+
+

…अनि कर्णदासले आमा सम्झिएर गीत गाए

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ मंसिर ८ गते १३:४४

८ मंसिर, काठमाडौं । कृषिकर्म गरेर पोखरा बसिरहेका गायक कर्णदास निकै कम मात्र गीत रेकर्ड गर्छन् । मर्ममा नछोएसम्म कुनै पनि गीत गाउन तयार नहुने उनी यसपटक भने आफ्नै राजीखुसीमा रेकर्डिङका लागि काठमाडौं आए ।

गत कात्तिक ३ गते बिहानको फ्लाइटमा काठमाडौं झरेका कर्णदास विमानस्थलबाट सिधै अनामनगरको सेवा रेकर्डिङ स्टुडियो पुगे । त्यहाँ कवि श्रवण मुकारुङ, एरेञ्जर रिदम कँडेल र आरके अदीप्त गिरी उनलाई नै कुरिरहेका थिए ।

केही मिनेटको आरामपछि पानी खाएर उनी स्टुडियो प्रवेश गरे । एक सातादेखि घरमै रियाज गरेको हुनाले कर्णदास सिधै रेकर्डको लागि तयार थिए ।

गीत बोल थियो– ए कालीगण्डकी ! हे आमा गण्डकी…!

कर्णदासले दुई घण्टासम्म आलाप तानेर कालीगण्डकी नदीको विलाप गाउन खोजे । तर आफ्नै गायकी उनलाई चित्त बुझिरहेको थिएन ।

यहीबेला स्टुडियो बाहिरबाट कवि श्रवण मुकारुङले सोधे, ‘गायकज्यूलाई भोक लाग्यो कि !’

प्राकृतिक सम्पदाको विनाश बढेकोमा चिन्ता गरिरहेका कर्णदास नदीमाथिको यो गीत गाउने अवसर सुखद संयोग बन्न पुगेको बताउँछन् । पहिलोपटक गीत हेर्नेबित्तिकै गाउन राजी भएका उनी अहिले कालीगण्डकी नदी बचाउ अभियानमा सक्रिय भएर जोडिएका छन् ।

कर्णदास खाजा खान बाहिर निस्किए । रेकर्ड चल्दै गरेको बेला भएकाले खानेकुरामा उनी सचेत हुन्छन् । यसैले उसिनेको चना र अण्डा मात्र खाए । लबीमा आराम गर्ने क्रममा कर्णदास, कवि श्रवण, एरेञ्जर रिदम कँडेल र आरके अदीप्त गिरीले यो गीतको पृष्ठभूमिबारे कुरा गरे ।

सबैको एकमत थियो– नेपालका नदीहरूमाथिको दोहन बढेको छ । हामीले सृजनात्मक प्रतिरोध गर्नैपर्छ ।

पोखरा उपत्यकाकै नालामुख गाउँमा जन्मेहुर्केका कर्णदासका गीत ५० को दशकमा सर्वाधिक चर्चामा थिए । सेती नदी, माछापुच्छ्रे र धौलागिरीको आँगनमा हुर्केका यी गायकलाई कालीगण्डकी नदी मासिँदै गरेकोमा निकै चिन्ता बढेको थियो ।

दश वर्ष अमेरिका बसेका कर्णदास २०७२ को भुइँचालोपछि स्वदेश फर्के । त्यसपछि नेपालमा नै केही गर्ने सोचले अहिले पोखरामा रेशम खेती गर्ने अन्तिम तयारीमा छन् ।

‘नदी भनेको त आमासमान हो नि,’ कर्णदास भन्छन्, ‘यति कुरा पनि नबुझेर मानिसहरू नदी दोहन गरिरहेका छन् । पैसाका लागि प्रकृति नासिरहेका छन् ।’

प्राकृतिक सम्पदाको विनाश बढेकोमा चिन्ता गरिरहेका कर्णदास नदीमाथिको यो गीत गाउने अवसर सुखद संयोग बन्न पुगेको बताउँछन् । पहिलोपटक गीत हेर्नेबित्तिकै गाउन राजी भएका उनी अहिले कालीगण्डकी नदी बचाउ अभियानमा सक्रिय भएर जोडिएका छन् ।

रेकर्डिङका क्रममा आरके अदीप्त गिरी, गीतकार श्रवण मुकारुङ र गायक कर्णदास, बायाँबाट ।

यता कवि मुकारुङ आफ्नो हृदय उथलपुथल भएपछि काली नदीको गीत लेखेको बताउँछन् । देशका मुख्य नदीमाथि अतिक्रमण गरिएकोमा कवितामार्फत प्रतिरोध गरिरहेका उनले यसपटक गीतमार्फत अभिव्यक्त गरेका छन् ।

