्ने चाहना’ पदावलीभन्दा ‘मिमेटिक डिजायर’ शब्द बढी प्रचलित पनि र बढी चोटिलो पनि भएकोले तलका हरफमा त्यसलाई जस्ताका तस्तै प्रयोग गरेको छु । ‘बलिको बोको’ शब्दले जिरार्डको ‘स्केपगोट’सम्बन्धी अवधारणालाई जस्ताको तस्तै उतार्ने र चोटिलो पनि हुने भएकाले त्यसको हकमा भने तलका हरफमा नेपाली अनुवाद प्रयोग गरेको छु ।

‘मिमेटिक’ राजनीति

नेपालको संविधान घोषणा हुनु अघिको सात दशकको राजनीति र त्यसपछिको, अझ खास गरी गएका दुई तीन वर्षको राजनीतिबीच तात्विक फरक छ भन्ने कुरा धेरै विश्लेषक र टिप्पणीकारले भेउ पाउन सकेका छैनन् । त्यो तात्विक फरक के भने यसअघिको राजनीतिमा राजनीतिक शक्ति र नेताका चाहना फरक थिए । उनीहरूका चाहना फरक विचारधाराद्वारा निःसृत थिए ।

उदाहरणको लागि राजावादीहरू राजतन्त्र चाहन्थे, काँग्रेसीहरू र एक हदसम्म संशोधनवादी भनिएका एमालेसँग आबद्ध वामपन्थीहरू उदारवादी लोकतन्त्र चाहन्थे र क्रान्तिकारी भनिएका माओवादी र अन्य साना वामहरू चीनको जस्तै जनवादी गणतन्त्र स्थापना गर्न चाहन्थे । संवैधानिक राजतन्त्र मान्ने कि नमान्ने भन्नेमा पनि उनीहरूको मतभेद थियो । तर, गणतन्त्रको स्थापना भैसकेपछि त्यो परिवर्तनको राजनीतिको युगको अन्त्य भएको छ र ‘मेमेटिक’ राजनीतिको युग सुरु भएको छ, जहाँ को काँग्रेस हो, को राजावादी हो, को संशोधनवादी हो, को क्रान्तिकारीहरू भनेर छुट्याउन कम्तिमा पनि अममान्छेलाई गाह्रो भएको छ । किनकि, आजको ‘मिमेटिक’ राजनीतिमा सबैका चाहना एउटै छन् । तर ती समान चाहनाले राजनीतिक पात्रहरूबीचमा मिलन होइन कि द्वन्द्व सिर्जना गरेको छ ।

नेपाली राजनीतिमा द्वन्द्व हिजो पनि थियो र आज पनि छ । राजनीति भनेकै एकप्रकारले विभिन्न सामाजिक एवम् शक्तिमुखी स्वार्थहरूको द्वन्द्व हो । तर हिजोको द्वन्द्व र आजको द्वन्द्वमा फरक छ । हिजोको द्वन्द्व राजनीतिक पात्रहरूका फरक विचारधारा र चाहनाका द्वन्द्वबाट जन्मिएको र हुर्किएको थियो । आजको द्वन्द्व राजनीतिक पात्रहरूको समान चाहनाबाट जन्मिएको छ । यस्तो समान चाहनावा ‘मिमेटिक डिजायर’ विचारधाराको चिहानमा फक्रेको छ । हिजोको राजनीतिक द्वन्द्वको मुहान परिवर्तनका थरी-थरी चाहना थिए । आजको राजनीतिक द्वन्द्वको मुहान विरोधीले चाहेको वस्तुप्रतिको उत्कट चाहना र आफू आफ्नो विरोधीजस्तै बन्ने बरु विरोधीलाई चाहिँ ऊजस्तो हुन नदिने विचित्रको चाहना हो । आजको राजनीतिक द्वन्द्वको मुहान नेपालका प्रमुख राजनीतिक नेताको ‘मिमेटिक डिजायर’ हो।

यस्तो मिमेटिक डिजायर हालको नेपालमा सबभन्दा बढी हिजो आफूलाई वामपन्थी हुँ भन्नेमा देखिएको छ । काँग्रेसमा यो समस्या कम देखिनुको कारण के पनि हुनसक्छ भने काँग्रेसीहरू आफ्नो उदारवादी विचारधारामा कायमै छन् हिजोदेखि नै । जबकि नेपालका कम्युनिस्ट भन्नेहरू यतिबेला विचारधाराविनाका विशुद्ध सत्ताराजनीतिका खेलाडी मात्र बन्न पुगेका छन् । त्यसकारण, ‘मिमेटिक’ राजनीतिको चरित्र कस्तो हुन्छ त्यसमाथि प्रकाश पार्न यसपछिका हरफहरूमा मैले नेपालका दुई ठूला कम्युनिस्ट भनिने दुई दलका अध्यक्ष केपी ओली र प्रचण्डको ‘मिमेटिक’ दुस्मनीको बारेमा चर्चा गरेको छु ।

