+
+

कांग्रेस सभापतिमा देउवाको दाबी, कति जायज ?

सरिन घिमिरे सरिन घिमिरे
२०७८ मंसिर ३ गते १५:०९

नेपाली कांग्रेस १४औं महाधिवेशनको सँघारमा छ । लामो अन्योल र अनिश्चिततालाई चिर्दै अबको तीन सातापछि कांग्रेस केन्द्रीय नेतृत्व चयनको प्रक्रियामा सहभागी हुँदैछ । पार्टीको आगामी नीति र कार्यक्रमबारे छुट्टै विधान अधिवेशन हुने भएकाले यसपटकको महाधिवेशनले नेतृत्व चयन मात्रै गर्नेछ ।

मंसीर २४ गते काठमाडौंमा महाधिवेशनको उद्घाटन हुने भए पनि उम्मेदवारी मनोनयन प्रक्रिया भने मंसीर २१ बाट नै शुरु हुनेछ । महाधिवेशनको मिति जति नजिकिंदैछ, कांग्रेसको अबको नेतृत्व कसको हातमा पर्ला भन्ने चर्चा र चासो कांग्रेसवृत्तमा मात्र होइन, सिंगो मुलुक र नेपालसँग निकटसम्बन्ध राख्ने देशका लागि पनि उत्तिकै कौतूहलको विषय बनेको छ ।

सभापतिका आधा दर्जन आकांक्षीका बीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएका छन् । कांग्रेसको विधानले पनि उनलाई दोस्रोपटक नेतृत्वमा दाबी गर्ने सुविधा दिएको छ ।

देउवा बाहेक अन्य सभापतिका आकांक्षीहरूले सभापतिमा उम्मेदवारी किन र केका लागि भन्ने कुनै कार्यक्रम र योजना आजका दिनसम्म सार्वजनिक गरेका छैनन् । सभापतिका उम्मेदवार भन्दै प्रचारमा आइरहेका नेताहरू उम्मेदवार मनोनयनको दिनसम्म कति जना टिक्छन् भन्ने प्रश्न पनि उत्तिकै अहम् छ ।

देउवाको दाबीका आधार

कांग्रेसको इतिहास हेर्ने हो भने बहालवाला सभापतिले कार्यकाल दोहोर्‍याउन चाहे पार्टीका कार्यकर्ताले सहजै अनुमोदन गरेका छन् । बीपीदेखि गिरिजाप्रसाद कोइरालासम्म दोहोर्‍याएर सभापति बनेको इतिहास छ ।

१२औं महाधिवेशनमा सभापतिमा निर्वाचित सुशील कोइरालाले १३औं महाधिवेशनमा पनि सभापतिको तयारी गरेका थिए । तर दुर्भाग्य, महाधिवेशनको एक महीना अघि नै कोइरालाको निधन भयो ।

१३औं महाधिवेशनबाट उत्साहजनक मत पाएर पार्टी सभापतिमा निर्वाचित देउवाले पनि नेतृत्वमा दोहोरिन चाहेका छन् । आफ्नो नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाउने र पार्टीमा आफूले गर्न अधुरा कामलाई अगाडि बढाउन सभापतिमा दोहोरिन खोजेको देउवाको दलिल छ ।

त्यति मात्र होइन, देउवा फेरि पार्टी सभापति बन्ने थुप्रै बलिया आधार छन्, जुन सुविधा सभापतिको दौडमा रहेका अन्य आकांक्षीहरूसँग छैन । पहिलो आधार, पार्टीभित्रको सांगठनिक पकड । जुन तथ्य सभापतिका अन्य आकांक्षीले सार्वजनिक रूपमै स्वीकार गरिसकेका छन् ।

उनीहरूको एउटै भनाइ छ, ‘हामीहरू एक नभए देउवालाई हराउन सकिन्न ।’ कांग्रेस महामन्त्री डा. शशांक कोइराला र महामन्त्रीका दावेदार गगनकुमार थापाले सार्वजनिक रूपमै भनेका छन्, ‘एउटा मात्रै उम्मेदवार बनाउन नसके पार्टी देउवालाई बुझाइदिए हुन्छ ।’ यसको अर्थ कांग्रेसभित्र देउवाको प्रभाव बलियो छ ।

