+
+

त्रिविको आन्तरिक बढुवा परीक्षा : १३ पदमा नतिजा शून्य, २० जनाको उत्तरपुस्तिका रद्द

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १३:४१

१४ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीको बढुवाका लागि गरिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको छ ।

त्रिवि सेवा आयोगले गत माघ १४ गतेदेखि २५ गतेसम्म लिएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार १८ वटा प्रशासनिक पदमा बढुवाका लागि लिइएको परीक्षामा १३ वटा प्रशासनिक पदमा शून्य नतिजा आएको छ ।

मुख्य कार्यलय सहायक पदका लागि माग संख्या २१ जना रहेकोमा लिखित परीक्षामा सहभागी २६ जना भएपनि उत्तीर्ण शून्य रहेको छ । १३ पद संख्याको लागि भएको कार्यलय सहायकमा पदको परीक्षामा ३७ जना सहभागी भए तर उत्तीर्ण संख्या भने शून्य रहेको छ । ८ पदका लागि आर्थिक उप–नियन्त्रकको लागि भएको लिखित परीक्षामा १५ जना सहभागी मध्ये कसैले पनि उत्तीर्ण गरेका छैनन् ।

त्यस्तैगरी ७ पदका लागि लेखा अधिकृत पदमा भएको लिखित परीक्षामा सहभागी १९ जना, लेखा सहायक पदका लागि माग संख्या ५ रहेकोमा लिखित परीक्षामा सहभागी २३ जना, सहपुस्तकाललयध्यक्ष पदका लागि माग संख्या एकमा लिखित परीक्षामा सहभागी २ जना, उपपुस्ताकालयध्यक्ष पदमा माग संख्या तीन जना लिखित परीक्षामा सहभागी एक जना, पुस्तकालय सहायक पदमा माग संख्या २ लिखित परीक्षामा सहभागी ३ मध्ये उत्तीर्ण संख्या शून्य रहेको छ ।

सार्वजनिक भएको नतिजामा नर्सिङ सहनियन्त्रकमा माग संख्या १ जना सहभागी चार जना, नर्सिङ अधिकृतमा माग संखया ५ जना लिखित परीक्षामा सहभागी १४ जना, ल्याव अधिकृत माग संख्या एक जना, लिखित परीक्षामा सहभागी एक जना, मुख्य प्राविधिक सहायक (कम्प्यूटरमा) माग संख्या चार जना लिखित परीक्षामा सहभागी १ मध्ये लिखित परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेको सेवा आयोगले उल्लेख गरेको छ ।

 माग भन्दा कम उत्तीर्ण

सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरिएको एक पदमा बाहेक अन्य पदहरुमा अत्यन्तै न्यून संख्यामा परीक्षार्थी उत्तीर्ण भएका छन् ।

स्वास्थ्य सेवातर्फ नर्सिङ उपनियन्त्रक पदमा तीनजना माग भएकोमा तीनैजना उत्तीर्ण भएका छन् । यो परीक्षामा सहभागी ४२ जनामध्ये तीन जनाले मात्र नाम निकाल्न सफल भएका आयोगले जनाएको छ ।

सेवा आयोगले सहप्रशासक (अधिकृत प्रथम) पदको लागि ८ संख्या माग गरेको छ । लिखित परीक्षामा सहभागी २५ जनामध्ये दुई जनाले मात्र उत्तीर्ण भएका छन् । उपप्रशासक (अधिकृत द्वितीय) पदमा १६ जना माग भएकोमा लिखित परीक्षामा र ६१ जना सहभागी मध्ये एक जना, २० पदका लागि शाखा अधिकृत तहमा ९३ जना परीक्षार्थी सहभागी मध्ये एकजना मात्र उत्तीर्ण भएका छन् ।

यसैगरी ३ जना माग गरिएको आर्थिक प्रशासनतर्फको आर्थिक सह नियन्त्रक पदको परीक्षामा १४ जनाले परीक्षा दिएकोमा दुई जना मात्र उत्तीर्ण भएको त्रिवि सेवा आयोगको नतिजामा उल्लेख छ ।

२० जनाको उत्तर पुस्तिका रद्द

परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै २० जनाको उत्तर पुस्तिका आयोगले रद्द गरेको जनाएको छ ।

आयोगले सूचना जारी गर्दै सह प्रशासक पदका पाँचजना, उपप्रशासक पदका आठजना, शाखा अधिकृत पाँचजना तथा कार्यालय सहायक र आर्थिक उपनियन्त्रक एक एक जनाको उत्तर पुस्तिका रद्द गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?