केपी ओली र प्रचण्डको ‘मिमेटिक’ दुस्मनी

नेपालको वर्तमान मिमेटिक राजनीतिका ‘मिमेटिक राइभल’ वा जोडी दुस्मन हुन्-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। यी जोडी दुस्मनको कथा देखावटी प्रेम र सार्वजनिक घृणाका चक्रहरूमा मात्र लेख्न सकिन्छ । मिमेटिक घृणा र दुस्मनीको विचित्र चरित्र के भने यो मिमेटिक मिलाप र सहकार्यबाट सुरु हुन्छ । केपी ओली र प्रचण्डबीच परिवर्तनको राजनीतिको समयमा पनि झगडा थियो तर त्यो मिमेटिक चाहनाभन्दा पनि विचारधाराको अन्तरबाट पलाएको थियो । तर, आजको उनीहरूको गालीगलौजपूर्ण द्वन्द्व मिमेटिक डिजायरबाट पैदा भएको हो ।

खासमा देवत्वकरण हुने चाहना केपीभन्दा पहिले प्रचण्डको चाहना हो ।भित्तामा आफ्ना ठूला-ठूला तस्वीर टँगाउने अनि प्राधिकार बन्ने चाहना प्रचण्डको राजनीतिको हो । आज प्रचण्डको त्यो प्राधिकार बन्ने चाहना केपी ओलीको उत्कट चाहना बनेको छ । त्यो उत्कट चाहना केपी ओलीका ठूला तस्वीर र बोर्डहरूमा अभिव्यक्त भएको छ

यी दुई मिमेटिक दुस्मन कुनै समय दोहोरो नेकपाका दुई सहचालक भन्थे आफूलाई । दुवैको प्रधानमन्त्रीको कुर्सीमा फेरि पुग्ने उत्कट चाहना थियो । उनीहरू दुवैको त्यो मिमेटिक चाहनालाई गोप्य समझदारीमा लिखितरूपमा लिपिबद्ध पनि गरिएको थियो । तर दुर्भाग्य मिमेटिक चाहना भनेकै अर्काको चाहनालाई आफ्नो बनाउने चाहना हो । यो दुई मिल्ने साथीमध्ये एउटा साथीले एउटा सुन्दरीलाई मन पराएपछि अर्कोले पनि त्यही सुन्दरी चाहेजस्तो हो । कहिलेकाहीँ एउटा साथीले उक्त सुन्दरी मन पराउन छाड्यो भने अर्कोले पनि त्यत्तिकै मन पराउन छाड्छ । तर, पहिलो साथीले जति बढी उक्त सुन्दरीप्रति हुरुक्क भयो, अर्को त्यसको दोब्बर हुरुक्क हुन्छ ।अनि यो एउटा चक्र जस्तो बन्छ ।केपी ओली र प्रचण्डमा पनि त्यस्तै भयो । प्रधानमन्त्रीको कुर्सीको चाहनाले एक ठाउँमा आएका केपी ओली र प्रचण्ड, त्यही कुर्सीका कारण आज मिमेटिक राइभल वा दुस्मनमा परिणत भएका छन् ।

केपी र प्रचण्डको एकअर्को बन्ने लुप्त चाहना

रेने जिरार्डका अनुसार मिमेटिक जोडी दुस्मनमा एकअर्का जस्तो बन्ने र एउटाले अर्काले जस्तो चाहने उत्कट इच्छा हुन्छ । केपी ओली र प्रचण्डका बोली र व्यवहार हेर्दा उनीहरू पनि एक अर्को बन्ने उत्कट चाहना पालेर हिँडेका छन् भन्ने प्रतीत हुन्छ । ठूलो दलका अध्यक्ष भएकोले केपी ओलीबाटै सुरु गरौं ।

केपी ओलीमा प्रचण्ड जस्तै आफ्नो दलमा सर्वेसर्वा हुने चाहना थियो ।त्यो माधव नेपाल समूह अलग्गिएपछि लगभग पूरा भएको छ । तर, केपी ओलीको चाहना राजनेता बन्ने छ । इतिहास लेखाउने चाहना छ उनको । नेपाली जनताको भगवान बन्ने चाहना छ केपी ओलीको । तर, त्यो चाहना केपी ओलीको आफ्नै चाहना भने होइन । उनको यो चाहना एउटा मिमेटिक चाहना हो । खासमा देवत्वकरण हुने चाहना केपीभन्दा पहिले प्रचण्डको चाहना हो । भित्तामा आफ्ना ठूला-ठूला तस्वीर टँगाउने अनि प्राधिकार बन्ने चाहना प्रचण्डको राजनीतिको हो । आज प्रचण्डको त्यो प्राधिकार बन्ने चाहना केपी ओलीको उत्कट चाहना बनेको छ । त्यो उत्कट चाहना केपी ओलीका ठूला तस्वीर र बोर्डहरूमा अभिव्यक्त भएको छ । प्रचण्ड विश्वक्रान्तिका नेता बन्न चाहन्थे ।तर आज उनले त्यो चाहना परित्याग गरिसकेका छन् । केपी ओली नेपाली पुनःउत्थानका नायक बन्न खोज्दै छन् । क्रान्ति भने पनि पुनःउत्थान भने पनि आफूलाई महानायक बनाउने उस्तै चाहना छन् यी दुवैका ।

प्रचण्डलाई केपी ओली जस्तै बन्ने चाहना छ । त्यसैले उनले आफ्नो पार्टीलाई एमालेको ढाँचामा ढाल्दै लगेका छन् । केपीको अर्को मदन भण्डारी बन्ने चाहना देखेपछि त्योभन्दा ठूलो मदन भण्डारी बन्ने चाहना प्रचण्डलाई भएकै हो । यसमा प्रचण्डको केही दोष छैन । मिमेटिक राजनीतिको गत्यात्मकता नै यस्तै हो । मिमेटिक दुस्मनीको परिणति नै यस्तै हुने हो । मिमेटिक दुस्मनीको चरित्र भनेकै एउटै सुन्दरी ताक्ने दुई मित्रबीचको दुस्मनी जस्तै हो ।

केपी ओली र प्रचण्डबीचको यो पारस्पारिक मिमेटिक चाहनाबाट कुण्ठा र द्वेष निःसृत भएको छ । यो कुण्ठा र द्वेषको भुसको आगो कार्यपालिका, व्यवस्थापिका हुँदै न्यायालयसम्म पुगेको छ ।यस्तो कुण्ठा र द्वेषको अध्ययन गर्न नेपालीहरूले पूजा गर्ने कार्ल मार्क्सको साहित्यमा कुनै अवधारणा फेला पर्न सकेन । त्यसैले अबको खण्डमा त्यसको व्याख्या गर्न जर्मन दार्शनिक फ्रेडरिक नित्सको ‘रसन्टिमो’ (ressentiment)भन्ने अवधारणालाई सापट लिएको छु । ‘रसन्टिमो’ लाई नेपालीमा कुण्ठा, द्वेष वा ईर्ष्या भन्न सकिन्छ तर यी कुनै पनि नेपाली शब्दले नित्सको ‘रसन्टिमो’को दार्शनिक गहिराइलाई प्रतिनिधित्व गर्न सक्दैनन् ।

नेपालको वर्तमान राजनीतिमा युद्धपछिको रसन्टिमोका धेरै पत्र छन् तर अबको खण्डमा भने म खासगरी प्रचण्डको ‘रसन्टिमो’को बारेमा चर्चा गर्छु ।

प्रचण्डको नित्सियन ‘रसन्टिमो’

बलियाहरू लड्छन् र उनीहरूले मिल्नुपर्ने बेलामा कमजोरलाई बलिको बोको बनाउँछन् । प्रचण्ड, केपी ओली र शेरबहादुर देउवा मात्र होइन, सिङ्गो नेपाली समाज बलिको बोकोको खोजीमा निस्किएको केही समय भएको छ, आफ्नो सङ्कट टार्न

केही समय पहिले मानसिक स्वास्थ्यसम्बन्धी तालीम लिएपछि मलाई के अनुभूति भयो भने प्रचण्डका ‘आत्महत्या’बारे लगायतका पछिल्लो समयमा आएका अभिव्यक्ति र उनका उत्तेजक भाषण मनोरोगका लक्षणसित मिल्दाजुल्दा छन् । तर म मनोरोग विशेषज्ञ नभई राजनीतिक भावनाहरूको अध्येता भएको नाताले के भन्न सक्छु भने नेपाली समाज यतिबेला युद्धपछिको निराशा र कुण्ठाको– नित्सियन रसन्टिमोकोचरणबाट गुज्रिरहेको छ । यो नित्सियन रसन्टिमोको मुहान फेरि पनि मिमेटिक डिजायर वा आफ्नो प्रतिस्पर्धी जस्तै बन्ने र उसले चाहेकै कुरा चाहने उत्कट अभिलाषा पूरा नहुनु हो ।

मिमेटिक डिजायर वा अझ भनौं छिमेकीजस्ते बन्ने चाहना पूरा नभएपछि व्यक्तिमा कुण्ठा वा ‘रसन्टिमो’ पैदा हुन्छ । रसन्टिमो एउटा यस्तो आक्रोश हो जो हिंसामा परिणत हुन सक्दैन । परिवर्तनको युगको राजनीतिको मुख्य वाहक अन्याय र असमानताविरुद्धको आक्रोश हुन्छ तर मिमेटिक युगको मुख्य वाहक रसन्टिमो वा इर्ष्या, द्वेष र कुण्ठा हुन्छ ।

आज केपी ओलीमा अर्काले ल्याइदिएको परिवर्तनको नेता बन्नु परेको कुण्ठा छ । प्रचण्डमा आफूले ल्याएको भनेको व्यवस्थामा आफ्नो मिमेटिक दुस्मनको राइँदाइँ भएकोमा कुण्ठा छ । मिमेटिक दुस्मनको जय जयकार भएकोमा डाह छ । हेपिँदा पनि हिंसामा उत्रन नपाएकोमा कुण्ठा छ शायद । होइन भने सत्ताबाहिर पुगिसकेको पात्रको दिनदिनै खोइरो खन्नुपर्ने कुरा त्यसै पनि अस्वभाविक होइन र ? कथित क्रान्तिकारी राजनीतिलाई कुनै अमुक व्यक्तिको विरोधको राजनीतिमा परिणत गर्नु आफैंमा अस्वभाविक छैन र ?

प्रचण्डको यतिबेलाको राजनीतिको प्रेरक भावना अरू केही नभएर नित्सियन रसन्टिमो हो भन्ने यसबाट पनि प्रस्ट हुन्छ ।

हिजोको प्रचण्डको ‘गौरवपूर्ण’परिवर्तनको राजनीति र आजको नित्सियन रसन्टिमोको राजनीतिबीच अर्को के फरक छ भने हिजोको राजनीति धेरै हदसम्म आशावादले भरिएको थियो । तर आजको नित्सियन रसन्टिमोले भरिएको प्रचण्डको मिमेटिक राजनीति निराशा र हतासाले भरिएको छ ।

बलिको बोकोको खोजी

रेने जिरार्डका अनुसार मिमेटिक द्वन्द्व ‘स्केपगोट’ वा बलीको बोकोको खोजीमा गएर टुंगिन्छ । हिजो माओवादी आन्दोलनभित्र प्रचण्ड र बाबुरामबीच मिमेटिक द्वन्द्व हुँदा कहिले आलोक त कहिले मणि थापा र रवीन्द्र श्रेष्ठलाई बलिको बोको बनाएर समाधान भएका हुन् । आजको प्रचण्ड र शेरबहादुर देउवाको मिलन हजारौं नेपाली जनताका छोराछोरी बलिको बोको बनाएर सम्भव भएको हो भन्दा अत्युक्ति हुँदैन ।

आज पनि नेपाली राजनीति र न्यायालयको सङ्कट समाधान गर्न बलिको बोकाको खोजी भइरहेको छ । यसअघि सबै मिलेर केपी ओलीलाई सबै दोष भिराएर बलिको बोको बनाउन खोजेकै हुन् । आज सर्वोच्चका श्रीमानलाई बलिको बोको बनाउने कोसिस हुँदै छ । बलियाहरू लड्छन् र उनीहरूले मिल्नुपर्ने बेलामा कमजोरलाई बलिको बोको बनाउँछन् । प्रचण्ड, केपी ओली र शेरबहादुर देउवा मात्र होइन, सिङ्गो नेपाली समाज बलिको बोकोको खोजीमा निस्किएको केही समय भएको छ, आफ्नो सङ्कट टार्न । हामीले दीगो शान्ति र सुव्यवस्था पाउन को बलि चढाइने हो हेर्न बाँकी नै छ ।

लेखकको बारेमा
ध्रुवराज अधिकारी

‘द्वन्द्व व्यवसायी’हरूले राजनीतिक हिंसामा कसरी भावनाको परिचालन गर्छन् भन्ने विषयमा सोधरत अधिकारी हाल नेपालको माओवादी आन्दोलनमा भावनाको परिचालनको विषयमा विद्यावारिधि गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?