दोस्रो, देउवाको सर्वस्वीकार्य व्यक्तित्व र नेतृत्व । कांग्रेसको त के कुरा, मुलुकको राजनीतिमा सक्रिय अन्य पार्टी नेताहरूमध्ये देउवा राजनीतिक सक्रियता र व्यक्तित्वका हिसाबले सबैले स्वीकार गरेका नेता हुन् । पाँच पटक मुलुकको प्रधानमन्त्री बनिसकेका देउवाको राजनीतिमा जुन अनुभव र परिपक्वता छ, त्यसको तुलना अरू कुनै पनि नेताहरूसँग हुनै सक्दैन ।

मुलुकको राजनीतिमा सक्रिय अन्य पार्टी नेताहरूमध्ये देउवा राजनीतिक सक्रियता र व्यक्तित्वका हिसाबले सबैले स्वीकार गरेका नेता हुन् । पाँच पटक मुलुकको प्रधानमन्त्री बनिसकेका देउवाको राजनीतिमा जुन अनुभव र परिपक्वता छ, त्यसको तुलना अरू कुनै पनि नेताहरूसँग हुनै सक्दैन ।

पूर्व राजा ज्ञानेन्द्र शाहको निरंकुशता विरुद्धको आन्दोलनको नेतृत्व कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले गरे जस्तै अहिले शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षार्थ दलहरूलाई आफ्नो नेतृत्वमा एकताबद्ध गर्ने काम गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउँदै देशमा एकदलीय अधिनायकवाद लाद्न एकपछि अर्को गैरसंवैधानिक कदम चाल्दा त्यसका विरुद्ध बनेको दलहरूको गठबन्धनको नेतृत्व देउवाले गरिरहेका छन् ।

पाँचदलीय गठबन्धनको समर्थनमा देउवा मुलुकको प्रधानमन्त्री बनेका छन् । देशले नै स्वीकार गरेको नेताको विकल्प कांग्रेसमा खोजी हुनु कति तर्कसंगत होला ? यतिबेला कांग्रेसको नेतृत्व परिवर्तनको कुरा गर्नु अहिले कायम गठबन्धन कमजोर बनाउनु र मुलुकलाई फेरि अस्थिरताकै बाटोमा अगाडि बढाउन खोज्नु हो । किनकि देउवाको नेतृत्वलाई जसरी अरू दलहरूले सहजै स्वीकार गरेका छन्, कांग्रेसमा सबैले स्वीकार गर्ने अर्को दोस्रो नेता छैन ।

विश्वका लोकतन्त्रवादी नेताहरूको अन्तर्राष्ट्रिय संगठन सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्षका साथै एशिया क्षेत्रको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्, देउवाले । बीपी कोइरालापछि यो संस्थाको केन्द्रीय नेतृत्वमा पुग्ने देउवा मात्रै हुन् ।

बीपी पनि सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्ष बनेका थिए । त्यसकारण, नेपाली कांग्रेस जस्तो एउटा इतिहास बोकेको पार्टीको नेतृत्व गर्ने व्यक्तिको पहिचान र सम्बन्ध अन्तर्राष्ट्रिय स्तरमा हुनु जरूरी छ ।

त्यसैले पनि देउवाको राजनीतिक कदका अगाडि कांग्रेसमा सभापतिका अन्य आकांक्षीहरूको तुलना हुनै सक्दैन । राष्ट्रिय राजनीतिमै पहिचान बनाउन प्रयासरत नेताहरूका अगाडि देउवाको व्यक्तित्व निकै माथि छ । जुन कुरा कांग्रेसका आम कार्यकर्ताका अगाडि छर्लङ्ग छ । त्यसमा पनि नौ लाख क्रियाशील सदस्यहरूबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिले नबुझ्ने कुरै भएन ।

