+
+

राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा सबै जुटौँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १९:३५

६ मंसिर, महोत्तरी । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरेकी छिन् ।

महोत्तरीको मटिहानी नगरपालिका-७ मा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरेकी छिन् ।

‘प्रदेश–२ प्राचीन मिथिलाका अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र राजा जनकसहितका विद्वान, विदुषीको साधना र तपको थलोका रुपमा परिचित छ”, राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीले आफ्नो गौरवपूर्ण विगतलाई सम्मान गर्दै यी सम्बद्ध धरोहरको संरक्षण र सम्वद्र्धन गर्न पर्दछ ।’

मैथिली भाषाका महाकवि विद्यापतिको साधनाले मुलुकको वाङ्मय समृद्ध बनेको पनि उनले चर्चा गरिन् । मुलुकको विकास र पहिचानमा खेलकूद क्षेत्रको महत्वपूर्ण स्थान हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।

यो यथार्थलाई हृदयाङ्गम गरी मटिहानी नगरपालिकाले विशाल रङ्गशाला निर्माण गरेर समयोचित काम गरेको उनले बताइन् । नवनिर्मित रङ्गशालामा हुने अबका नियमित अभ्यासले खेल क्षेत्रमा राष्ट्रिय प्रतिभा जन्माउने विश्वास लिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

नेपालको समग्र इतिहासमा मिथिला क्षेत्रले विशिष्ट स्थान ओगटेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले जनकनन्दिनी सीताको जन्मभूमि रहेको यस ठाउँमा अझै जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास र अशिक्षाले सिर्जित गरिबी अहिलेको चुनौती बनेको बताइन् ।

यसलाई न्यूनीकरण गर्न प्रदेश–२ सरकारले थालेको ‘छोरी बिमा’ र ‘बेटी बचाउ–बेटी पढाउ’ कार्यक्रमको राष्ट्रपति भण्डारीले सराहना गरिन् । ‘प्रदेश–२ सरकारले थालेको यो प्रयत्नले नारी शिक्षालाई बल दिनसँगै सक्षम नागरिक बनाउन मद्दत गर्नेछ’, भण्डारीले भनिन् ।

शिक्षाको अवस्था फेर्नसँगै बालविवाह, अनमेल विवाह, बहुविवाह, दहेज र तिलक प्रथा एवं बोक्सीप्रथा जस्ता विसङ्गति र विकृति समाजमा अझै देखिनु दुःखको विषय रहेको राष्ट्रपतिले बताइन्। ‘हाम्रा प्रयत्न यसको समूल अन्त्यका लागि केन्द्रित हुन आवश्यक छ’, उनले भनिन् ।

मटिहानीमा ३०० वर्ष पहिले स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

शैक्षिक जागरणका अग्रदूत बालगुरु षडानन्दलेसमेत अध्ययन गरेको यो विद्यालयको समयोचित सुधार र विकासमा योगदान पुर्‍याउनु सबैको दायित्व भएको भण्डारीले बताइन् ।

मटिहानीका धार्मिक सम्पदा लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, तश्मैयाबाबाको खन्ती, पिरबाबा मजारस्थान, लक्ष्मीसागर र नजिकको जलेश्वरनाथ महादेव मन्दिरको संरक्षण, सम्बद्र्धनमा पहलकदमी लिन सकेमात्र आफ्नो गौरवपूर्ण विगत सन्ततिले देख्न÷बुझ्न पाउने उनले उल्लेख गरिन् ।

तराईको जीवन चुरे पर्वतसँग अभिन्नरुपले जोडिएको हुँदा चुरेको संरक्षणमा समुचित ध्यान पुग्न आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । चुरेको संरक्षणविना तराईको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘चुरे संरक्षण र तराईको समृद्धि एकअर्काका पूरक हुन्।’

यसका लागि चुरेको दोहनलाई निरुत्साहित गरी नदी प्रणालीलाई व्यवस्थित गरिन आवश्यक रहेको उनले बताइन् ।

समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य सङ्घले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?