त्यहीबेला पर्वतबाट अभियन्ता एवं कवि आरके अदीप्त गिरीको समूहले ‘कालीगण्डकी बचाउ अभियान’ शुरु गरे । उक्त अभियानमा देशैभरिका कवि, लेखक, कलाकारहरूलाई सृजनात्मक प्रतिरोध गर्न आह्वान गरिएको थियो ।

अभियानका लागि भनेर नै गत जेठ महिनामा मुकारुङले यो गीत लेखे । उनी भन्छन्, ‘कालीगण्डकी नदीलाई प्रतीक बनाएर देशैभरिका प्राकृतिक सम्पदालाई बचाऔं भन्न खोजको हुँ । यस्तो कुरामा हामी चुप बस्न हुँदैन भनेर यो गीत रेकर्ड गर्नसमेत पहल गरेको हुँ ।’

नदीकै पानी पिएर हुर्केका मुकारुङलाई नदी सभ्यतामाथिको अतिक्रमण सह्य थिएन । यसअघि पनि उनले ‘सुनकोशीको सुनको पानी परदेशीले पिउँदा’ बोलको गीत लेखेर नदीमाथि आफ्नो श्रद्धा व्यक्त गरेका थिए ।

मौलिक नेपाली गीत

नदी सभ्यतामाथि लेखिएका गीत संसारभरि फैलिएका छन् । अमेरिकी गीतकार पाउल रोबेनसनले लेखेको ‘ओल्ड म्यान रिभर’ संसारका दर्जनौं भाषामा अनुवाद भएर गाइएको छ ।

यही गीतलाई भुपेन हजारिकाले असमी र हिन्दीमा गाएका छन् । केही समयअघि नेपालमा पनि गायक अञ्जान र शुकन्तला जोशीले नेपालीमा गाएका थिए । यता रुसको भोल्गा नदीमा डुंगा खियाउनेहरूको संघर्षको गीत पनि सोभियत क्षेत्रमा राष्ट्रिय गीतसरह बनेको छ ।

कर्णदासले गाएको काली नदीको गीतमा भने कर्खा र देउडाको मिश्रण पाइन्छ । कवि मुकारुङले नेपालका गन्धर्वहरूले गाउने कर्खा र सुदूरपश्चिमको देउडाको स्वाद मिश्रण गरेर यो गीतलाई मौलिक नेपाली स्वाद दिएका छन् ।

रेकर्डिङका क्रममा कर्णदास

प्रकृति र जीवनको गहिरो ध्वनि बोकेको यो गीत दश मिनेटको छ । गीतको संगीत कवि मुकारुङले नै गरेका छन् भने एरेञ्ज रिदम कँडेलले गरेका छन् ।

कर्णदास भन्छन्, ‘यो गीत रेकर्ड गर्दा मैले आमालाई सम्झिएँ, माटोलाई सम्झिएँ । त्यही भावनामा बहेर गीत गाएँ ।’

प्रतिरोधी चेतनाको यो गीत यही महिना युट्युबमार्फत सार्वजनिक गरिँदै छ ।

यस्तो छ काली नदीको गीत :

ए कालीगण्डकी !

हे आमा गण्डकी !

माकुरोको माउ भयो

तिम्रो जिन्दगी

तिम्रो अमृतधारा पिई हुर्किएका सन्तान

तिम्रै मुटु कलेजा पो कुटुकुटु खान्छन्

ए कालीगण्डकी…

 

तिम्रो नाम कैलाशदेखि काशी गंगासम्म

तर तिम्रै काख रित्तो लुटे शालिग्राम

ए कालीगण्डकी…

 

तिम्रो निश्चल बगाइमा हिमाल ऐना हेथ्र्यो

कौडा नाच्थे डाँफे मुनाल घामले भाका फेर्थ्यो

ए कालीगण्डकी…..

 

यता गैह्रो उता पैह्रो हरे ! कठैबरा

कुन विरह बोकी बसाइँ सर्यो पानीचरा

ए कालीगण्डकी….

 

पुर्खा थिए माहुरीझैं तिमी तिनको रानी

तर तिम्रा सन्तान चैं तिम्रै मलाम जानी

ए कालीगण्डकी…

 

लाज, घिन, पाप, धर्म छैन कुनै डर

आफ्नै आमा बेची मान्छे बनाउँदैछन् घर

ए कालीगण्डकी….

तस्वीर सौजन्य : आरके अदीप्त गिरी

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?