देउवा नै कांग्रेस सभापति बन्नुपर्ने अर्को आधार हो, उनको राष्ट्रवादी छवि । उनी सत्तामा हुँदा होस् या बाहिर, राष्ट्रियताको विषयमा प्रष्ट छन् । पाँचपटक मुलुकको प्रधानमन्त्री बनेका देउवाले आफ्नो राष्ट्रवादी छविलाई कायमै राखेका छन् ।

सभापतिका रूपमा देउवा

संगठनको विस्तार र सुदृढीकरणको दृष्टिकोणमा महाधिवेशनको मुखमा चार लाख बढी क्रियाशील सदस्य थपिनुलाई ऐतिहासिक कामको रूपमा लिनुपर्दछ । पार्टीको सांगठनिक दृष्टिकोणमा यो ठूलो उपलब्धि हो । नेपालको सबैभन्दा बढी क्रियाशील सदस्य भएको पार्टी कांग्रेस बनेको छ । यसको श्रेय सभापति देउवालाई नै जान्छ ।

यसबीचमा मुख्य विपक्षी दलको रूपमा कांग्रेसले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भयो । झण्डै दुई तिहाइ मत पाएको तत्कालीन वाम गठबन्धन विरुद्ध शुरुमै आक्रामक बन्दा जनतामा गलत सन्देश जान सक्नेतर्फ कांग्रेस नेतृत्व सचेत थियो । त्यसैले सदनमा कांग्रेसले रचनात्मक भूमिका निर्वाह गर्‍यो । तर कम्युनिष्ट सरकारले त्यसलाई कांग्रेसको कमजोरी ठान्दै लोकतन्त्र र संविधानको खिलाफमा आफूलाई अग्रसर गरेपछि कांग्रेसका लागि असह्य भयो ।

देउवाकै नेतृत्वमा ओलीको अधिनायकवादी शासन ढल्न पुग्यो । यसमा कांग्रेससँगै अन्य राजनीतिक दलका नेताहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । तर कांग्रेसको पार्टी सभापति र गठबन्धन दलहरूको नेताका रूपमा यसको जस देउवालाई जान्छ ।

त्यस्तै पार्टीभित्र केन्द्रीय समितिमा होस् या सार्वजनिक मञ्चमा, नेतृत्व विरुद्ध आफूलाई लागेका कुरा राख्न पाउने, बोल्ने, आलोचना गर्न पाउने कुरामा कांग्रेसले गुणात्मक रूपमा फड्को मारेको कुरालाई हामीले नजरअन्दाज गर्न मिल्दैन ।

कांग्रेसमा कार्यकर्ताले आफूलाई लागेको कुरा नेतृत्वका अगाडि राख्न पाउने स्वतन्त्रता देउवा कार्यकालमा प्रत्याभूत भएको छ । यद्यपि यसले पार्टीमा अनुशासनहीनता र अराजकतालाई बढावा दिएको छ । तर पनि पार्टीका साथीहरूलाई आफूलाई लागेका कुराहरू भन्न पाइन्छ भन्ने कुराको प्रत्याभूति देउवा कार्यकालमा भएको छ ।

पार्टीमा सुविधाजनक बहुमत हुँदा पनि देउवाले सहमतिमै निर्णय गर्ने र त्यसमा सबैको अपनत्व महसूस गर्ने प्रणालीको विकास गरे । उनले गुटगत राजनीतिभन्दा माथि उठेर पार्टीलाई एकताबद्ध रूपमा अगाडि लैजाने निरन्तर अभ्यास गरे । देउवाले पार्टीमा आफूसँग असहमति राख्ने नेता र समूहलाई बहुमतको दम्भ देखाएनन् ।
त्यति मात्र होइन, १३औं महाधिवेशनमा आफैंसँग प्रतिस्पर्धा गरेका रामचन्द्र पौडेललाई सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी राजनीतिक संयन्त्रको संयोजक बनाए भने अर्का नेता कृष्णप्रसाद सिटौलालाई समिति सदस्य बनाएर देउवाले पार्टीभित्र र बाहिर सबैलाई भूमिका दिन खोजेको प्रष्ट हुन्छ ।

