
२८ कात्तिक, काठमाडौं । इक्वेडरको एक जेलमा कैदीबीच झडप हुँदा कम्तिमा ६८ जनाको ज्यान गएको छ । कैदीबीच भएको पछिल्लो झडपमा २५ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
गुवाएकुइल शहरस्थित जेलमा विरोधी समूहबीच भएको झडपमा परी कम्तिमा ६८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अधिकारीहरूका अनुसार शुक्रबार रातिदेखि जेलभित्र झडप सुरु भएको थियो ।
जेलभित्र प्रवेश गरेको प्रहरीको एक युनिटले बन्दुक, विष्फोटक पदार्थ र ब्लेड बरामद गरेको समाचारमा उल्लेख छ । शनिबार समेत जेलभित्र थप हिंसा भएपछि सेना परिचालन गरिएको थियो ।
परस्पर विरोधी ‘ग्याङ’बीच जेलभित्रको क्षेत्राधीकारलाई लिएर विवाद सुरु भएको र विवादले झडपको रुप लिएको अधिकारीहरूले बताएका छन् । जेलमा कैदीका एक नाइके रिहा भएपछि विवाद सुरु भएको थियो ।
‘जेलको यो भागमा कुनै नाइके नभएपछि अन्य समूहले प्रवेश गरी जथाभावी हत्या गरेका थिए’, गुवायस प्रान्तका गभर्नर पाब्लो एरोसिमेनाले भने ।
यो वर्षमात्रै इक्वेडरका जेलमा भएको ‘ग्याङ फाइट’मा परी झण्डै ३ सय कैदीको मृत्यु भएको छ । सेप्टेम्बर महीनामा परस्पर विरोधी समूहबीच भएको झडपमा परी १०० भन्दा बढी कैदीको ज्यान गएको थियो । बीबीसीबाट
प्रतिक्रिया 4