प्रधानमन्त्रीका रूपमा देउवा

कुनै पनि पार्टी र त्यसको नेतृत्वको सफलता वा असफलताको मूल्यांकन कुन मानकमा राखेर गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । हाम्रोमा मूलतः नेतृत्वको सफलतालाई निर्वाचनको परिणामसँग जोडेर मात्रै हेर्ने गरिन्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधानको कार्यान्वयनका लागि अत्यन्तै प्रतिकूल परिस्थितिमा पनि तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको विषय हामीले बिर्सिनुहुन्न । त्यो निर्वाचनकै परिणाम संविधान कार्यान्वयनको ढोका खुलेको हो ।

त्यस्तै, दुई तिहाइ मत प्राप्त नेकपा सरकार पाँच वर्ष नपुग्दै ढल्ने र कांग्रेस सत्तामा जाने कुरा कांग्रेस र कांग्रेसजनका लागि शायदै कल्पनाको विषय थियो । तर दुई तिहाइको कम्युनिष्ट सत्ता र पार्टी विभक्त भए । कांग्रेस प्रदेशदेखि केन्द्रीय सरकारको नेतृत्वमा पुग्यो । देउवाको नेतृत्वमा कांग्रेसका लागि कतिपय यस्ता ऐतिहासिक उपलब्धिहरू भएका छन्, त्यसलाई हामीले नजरअन्दाज गर्न मिल्दैन ।

प्रधानमन्त्रीका रूपमा पछिल्ला चार महीनामा देउवाले आफूले गरेको प्रतिबद्धतामा सफल भएका छन् । देउवाले संसदमा सरकारका तीन प्राथमिकता भएको बताएका थिए । पहिलो खोप, दोस्रो खोप र तेस्रो खोप । कोरोना महामारीको त्रास र कोरोना खोपको समस्या कायमै रहेका बेला सत्ताको नेतृत्व गर्न पुगेका देउवाले सबै नागरिकलाई चैत मसान्तसम्म निःशुल्क खोप उपलब्ध गराउने जुन प्रतिबद्धता जनाएका थिए, त्यसमा पनि सफल भएका छन् ।

यो सफलता प्रधानमन्त्रीका रूपमा देउवाको मात्रै नभएर, सिंगो कांग्रेसका लागि गर्व गर्ने विषय हो । र हालै जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२६ मा देउवाको उपस्थिति सिंगो नेपालका लागि गौरवको विषय बन्यो ।

अमेरिकाका राष्ट्रपतिदेखि शक्तिशाली मुलुकका सरकार प्रमुख र छिमेकी भारतका प्रधानमन्त्रीसँगको भेटले नेपालको कूटनीतिक दायरालाई थप फराकिलो र सशक्त बनाएको सन्देश दिएको छ । साथै जलवायु परिवर्तनका मुद्दाहरू अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाएका छन्, देउवाले ।

अन्त्यमा, कांग्रेसका लागि सबैभन्दा महत्वपूर्ण कार्यभार लोकतन्त्र र संविधानको स्थायित्व हो । सात दशकदेखिको अनवरत संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाउनुछ । देउवाले आफ्नो पहिलो कार्यकाल यिनै ऐतिहासिक जिम्मेवारी पूरा गर्न खर्र्चिए, जसमा उनी सफल भएको तथ्य भनिरहनुपर्दैन ।

अब एकपटक फेरि पार्टीलाई बहुमत दिलाउने र मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउने देउवाको अभिलाषालाई आउने महाधिवेशनबाट अनुमोदन गर्न कञ्जुस्याईं गर्नुहुन्न । पार्टी र मुलुकलाई सधैंको अलमल र अन्योलबाट निकास दिन पनि देउवाको विकल्प छैन ।

(तरूण दल आबद्ध घिमिरे नेपाली कांग्रेसका युवा नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment